१२ दिनदेखि अनसनमा रहेकी रूबी खानले अनसन तोडेकी छन्।
मंगलबार बाँके घटनाबारे गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएपछि खानले माइतीघर मण्डलमा अनसन तोडेकी हुन्।
उनलाई महिला अधिकारकर्मी मोहना अन्सारीले जुस खुवाएकी थिइन्।
बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे उक्त समितिले छानबिन गरी सत्यतथ्य पत्ता लगाउने जनाइएको छ।
धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे महिला अधिकारकर्मीहरूले न्याय माग गरिरहेका छन्।
सरकार र रूबी खानबीच छानबिन समिति बनाउनेलगायत विषयमा त्रिवि शिक्षण अस्पतालमा सहमति भएको थियो। खान विगत १२ दिनदेखि अनसनरत छिन्।
सरकारले बनाएको उक्त समितिले एक साताभित्र छानबिनको प्रतिवेदन दिने जनाइएको छ।
धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे सत्यतथ्य पत्ता लगाउन र न्याय दिलाउन माग गर्दै १४ जना २० दिन हिँडेर बाँकेबाट काठमाडौं आएका थिए।
रूबी खानले यो अनसन स्थगितमात्रै भएको बताएकी छन्। घटनाबारे सत्यतथ्य बाहिर नआए योभन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएकी छन्।
सबै तस्बिर: नवीनबाबु गुरूङ