यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः
गुगल सर्चमा अंग्रेजी अक्षर 'सिसिएम' टाइप गरेर खोज्नु भयो भने बायाँतर्फ 'सिसिएम नेपाल' र दायाँतर्फ 'द ग्लोबल फन्ड टु फाइट एड्स, ट्युबरक्युलोसिस एन्ड मलेरिया' लेखिएको एउटा साइट फेला पार्नु हुनेछ।
सिसिएमको पूरा रूप कन्ट्री कोअर्डिनेटिङ मेकानिजम हो। सिसिएम एचआइभी एड्स, क्षयरोग र मलेरिया; यी तीन वटा रोगका सन्दर्भमा काम गर्ने सरोकारवाला विभिन्न निकायका प्रतिनिधिहरूको राष्ट्रिय समिति हो। यस समितिले राज्यद्वारा सञ्चालित, संयोजित र अन्य निकायहरूले उक्त रोगका सन्दर्भमा गर्ने कामका लागि विश्व कोष अर्थात ग्लोबल फन्डमार्फत काम गर्छ।
सिसिएम साइटको मेनु बारको 'मेम्बरसिप' मा गएर 'सिसिएम मेम्बर' क्लिक गरी 'लिस्ट अफ सिसिएम मेम्बर २०२२' डाउनलोड गर्नुभयो भने १८ नम्बरमा देख्नु हुनेछ मिस्टर अब्दुल सहमद (नग्मा)।
यो नामको लैंगिक पहिचान 'अदर्स' लेखिएको छ।
यो पाटो एकछिन यही थाती राखेर अर्को पाटोबाट अघि बढौं।
दुई हातले थप्पडी बजाउँदै नग्मा खानले भनिन्, 'कसैकी छोरी बिहे गरेर दैज (दाइजो) लिने काम पाप हो। गैरकानुनी हो। केटाले दाइजो फिर्ता दिनु पर्छ नत्र दाइजो लिएकोमा उसलाई मुद्दा चलाउनु पर्छ।'
मागेअनुसारको दाइजो नपाएको निहुँमा दुई वर्षअघि सर्लाहीको एउटा प्रहरी चौकीमा मधेसी समुदायकी एक युवतीलाई उनका श्रीमानले कुटपिट गरेको विषयमा छलफल चल्दै थियो। युवतीले सहायता मागेपछि नग्माले उक्त अभिव्यक्ति दिएकी थिइन्।
अन्ततः युवतीले दाइजो फिर्ता पाइन्।
नग्मामा यति ठूलो साहस यत्तिकै आएको होइन।
महोत्तरी जिल्लाको भँगाहा नगरपालिकामा ३९ वर्षअघि नग्माको जन्म भएको हो। मुस्लिम समुदायमा नग्माको जन्म छोराको रूपमा भएको थियो। तिनै छोराको नाम थियो अब्दुल सहमद।
अब्दुलका बाबुको इच्छा थियो– छोराले मदरसा शिक्षा पढोस्।
मदरसा धार्मिक शिक्षा हो। मदरसामा इस्लाम धर्मावलम्बी विद्यार्थी मात्र पढ्छन्।
अब्दुल मदरसामा नभई गाउँका अन्य विद्यार्थीहरूझैं विद्यालयमा पढ्न चाहन्थे। यसका लागि उनले परिवारबाट स्वीकृति पाएनन्। त्यो बेला उनी आठ वर्ष उमेरका थिए।
एक दिन अब्दुल आफैं नजिकको एउटा विद्यालय गए। यिनै अब्दुल आजकी नग्मा हुन्। यसै कारण उल्लिखित साइटमा अब्दुल सहमद र कोष्ठकमा नग्मा लेखिएको छ।
त्यो समय स्मरण गर्दै नग्माले सेतोपाटीसँग भनिन्, 'आमासँग विभिन्न बहानामा मागेको पाँच रूपैयाँ जोगाएर म आफैं भर्ना गर्न गएँ।'
उनले लक्ष्मी प्राथमिक विद्यालयमा पाँच कक्षासम्म पढिन्। ग्रामीण परिवेशकी नग्माले घरमा काम सघाउनु पर्थ्यो। खेतबारीमा काम पनि गर्नु पर्थ्यो। कहिलेकाहीँ गोरु लिएर खेत जोत्न पनि जानु पर्थ्यो।
उनले भनिन्, 'बिहान खेत जोत्थेँ। त्यति बेला आमाले खाना, स्कुलको पोशाक र किताबकापी खतेमै ल्याइदिनुहुन्थ्यो। म खेतबाटै स्कुल जान्थेँ।'
आखिर आमाबाबुका लागि त उनी 'छोरा' नै थिइन्।
नग्माको आनीबानी भने छोरीको जस्तो थियो। उनलाई पनि म अरू केटाभन्दा फरक छु भन्ने थाहा भएको थियो। छोरीजस्तो आनीबानी भएपछि उनले घरमा गाली खान थालेकी थिइन्।
उनले भनिन्, 'तिमी छोरा भएर छोरीजस्तै गर्छौ, छोराजस्तो बन भनेर घरमा बुबाले कराउन थाल्नुभएको थियो।'
आमाले पनि त्यही कुरा सम्झाउन थालेकी थिइन्। नग्मालाई आमाबुबाले आफ्नो मनको कुरा नबुझेर गाली गरेको भन्ने लाग्थ्यो। तर उनी आफ्नो कुरा प्रस्ट भन्न पनि सक्दिन थिइन्।
यसै पनि आमाबाबुका लागि छोरो मान्छेले म त छोरी पो हुँ भन्दा अनौठो हुने नै भयो। लैंगिक तथा यौनिक अल्पसंख्यकबारे चेतना पनि कम भएको वा नभएको अवस्थामा त छाँगाबाटै खस्ने कुरा हुने भयो।
'हाम्रो मुस्लिम समुदायमा यस्तो फरकपनप्रति अनुदारता बढी छ,' उनले भनिन्।
शरीर छोराको जस्तो, मन छोरीको जस्तो। नग्माले यस्तो अवस्थामा घर बस्न सकस मानिन्। सात कक्षामा पढ्दै थिइन्। उमेर सोह्र वर्ष नाघेको थियो। अचानक २०५६ सालको एक दिन घरबाट सुटुक्क निस्केर काठमाडौं आइन्।
घर त छाडिन् तर काठमाडौंमा सहारा दिने कोही थिएन। समयले साथ थियो, लुगा सिलाउने कारखानामा दिनको ७० रूपैयाँ ज्याला पाउने गरी काम पाइन्। यति भएपछि गर्जो टर्ने भयो।
एक वर्ष काठमाडौं बसेपछि उनले पढाइ सम्झिन्। पढाइ छाडेकोमा पछुतो भयो। जसरी घर छाडेर काठमाडौं हिँडेकी थिइन्, उसै गरी एक दिन काठमाडौं छाडेर गाउँ फर्किन्। साथीहरूको सहयोगमा नग्मा आठ कक्षामा भर्ना भइन्। पढाइ सुरू भयो। डेढ घन्टा हिँडेर स्कुल पुग्थिन्।
कक्षा बढ्दै जाँदा पढाइ खर्च पनि बढ्दै गयो। दिदीभिनाजुले साइकल किनिदिए। स्कुल आउजाउ सजिलो भयो। उनले २०६० सालमा एसएलसी उत्तीर्ण गरिन्। पढाइमा घरबाट खासै सहयोग थिएन। अझै पनि नग्मा आफ्नो लैंगिक पहिचानबारे अनभिज्ञ थिइन्।
तै पनि उनले कपाल लामो बनाउन र केटी मान्छेले झैं शृंगार गर्न थालेकी थिइन्। उनको यो व्यवहार उनको घरमै पाच्य थिएन, गाउँमा हुने कुरै भएन। नग्मा गाउँका एक जना दाइको सहयोगमा जनकपुर गइन्। रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा ११ कक्षामा भर्ना भर्ना भइन्। खर्च जुटाउन उनी एउटा निजी स्कुलमा पढाउन थालिन्।
नग्माले जनकपुरमा नीलहीरा समाज (ब्लु डाइमन्ड सोसाइटी) मा आबद्ध व्यक्तिहरू भेटिन्। उनीहरू साथी भए, संगत बढ्यो, धेरै कुरा भयो। नीलहीरा समाज लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको हित रक्षार्थ काम गर्ने संस्था हो।
ती साथीको संगतपछि नग्मा आफू पारलैंगिक महिला रहेछु भन्ने कुरामा पक्का भइन्। साथीहरूले उनका लागि 'नग्मा' नाम रोजिदिए। अनि 'नग्मा खान' भइन्। उनको सबै अन्योल समाप्त भयो। हिम्मत बढ्दै गयो। उनले बाह्र कक्षाको पढाइ पूरा गरिन्। नीलहीरा समाजमा आबद्ध भएर संस्थागत काम सुरू गरिन्।
संस्थामा आबद्ध भएपछि उनले रोजगारी पाइन्। संस्थाले नै कम्प्युटर तालिम दिलायो। स्नातक पढ्ने छात्रवृत्ति पनि दिलायो। स्नातक तहको पढाइ पनि पूरा भयो।
नग्मा महिला हुलियामा ढुक्कले हिँडडुल गर्न चाहन्थिन्। जनकपुर बसुन्जेल यसो गर्न सकिनन्।
उनले भनिन्, 'जनकपुर बसुन्जेल मलाई (महिला हुलियामा) खुल्ने आँट आएन। म खुल्नै सकेकी थिइनँ।'
सन् २००९ को कुरा हो। नील हीरा समाजले काठमाडौंको त्रिपुरेश्वरमा एउटा राष्ट्रिय समारोह आयोजना गर्यो। आयोजक संस्थाका अध्यक्षले नग्मालाई कार्यक्रममा उनको लैंगिक तथा यौनिक पहिचानको 'कथा' सुनाउन आग्रह गरे।
नग्माले यही समारोहलाई आफ्नो पहिचान सार्वजनिक गर्ने सबैभन्दा उत्तम अवसर ठानिन्। उनी पूर्णतः महिला हुलियामा प्रस्तुत भइन्। आफ्नो पहिचानको 'कथा' सुनाइन्। उक्त कार्यक्रम टेलिभिजनबाट लाइभ प्रसारण पनि भएको थियो।
'मलाई डर पनि लागेको थियो। गाउँका मान्छेले हेर्छन् कि! कति साथीले मलाई महिला हुलियामा देखेर अस्वीकार पो गर्छन् कि,' त्यो समय सम्झिँदै नग्माले भनिन्, 'मनमा यस्तो सोच आए पनि मैले आफ्नो आत्मविश्वास बलियो बनाएँ। अध्यक्षले भनेअनुसार समारोहमा सहभागी भएँ।'
नग्माका अनुसार यो दिन उनका लागि आजीवन अविस्मरणीय रहनेछ। उनका लागि त्यो अनुभव र आत्मविश्वास अमूल्य छ। त्यही दिन हो उनले लैंगिक पहिचानबारे वर्षौंदेखि मनमा मडारिएर रहेको उकुमुकुस, अन्योल र भयबाट मुक्ति पाएको।
नग्माले नीलहीरा समाजकै सहयोगमा सन् २०१४ मा एमबिए पढाइ पूरा गरिन्। उनको कार्यथलो जनकपुर नै भयो। जनकपुरले उनलाई लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अभियानी भनेर पनि चिन्न थालेको थियो।
यही समय उनी सर्लाहीमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि काम गर्न नीलहीरा समाजको संयोजक छनोट भइन्। सर्लाहीमा नग्मा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको स्वास्थ्य र मानव अधिकारका लागि काम गर्छिन्। जनकपुर अर्थात जनकपुरधाम त उनको संघर्षको थलो नै हो।
'मधेस समुदायका धेरैले मलाई चिन्नुहुन्छ। अहिले म यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्ने अभियन्ता भनेर चिनिन्छु,' नग्मा भन्छिन्, 'मेरो जिन्दगीको सफलता भनेको आफ्नो जीवनमा आएको चुनौती चिर्दै कामलाई निरन्तरता दिनु नै हो।'
लैंगिक पहिचानको संघर्षमा घर छाडेर हिँड्नु परे पनि आफ्ना आमाबाबु पराइ हुने कुरा भएन। नग्मा घरमा आर्थिक सहयता गर्छिन्। आमाबुबासँग सम्बन्ध राम्रो छ।
उनले भनिन्, 'मेरा कारणले आमाबुबाले समाजमा भेदभाव र लान्छना सहनुभएको छ। त्यो सबै समाजले नै जन्माएको हो।'
एसएलसी परीक्षा दिएपछि नग्माले नागरिकता प्रमाणपत्र बनाएकी थिइन्। पुरुष हुलिया भएपछि र शैक्षिक प्रमाणपत्रमा पुरुष नाम भएपछि नागरिकता 'पुरुष' पहिचानमा बन्ने नै भयो। त्यो बेला उनमा आफ्नो लैंगिक पहिचानबारे आत्मविश्वसका साथ डट्ने क्षमता पनि विकास भएको थिएन। यसैले त सिसिएमको वेबसाइटमा अब्दुल सहमद र कोष्ठकमा नग्मा लेखिएको हो!
उनी महिला पहिचानको नागरिकता चाहन्छिन्। उनले चाहेअनुसार सजिलै किन हुन्थ्यो! एक मन त उनलाई लाग्यो, जरैदेखिका सबै शैक्षिक प्रमाणपत्रमा नाम परिवर्तन गरूँ! यसमा आइपर्ने झमेला सामान्य हुने कुरै भएन। उनले ठानिन्- सबैभन्दा ठूलो कुरा त मेरो सार्वजनिक पहिचान हो, कागजका पछि मात्रै किन कुदूँ!
तै पनि कागजी प्रमाण कम महत्वको होइन। कागजातमा 'पुरुष' र हुलियामा महिला, हुँदा नग्माले अनेक झमेला र दुर्व्यवहार खेप्नु परेको छ। खासगरी सरकारी कागजात देखाउनु पर्ने ठाउँमा कुनै न कुनै झमेला आइलाग्छ। विमानस्थलमा गडबड भइरहन्छ। छेउछाउका मानिसहरू बोल्न हिचकिचाउनु त छिनछिनै हुने घटना हो भने पनि हुन्छ।
नग्मा जन्मेहुर्केकै गाउँघरमा पनि अझै उनलाई लैंगिक पहिचानको समस्या छ। अझै पनि गाउँघर जानु पर्दा उनको हुलिया पुरुष नै हुन्छ। उनका अनुसार यसो गर्नु बाध्यता हो, इस्माल समुदाय लैंगिक मामिलामा निकै कडा छ।
नग्मा भन्छिन्, 'घर जाँदा म छोराकै रीतिरिवाजमा हुन्छु। चाडपर्वमा पुरुष नै बन्छु। आमाबुबाले पनि छोरा बनेर आइज भन्नुहुन्छ। यसो गर्नु हाम्रो बाध्यता हो।'
घरबाट टाढा सर्लाही, जनकपुर, काठमाडौं वा अन्यत्र रहँदा नग्मा पारलैंगिक महिलाकै पहिचानमा हुन्छिन्। यस्तो दोहोरो जीवन बाँच्नु परे पनि नग्मा आफ्नो समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको पहिचानमा गर्व गर्ने वातावरण बन्नेछ भन्ने विश्वासमा छिन्।
अब नग्मा कानुनमा काम गर्न चाहिन्छन्। हाल उनी राजविराजमा कानुन विषयमा स्नातक (एलएलबी) पढ्दै छिन्।
'कानुन पढेर मेरो समुदाय (लैंगिक तथा यौनिक अल्पसंख्यक) का लागि वकालत गर्न चाहन्छु,' उनी भन्छिन्, 'म अहिले नै अरू ठाउँमा पनि जागिर पाउँछु तर म यही समुदायका लागि काम गर्न चाहन्छु।'
नग्मा हाल 'शान्तिका लागि मानव अभियान' नामको संस्थाका लागि सर्लाहीमा जिल्ला अध्यक्षका रूपमा पनि कार्यरत छिन्। उनी लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति पनि अरू महिला–पुरुष सरह हुन्, सबै काम गर्न सक्छन् भन्ने प्रमाणित गर्न चाहन्छिन्।
'हाम्रो समुदायका व्यक्तिले मानिसले गर्ने सबै काम गर्न सक्छन् भन्ने कुरा देखाउन चाहन्छु,' उनी भन्छिन्, 'दुनियाँको राज्य चलाउने क्षमता हामीसँग छ, अवसर पाउनु पर्यो।'
आफ्नो र आफूजस्तै साथीहरूको पहिचानका लागि चुनौतीहरूसँग हार नमान्ने नग्मा चाहन्छिन्– देशको कानुनले समलिंगी विवाहलाई मान्यता देओस् अनि आफू पनि बिहे गरूँ!
उनी भन्छिन्, 'हाम्रो लागि कुनै पनि केटा घरबार छोडेर आउँदैन। राज्यले कानुन बनाइदियो भने मात्र यसो हुन सम्भव हुन्छ। म हाम्रै समुदायको सन्तानलाई भविष्यको सन्तान बनाउन चाहन्छु।'
नग्मा मुस्लिम समुदायकी हुनु नीलहीरा समाजका लागि गौरवको कुरा भएको छ। नीलहीराका एक सदस्य सञ्जय शर्मा भन्छन्, 'सानै उमेरदेखि आफ्नो पहिचानका लागि संघर्ष गरेकी नग्मा हाम्रो समुदायमा उदाहरणीय हुन्।'
नग्माको संघर्षको एउटै एउटा लक्ष्य छ; त्यो हो पहिचान।
उनको चाहना छ– नयाँ पुस्ताले लैंगिक पहिचानका लागि आफूले जस्तो पीडा भोग्नु नपरोस्, यति धेरै संघर्ष गर्नु नपरोस् र अपमानित हुनु नपरोस्, गौरवका साथ जिउन सकोस्!
तस्बिरहरूः नवीनबाबु गुरुङ/सेतोपाटी
यी पनि पढ्नुहोस्ः
पहिलाजस्तो नाच्न सक्दिनँ, अत्यास लाग्न थालेको छ'
'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ'
'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ'
अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो
'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ'
उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्
'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ'
'अन्य वा महिला होइन, पारलैंगिक लेखेको नागरिकता चाहिन्छ'
६५ वर्षे छुटकनु भन्छिन्- पुरुष होस् वा महिलाको नाममा, नागरिकता चाहियो
'आमा र दाइले मलाई कहिले अँगालो हाल्नुहोला?'
'आमा बन्न चाहन्छु तर कानुनी बाटो छैन'
अबिना चौधरी, जसलाई नयाँ नाम र कामले दिलायो खुसी