‘बेला-बेला मनभित्र गाँठो पर्थ्यो नि!’ उनले भनिन्।
ओछ्यानमा पल्टिरहेका छोरालाई खुसी बनाउन एक आमा नाचिरहेको भिडिओ सामाजिक सञ्जालमा देखेपछि मैले उनीबारे सोधीखोजी गरेको थिएँ। टिकटकमा अपलोड भएका उनका ती भिडिओ पछिल्लो समय फेसबुकमा पनि भाइरल छन्।
‘भिडिओमा छोरालाई हेर्दै कति मज्जाले नाच्नुभएको' भन्दा कमला भुसालले आफ्नो हाँसोभित्रको गाँठो सम्झिएकी हुन्।
अर्घाखाँचीको सन्धीखर्क नगरपालिका-१ की भुसालको मनभित्र गाँठो परेको अस्ति लक्ष्मीपूजाको दिन २७ पूरा भएर २८ वर्ष लाग्यो।
सन्धीखर्कमै जन्मे-हुर्केकी कमलाका बुवा इन्डियन लाहुरे थिए। उनी घरकी जेठी छोरी। सानैमा उनलाई नाच्न, गाउन खुब रूचि थियो। स्कुलका अतिरिक्त क्रियाकलापमा जहिल्यै भाग लिन्थिन्। बेला-बेला पुरस्कार जितेर घर फर्किन्थिन्। घरमा लाउन-खान पुगेकै थियो। कोही माग्न आएका मान्छे देखे उनको मन पग्लिन्थ्यो। चामल-पीठो चोरेर पनि दिन्थिन् रे!
उनकी आमालाई भने बाबु घरमा नभएका बेला नाच्न-गाउन हिँड्ने जेठी छोरी बिग्रिन्छ कि भन्ने ठूलो पीर रहेछ।
‘त्यही भएर एलएलसी पास हुनासाथ मेरो बिहे गरिदिनुभयो,’ कमलाले भनिन्।
२०४८ सालमा विवाह हुनुअघि कमला सन्धीखर्कको पाणिनी क्याम्पसमा आइए पढ्न भर्ना भएकी थिइन्। उनका श्रीमान् पदम भुसाल नेपाल विद्युत प्राधिकरण पोखरा कार्यालयमा अस्थायी जागिरे थिए। बिहेपछि उनी श्रीमानसँगै पोखरा पुगिन्। पाणिनीमा भर्ना भए पनि पिएन क्याम्पसमा क्लास लिन थालिन्।
आइएको पढाइ पूरा नहुँदै २०४९ सालमा उनले पहिलो सन्तानलाई जन्म दिइन्।
त्यसको दुई वर्ष नपुग्दै उनी फेरि दुई जिउकी भइन्।
२०५१ कात्तिकको कुरा हो। भाइटीका लागि उनी माइती गएकी थिइन्। लक्ष्मीपूजाको रात उनलाई पेट दुख्यो। बच्चा पाउने महिना पुगेको थियो। आमा-बुवाले छोरीले माइतीमा बच्चा पाउनु हुन्न भनेर उनलाई राति नै लालटिनको उज्यालोमा घरबाट हिँडाले।
‘अर्को दिन मैले बाबुलाई जन्म दिएँ। जन्मेपछि ऊ अरू बच्चाजस्तो रोएन,’ कमलाले सम्झिइन्, ‘त्यहाँ भएका महिलाले यो रून पनि रोएन, निलो भइसक्यो। छैन कि क्या हो भन्नुभयो।’
उनीहरूको कुराले कमलाको मन चिसो भयो। उनले पुलुक्क बच्चातिर हेरिन्। उसको घाँटीमा नाल बेरिएको थियो।
'त्यो हटाइदेओ न,’ कमलाले भनिन्।
बेरिएको नाल निकालेपछि बच्चा चलमलायो।
माइलो छोराको रूपमा जन्मिएको बच्चाको नाम उनीहरूले सागर राखे।
छ महिना बित्यो। भात खुवाउने बेला भयो। सागर अरू बच्चाजस्तो सक्रिय थिएनन्। उनी हलचल गर्दैनथे, प्रतिक्रिया दिँदैनथे, हातसमेत चलाउँदनथे।
कमला र पदमले छोरालाई डाक्टरकहाँ लगे। डाक्टरहरूले यो बच्चा अरूजस्तो छैन, काठमाडौंको कान्ति बाल अस्पताल लैजानुस् भने।
‘त्यति बेला हामीलाई काठमाडौं टाढाको कुरा थियो। श्रीमानको जागिर छुटेपछि सन्धीखर्कमै पसल गरेका थियौं, बचत थिएन,’ कमलाले भनिन्, ‘ऋणदान गरेर काठमाडौं गयौं। कान्तिका डाक्टरसाबहरूले यस्ता बच्चाको वृद्धि-विकास बिस्तारै हुन्छ भनेर धेरैपटक फलोअपमा बोलाउनुभयो।’
केही समयपछि डाक्टरहरूले सागर जन्मिनासाथ पर्याप्त अक्सिजन पाउन नसकेकाले स्नायुमा समस्या भएको हुन सक्ने बताए। सामान्य मान्छेजस्तो उनले बोल्न र हिँड्न सक्दैनन् भने। फिजियोथेरापी गरे केही सुधार हुन सक्ने सुझाव दिए।
अशक्त बच्चा बोकेर आफन्तका कोठामा जाँदाको असजिलोले कमलालाई काठमाडौंमा धेरै दिन बस्न मन थिएन।
‘एकदिन हामी फिजियोथेरापीका लागि जोरपाटी गएका थियौं। उनीहरूले कि दिनदिनै बच्चा ल्याएर थेरापी गराउनुस् नभए यहीँ राखिदिनुस्, हामी सबै गरिदिन्छौं भने,’ कमलाले भनिन्, ‘मेरो छोरालाई यहीँ राख्छन् कि सोचेर मैले उसलाई बेस्सरी समातेँ। त्यति बेला मलाई फिजियोथेरापी गर्नुपर्छ भन्ने बुद्धि नै आएन। आफूसँग पैसा नभएकाले पनि होला, बरू घरमै लगेर राख्छु भन्ने सोचेँ।’
छोरा त्यस्तो जन्मिनुमा कुनै देवीदेउताको दोष हो कि भनेर उनले धामी-झाँक्रीलाई पनि देखाइन्। कसै गरे पनि सागर बोल्न र उठ्न सक्ने भएनन्।
त्यति बेला फिजियोथेरापी गर्ने आफ्नो बुद्धि नआएको सम्झेर अहिले पनि उनी चुक्चुकाउँछिन्।
एकातिर छ-सात वर्ष भइसकेको छोरो ओछ्यानबाट उठ्न सक्दैन, अर्कातिर उसको उपचार गर्न सक्ने पैसा आफूसँग छैन। त्यसमाथि परिवार र छिमेकीले सुनाउने नानाथरी कुराले कमलाको मन कुँडिन्थ्यो।
‘महिलाहरूले हामीले पनि बच्चा पायौं तर त्यस्ता कोही जन्मिएनन् भन्थे। शरीरमै दिसा-पिसाब गर्ने भएकाले परिवारकै केटाकेटी पनि मेरो छोराको छेउमा पर्न चाहँदैनथे,’ कमलाले सम्झिइन्, ‘छिमेकका दिदी-बहिनी पूजा र विवाहजस्ता सामाजिक काममा मलाई बोलाउँदैनथे। यो सब देखेर बेला-बेला मेरो मनमा गाँठो पर्थ्यो। त्यति बेला कस्तो हुन्थ्यो म भन्नै सक्दिनँ।’
एकपटक त उनले हिम्मत हारिसकेकी थिइन्। छोराको यस्तो हालत हेरेर बाँचिरहनुभन्दा बरू यो देहलीला समाप्त पारिदिन्छु भन्ने सोचेकी थिइन्।
‘म डिप्रेसनमा गएकी थिएँ, एकदिन त विष खान्छु नै भनेर सोचेकी थिएँ। त्यही बेला सागर चलमलायो। उसलाई हेरेर मेरो मन फेरियो,’ कमलाले भनिन्, ‘उसकै लागि भए पनि बाँच्नुपर्छ भन्ने लाग्यो। मैले आफ्नो यथार्थता स्वीकारेँ।’
उनका श्रीमान् पदमले हरेक मोडमा उनलाई साथ दिए। उनको साथ नभएको भए कमलालाई आफू, समाज र नियतिसँग लड्ने ताकत कम हुन्थ्यो रे!
२०६० सालतिरको कुरा हो। उनको घरमा मिनबहादुर रिजाल र उमा रिजाल आए। रिजाल दम्पतीका एक जना बच्चा पनि सागरजस्तै थिए। आफ्नो बच्चाको हालत देखेपछि उनीहरूले त्यस्ता बच्चालाई पढाउने (दैनिक व्यवहार सिकाउने) विद्यालय खोल्न पहल गरेका थिए। २०४८ मा सन्धीखर्कमै निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालय खुलेको थियो। उमा त्यही विद्यालयमा पढाउँथिन्।
‘उमा म्यामले हाम्रो मात्र होइन धेरैका बच्चा यस्ता छन्। म अब कति दिन स्कुलमा हुन्छु होला र। तिमी आऊ, पढाउन भन्नुभयो,’ कमलाले भनिन्, ‘स्कुलमा विशेष दरबन्दी आएको रहेछ। म पढाउन राजी भएँ।’
त्यसपछि उनको घरदेखि स्कुलसम्मको संसार तिनै विशेष मान्छेहरूका बीचमा घुम्न थाल्यो। उनी सागरमा स्कुलका बच्चा देख्थिन्, स्कुलका बच्चामा आफ्नै छोरा सागर भेट्थिन्।
२०६९-७० सालतिर विद्यार्थी नभएर झन्डै खारेज हुन लागेको विद्यालय उनले निकै मेहनत गरेर जोगाइन्।
कमला अहिले उक्त विद्यालयकी प्रधानाध्यापक छन्। विद्यालयमा १६ जना बच्चा छन्। दसैं-तिहार बिदामा घर गएका उनीहरू अब मंसिर १ देखि फेरि विद्यालयमा आउँदैछन्।
डाउन सिन्ड्रोम, अटिज्म भएका बच्चाका अभिभावकहरू आफ्ना बच्चालाई विद्यालय पठाउँदैनन्। अरू बच्चाजस्तै सामान्य विद्यालयमा उनीहरू जाँदैनन्। नेपालभरि अहिले बौद्धिक अपांगता भएका बच्चाहरू पढाउने यस्ता विद्यालय ३२ वटा छन्।
‘यस्ता बच्चालाई घरमा दाम्लोमा बाँधेर बाबुआमा काममा जाने गरेका घटना धेरै छन्,’ कमलाले भनिन्, ‘कति बच्चालाई हामी आफैंले दाम्लोबाट फुकाएर ल्याएका छौं। बच्चा हाम्रो विद्यालयमा आए उनीहरूले नरकायी जीवन बाँच्नुपर्दैन, उनीहरूका आमाबुवालाई सजिलो हुन्छ।’
निर्मल नवज्योति विद्यालयमा कमलासहित तीन जना कर्मचारी छन्। बच्चाहरू विद्यालयमै बस्छन्। त्यहीँ खाना खान्छन्, खेल्छन्, नाच्छन् र रमाउँछन्।
‘हरेक दिन विद्यालय सुरू हुँदा मादल बजाएर उनीहरूलाई नचाउनैपर्छ। त्यसपछि मात्रै अरू काम गर्न मान्छन्,’ कमलाले भनिन्, ‘उनीहरूलाई शौचालय जान, साबुनपानीले हात धुन, लुगा र चप्पल सुल्टो गरी लगाउन र मिलाएर राख्नजस्ता व्यवहारिक कुरा सिकाउँछौं। कसै-कसैले आफ्नो नाम पनि लेख्छन्। कसैलाई लेख्ने-पढ्ने कुरामा कुनै चासो हुन्न।’
कमलालाई यी काम गर्न केही अप्ठेरो लाग्दैन। विद्यालयमा गर्नुपर्ने काम उनले घरमा वर्षौंदेखि गर्दै आएकी छन्।
‘यस्ता बच्चाहरूसँग मेरो विशेष सम्बन्ध छ। सागर मात्रै होइन, स्कुलका यी सबै विशेष बच्चाकी म आमा हुँजस्तो लाग्छ,’ कमलाले भनिन्, ‘उनीहरूलाई कसरी सिकाउने भनेर तालिम लिएकी छैन, आफ्नै अनुभवले काम गरिरहेकी छु। हाम्रोजस्तो विद्यालयमा काम गर्ने शिक्षक/कर्मचारीले तालिम र स्रोतसाधन पाए बच्चाहरूको अझ राम्ररी हेरचाह गर्न सक्थे।'
आफ्ना छोरा सागर र विद्यालयका बच्चा उनलाई भगवान् जस्ता लाग्छन् रे। उनीहरूको सेवा गर्न पाउँदा आनन्द लाग्छ।
सुरूमा आफ्नो छोरो देखेर मैले केही गल्ती गरेकाले यस्तो छोरो जन्मियो कि भनेर सोच्ने कमला अचेल आफूलाई भाग्यमानी ठान्छिन्।
पहिला छी:छी र दूरदूर गर्नेहरू पनि अचेल सागरकै कारण उनीहरूको भाग्य चम्किएको ठान्छन्।
पसल गर्दागर्दै उनका श्रीमान् पदमले फेरि विद्युत प्राधिकरणमा जागिर खाए। यसपालि उनले स्थायीमा नाम निकाले। उनीहरूको व्यापार व्यवसाय राम्रै चल्यो। जेठा छोरालाई इन्जिनियर पढाए।
छोरा इन्जिनियर भएकाले पदमले पेन्सन नहुँदै जागिर छाडिदिए। अहिले कन्स्ट्रक्सन कम्पनी खोलेका छन्। सन्धीखर्क बजारमा पक्की घर बनाएका छन्। त्यही घरमा सागरलाई सजिलो हुने उपकरणहरू राखिदिएका छन्।
‘अचेल मान्छेहरू सागरकै कारण हाम्रो भाग्य बदलियो भन्छन्, उसको भाग्यले पनि होला तर हामीले मेहनत पनि धेरै नै गरेका थियौं,’ कमलाले विगत सम्झिइन्।
केही समयअघिसम्म अर्घाखाँचीको सन्धीखर्कमै सीमित रहेको कमला र सागरको साइनो अहिले सामाजिक सञ्जालभरि फैलिएको छ। उनीहरूको कथा टिकटकले भाइरल बनाइदिएको छ।
‘मलाई त यस्तो टिकटकबारे केही थाहा थिएन। पाँच-छ महिनाअघि कान्छा छोराले खोलिदिएको हो,’ कमलाले भनिन्, ‘म त स्कुलमा बच्चालाई, घरमा सागरलाई खुसी पार्न नाचिरहेकी हुन्थेँ। एकदिन नाचेको भिडिओ छोराले टिकटकमा हालिदियो।’
सुरूमा उनका भिडिओले धेरैको ध्यान तानेको थिएन।
यसपालि दसैं आउन लागेको थियो। टिभीमा एउटा गीत बजिरहेको थियो- गाँवै रमाइलो, देशै रमाइलो। दसैं आउँदा मनमा पीर भए नि त्यसै रमाइलो...!
बोल्न नसके पनि सागर सुन्न सक्छन्। उनलाई गीत-संगीत असाध्यै मन पर्छ। गीत सुनेर उनी खुब रमाउँछन्। उनी सुत्ने ठाउँमा ठूलो टिभी छ।
‘टिभीमा बजेको यो गीत मलाई आफ्नै जीवनसँग मिलेजस्तो लाग्यो। कान्छो छोराले यसमा भिडिओ बनाऔं न मम्मी भन्यो,’ कमलाले भनिन्, ‘म नाचेको देखेर सागर पनि खुसी भयो। टिकटकमा हालेको, धेरैको मन छोएछ।’
आमा र आफ्नो भिडिओलाई धेरैले मन पराएको सागरलाई पनि थाहा छ रे। उनी फेसबुक र टिकटकमा लाइक्स र भ्यूज हेर्छन्।
‘म नाच्दा यस्तो-यस्तो मिलेन भनेर इशारा गर्छ,’ कमलाले भनिन्।
टिकटकबाट उनको चर्चा यति धेरै भयो, अचेल त बजारमा हिँड्दा नचिनेका मान्छेले पनि बोलाउन थालेका छन्।
‘तपाईं त्यो छोरासँग टिकटक बनाउने दिदी होइन, खै-खै मास्क खोल्नुस् त भन्छन्, खुसी लाग्छ,’ उनले भनिन्।
भिडिओ हेरेर मान्छेहरूले दिने प्रतिक्रियाले उनलाई आत्मविश्वास दिएको छ, ऊर्जा थपेको छ।
'अहिले म ४५ वर्षकी भएँ। १० वर्षपहिला ममा यति आत्मविश्वास भएको भए यो क्षेत्रमा अरू धेरै काम गर्न सक्थेँ जस्तो लाग्छ,' कमलाले भनिन्।
अचेल कमलालाई आफ्ना छोरा र उनीजस्ता अरू बच्चा देख्दा आश्चार्य लाग्दैन। छोरासँगको यस्तै सम्बन्ध अर्को-अर्को जुनीमा पनि होस् भन्ने उनको चाहना छ।
'श्रीमानलाई त्यसरी सम्हाल्नुपरेको भए सायद म छोडेर हिँडिसक्थेँ होला। तर उसलाई त एकदिन पनि छोड्नै सकिनँ, आमा हुँ कसरी सक्थेँ,' कमलाले अन्त्यमा भनिन्, 'धेरैले मलाई भन्छन्- यस्ता बच्चाको आयु कमै हुन्छ। ऊ मभन्दा पहिल्यै छोडेर गयो भने स्वीकार्नैपर्छ तर अर्को जुनी हुन्छ भने म फेरि पनि उसैकी आमा हुन् पाऊँ!'
भिडिओ सौजन्य: शशि भुसाल।