काठमाडौंको गोठाटारमा सोमबार साँझ गोली हानी आक्रमण गरिएका लाल मोहम्मदको मृत्यु भएको छ।
गोली लागेपछि घाइते भएका मोहम्मदको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोहम्मदको टाउको र तिघ्रामा गोली लागेको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मद गार्मेन्ट व्यवसायी थिए।
कागेश्वरी मनोहरा नगरपालिका- ८ मा उनलाई गोली हानेर आक्रमणकारीहरू भागेको प्रहरीले जनाएको छ।
मोहम्मदमाथि आक्रमण भएको सिसिटिभी फुटेज सार्वजनिक भएको छ।
उक्त भिडिओमा मोहम्मद सेतो कारबाट उत्रिनेबित्तिकै उनीमाथि गोली हानिएको देखिन्छ। उनी आफू उत्रिएको कारकै वरिपरि घुम्दै बच्न खोज्दै भागेका देखिन्छन्। तर बन्दुकधारी उनको पछिपछि लागेर खेद्दै उनलाई तीन-चार पटक गोली हान्छन्।
गोली हानेको देखेपछि सँगै रहेको घरमा रहेकी मोहम्मदकी छोरीले एक तला माथिबाट हाम फालेर आक्रमणकारीलाई झम्टिएको देखिन्छ। यसपछि बन्दुकधारीहरू भागेका थिए।
घटनास्थलमा बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ।
गोली हान्ने दुई जना आक्रमणकारीको हुलिया प्रहरीले पत्ता लाइसकेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यकाबाट बाहिरिन सक्ने नाकाहरूमा कडाइ गरेर प्रहरीले जाँच गरिरहेको बताएको छ।
१० वर्ष जेल सजाय काटेर छुटेका थिए मृतक मोहम्मद
काठमाडौंको गोठाटारमा सोमबार साँझ गोली हानी आक्रमण गरिएका लाल मोहम्मद १० वर्ष जेल बसेर छुटेको खुलेको छ।
मोहम्मदको परिवारसँग सोधपुछका क्रममा उनी पाँच वर्षअघि दस वर्षको जेल सजाय काटेर छुटेका प्रहरीले जनाएको छ।
'उनी कुन मुद्दामा जेल परेका थिए भन्नेबारे यकिन भइसकेको छैन। थप अध्ययन तथा अनुसन्धान भइरहेको छ,' प्रहरी स्रोतले भन्यो।