पछिल्ला केही दिनमा काठमाडौं महानगरका प्रहरीले सडक किनार व्यापार गर्ने साना व्यवसायीहरूका ठेला लखेटी लखेटी खोसिरहेका भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका छन्।
तरकारी बेच्ने, खानेकुरा बेच्ने, खिद्रीमिद्री सामान बेच्ने यी साना र निर्वाहमुखी व्यवसायीमाथिको धरपकडको भिडिओ त हामीले देखेका छौं। तर उनीहरूलाई देखेका छैनौं, उनीहरूको जीवन देखेका छैनौं। ती जीवनले भोगेको संघर्ष देखेका छैनौं।
महानगर प्रहरीको कृत्यबाट प्रताडित भइरहेका यी साना व्यवसायी को हुन्? उनीहरू कहाँबाट आएका हुन्? आफ्नो थातथलो छाडेर ‘अर्काको’ सहरमा किन आएका हुन्? एउटा ठेला र त्यसमाथि उभ्याएको व्यवसायको अर्थ उनीहरू र उनीहरूको परिवारका लागि के हो? ठेला खोसिँदा उनीहरूको साधन खोसियो कि जिन्दगी? ठेला खोसिएपछि कसरी चल्दैछ उनीहरूको जिन्दगी?
यो स्टोरी काठमाडौं महानगरमा लखेटी-लखेटी ठेला खोसिएका तिनै मानिसहरूको कथा हो। अनि उनीहरूलाई हामीले खोज्दै जाँदाको कथा पनि हो।
कथा सुरू गरौं, ती पात्रहरूको खोजीबाट।
सडक व्यापारीहरूलाई लखेटी लखेटी ठेला खोसिएको एउटा ठाउँ म्हेपी, मित्रनगर मार्ग हो भन्ने एउटा ‘क्लू’ भिडिओमा थियो। त्यही क्लूले मलाई त्यहाँ पुर्यायो।
नयाँ बसपार्कबाट म्हेपी अजिमा मन्दिरसम्म तन्किएको सडकलाई मित्रनगर मार्ग भनिन्छ। यहाँ सडकका दायाँबायाँ र मूल सडकबाट छुट्टिने सहायक बाटाहरूमा समेत लगभग प्रत्येक घरमा होटल, गेस्ट हाउस र लजहरू छन्। जहाँ होटल वा लज छैनन्, त्यहाँ रेस्टुरेन्ट र दोहोरी साँझ खुलेका देखिन्छन्। यी प्रायः काठमाडौंको बाटो हुँदै वैदेशिक रोजगारमा जान लागेका वा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूको दुई–चार दिनको बसाइ थलो हो।
सोमबार दिउँसो दुई बजेतिर म त्यो ठाउँ पुग्दा बजार व्यस्त थियो। गाडी र मोटरसाइकलको आवागमन र मान्छेको ओहोरदोहोरले सडक भरिभराउ थियो। मैले सामाजिक सञ्जालमा भाइरल भिडिओ आफ्नो मोबाइलमा सेभ गरेको थिएँ। जसै म बसपार्कबाट मित्रनगर मार्ग प्रवेश गरेँ, मैले त्यहाँका थुप्रै किराना पसल र होटलहरूमा त्यो भिडिओ क्लिप देखाएँ र त्यसमा देखिएका पात्रहरूलाई चिन्नुहुन्छ भनेर सोधेँ।
सुरूमा चिन्ने मान्छे कोही भेटिएनन्। अलि तल आएपछि एउटा होटलकी साहुनीले अझै तल्लो बस्तीतिर इसारा गर्दै भनिन्, ‘यो त उ त्यहाँको घटना हो। त्यता गएर सोध्नुस् त, उहाँहरू चिन्नुहुन्छ कि!’
म उनले इसारा गरेको ठाउँतिर गएँ र सडकछेउको एउटा किराना पसलमा सोधेँ।
भिडिओ क्लिप देख्नासाथ किराना पसलकी दिदीले पहिले जिब्रो टोकिन् अनि दुई ओठ चुच्चो पारेर च्व च्व गरिन्।
ती दिदीको नाउँ, पार्वता शर्मा। उनले पसल चलाउन थालेको आठ वर्षभन्दा बढी भएछ। र, लगभग त्यति नै समय भइसकेछ ती सडक व्यापारीहरूलाई देखेको, चिनेको।
‘यी सबै यहीँका मान्छे हुन् बरा,’ उनको स्वरमा ती पात्रहरूप्रति दयाभाव र सहानुभूति मिसिएको थियो, ‘हामी यहाँ बस्न थालेदेखि यिनीहरूलाई देखिरहेको छु।’
उनले भिडिओ क्लिपको एउटा अंश देखाउँदै भनिन्, ‘यी दिदी त अघि भर्खर डोकोमा साग बोकेर यता हिँड्दै थिइन्। महानगरले गाडा खोसेर लगिहाल्यो, अहिले डोकोमा बेच्दै हिँड्छिन्। कमाइ खाने भाँडो नै खोसेर लगेपछि के गरोस् बरा!’
खासमा त्यो भिडिओ यो ठाउँमा यति भाइरल रहेछ, पार्वता शर्मालाई त्यसमा देखिने एक–एक पात्र कन्ठ थियो। उनले भिडिओ क्लिप हेर्दै नहेरी भनिन्, ‘यसमा एक जना बर्को ओढेकी दिदी हुनुहुन्छ नि, जो रोइरहनुभएको छ ...’
मैले भिडिओमा उनले भनेको दृश्य देखाइदिएँ।
‘हो यिनै दिदी, कस्तरी रूनुभएको थियो बरा त्यो दिन,’ पार्वताले भनिन्, ‘साह्रै दुःख पाएको मान्छे हो। दुई जना सान्साना छोराछोरी छन्। श्रीमानले साह्रै दुःख दिए क्यार, त्यही ठेलामा तरकारी बेच्दै छोराछोरी पढाइरहनुभएको छ।’
त्यही बेला बाटोमा चार–पाँच जना स्कुलका नानीहरू हिँड्दै गरेका देखिए। पार्वताले ती नानीहरूतिर इसारा गर्दै भनिन्, ‘उ त्यो नानी देख्नुभयो, ठ्याक्कै त्यत्रै छे, त्यो दिदीको ठूली छोरी।’
मैले उनको हातको इसारा पछ्याउँदै ती स्कुले नानीलाई हेरेँ — लगभग आठ–दस वर्षकी हुँदी हो।
पार्वताले त्यसपछि आफ्ना दुई हात आधा मिटरजति चौडा पारिन् र भनिन्, ‘मैले त इत्री हुँदादेखि देखेको!’
उनले अगाडि थपिन्, ‘तरकारी लिन बिहान दुई–तीन बजे नै माछापोखरी पुग्छिन्। पहिले पहिले केटाकेटी सान्साना हुँदा ठेलामै बोकेर हिँड्थिन्। अचेल चाहिँ घरमै छाड्छिन् क्यारे, सँगै लगेको देख्दिनँ।’
त्यही बेला अर्की एक महिला सलाई किन्न पसल आइन्। उनी त्यहीँछेउ होटल चलाउँदी रहिछन्। नाम, खिमा ओली। हाम्रो कुराकानी सुनेर उनले पनि मेरो मोबाइलमा भिडिओ हेरिन् र सहानुभूतिपूर्वक भनिन्, ‘यो दिदीको त खाने उपाय भनेकै त्यही ठेला हो। अब के गर्लिन् बिचरी?’
उनले यो पनि भनिन्, ‘जस्तो मेरो होटल छ, उहाँ दिदी (पार्वता) को पसल छ, तपाईं पत्रकार हुनुहुन्छ, तपाईंको आफ्नो अफिस छ, यी दिदीहरूको निम्ति ठेलागाडा पनि त्यस्तै हो नि! उहाँहरूका लागि पसल भने पनि, होटल भने पनि, अफिस भने पनि, कमाइ खाने भनेको त्यही ठेला हो। कमाइ खाने भाँडो नै खोसेर लगेपछि मान्छे कसरी बाँच्छ? दिदीको पसल, मेरो होटल, तपाईंको अफिसमा सरकारले ताल्चा मार्दियो भने हामी कसरी बाँच्छौं? हाम्रा केटाकेटी भोकभोकै मर्दैनन्?’
पार्वता र खिमाले भिडिओमा देखिने सबै पात्र चिने तर कसैको पनि नाउँ र बस्ने ठाउँ बताउन सकेनन्। पार्वता भन्दै थिइन्, ‘हामीले त सडकमा भेटेको, सडकमै चिनेको। दिदी–दिदी भनियो, नाउँ थाहा पाउने खाँचै परेन।’
मान्छेको चिनारी यस्तो पनि हुँदो रहेछ! अनुहार थाहा छ, दुःख बुझेको छ, नाता पनि लगाएकै छ तर परिचय अन्जान! आखिर भावनाको सम्बन्ध गाँसिने भावनासँग न हो!
म त्यही किराना पसलमा उभिएर पार्वता शर्मा र खिमा ओलीसँग कुरा गर्दै थिएँ, साइकलमा सामान डेलिभरी गर्ने एक व्यक्ति पसलमा आए। उनले पहिला सामान दिए अनि हाम्रो कुराकानीको भाव बुझेर भने, ‘धेरै दयामाया देखाउनु पर्दैन हो, तपाईंहरूलाई थाहा छ, यस्तै ठेलामा सामान बेचीबेची कतिले काठमाडौंमा घरखेत बनाएका पो छन् त!’
उनले अगाडि भने, ‘अरूलाई देखाउनलाई मात्र गरिब हुन् यी, भित्रभित्र हामीलाई किन्दिन पुग्ने पैसा हुन्छ यिनीहरूसँग। म पनि साइकलमा सामान बेच्दै हिँड्छु तर यिनीहरूलाई गरिब गरिब भनेको चाहिँ मलाई मन पर्दैन है। हामीभन्दा कता हो कता धनी हुन्छन्।’
म ती व्यक्तिको भनाइ डायरीमा टिप्दै थिएँ, पार्वताले उनको खण्डन गरिन्, ‘त्यस्तो पनि होइन बरा! कोही कोही होलान्, सबैले कहाँ घर बनाएका छन् र? ठेलामा तरकारी बेचेरै घर बनाउने त कति होलान् र?’
खिमाले थपिन्, ‘अरूको त थाहा छैन दाइ, तर अस्ति महानगरले गाडा खोसेर लगेका दिदीहरूलाई चाहिँ म बिचरी नै भन्छु है। हामीले चिनेको, जानेको मान्छे हो। साह्रै दुःख पाएका छन् तिनीहरूले।’
खिमाले यति भनेपछि पार्वताले फेरि थपिन्, ‘अनि कसैले गाडा चलाएर, मिहिनेत गरेर छोराछोरी पढाउँछ, हुर्काउँछ र कमाएर घरखेत किन्छ भने के भो त? के को डाढ? सके हामी पनि किन्छौं, तपाईं पनि किन्नुहुन्छ। घरखेत जोडेका छन् भनेर उनीहरूको घर चलाउने भाँडा नै खोस्न त भएन नि!’
कुराकानी अझै लम्बिन सक्थ्यो, तर मलाई त ती पात्रहरू खोज्नु थियो।
छुट्टिने बेला पार्वताले मलाई गत साता नगर प्रहरीहरूले धरपकड गरेको बाटो देखाइदिइन् र भनिन्, ‘भाइ आफ्नो नम्बर छाडेर जानू, म ती दिदीहरू भेट भयो भने फोन गरेर बोलाउँछु।’
मैले दुवैलाई आफ्नो नम्बर टिपाएँ अनि त्यहाँबाट पार्वताले देखाइदिएको बाटोतिर लागेँ।
अलि अगाडि बढेपछि देब्रेतिर ‘न्यू एसिया दर्शन गेस्ट हाउस’ लेखिएको साइनबोर्ड देखियो। यो गेस्ट हाउसको बोर्ड मैले भिडिओमा पनि देखेको थिएँ। यो त्यही बाटो थियो, जहाँबाट नगर प्रहरीहरूले सडक व्यापारीलाई रूवाई–रूवाई तिनको पेट पाल्ने सर–सामान खोसेर लगेका थिए।
मैले गेस्ट हाउसको आँगनमा घाम तापेर सुन्तला खाँदै गरेका दुई महिलालाई उक्त घटनाबारे सोधेँ। भिडिओ पनि देखाएँ। उनीहरूको अनुहारमा रिस र मायाको भाव एकैचोटि उम्लिएर आयो। भने, ‘यी एक जना दिदी त यहीँ पल्लो गल्लीको झुप्रोमा बस्नुहुन्छ। अघि भर्खर यही बाटो डोकोमा साग बोकेर हिँड्दै हुनुुहुन्थ्यो।’
म आफूले खोजेकोमध्ये कम्तिमा एक जना पात्रको नजिक आइपुगेको थिएँ। म ती दुई महिलालाई धन्यवाद भन्दै उनीहरूले देखाइदिएको गल्लीमा पसेँ।
गल्लीको मुखैमा एउटा सानो होटल थियो। मैले त्यहाँ गएर जसै खोजीनीति सुरू गरेँ, एक जना व्यक्तिले मुसुमुसु हाँस्दै भने, ‘उसको नाम रमा खत्री हो, म उसको लोग्ने हुँ।’
कस्तो संयोग! म जुन झुप्रोमा बस्ने सडक व्यापारी दिदीलाई खोज्न त्यो होटल छिरेको थिएँ, ती व्यक्ति उनकै श्रीमान पो रहेछन्! नाम, अर्जुन खत्री। उनी त्यही होटलमा भाँडा माझ्ने काम गर्दा रहेछन्।
‘ओहो! गज्जबै भयो,’ मैले सोधेँ, ‘अहिले दिदी घरमा हुनुहुन्छ त?’
‘अहिले त ऊ तरकारी बेच्न गएको छ,’ अर्जुनले जवाफ दिए, ‘खोई कति बेला पो आउँछ।’
‘तपाईं एकचोटि फोन गरेर सोध्दिनू न, हुन्न?’
‘मसँग मोबाइल छैन, तपाईं गर्ने भए नम्बर दिन्छु,’ अर्जुनले यति भनेपछि मैले उनीसँग रमाको मोबाइल नम्बर लिएर फोन गरेँ।
‘आज एक मुठा साग बिकेन, म घरै आउँदैछु,’ रमाले फोनमा भनिन्, ‘तपाईं बस्दै गर्नू है, म आइहालेँ।’
करिब पन्ध्र मिनेटमा रमा मेरो अगाडि थिइन् — थाप्लोमा डोकोको नाम्लो भिरेकी, बाक्लो हरियो ज्याकेट, बाक्लो रातो कुर्ता, काँधमा पैसा बोक्ने कालो पर्स अनि मुखमा निलो मास्क।
म उनको अगाडि अगाडि साँघुरो गल्लीभित्र पसेँ। गल्लीको पुछारमा जस्ताले छाएको सानो झुपडी थियो। उनले झुपडीको आडैमा आफ्नो डोको बिसाइन्। हरियो सागसब्जीले डोको आधा भरिएको थियो।
रमाले आफ्नो कालो पर्सबाट साँचोको झुत्ता झिकिन् र जस्ता ठड्याएर बनाइएको ढोका खोलिन्।
भित्र अँध्यारो थियो। झ्यालका प्वालहरूबाट पसेको घामको किरणले भुइँमा ओछ्याइएको थोत्रो गलैंचा, पलङ र भाँडा माझ्ने गुलाबी रङको बाटा मात्र हल्का देखिन्थ्यो।
रमाले बत्तीको स्विच दबाइन्। कोठामा मधुरो प्रकाश पोखियो। त्यो मधुरो प्रकाश एकैपटक कोठाको भुइँ र उनको अनुहारमा पनि छरियो। झलमल्ल देखिए, भुइँमा गरिबी र अनुहारमा उनको संघर्ष।
मैले कोठा चारैतिर नियालेँ। नयाँ र सद्दे सामान केही थिएनन्। थोत्रा, च्यात्तिएका र फाटेका कपडा दराजमा छरपस्ट थिए। पलङमा कयौं दिनदेखि नधोएजस्ता देखिने मैला तन्ना र सिरक फिँजारिएका थिए। ढोकाका कापहरू उखेलिन लागेको थोत्रो दराजमा चौध इन्चको पुरानो टिभी थियो। ढोकाकै देब्रेतिर भान्छा थियो जहाँ कट्कटिएका जूठा भाँडाकुँडा छरिएका थिए। ग्यास चुह्लो पनि कयौं दिनदेखि पुछिएको थिएन, उम्लिएको दाल र तरकारीका टाटैटाटा देखिन्थे।
रमाले मलाई मैलो गलैंचामाथि होचो मूढामा बस्न भनिन् र आफू पलङमा गएर बसिन्।
हाम्रो कुराकानीको सिलसिला सुरू भयो।
उनी ४९ वर्षकी भइछन्। माइत खोटाङ रहेछ। घर पोखरा, किस्ती।
उनी करिब आठ वर्षअघि पहिलोचोटि काठमाडौं आएकी हुन्। घरमा पारिवारिक किचलो, श्रीमानको रक्सीको लत र खेती गरेर हातमुख जोर्न धौधौ परेपछि कामको खोजीमा काठमाडौं पसेको उनले बताइन्।
‘गाउँमा त बसिसक्नु भएन। परिवारमा रातदिन झगडा, घरव्यवहार सधैं गाह्रो, अनि आफ्नो बूढा रातदिन रक्सी खाएर हिँड्ने, कामधाम केही छैन,’ उनले भनिन्, ‘केटाकेटीहरू भोकभोकै पर्लान् भनेर मेरै करकापमा काठमाडौं आइयो।’
यहाँ आएर सुरूका केही वर्ष रमाले आफ्नो माइतीतिरका नातेदारले खोजिदिएको होटलमा भाँडा माझ्ने काम गरिन्। श्रीमान पनि कहिले त्यही होटलमा काम गर्थे, कहिले बाहिर काम खोज्न जान्थे। उनको रक्सीको लत भने यहाँ आएर पनि छुटेन।
अलि अलि पैसा जम्मा गरेपछि उनी फेरि आफ्नो घर फर्किन्। काठमाडौं आएर पनि श्रीमानले परिवारको जिम्मेवारी नबुझेपछि हायलकायल भएर फर्किएको रमा बताउँछिन्।
‘लोग्नेको पारा देखेर दिक्क लागेर फर्केँ, तर उता गएर पनि के गर्नू?’ उनले भनिन्, ‘फेरि उस्तै कलह, उस्तै दुःख।’
उनले अगाडि भनिन्, ‘कम्तिमा काठमाडौैंमा भए रातदिनको घरकलह त सहनुपर्दैन, बिहान–बेलुकी हातमुख जोर्न पनि समस्या हुँदैन भन्ने सोचेर फेरि यतै आएँ।’
दोस्रोचोटि काठमाडौं आउँदा पनि उनलाई माइतीका उनै नातेदारले होटलमा काम मिलाइदिए। श्रीमानको पारा उस्तै थियो। रमा अब भने जस्तो परिस्थिति आए पनि काठमाडौंमै संघर्ष गर्छु भन्नेमा दृढ थिइन्।
उनको दृढतालाई परिस्थितिले चुनौती दियो। उनी कयौं दिन काठमाडौंमा भोकभोकै परिन्। त्यही बेला कोरोनाको प्रकोप सुरू भयो। महामारीले देश लकडाउनमा गएपछि उनको रोजीरोटी बन्द भयो। कयौं दिन काम नपाएर एक सुका आम्दानी नभएपछि पानी उमालेर त्यसमा नुन, खुर्सानी हालेर खाएको उनी सम्झन्छिन्।
‘त्यस्तो दुःखमा पनि म टिकेरै बसेँ। छरछिमेकले कहिल्यै नराम्रो गरेनन्,’ उनले भनिन्, ‘काठमाडौंले मलाई सधैं माया र साथ दियो।’
लकडाउन खुकुलो हुन थालेपछि छरछिमेककै सल्लाहमा रमाले बाटोमा फालेको नाङ्लो टिपेर त्यसैमा मकै, तरकारी बेच्दै हिँड्न थालिन्। यसले पेट पाल्न केही सुविस्ता भयो। पछि होटलहरू खुले र श्रीमान पनि अहिले काम गरिरहेकै होटलमा भाँडा माझ्न थाले।
‘नाङ्लोमा तरकारी बेच्दै बेच्दै मैले अलिअलि पैसा जम्मा गरेर ११ हजार रूपैयाँमा पुरानो ठेला किनेँ,’ उनले भनिन्, ‘दुई वर्षजति भयो होला, मैले ठेलामा तरकारी बेच्न थालेको।’
तर अस्ति त्यही ठेलामाथि महानगरको आँखा पर्यो। महानगरका प्रहरी आएर ठेला खोसेर लगे।
‘बल्लतल्ल किनेको ठेला पनि खोसेर लगेपछि अहिले डोकोमा बेच्न थालेको छु,’ उनले भनिन्।
रमा हरेक दिन बिहानै माछापोखरीसम्म गएर तरकारी किन्छिन्। उनका अनुसार तरकारी किन्न कहिलेकाहीँ त कुस्ती लडेजस्तै ठेलमठेल गर्नुपर्छ। बर्खा बेला राति १–२ बजे नै पुगिएन भने आफूले भनेको तरकारी पाइन्न। अहिले पनि बिहान ४ बजे नै माछापोखरी पुगिसक्नुपर्ने उनी बताउँछिन्।
‘अस्तिसम्म ठेलामा बेच्दा र अहिले डोकोमा बेच्दा केही फरक परेको छ कि छैन?’
मेरो यो प्रश्नमा उनले भनिन्, ‘किन फरक नपर्नु? ठेलामा बेच्दा दिनको डेढ–दुई सय मुठा साग बेच्थेँ, कम्तिमा पाँच–छ सय रूपैयाँ कमाइ हुन्थ्यो। अहिले त सय–डेढ सय पनि कमाइ हुँदैन।’
यति मात्र होइन, पहिले उनी बिहान र बेलुकी दुई समय तरकारी बेच्थिन्। अहिले चाहिँ फेरि नगर प्रहरीको पासोमा परिएला भन्ने डरले बेलुकी मात्र निस्किन्छन्। त्यसमा पनि मूल सडकतिर कमै जान्छिन्।
रमाका दुई छोरी छन्। दुवैको बिहे भइसक्यो। अठार वर्षका छोरा पनि छन् तर छोराको कमाइ छैन। पढाइ पनि छैन। सात कक्षा पढेपछि स्कुल जान छाडे। बीचमा वैदेशिक रोजगार निम्ति कतार गए तर एक वर्ष पनि नबसी फर्केर आए।
‘अलि अलि भएको पैसा पनि छोरालाई कतार पठाउनमै सकियो,’ रमाले भनिन्, ‘कमाएर केही ल्याएन, भएको पनि खेर फाल्यो।’
अहिले म्हेपीको झुपडीमा रमा र उनका श्रीमान अर्जुन मात्र बस्छन्। छोरा भक्तपुरतिर कतै बस्छन् भन्ने उनले सुनेका छन् तर भेटघाट छैन।
उनी बसिरहेको झुपडी पनि त्यही होटल साहुको हो। महिनाको तीन हजार रूपैयाँ भाडा तिर्नुपर्छ। झुपडीभित्रका पुराना दराज, पलङ पनि साहुले नै दया गरेर दिएको रमा बताउँछिन्।
‘यो कोठामा मेरो आफ्नो भन्नु यिनै थोत्रा लुगाफाटा र ओढ्ने–ओछ्याउने मात्र हुन्,’ उनले भनिन्, ‘दराज, गलैंचा, टेबल, पिर्का सब साहुको हो।’
आफ्नो बारेमा सम्पूर्ण विस्तार लगाइसकेपछि रमाले महानगरको ठेलामुक्त अभियानको आलोचना गर्दै भनिन्, ‘हामी भनेको दिनभरि काम गरेर बेलुकी दालचामल किनेर खाने मान्छे। हामीले कमाइ गरेर खानुपर्ने ठेला, नाङ्लो, डोको सब लुटेर, हाम्रो जिन्दगी नै भताभुंग पारेपछि हामी के गरेर खानू?’
‘महानगरका मान्छेहरू हामीलाई तरकारी बेच्ने भए पसल भाडामा लिनू भन्छन्। हरे शिव कस्तो बुद्धि नभएको! सटर भाडामा लिन सक्ने भइदिएको भए दिनभरि घामपानीमा ठेला घिसार्दै हिँड्ने, थाप्लो सुन्निने गरी डोको बोक्दै हिँड्ने रहर कल्लाई होला र? के हामी जिन्दगीमा केही दुःख पाइएन, त्यसैले नभएको दुःख बिसाउँछु भनेर ठेला घिसार्दै हिँडका हौं र? के भनेको त्यस्तो? पैसा भए त सटर पनि राखिन्थ्यो, दिनभरि पलेँटी मारीमारी बसिन्थ्यो नि, यो दुःख किन गरिन्थ्यो?’ उनले भनिन्।
रमाले अगाडि भनिन्, ‘हामी ठेलावालाहरूको जिन्दगी कस्तो हुन्छ भने नि सर, साथमा ठेला छ भने दुनियाँले पत्याउँछन्। दोकानदारले पनि यसको कमाइ छ, आज नभए भोलि तिर्छ भनेर सामान उधारो दिन्छ। अब त योसँग ठेला छैन, कसरी कमाउँछ, कसरी तिर्छ भन्ने भएपछि हामीलाई कसैले पत्याउँदैन।’
म चुपचाप उनको कुरा सुनिरहेको थिएँ। रमा सिधा मेरो आँखातिर हेर्दै एकोहोरो बोलेको बोल्यै थिइन्, मानौं मसँग मनको भडास पोख्दै छिन्।
उनी भन्दै थिइन्, ‘यसरी मान्छेको जिन्दगी लथालिंग, भताभुंग पारेर, दुनियाँको आँशु बगाएर के गर्न खोजेको हो सहरलाई? भन्नुस् त सर, मान्छेको जिन्दगी सप्रिए न सहर सुन्दर हुन्छ, मान्छेको जिन्दगी नै बिग्रिएपछि सहर जति सिँगारे पनि के गर्नु? यो त भित्रभित्र कट्कटिएको मैलो थुपारेर बाहिर–बाहिर लालीपाउडर घसेजस्तो भएन र? त्यत्रा पढेलेखेका मान्छेहरूको बुद्धि कस्तो हो यो? मान्छेको जिन्दगी नै खोसेर कसका लागि सहर राम्रो बनाउन खोजेको? मैले त बुझ्नै सकेको छैन।’
पचास वर्ष टेक्न आँटेकी रमालाई अहिले थुप्रै रोगले गिँजोल्न थालेको छ। उनी उच्च रक्तचाप, मधुमेह र थाइराइडको नियमित औषधि खान्छिन्। त्यसमाथि केही महिनाअघि डेंगी लागेपछि शारीरिक बल कम भएको उनी बताउँछिन्।
‘रोगी त छँदै थिएँ, डेंगीले भएको बल पनि जम्मै खाइदियो,’ उनले भनिन्, ‘औषधिमै थुप्रो पैसा खर्च हुन्छ। अब यो डोकोको कमाइले भात खानू कि औषधि! भात खाए औषधि छैन, औषधि खाए भात छैन। कोठा भाडा पनि कसरी तिर्ने?’
‘कहिलेकाहीँ त पिरै पिरले बाटोमा कतै भुक्लुक्क ढलेर मर्छु कि जस्तो पनि लाग्छ,’ उनले भनिन्।
‘अनि यत्रो दुःख झेलेर बस्नु सट्टा आफ्नो घर किन जानुहुन्न त दिदी?’ मैले सामाजिक सञ्जालमा आइरहेका प्रश्न रमालाई तेर्स्याएँ।
‘घरमा चाहिँ कसले ठिक्क पारेर राखेको छ र?’ उनले झर्किँदै जवाफ दिइन्, ‘गाउँमा बाँच्न सकिएन भनेर त काठमाडौं आएको, अब फेरि गाउँमै गएर के माटो खाएर बाँच्नू? माटो खानलाई पनि त आफ्नै जग्गा–जमिन चाहियो क्यारे! अर्काको त माटो पनि कसले खान दिन्छ र!’
उनले अगाडि भनिन्, ‘काठमाडौं त राजधानी हो नि, देशकै राजधानी। देशभरिकै मान्छे आउँछन् नि यहाँ। काम गर्न आउँछन्, कमाएर खान आउँछन्। के अब काठमाडौंलाई हामी गाउँका मान्छे बढी भएको हो? हामी झुपडीमा बसेको, ठेला चलाएर गरिखाएको पनि काठमाडौंले सहन नसकेको हो?’
‘पहिले त काठमाडौं यस्तो थिएन सर! यो त्यो काठमाडौं हुँदै होइन!’
उनी यति भनेर झन्डै दुई मिनेट चुप्प लागिन्। म पनि केही बोलिनँ। सायद उनी रूँदै थिइन्। तर कोठाको प्रकाश यति मधुरो थियो, उनको आँशु सायद लुक्यो।
दुई मिनेटपछि उनले ख्याकख्याक गर्दै खोकिन्। मलाई देखाउन भनेर झिकेको औषधिको पोको बन्द गरेर सिरानीमुनि हालिन्। दराजमा पाइलट चुरोटको बट्टा थियो। एक खिली चुरोट र सलाई बाहिरै थियो। उनी सायद चुरोट सल्काउन चाहन्थिन्। तर सल्काइनन्।
लामो सुस्केरा हाल्दै भनिन्, ‘हामीले ठेला राखेर मान्छेलाई हिँड्न गाह्रो भयो रे। कल्लाई गाह्रो भयो? तपाईं पनि यहाँ आउँदा हिँड्दै आउनुभएको थियो, होइन? तपाईंलाई गाह्रो भएको थियो र?’
म चुप्प लागेँ।
पैदल हिँड्दाका मेरा आफ्नै अनुभव छन्।
महानगरले पैदलयात्रुहरूको सुविस्ताका लागि ठेलावाला, नाङ्लोवाला, डोकोवाला सडक व्यापारीहरू पन्छाएको भन्दै छ। उसको ‘ठेलामुक्त’ अभियान यही न्यारेटिभमा आधारित छ। यस्तो न्यारेटिभ बनाउनेहरू कति पैदल हिँड्छन्, मलाई थाहा छैन तर म चाहिँ प्रायः पैदलै हिँड्छु। पैदल हिँड्दा यी सडक व्यापारीहरू मेरो बाटोमा आउँछन्, नआउने होइनन्। तर उनीहरूलाई छलेर, दायाँबायाँबाट आफ्नो बाटो निकाल्न मलाई कहिल्यै गाह्रो भएको छैन। ठेलामा मानिसहरू अल्झिएको, लडेको मैले कहिल्यै देखेको छैन।
यी सडक व्यापारीभन्दा बढ्ता मेरो बाटो छेक्ने भनेका यहाँ जथाभाबी कुद्ने मोटरसाइकल र गाडीहरू हुन्। पैदल हिँड्न पैदलमार्ग नै नहुनु हाम्रो अर्को समस्या हो। सडकका दायाँबायाँ पार्किङमा राखिएका गाडीले त हाम्रो हिस्साको बाटोधरि खाइदिएको छ।
सबभन्दा ठूलो कुरा, अहिले जुन–जुन ठाउँमा महानगरको धरपकड चल्दैछ, ती भनेका मूल सडक हुँदै होइनन्। मूल सडकबाट छुट्टिने भित्री बस्तीका बाटाहरू हुन्, जुन प्रायः आवासीय क्षेत्रमा पर्छ। त्यहाँ सडक व्यापारले पैदलयात्रुलाई गाह्रो होइन, बरू वरपरका स्थानीयलाई किनमेल गर्न सजिलो बनाएको छ। बेच्नै नसकिने, ग्राहक आउँदै नआउने दरबारमार्गजस्तो ठाउँमा कसले ठेला चलाउँछ? कसले डोकोमा तरकारी बेच्छ?
यही म्हेपी, मित्रनगर मार्गकै उदाहरण लिऊँ। यहाँ जुन ठाउँमा नगर प्रहरीहरूले धरपकड गरे, त्यो न मूल सडक हो, न त्यहाँको सडक व्यापारले हिँड्नेहरूलाई कुनै अवरोध गरेको छ। महानगरले पैदलयात्रुहरूका नाममा ठेलावालाहरूलाई सडकबाट हटाउनकै निम्ति यो धरपकड गरेको हो भन्ने मित्रनगर आएपछि छर्लंग हुन्छ।
कुनै पनि सहरमा दुई किसिमको अर्थतन्त्र समानान्तर रूपले चलिरहेको हुन्छ — एउटा समृद्ध वर्गको अर्थतन्त्र जो ठुल्ठूला मल र डिपार्टमेन्ट स्टोरमा किनमेल गर्छ। अर्को, न्यूनमध्यम वर्ग र गरिबहरूको अर्थतन्त्र जसको उपभोग्य आवश्यकता रमाजस्तै सडक व्यापारीहरूले सस्तोमा पूर्ति गर्छन्। रमाहरूको ठेला खोसेर, उनीहरूलाई रोजगारविहीन बनाएर महानगरले उनीहरूको पेटमा मात्र होइन, काठमाडौंमा बसोबास गर्ने तमाम न्यूनमध्यम वर्ग र गरिबहरूको जीवनमा धावा बोल्दैछ।
एकछिन यी सडक व्यापारीहरूप्रति कुनै पूर्वाग्रह नराखी कल्पना गर्नुस् त — कस्तो होला हाम्रो काठमाडौं सहर, यदि यहाँ महानगरले भनेजस्तो एउटा पनि सडक व्यापारी रहेन भने?
कस्तो होला हाम्रो काठमाडौं सहर, यदि हाम्रो घर र टोल छेउछाउ फलफूल, तरकारी, भाँडाबर्तन, लत्ताकपडा र शृंगारका खिद्रीमिद्री सामान बेच्ने ठेलावाला, नाङ्लोवाला व्यापारी आउन छाडे भने?
त्यो अवस्थामा हुनेखानेले त ठुल्ठूला मलमा गएर सपिङ गर्लान् तर सर्वसाधारण नागरिकले किनमेल गर्ने कहाँ? उनीहरूले सस्ता लत्ताकपडा, सस्ता फलफूल, तरकारी र अन्य विभिन्न किसिमका सस्ता सामान खोजी हिँड्ने कहाँ?
मैले यो स्टोरी लेख्ने क्रममा ‘भिन्टेज नेपाल’ नामक ट्वीटरमा सेयर गरिएका काठमाडौंका पुराना फोटोहरू हेरेको थिएँ। काष्ठमण्डपदेखि, असन, इन्द्रचोक र काठमाडौंका अन्य सडक–गल्लीका ती पुराना फोटा र पेन्टिङमा यहाँको खुला बजार संस्कृति छर्लंग देखिन्छ।
काठमाडौंले कसरी सदियौंदेखि सडक व्यापारलाई समाजको अभिन्न हिस्साका रूपमा स्वीकार गर्दै आएको छ भन्ने त्यसले देखाउँछ। उदाहरणका लागि, हेनरी ओल्डफिल्डले सन् १८५०–१८६० दशकमा बनाएको यो पेन्टिङ हेरौं, जसमा काष्ठमण्डप अगाडि खुला तरकारी बजार चलेको देखिन्छ।
इन्द्रचोक आकाशभैरव अगाडि बिक्रम सम्बत् २०१६ सालमा खिचिएको माथिको अर्को तस्बिर पनि हेरौं।
यी दुवैले काठमाडौंको समावेशी चरित्र झल्काउँछन्। बालेनको 'ठेला हटाऊ' अभियानले काठमाडौं सभ्यताको यही आत्मा मार्दैछ।
यसलाई अब अर्को कोणबाट पनि हेरौं। यी सडक व्यापारीहरू, जो दिनभरि सडक किनार ठेला चलाएर, हामीलाई सस्तो सामान उपलब्ध गराएर आफ्नो गुजारा चलाउँछन्, यी कहाँ बस्छन्? यिनको थातथलो कहाँ छ? के यिनीहरू हरेक दिन गाउँबाट व्यापार गर्न काठमाडौं आउने हुन्? कि यतै बस्छन्?
यिनीहरू सबै काठमाडौंकै बसोबासी हुन्। काठमाडौंका विभिन्न ठाउँमा डेरा लिएर सपरिवार बस्छन्। यिनका केटाकेटी यतैका स्कुलमा पढ्छन्। खासगरी काठमाडौं कोर–सिटीका पुराना घरहरूमा सस्तो भाडा तिरेर यस्ता व्यापारीहरू ठूलो संख्यामा बस्ने गरेको हामी पाउँछौं।
मेयर बालेन शाहले भनेजस्तै यी साना व्यापारीहरूलाई उनीहरूको ठेला, नाङ्लो र डोको खोसेर रोजगारविहीन बनाउने हो भने उनीहरू पक्कै पनि महिनाको चार–पाँच हजार भाडा तिरेर काठमाडौंमा बस्न सक्दैनन्। आफ्ना केटाकेटी पढाउन सक्दैनन्। यसले रोजीरोटीको खोजीमा काठमाडौं पसेको परिवारको सपना त मर्छ नै, सँगसँगै काठमाडौंमै घर भएका र ती सडक व्यापारीलाई भाडामा राखिरहेका परिवारको जीवनयापनमा पनि असर पर्छ। उनीहरूको कमाइ घट्छ, कमाइ घटेपछि उपभोग घट्छ, खर्च पनि घट्छ। र, अन्ततः काठमाडौंको अर्थतन्त्र नै डाँवाडोल हुन्छ।
त्यसैले, काठमाडौंजस्तो गाउँ–सहर, धनी–गरिब मिलेर बनेको मिश्रित समाजबाट गाउँलेहरूलाई पन्छाउनु, गरिबहरूलाई हटाउनु भनेको सिँगो सहरकै भविष्य सखाप पार्नु हो — काठमाडौंकै भविष्य सखाप पार्नु हो।
के मेयर बालेन शाहले कल्पना गरेको सहर यस्तै हो?
हो भने, पढाइ र पेसाले स्ट्रक्चरल इञ्जिनियर बालेन शाहले काठमाडौंको समाजशास्त्र र अर्थशास्त्र बुझेकै छैनन्। काठमाडौं मात्र किन, उनले कुनै पनि सहरको समाजशास्त्र र अर्थशास्त्र बुझेका छैनन्। उनलाई सहर बनाउने इञ्जिनियरिङ थाहा होला तर त्यसको सामाजिक र आर्थिक अन्तरवस्तुबाट उनी अज्ञान देखिन्छन्।
बरू रमा खत्रीले आफ्नो अनुभवका आधारमा काठमाडौंको यो अन्तरवस्तु बुझिसकिन्।
मसँग लगातार बोल्दै गर्दा उनले भनेकी थिइन्, ‘जसरी ठेला चलाएर हाम्रो रोजीरोटी चलेको छ, हामीसँग तरकारी किन्नेले पनि त सस्तोमा खान पाएका छन्। महँगी अहिल्यै यस्तो छ, महानगरले हामी सडक व्यापारीहरू सबैलाई हटाइदियो भने महँगी कहाँ पुग्ला? के त्यसपछि सबैले ठुल्ठूला पसलमा किनेर खान सक्लान् त?’
उनले बालेन शाहलाई महानगरको उद्देश्य पनि पूरा हुने र गरिब सडक व्यापारीको जीविका पनि चल्ने मध्यमार्ग सुझाएकी छन्, ‘हामीलाई दिनभरि पसल थाप्न दिनुपर्दैन। कम्तिमा बिहान ९ बजेसम्म र बेलुकी ५ बजेसम्म राख्न दिए हुन्छ।’
उनले अगाडि भनिन्, ‘अनि हामीबाट खोसेर लगेको ठेला फिर्ता गरे हुन्छ। त्यो त हाम्रो रोजीरोटी हो। त्यो ठेला महानगरलाई के काम? कस्तो सरकार होला त्यो, जसले आफ्ना जनताको रोजीरोटी खोसेर लैजान्छ?’
रमा खत्रीसँग लामो कुराकानीपछि म उनको झुप्रोबाट अगाडि बढेँ।
म्हेपी मन्दिर नजिक मूल सडकभन्दा अलि भित्र दुइटा ठेलामा समोसा, चाट, आलुचप बेचिँदै थियो। वरिपरि केटाकेटीहरू झुम्मिएर कागजको प्लेटमा समोसा खाँदै थिए। म एकछिन चुपचाप उभिएर हेरिरहेँ। अनि नजिक गएर एक जना ठेलावालालाई नगर प्रहरीहरूको कारबाहीबारे सोधेँ।
जोसँग मैले कुरा गरेँ, उनको नाउँ रहेछ बिक्रम बुढाथोकी। उमेर, ३० वर्ष।
बिक्रम पाँच वर्षअघि रोल्पाबाट काठमाडौं आएका हुन्। उनी फिल्म क्षेत्रमा काम गर्ने सपना बोकेर यहाँ आएका थिए। केही समय संघर्ष गरेर टेलिसिरियल र म्युजिक भिडिओहरूमा काम पनि गरे। उनले लेखन र निर्देशन गरेको सिरियल ‘नक्कली बुहारी’ युट्युबमा हेर्न पाइन्छ। उनले केही सिरियल र म्युजिक भिडिओहरूमा छायांकन पनि गरेका छन्।
उनको फिल्मी करिअर राम्ररी नै अगाडि बढ्दै थियो। तर कोरोना लकडाउन उनको करिअर र जिन्दगीमा अभिशाप बनेर आयो।
कोरोना महामारीले फिल्म क्षेत्र प्रभावित भएपछि उनले काम पाउन छाडे। धेरै प्रयास गर्दा पनि काम नभेटेपछि उनले विभिन्न परिकार बनाउने आफ्नो खुबीलाई नै रोजीरोटीमा परिणत गरे। र, ठेला राखेर होटल व्यवसाय गर्न थाले।
‘इच्छा गरेको काम पाइएन, त्यसपछि त हातमा जे–जे सीप छ, त्यही–त्यही गर्ने न हो,’ बिक्रमले भने, ‘मलाई पकाउन आउँथ्यो, मैले ठेलामा होटल चलाएँ।’
यो होटल व्यवसायबाट कमाइ राम्रै भइरहेको थियो। उनले हालसालै बिहे पनि गरे। अहिले श्रीमान र श्रीमती दुवै मिलेर ठेलाको होटल सम्हाल्दै आएका छन्। पछिल्लो समय नगर प्रहरीको धरपकड बढेपछि भने बिक्रमको छट्पटी पनि बढ्न थालेको छ।
गत साता महानगरको कारबाहीमा बिक्रमको एउटा ठेला पनि लुटिएछ, सर-सामानसहित। उनी ती सामान फिर्ता पाइएला कि भनेर भोलिपल्टै टेकु पुगेछन्। हारगुहार गरेछन्। तर महानगरले उनको ठेला फिर्ता गरेन। ग्यास सिलिन्डर चाहिँ पाँच सय रूपैयाँ जरिवाना लिएर छाडेछ।
जुन ठेला महानगरले खोसेर लग्यो, त्यो उनले २२ हजार रूपैयाँ तिरेर नयाँ किनेका हुन्। अहिले जुन ठेलामा उनी घुम्ती होटल चलाउँदै छन्, त्यो ११ हजारमा सेकेन्डह्यान्ड किनेको उनी बताउँछन्।
‘दुइटा ठेला थियो, एउटा लग्यो,’ उनले भने, ‘यो पनि लग्यो भने चाहिँ यस्तो काम गर्दिनँ।’
‘अनि के गर्नुहुन्छ त? रोल्पा फर्कनुहुन्छ?’
‘के गर्नु रोल्पा फर्केर!’ उनले जवाफ दिए, ‘जमिन्दारको सन्तान परिएन। भएको जग्गा–जमिनले खान पुग्दैन। हामी गरिबसँग त सपना मात्र हुन्छ। हामी सपना देख्छौं र त्यही सपना पछ्याउँदै सहर आउँछौं। सहरले कहिले स्याहार्छ, कहिले लघार्छ। जस्तो अहिले महानगरले हामीलाई लघार्दैछ।’
‘त्यसो भए के गर्नुहुन्छ त?’ मैले फेरि सोधेँ।
‘विदेश जान्छु, अरू के गर्नु?’ उनले भने, ‘आफ्नो देशमा गरिखान पाइएन, अरू के उपाय छ र? कहिलेकाहीँ त मलाई यो देश नै हामी गरिबहरूको होइन कि जस्तो पो लाग्छ!’
बिक्रम बुढाथोकी एकछिन निकै भावुक देखिए। धन्न उनको ठेलामा आलुचप खान दुई जना किशोरीहरू आए। उनी तिनका लागि आलुचप तार्न व्यस्त भए, चुपचाप।
म उनीसँग विदावारी भई अगाडि बढेँ।
मैले बिक्रमलाई पनि आफूसँग भएको भिडिओ क्लिप देखाएको थिएँ। भिडिओमा देखिने महिला, जो बर्को ओढेर आँशु झार्दै थिइन्, उनी कहाँ भेटिएलान् भनेर सोधेको थिएँ। बिक्रमले उनलाई चिन्दा रहेछन् तर नाम–ठेगाना थाहा रहेनछ। उनले भनेका थिए, ‘ठ्याक्कै त थाहा छैन तर अहिले बेलुकीतिर म्हेपी मन्दिर आसपास भेटिन सक्नुहुन्छ।’
मैले उनले भनेअनुसार म्हेपी मन्दिरको थुम्को परिक्रमा गरेँ। त्यही क्रममा केही महिला र पुरूषहरू कोही फुटपाथमा बसेर, कोही ठेला र साइकलमा तरकारी बेच्दै गरेको देखेँ।
मैले त्यहाँ देखिएका अनुहार भिडिओ क्लिपसँग भिडाउन खोजेँ। ती महिला त्यहाँ देखिइनन्।
तर यहाँ अर्को संयोग भयो।
तपाईंहरूले त्यो भिडिओ हेर्नुभएको छ भने, त्यसमा एक जना महिला नगर प्रहरीबाट ठेला जोगाउन दगुर्दै गएको र दुई जना महिलाले ठेला घचेट्दै भाग्न खोज्दा भ्यानमा ठोक्किएको दृश्य देख्नुहुन्छ। यसरी नगर प्रहरीबाट ठेला जोगाउन भागाभाग गर्ने दुई महिलामध्ये एक जनासँग मेरो त्यहीँ जम्काभेट भयो।
नाम– श्यामवती मेहता। उमेर– ४० वर्ष। घर– इनरूवा, सुनसरी।
मैले उनलाई आफ्नो मोबाइलको भिडिओ क्लिप देखाएँ। उनले ती दुईमध्ये एक जना आफू भएको पुष्टि गरिन्।
‘म ठेलामै थिएँ। मलाई नगर प्रहरीहरू ठेला खोस्न आएका छन् भन्ने थाहा थिएन। ढुंगेअड्डातिरकी एक जना साथीले चाल पाएर मेरो ठेला बचाउन दौडिएर आइन्। उनको पछि पछि महानगरको गाडी पनि आयो। हामी दुई जनाले बल गरेर ठेला दौडायौं,’ उनले भनिन्।
‘अनि?’
‘मैले ठेला जोगाउन सकिनँ,’ उनले खिन्न मानिन्।
‘तपाईंहरू भाग्दा एउटा भ्यानमा ठोक्किनुभएको थियो नि,’ मैले सोधेँ।
‘हो ठोक्किएको थिएँ,’ उनले देब्रे पाखुरा मुसार्दै भनिन्, ‘त्यो बेला त केही थाहा भएन, पछि चाहिँ पाखुरा अलि अलि दुख्यो।’
‘त्यति गर्दा पनि ठेला जोगाउन सक्नुभएन है!’
‘ठेला घचेट्दै हामी कति पर भाग्न सक्थ्यौं र!’ उनले भनिन्, ‘एकछिनमै नगर प्रहरीहरू गुटुटुटु आइपुगिहाले र तरकारी जम्मै फालेर ठेला उठाएर लगिहाले।’
मैले त्यस दिन श्यामवतीलाई बचाउन दौडिएकी ढुंगेअड्डाकी महिलालाई पनि भेट्न चाहेको थिएँ तर उनी आएकी रहिनछिन्। बर्को ओढेर रूँदै गरेकी महिला पनि बजारबाट अलप थिइन्। मैले आफूले भेटेका सबैलाई मेरो नम्बर टिपाएर आएको छु र कसैगरी उनी भेटिइन् भने मसँग सम्पर्क गराउनू भनेको छु। यो स्टोरी लेख्दासम्म कसैको फोन आएको छैन।
‘अब त यस्तै होला, एक ठाउँमा बसेर व्यापार गर्न गाह्रो भयो। अहिले म आरामले बसेर बेचिरहेको छु, तुरून्तै यहाँ खल्बली मच्चिनसक्छ। भागदौड हुनसक्छ,’ श्यामवतीले भनिन्।
हुन पनि श्यामवतीका आँखा निकै चनाखा देखिन्थे। उनी साग बेच्दै गर्दा घरि दायाँ हेर्थिन्, घरि बायाँ। प्रत्येक ग्राहकलाई सागसब्जी थमाएपछि पैसा लिन र फिर्ता गर्न उनलाई हतार हुन्थ्यो। ताकि, नगर प्रहरी आइपुगिहाले पैसा असुल नगरीकनै भागाभाग गर्नुपर्ने नौबत नआओस्!
श्यामवती काठमाडौं आएको सात वर्ष भयो। उनका श्रीमान र दुई जना छोरा वैदेशिक रोजगारमा गएका छन्। उनी काठमाडौंमा तरकारी बेचेर जीविका गर्दै छिन्।
‘श्रीमान, छोराछोरी विदेश गएका छन् भनेर आफू चुपचाप घर बस्नलाई म कहाँकी महारानी हुँ र?’ उनले भनिन्, ‘मैले पनि त केही न केही कमाइ गर्नुपर्यो।’
उनी यसरी तरकारी बेचेर महिनाको १० हजार रूपैयाँजति कमाउँछिन्। अहिले महानगरको कारबाहीपछि भने कमाइ घटेको छ।
‘ठेलामा भए घर–घरै गएर बेच्न पाइन्छ,’ उनले भनिन्, ‘फुटपाथमा बसेर बेच्दा व्यापार कम हुन्छ।’
रमा खत्री, बिक्रम बुढाथोकी र श्यामवती महतो मेयर बालेन शाहको अभियानबाट प्रताडित केही प्रतिनिधि पात्र हुन्। यस्ता पात्र थुप्रै छन् काठमाडौंका सडक, गल्लीहरूमा जसको झलक महानगरको अभियान नित्य फलो गरिरहेका युट्युब भिडिओहरूमा देख्न सकिन्छ।
ती सबै भिडिओ हेर्दा मेयर बालेन शाह ‘परपीडक’ जस्तो लाग्छ, जो काठमाडौंमा जीविका गरिरहेका गरिबहरूलाई रूवाइरहेका छन्। र, काठमाडौंको सौहार्द, समावेशी र सहभागितामूलक सभ्यता मार्दैछन्।
ती भिडिओमा काठमाडौंका नगर प्रहरीहरूमा पलाएको दम्भ र अहंकार पनि झल्किन्छ, जो सहरका नागरिकको मुखैनिर औंला तेर्स्याएर ‘मुख सम्हालेर बोल’ भन्दै धम्क्याउँदै छन्। नागरिकलाई धकेलाधकेल गर्दै छन्। उनीहरूसँग घम्साघम्सीमा ओर्लिएका छन्।
स्थानीय नागरिकसँग सहकार्य र सहभागितामूलक ढंगले काम गर्ने भनी नगर प्रहरीको परिकल्पना गरिएको हो। त्यसैले उनीहरूलाई हतियारका नाममा लट्ठीबाहेक अरू केही दिइएको छैन। तर तिनै नगर प्रहरी अहिले नागरिकहरूसँग यति रूखो लवजमा बोलिरहेका सुनिन्छन्, त्यति रूखो त जनपद वा ट्राफिक प्रहरीको पनि कहिल्यै सुनिएको थिएन।
महानगरले वा महानगर प्रहरीले खेदे पनि, लछारपछार पारे पनि, उनीहरूको ठेला खोसे पनि, तरकारीको नाङ्लो हुत्याए पनि सडकमा संघर्ष गरेर जीवन निर्वाह गर्नेहरू कहीँ जाने छैनन्। किनभने, उनीहरूको जाने ठाउँ नै कहीँ छैन। बाँच्ने अर्को ठाउँ छैन, आधार छैन। उनीहरू लुकेर, छेलिएर व्यवसाय गर्लान्, प्रहरी आउलान् कि भनेर आँखा तन्काउलान्, कान ठाडा पार्लान् तर उनीहरू भागेर कतै जान्नन्। महानगरको यो धरपकडले उनीहरूको थाप्लोमा दु:ख र हैरानी थप्छ मात्र। सडकले जुन आश्रय उनीहरूलाई दिएको छ, अरूले दिन्नन्। जुन दिन जीवन धान्ने अर्को ठाउँ, अर्को उपाय उनीहरूले पाउलान् वा बनाउलान्, त्यस दिन उनीहरू पनि अरू धेरैजस्तै सडकको बटुवा मात्र बन्नेछन्। सडकमै जीवन बिताउने कसम खाएर उनीहरू आज बालेनका नगर प्रहरीसँग लडिरहेका कहाँ हुन् र!
सडक व्यापारीहरूका लागि जीवनको एउटा ठूलो विडम्बना यो हो, उनीहरूको संघर्ष, उनीहरूको विवशता र उनीहरूको आँशुको मूल्य जुन र्यापर बालेनले बुझेको थियो, आज महानगरको घुम्ने कुर्सीमा त्यो बालेन छैन।
राजनीतिमा आउनुभन्दा अगाडि बालेनले धेरै र्याप गाए। तीमध्ये एउटा र्याप बालेनको विम्ब बन्यो - ‘गरिबको चमेली बोल्दिने कोही छैन।’
पञ्चायतविरूद्ध राजनीतिक आन्दोलन क्रममा राल्फा समूहले सिर्जना गरेको यो गीतले गरिबहरूलाई सदियौंदेखिको गरिबी र उत्पीडनबाट मुक्त गर्ने भाव बोकेको छ। बालेनले गरिबी र उत्पीडनविरूद्धको त्यो आगोलाई र्यापमार्फत् नयाँ पुस्तामा पुर्याए।
सायद त्यसले पनि उनलाई महानगरको कुर्सीमा पुर्याउन मद्दत गर्यो।
तर आज मेयर बालेनका कृत्यहरूले काठमाडौं सहरलाई गरिबीबाट होइन, गरिबहरूबाट मुक्त गर्न खोजेको छ।
उनको अभियानले सदियौंदेखि गरिबहरूलाई आश्रय र बाँच्ने आशा दिँदै आएको काठमाडौं सहरको आत्मा मार्दैछ।