दाङको तुलसीपुर उपमहानगरपालिका-१३ दमार गाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेका किशोर- किशोरीको हत्याकाण्डबारे अनुसन्धान नजिक पुगेको प्रहरी अधिकारीले बताएका छन्।
स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँ घर भई दमारगाउँस्थित मामा घरमा बसेर अध्ययन गर्दै आएका १४ वर्षीय शरद आचार्यको शव गाडेको अवस्थामा आइतबार दिउँसो दमारगाउँको जंगलमा फेला परेको थियो।
घटना सार्वजनिक भएलगत्तै मोबाइल लोकेसन ट्यापिङ गरी सुरूमै टिपर चालकलाई पक्राउ गरी प्रहरीले जिल्ला प्रहरी कार्यालय घोराहीमा पुर्याएको थियो।
२७ गते मध्यराति शरद बेपत्ता भएपछि तिनै टिपर चालकको मोबाइल प्रयोग गरी उनकी मावली हजुर-आमालाई पटक/पटक फोन सम्पर्क गरी नाति कहाँ छ? भनेर सोधेको कुरा खुलेको थियो। त्यही आधारमा उनको लोकेसन ट्यापिङ गरी प्रहरीले नियन्त्रणमा लिएको थियो।
तिनै टिपर चालकको बयानले केही महत्वपूर्ण सुराक मिलेको घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार टिपर चालक दमारगाउँका स्थानीय भने होइनन्। प्रहरीले उनको परिचय अझै गोप्य राखेको छ।
‘सुरूमा पक्राउ परेका व्यक्तिले स्पष्ट केही कुरा प्रहरीलाई बताइसकेका छन्,’ एक प्रहरी अधिकारीले भने, ‘उनको त्यही बयानका आधारमा आज हामीले फेरि अर्का एक युवकलाई नियन्त्रणमा लिएका छौं।’
प्रहरी स्रोतका अनुसार सोमबार बिहान नियन्त्रणमा लिइएका ती व्यक्तिको माइती घर दमार गाउँ नै हो।
टिपर चालकले केही स्पष्ट सुराक दिइसकेको भए पनि पछिल्लो समय पक्राउ परेका व्यक्तिबारे सूक्ष्म रूपमा सोधपुछ र अनुसन्धान हुन बाँकी रहेको ती प्रहरी अधिकारीले जानकारी दिए।
यो बीचमा रोशनी र शरदलाई नजिकबाट चिन्ने गाउँकै साथीहरू तथा सहपाठीसमेत गरी थप दश जना जतिलाई उनीहरूको आनीबानी, व्यवहार तथा उनीहरूबीचको वास्तविक सम्बन्ध पत्ता लगाउनका लागि सोधपुछ गर्न भनेर कार्यालयमा ल्याइएको प्रहरीले बताएको छ।
‘रोशनी र शरदको आनीबानी तथा वास्तविक सम्बन्ध बुझ्नका लागि मात्रै प्रहरीले उनीहरूलाई बोलाएको हो,’ ती प्रहरी अधिकारीले भने, ‘हामीले जति बालबालिकालाई सूचनाका लागि ल्याएका छौं, त्यसमा उहाँहरूको कुनै संलग्नता देखिने आधार भेटिएका छैन।’
असोज २७ गते राति झण्डै साढे १० बजेसम्म रोशनी र शरद दुबैको मोबाइलमा कुराकानी भएको देखिएको प्रहरीले जानकारी दिएको छ।
‘अब हामी उनीहरूको बीचमा के-कस्ता म्यासेजहरू आदान-प्रदान भएका थिए भनेर पत्ता लगाउने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘त्यसका लागि सम्बन्धित निकायलाई आग्रह गरिएको छ।’
जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले यसअघि नै दुबैको टाउको र अनुहारमा गहिरो चोटपटक देखिएको हुँदा उनीहरूको हत्या भएको स्पष्ट देखिएको जानकारी दिएका थिए।
‘हत्या गरिएका दुबैको टाउको र अनुहारमा अन्धाधुन्ध ढुंगाले आक्रमण गरेको जस्तो गहिरो चोटपटक लागेको छ,’ अर्का एक प्रहरी अधिकारीले भने, ‘केटाको अण्डकोशमा गम्भीर चोट छ र एउटा खुट्टाको पिँडुला नजिकै काटिएको जस्तो घाउ खत छ।’
गएराति अबेर मात्रै उनीहरूको शव घटनास्थलबाट पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो।
सोमबार दिउँसो पोष्टमर्टमको लागि तयारी गरिएको छ।
‘पोष्टमर्टमपछि उनीहरूको हत्याबारे थप स्पष्ट बोल्न सजिलो होला,’ ती प्रहरी अधिकारीले भने।
तीन दिनदेखि बेपत्ता नातिको खोजी गर्दै जाने क्रममा शरदका मावली हजुरबुवाले जंगलतर्फ जाने चिरोतर्फ नयाँ पाइलाका डोबहरू देखेपछि आशंका लागेर खोज्दै जाने क्रममा दुबै जनाको शव एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेका थिए। त्यसपछि प्रहरीलाई घटनाबारे खबर गरिएको थियो।
घटनास्थल रोशनीको घरदेखि झन्डै ८० मिटरको दूरीमा पर्ने प्रहरीले जानकारी दिएको छ।
त्यस्तै, कौवापुर प्रहरी चौकीदेखि करिब ५ सय मिटर पश्चिममा उनीहरूको शव एउटै खाडलमा माटोले पुरेको अवस्थामा फेला परेको थियो।
‘खासै खाडल नै खनेर पुरेको देखिँदैन,’ ती प्रहरी अधिकारीले भने, ‘चिरोमा उनीहरूलाई फालेर वरिपरिको ढिकको माटो खनेर पुरिएको अवस्थामा शव फेला परेका थिए।’
खाडल खन्न फरुवा प्रयोग भएको देखिएको पनि प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले यसअघि नै घटनाको प्रकृतिका हेर्दा उनीहरूको हत्या चिनजानकै र नजिकका व्यक्तिबाट भएको हुने सक्ने आशंका व्यक्त गरेका थिए।
अर्का एक प्रहरी अधिकारीले रोशनी र शरदमध्ये एकले ‘मल्टिपल’ सम्बन्ध राखेका कारण गम्भीर घटना भएको हुन सक्ने आशंका व्यक्त गरे।
अनुसन्धानबाट हत्या गरिएका दुबैका बीचमा रहेको सम्बन्धबारे उनका सहपाठीहरू र गाउँले समेत केही मात्रामा जानकार रहेको भन्ने खुलेको प्रहरीले बताएको छ।
‘यो आकस्मिक रूपमा भएको हत्याकाण्ड हो वा पूर्व योजना अनुसार भएको हो भन्ने कुरा अनुसन्धानबाट खुल्ला,’ उनले भने, ‘तर, उनीहरूको हत्यामा नजिकका र चिनजानकै मानिसहरूको हात हुन सक्ने आशंका बढेको छ।’
अपरझट हुने घटनामा हत्यामा संलग्न व्यक्तिले त्यसरी शव व्यवस्थानमा ध्यान नदिने बरू जति सक्यो चाँडो उनीहरू भाग्न प्रयास गर्ने प्रहरीको बुझाइ छ।
‘जसरी हत्या गरी दुवैको शव एउटै खाडलमा गाडिएको छ, त्यसले घटना योजनाबद्ध रूपमा र चिनजानकै तथा नजिकका मानिसबाट भएको हो कि भन्ने आशंका पैदा भएको छ,’ उनले भने, ‘प्रहरी गम्भीर अनुसन्धानमा लागेको छ र छिट्टै हत्यामा संलग्न व्यक्ति पत्ता लगाउने गरी काम गरिरहेको छ।’
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले हत्यापछि एउटै खाडलमा गाडिएका किशोर-किशोरी दुबैले प्रयोग गर्ने मोबाइल फोन हालसम्म फेला पर्न नसकिएको र खोजी कार्य जारी रहेको बताए।
‘हत्या गरिएका दुबैको मोबाइल फोन हालसम्म फेला पार्न सकिएको छैन,’ उनले भने, ‘उनीहरूलाई गाडेको खाडलमा पनि मोबाइल थिएन। हत्यामा संलग्न व्यक्तिहरूले नै मोबाइल गायब पारेको हुनसक्ने आशंका भइरहेको छ।’
प्रहरीका अनुसार असोज २७ गते रातिदेखि उनीहरू बेपत्ता थिए।
एक जनाले सोही दिन राति नै आचार्यका मावली हजुरबुवालाई फोन गरेर नाति कहाँ छन्? भनेर सोधेको भन्ने खुलेको प्रहरीले बताएको छ।
त्यो फोन टिपर चालकको रहेको खुलेपछि उनलाई सुरूमै प्रहरीले पक्राउ गरेको थियो।
असोज २८ गते आचार्यकी मावली हजुरआमा स्थानीय प्रहरी चौकी कौवापुरमा पुगेर आफ्नो नाति बेपत्ता रहेको हुँदा खोजी गरिदिन आग्रह गर्दै निवेदन दिएकी थिइन्।
गाउँले तथा आफन्तले सुरूमा उनीहरू प्रेममा परी आपसमा भागेको हुन सक्ने शंका गरेका थिए।
उनीहरू दुबै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्ययनरत थिए।
इप्रका प्रमुख डिएसपी मल्लका अनुसार आमा र बुवाको छोडपत्र भएका कारण आमासँगै दमाउगाउँस्थित मामा घरमा शरद पनि बस्दै आएका थिए।
प्रहरी स्रोतका अनुसार रोशनीको बुवा पनि रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा रहेको भन्ने खुलेको छ।
घटनास्थल तुलसीपुर बजारदेखि झन्डै १३ किलो मिटर दक्षिणमा पर्छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।