दाङको जंगलमा गाडिएको अवस्थामा किशोर-किशोरीको शव फेला परेको घटनामा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँको जंगलमा स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव गाडेको अवस्थामा आइतबार दिउँसो फेला परेको हो।
उनीहरूको हत्या गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको उच्च स्रोतले जानकारी दिएको छ।
ती व्यक्तिलाई प्रहरीले फोन कलको आधारमा लमही बजारबाट पक्राउ गरेको हो। प्रहरीले उनको पहिचान खुलाएको छैन। यद्यपि उनी टिपर चालक भएको खुलेको छ।
प्रहरीका अनुसार असोज २७ गते रातिदेखि उनीहरू बेपत्ता भएका थिए।
उनले बेपत्ता भएको दिन नै आचर्यका हजुरबुवालाई फोन गरेर नाति कहाँ छन् भनेर सोधेका थिए।
असोज २८ गते आचार्यको परिवारले प्रहरीमा नाती हराएको भन्दै खोजी गरिदिन आग्रह गरेकी थिइन्।
घर परिवारले सुरूमा उनीहरु प्रेममा परि भागेको हुनसक्ने आशंका गर्दै आएका थिए।
उनीहरु दुबै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्यनरत थिए। अधिकारी दमार गाउँमै मामा घरमा बसेर अध्ययन गर्दै आएका थिए।
उनकी आमा र बुवाको छोडपत्र भएका कारण उनीहरू आमासँगै मामा घरमा बस्दै आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले बताए।
जंगलमा वस्तु चराउन गएका स्थानीयले गन्ध आएपछि नियालेर हेर्दा खाडलमा गाडेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनास्थल तुलसीपुर बजारदेखि झन्डै १३ मिटर दक्षिणमा र प्रहरी चौकी कौवापुरको केही पूर्वतर्फ पर्नेगर्छ।
घटनाबारे अनुसन्धान जारी रहेको उनले बताए। घटनास्थलमा जिल्लाका एसपी, डिएसपी, नेताहरू समेत पुगेका छन्।
यसको अनुसन्धान गर्न प्रहरीले बाँके कोहलपुरबाट तालिमप्राप्त कुकुरसमेत झिकाएको छ।