विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको परिवारले उनको अन्तिम संस्कारमा सहभागी नहुन आग्रह गरेको छ।
अहिलेको संक्रामक रोगको समयमा थापाको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएको भन्दै सम्भव भएसम्म सहभागी नभइदिन उनको परिवारले अनुरोध गरेको हो।
पारिवारिक स्रोतका अनुसार थापाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा हुने भएको छ।
कोरोना संक्रमण भई गम्भीर बिरामी परेका थापाको उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो। थापाको मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ।
‘विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापालाई कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या आएपछि मिति २०७८ साल जेठ १४ गते शुक्रबारका दिन दिउँसो नेपाल मेडिसिटीमा भेन्टिलेटर तथा इक्मो (ECM0- Extracorporeal Membrane Oxygenation) अत्याधुनिक उपकरणबाट उपचारका लागि भर्ना गरिएको थियो’, अस्पताद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ मिति २०७८, जेठ १७ गते उहाँको पिसिआर रिपोर्ट नेगेटिभ आएको भए पनि शरीरका अंगले प्रभावकारी रुपमा काम गर्न नसकेको र जटिल संक्रमणको प्रभाव रहेकोले स्वास्थ्य स्थितिमा भने परिवर्तन आउन सकेको थिएन । चिकित्सकहरुको अथक प्रयास र सबैका सुभेच्छाका बावजुत पनि उहाँको शारीरिक अवस्था सुढृण हुन सकेन। आज मिति २०७८, जेठ १८ गते मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उहाँको असामयिक निधन भएको अवगत गराउँदछौं।’
४४ वर्षीय थापाको अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको थियो।