यौनिक तथा अल्पसंख्यक समुदायका कथा
पिटर राईले आफूलाई पारलैंगिक महिला भनेर चिनाउन थालेको जम्मा दुई महिना भयो। त्यसअघि उनलाई आफू पुरुषभन्दा फरक छु भन्ने मात्र थाहा थियो। आफूलाई समलिंगी पुरुष भनेर चिनाइरहेका थिए।
समलिंगी पुरुष भनेको पुरुष भएर पुरुषप्रति आकर्षित हुनु हो। पारलैंगिक महिला भनेका महिलाका गुण हुनु र महिला भएरै पुरुषप्रति आकर्षण देखिनु हो।
'म महिला भएर हिँड्न रूचाउँछु। केटाप्रति आकर्षित हुन्छु,' पारलैंगिक महिला भए पनि आफ्नो नाम भने पिटर नै राखेको उनी बताउँछिन्। यो नाम राख्नुको पछाडि विशेष कारण छ।
उनको जन्म खोटाङको दिक्तेल बजारमा भएको थियो। परिवारले उनलाई अनुज नाम दिएका थिए। उनलाई सानैदेखि केटाहरू मनपर्थ्यो।
कक्षा ६ पढ्दै गर्दा आफू अरूभन्दा फरक भएको उनलाई महसुस भयो। अरू केटा साथीहरूले 'गर्लफ्रेन्ड' बनाउँदा उनलाई रहर भएन। केटाहरूसँगै घुलमिल हुन्थे।
'दिमागले किन केटीप्रति आकर्षित नभएको होला भनेर प्रश्न गर्थ्यो। उत्तर थाहा थिएन,' त्यो बेलाको अलमल सुनाउँदै उनले भनिन्, 'यत्ति थाहा थियो कि मलाई केटा मनपर्छ र केटीजस्तै बनेर हिँड्न मन लाग्छ। दिमागले अर्कै, मनले अर्कै अनि समाजले अर्कै भन्दा मैले आफूलाई चिन्न धेरै संघर्ष गर्नुपर्यो।'
उमेर अनि कक्षा बढेसँगै पिटरलाई आफू अरू केटाभन्दा फरक भएको झनै स्पष्ट हुँदै थियो। उनको हाउभाउ पनि केटीजस्तै बन्दै थियो। उनले खुलेर त्यसलाई देखाएनन्। समाजले केटा कस्तो हुन्छ र केटी कस्तो हुन्छ भनेर छुट्याइदिएको छ। भनेजस्तो नभए अनेक टिकाटिप्पणी हुन्छ। त्यही कारण आफूलाई गुपचुप राखे।
उनका बुवा स्कुलका प्रधानाध्यापक थिए।
'त्यसले पनि मलाई समाजमा हाँसोको पात्र बनिएला र बुवाको इज्जतको धज्जी उडाउँछु कि भन्ने डर भयो,' उनले भनिन्। तर पिटरले जति नै लुकाउन खोजे पनि उनको बदलिँदो स्वभाव साथीभाइले चाल पाइहाले।
'साथीहरूले कस्तो केटी जस्तो बनेको भनेर जिस्काउँथे। म बेवास्ता गरिदिन्थेँ,' उनले स्कुले जीवन सम्झिँदै भनिन्।
त्यति बेलासम्म उनलाई आफ्नो पहिचानबारे थाहा भएन। अलिअलि पढेअनुसार उनलाई आफू समलिंगी हो कि भन्ने भयो। 'समलिंगी पुरुष हुँ' भनेर सबैलाई भन्ने सोचे पनि हिम्मत भएन।
'म आफू के भइरहेको छु भन्ने दोधारमा थिएँ। आफ्नो परिवर्तन बुझेको थिएँ तर आफू के हो भन्ने यकिन थिएन। समलिंगी पुरुष हुँ कि जस्तो लाग्न थालेको थियो।'
त्यो अन्यौलको अवस्थाबीच दिक्तेल इङ्लिस बोर्डिङ स्कुलबाट उनले एसएलसी दिए। अनि त्यही स्कुलमा पढाउन थाले। पढाउन थालेपछि झन् उनलाई आफ्नोबारे सोच्ने फुर्सद भएन।
उनले ६ वर्ष स्कुलमा पढाए। पढाउँदा पढाउँदै स्नातक सकियो। उनकी जेठी दिदी र बहिनीको बिहे भएपछि घरमा उनकै बिहेको कुरा चल्न थाल्यो। बिहेबाट पन्छिए।
यसपछि पिटर, उनका भाइ र बहिनी काठमाडौं आए। त्यसपछि उनको पहिलो जिम्मेवारी भयो भाइबहिनीको राम्रोसँग पढाइलेखाइ गर्ने। यसकारण उनी आफ्नो पहिचानबाट झनै टाढिँदै गए। राम्रोसँग आफूलाई बुझ्ने समय पाएनन्। यति बेलासम्म उनी पुरुषप्रति आकर्षित भएकाले आफूलाई समलिंगी भनेर बुझ्नमै सीमित भए।
काठमाडौंमा भाइबहिनी पढाइरहेका पिटर उनीहरू स्कुल गएका बेला दिउँसो फुर्सद पाउँथे। त्यति बेला उनी २० रूपैयाँ तिरेर साइबरमा इन्टरनेट चलाउन जान्थे। सामाजिक सञ्जालमार्फत उनले धेरै समलिंगी पुरुषहरूसँग कुराकानी गर्न थाले। यसपछि उनलाई आफू समलिंगी पुरुष नै हो भन्ने भयो।
सन् २०१३ मा निलहिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) ले मिस्टर गे (समलिंगी) प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा उनका साथी सहभागी थिए। प्रतियोगिता सकिएपछि साथी अस्ट्रेलिया गए। तिनै साथीमार्फत उनको निलहिरासँग सम्पर्क भयो। दुई वर्षपछि संस्थाले उनलाई जागिर दिलायो। त्यसअघि उनी काठमाडौंको एक सुपरमार्केटमा काम गर्थे।
संस्थामा पुग्दा उनलाई सुरूमा अलिकति हिचकिचाहट भएको थियो। उनले संस्थामा जोडिँदाको अनुभव सुनाइन्, 'सुरूसुरूमा संस्थामा अन्य मान्छेहरू देख्दा मलाई डर लाग्थ्यो। दस दिनपछि बल्ल मैले नयाँ साथी बनाएँ।'
संस्थाबाहिर पनि समलिंगी पुरुषहरू मात्र उनका साथी थिए। संस्थामा काम गर्न थालेपछि उनलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा समलिंगीबाहेक अन्य पहिचान पनि छन् भन्ने थाहा भयो। संस्थाको कार्यक्रममार्फत पारलैंगिक, द्विलिंगी लगायत पहिचान भएका व्यक्तिहरूसँग भेटघाट र चिनजान भयो।
यसैबीच उनको चीनका एक बडीबिल्डरसँग सामाजिक सञ्जालमार्फत कुराकानी भयो। लामो कुराकानी गर्दागर्दा उनीहरूबीच प्रेम नै बस्यो। तर उनीहरूले त्यो प्रेमको कुनै सम्भावना देखेनन्। दुवैजनाले सहमतिमा कुराकानी गर्न रोके।
ती चिनियाँ व्यक्तिको नाम थियो पिटर। जुन दिनदेखि उनीहरूले कुराकानी नगर्ने सहमति गरे, त्यही दिनबाट अनुजले आफ्नो नाम बदलेर पिटर राख्ने निधो गरे।
'मलाई अहिले घरमा पनि सबैले पिटर नै भनेर बोलाउँछन्,' उनले भनिन्।
उता प्रेममा ब्रेक लाग्दै थियो, यता पिटरको घरमा आमाबाबु उनको बिहे गराउन लागिपरेका थिए। जब घरमा उनको बिहेको कुरा चर्कियो, तब उनी आफ्नो पहिचानबारे झनै गम्भीर हुन थाले।
'मेरो बिहे गर्ने समय आउँदा मलाई एकदम गाह्रो भएको थियो। म त्यति बेला आफूलाई समलिंगी भनेर पहिचान गर्थेँ। अर्कातिर खुलेर अरूलाई यो कुरा भन्न सक्दिनँ थिएँ।'
उनको पहिचानबारे परिवारलाई थाहै थिएन। आमाबाबुको मन दुखाउन मन नभएकाले उनले केही बताएका थिएनन्। त्यसैले आफ्नो पहिचानको डर र परिवारको खुसीको दोसाँधमा उनले बिहे गर्ने निर्णय लिए।
छोरा बिहे गर्न सहमत भएपछि आमाबुवाले केटी खोज्न थाले। परिवारले बेलायत बस्ने केटी खोजिदिए। पिटरलाई भने अलमल भइरह्यो।
'मलाई बिहे गर्न मन थिएन। बुवाआमाको खुसीका लागि तयार भएँ। फेरि कताकता केटीलाई अन्याय गरेको पनि महसुस भएको थियो,' उनले मन्द स्वरमा भनिन्।
बिहेबारे पिटरले आफ्ना समलिंगी साथीहरूसँग सल्लाहसुझाव मागे। समाजमा यौनिक तथा पारलैंगिक समुदायले भोग्नपरेका यथार्थ सम्झिँदै साथीहरूले बिहे गर्नै सुझाए। त्यसैले पिटरलाई बिहे गर्ने केटीसँग औंठी साटासाट हुँदासम्म आफ्नो पहिचान बताउने आँट भएन।
उनलाई मनमा कताकता लाग्थ्यो- बरू केटीले नै म समलिंगी भएको थाहा पाएर बिहे तोडिदिए हुन्थ्यो!
'केटाहरूसँग मात्रै नजिक र आत्मीय भएर बोलेको मलाई ती केटी देखेर कुनै भावना आएन। केटीसँग थोरै समय बिताउन पनि उकुसमुकुस हुन्थ्यो। ती केटीले भने मलाई माया गर्न थालिसकेकी थिइन्,' उनले त्यो बेलाको अवस्था सुनाइन्।
पिटरको बिहेको कुरा चल्दाचल्दै भुइँचालो गयो। २०७२ वैशाखको भुइँचालोले बिहेको समय धकेलियो।
यता संस्थामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि काम गरिरहेका पिटरलाई परिवारबाहेक समुदायका व्यक्तिहरूले समलिंगी नै भनेर चिन्न थालिसकेका थिए। यही क्रममा एक दिन उनलाई एक टेलिभिजनले अन्तर्वार्ताका लागि बोलायो।
उनी समलिंगी व्यक्तिकै रूपमा त्यहाँ पुगेका थिए। त्यसपछि भने बल्ल उनको घरपरिवारलाई थाहा भयो। बिहेका लागि औंठी साटेकी केटीलाई पनि थाहा भयो। अनि ती केटीले नै बिहे तोडिदिइन्।
उक्त घटनाबाट पिटरलाई धेरै कुराको बोध भयो। उनी भन्छिन्, 'यसबाट के थाहा भयो भने कसैको जिन्दगीको निर्णय लिनु कसैलाई पनि अधिकार छैन। मैले बिहे गरेको भए सायद म आफ्नो पहिचानका लागि तड्पिरहन्थेँ। ती केटीलाई पनि जिन्दगीभर धोका दिइरहन्थेँ।'
उक्त अन्तर्वार्तामार्फत उनलाई घरपरिवार अनि साथीभाइमाझ समलिंगी भनेर परिचित त गराइदियो तर पिटर स्वयंलाई दोधार थियो। निलहिरा समाजमा संस्थामार्फत उनले समलिंगी र पारलैंगिकको फरक थाहा पाउन थाले। त्यसपछि आफूमा भएको विशेषता समलिंगीको नभई पारलैंगिक महिलाको हो भन्नेमा प्रष्ट भए। पिटरलाई आफूभित्रको पारलैंगिक महिला चिन्न करिब सात वर्षै लाग्यो।
'संस्थामा जोडिएपछि म कहिलेकाहीँ केटीको हुलियामा सजिन्थेँ। यसले मलाई हौसला र आनन्द दिन्थ्यो। एकदम खुसी हुन्थेँ। यसरी आफूलाई केटी बन्दा सहज लागेपछि म पारलैंगिक महिला नै हुँ भन्ने बुझेँ,' उनले भनिन्।
यसपछि उनले महिलाको जस्तो शरीर बनाउन हर्मोन खान थालिन्। उनको शरीर केटीको जस्तै हुन थाल्यो। अहिले उनी पारलैंगिक महिलाकै रूपमा खुल्छिन्। यही वर्ष आफ्नो जन्मदिनको अवसरमा आफूलाई पारलैंगिक महिला भनेर उनले घोषणा गरेकी हुन्।
'कति दिनसम्म लुक्ने? एकचोटिको जिन्दगीमा आफ्नो पहिचान लुकाउनु हुँदैन भन्ने लाग्यो,' उमेरले तीन दशक काटेकी उनले मुस्कुराउँदै भनिन्।
पिटरले समलिंगी र पारलैंगिकलाई हेर्ने दृष्टिकोणमा धेरै फरक पाएकी छन्। समलिंगी हुँदा आफ्नो पहिचानलाई समाजले केही हदसम्म स्वीकार गरेको र पारलैंगिक महिलालाई भने विभेद गरेको अनुभव उनको छ।
उनी पारलैंगिक महिला भए पनि घर जाँदा पुरुषकै हुलियामा हुन्छिन्।
'आमाबाबुको मन नदुखोस् भनेर म केटा भएर घर जान्छु,' उनले भनिन्।
पिटरका दिदीबहिनीले भने उनलाई उनकै पहिचानमा स्वीकार गरेका छन्। पहिले केटाका लागि हुने उपहार दिने दिदीबहिनीले अहिले केटीलाई दिने उपहार पठाउँछन्। उनले पढाएका पुराना विद्यार्थीहरूले पनि सकारात्मक सन्देशहरू पठाउँछन्। यी सबैले आफ्नो पहिचानमा गर्व गर्न थप ऊर्जा थपिएको पिटर बताउँछिन्।
बिबिएस पूरा गरेकी पिटरको पारलैंगिक महिलाकै रूपमा स्नातकोत्तर पढ्ने योजना छ। पहिले पनि उनी स्नातकोत्तर पढ्न त्रिभुवन विश्वविद्यालयमा भर्ना भएकी थिइन्। परीक्षा दिए पनि विभिन्न कारणले उनको पढाइ पूरा हुन सकेन। अब फेरि पढाइलाई आफ्नो वास्तविक पहिचानमै निरन्तरता दिने इच्छा उनको छ। तर पढाउने संस्थामा आफूलाई कस्तो व्यवहार होला भन्ने कुराले अलमलमा छिन्।
'हाजिरीमा केटाको नाम अनि मान्छे केटी देख्दा उहाँहरूले कस्तो व्यवहार गर्नुहोला भन्ने सोच बेलाबेला आउँछ,' उनले भनिन्, 'तर म सबै कुराको सामना गर्छु। त्यस्तै पर्यो भने आफ्नो अधिकारका लागि आवाज बुलन्द बनाउँछु।'
पिटरको योभन्दा ठूलो सपना अर्कै छ- भविष्यमा आफ्नो गाउँ खोटाङ गएर आफ्नो पहिचानको कथा सुनाउने।
उनलाई आफू पुरुष शरीर लिएर जन्मेको घरगाउँमा आफ्नो वास्तविक पहिचान खुलाउन मन छ।
रसाएका आँखासहित पिटरले भनिन्, 'समलिंगी पुरुषबाट पारलैंगिक महिलासम्मको मेरो यात्रा र कथा मेरा शिक्षक, साथीहरू अनि गाउँलाई सुनाउने सपना छ।'
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
यी पनि पढ्नुहोस्ः
जब नागरिकता बनाउनका लागि संगीता डाक्टरका अगाडि नांगो हुनुपर्यो
पहिलाजस्तो नाच्न सक्दिनँ, अत्यास लाग्न थालेको छ'
'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ'
'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ'
अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो
'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ'
उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्
'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ'
'अन्य वा महिला होइन, पारलैंगिक लेखेको नागरिकता चाहिन्छ'
६५ वर्षे छुटकनु भन्छिन्- पुरुष होस् वा महिलाको नाममा, नागरिकता चाहियो
'आमा र दाइले मलाई कहिले अँगालो हाल्नुहोला?'
'आमा बन्न चाहन्छु तर कानुनी बाटो छैन'
अबिना चौधरी, जसलाई नयाँ नाम र कामले दिलायो खुसी
हार नमानी चुनौतीसँग लडिरहेकी नग्मा खान