हिमालपारि मनाङको ताचै गाउँमा अहिलेसम्म हिउँ पर्न सकेको छैन। हिउँ नपर्दा सुख्खापन बढ्यो, स्थानीयले लगाएको बालीनाली सप्रिएन।
'यसपालि त अचम्मै भयो,' नासों गाउँपालिका-८ ताचैका वडा अध्यक्ष हुमजंग गुरुङले भने, 'पहिला-पहिला त मंसिरमै हिउँ पर्थ्यो।'
समुद्री सहतबाट झन्डै २७ सय मिटर उचाइमा रहेको यो गाउँ पहाडको फेदस्थित समथर भू-भागमा छ। गाउँमाथि घनघोर जंगल छन्, जहाँ हिमाली क्षेत्रमा बसोबास गर्ने दुर्लभ वन्यजन्तु, बनस्पति र जडिबुटी पाइन्छन्।
एक्याप मनाङका अनुसार उक्त जंगलमा हिमालका रानी भनिने दुर्लभ हिउँचितुवादेखि घोरल, झारल, कस्तुरी मृग, डाँफे, मुनाल, लोठसल्ला, रंगीविरंगी लालीगुराँसजस्ता वन्यजन्तु र वनस्पति छन्।
गत वर्ष हिउँ परेकै समय यस वर्ष भने ठीक उल्टो भयो। ताचै गाउँदेखि माथिको जंगलमा डढेलो सल्कियो। मंसिरको दोस्रो गाउँभन्दा धेरै नै माथि कोटेको जंगलमा लागेको ढडेलो निभाउन कसैले ध्यान दिएनन्। हिमपात नभएर सुकेको पात पतिंगर जल्दै जंगल ढाकियो, तै पनि आगो निभाउन कोही अघि सरेनन्।
पल्लो डाँडामा लागेको डढेलो वल्लो डाँडामा आइपुग्यो। वन्यजन्तु, जडिबुटी र वनस्पतिले भरिएको संरक्षित जंगल डढेलोले नष्ट पार्दै लग्यो। अझै कोही डढेलो निभाउन अघि सरेन। स्थानीय प्रशासन, अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप, वन कार्यालय लगायतले डढेलोलाई अनदेखा गरे। डढेलो झनै देखिने र पोलिने बन्दै गयो।
गाउँ माथिको डाँडामा लागेको डढेलो ताचै गाउँ नजिकै आएपछिको दृश्य।डढेलो लागेको जंगल गाउँबाट धेरैमाथि थियो। वडाअध्यक्ष हुपजंग गुरुङका अनुसार झन्डै ५ हजार मिटर उचाइसम्म डढेलो फैलिसकेको थियो। ताचै गाउँमाथिको ७ सय हेक्टरभन्दा बढी क्षेत्रफल ओगटेको विविधता जोगाउने जंगल जलाएर आगो जब गाउँ पस्न सुरसार गर्यो, तब सबै आत्तिए।
एक्याप मनाङका संरक्षण अधिकृत लेखनाथ गौतमले भने, 'झन्डै ५ सय जनसंख्या भएको ताचै गाउँमा डढेलो आउनबाट जोगाउन हामी २० दिन खटियौं।'
गाउँमा डढेलो सल्किने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय मनाङले सुरक्षा निकाय, एक्यापलगायत सुरक्षाकर्मी र कर्मचारी परिचालन गरे, गाउँलेले डढेलो रोक्न सरकारी टोलीलाई साथ दिए। जसका कारण डढेलोबाट गाउँ जोगियो।
डढेलो नियन्त्रण गर्न अग्निरेखा बनाउँदै सुरक्षाकर्मी, कर्मचारी र स्थानीय।जंगलको डढेलो रोक्न स्थानीय प्रशासन, ताचै गाउँका स्थानीयबासी, एक्याप लगायतले जंगलमा अग्निरेखा कोरे। डढेलो गाउँ भित्रन सक्ने ठाउँमा झन्डै १ किलोमिटरसम्मका पात पतिंगर पन्छाए। आगो लाग्न नसकोस् भनेर भुइँमा माटो निस्कने गरी खोस्रिए। पात पन्छाएर बाटो बनाएझैं माटो निकालेर खनिएको रेखाबाट अग्नि नियन्त्रक कार्यदलले आगो लगाइदिए। जंगलबाट आउँदै गरेको डढेलोमा गएर त्यो आगो मिसियो।
'हामीले अग्निरेखा बनाएर लगाएको आगोमाथि डढेलोमा गएर ठोक्कियो,' एक्याप मनाङका प्रमुखसमेत रहेका संरक्षण अधिकृत गौतमले भने, 'त्यसरी गाउँलाई डढेलोबाट जोगायौं।'
ताचै गाउँका स्थानीय, सुरक्षा अंग, प्रशासन, एक्यापलगायत मिलेर गाउँलाई डढेलोबाट त जोगाए, तर गाउँमाथिको जंगल जोगाउन सकेनन्। जैविक विविधता र दुर्लभ वन्यजन्तुले भरिएको जंगल जोगाउन उनीहरू समयमै अग्रसर भएनन्।
समुद्री सतहदेखि ३ हजार देखि झन्डै ५ हजार मिटरसम्मको हिमाली जंगलमा लागेको डढेलोले पुर्याएको क्षतिको अहिल्यै आंकलन गर्न सकिने अवस्था छैन। डढेलोले खाएको जंगलमा हेरालो खटाए पनि अहिलेसम्म कुनै पनि वन्यजन्तु फेला नपरेको एक्याप मनाङले जनाएको छ।
'कति क्षति भयो अहिले भन्न सकिने अवस्था छैन,' गौतमले भने।
हिउँले छोपिनु पर्ने हिमाली क्षेत्रमा आगोले जलाएको मनाङमा मात्र होइन। कास्कीकै माछापुच्छ्रे हिमाल अगाडिको घाँसे पहाडमा पनि दुई साताअघि डढेलो लागिसकेको छ। उक्त क्षेत्र हिमरेखाभन्दा तल र रुखरेखा भन्दा माथि हो। हिमाली क्षेत्रमा बोट बिरूवाको जंगलभन्दा माथि घाँसे मैदान आउँछ। माछापुच्छ्रेको त्यही उच्च घाँसे मैदानमा डढेलो लागेको मर्दी हिमाल पदमार्गको जंगल क्याम्पका व्यवसायी अमृत तामाङ बताउँछन्।
मर्दी पदमार्गको जंगल क्याम्पबाट माथि लागेपछि बादलडाँडा आउँछ। बादलडाँडादेखि भ्यू प्वाइन्टसम्मको भाग पनि घाँसे मैदान हुन्। यो घाँसे मैदानमा पनि वर्षेनी आगलागी हुने गरेको तामाङले बताए। यस्तै, गोरखास्थित मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)मा पनि उच्च पहाडी मैदानमा केही साताअघि आगलागी भएको छ।
आगलागीबाट धेरै क्षेति नभए पनि गोरखाको उच्च हिमाली क्षेत्रको घाँसे मैदान जलेको एमक्याप मनाङका प्रमुख नरेन्द्र लामाले बताए। अन्नपूर्ण क्षेत्रकै मुस्ताङमा पनि घाँसे मैदानमा आगो लागेको एक्याप मुस्ताङका संरक्षण अधिकृत तुलसीप्रसाद दाहालले बताए। विश्वचर्चित अन्नपूर्ण फेरो पदमार्गको थोराङपास गरेर मुस्ताङ निस्कने भू-भागमा आगलागी भएको दाहालले बताए।
गोरखा र मुस्ताङको घाँसे क्षेत्रमा आगलागी हुनुको कारण स्थानीयले धुप बाल्ने क्रममा भएको खुलेको छ। उत्तरी गोरखामा आनीले धुप बाल्ने क्रममा घाँसे मैदानमा आगो सल्किएको एमक्याप प्रमुख लामाले बताए। यस्तै, उपल्लो मुस्ताङमा पनि स्थानीयले पूजा गर्न धुप बाल्ने क्रममा आगो सल्किएको थियो।
स्थानीयको असावधानीका कारण ३ हजार मिटरभन्दा उचाइमा रहेका यी भागमा आगलागी भएका हुन्। यस सिजनमा सबैभन्दा ठूलो क्षति गरेको मनाङको डढेलोको कारण भने अहिलेसम्म पत्ता लाग्न नसकेको एक्याप मनाङका प्रमुख गौतमले बताए। यद्यपी डढेलो लाग्नुको कारण पनि स्थानीय संरक्षणकर्मीले अनुमान लगाएका छन्।
मनाङको सदरमुकामसमेत रहेको चामे गाउँपालिका वडा नं. १ र २ का बासिन्दाले प्रयोग गर्ने जंगलबाट आगो सल्किएको गौतमले बताए। स्थानीयले नै डढेलो लगाएको निश्कर्षमा पुगेका गौतमले कसले जंगलमा आगो झोस्यो भनेर स्थानीय प्रशासनले एकिन गर्न सकेको छैन। आगो लगाउनुको कारण भने उनीहरूले अनुमान गरेका छन्।
.jpg)
मनाङको ७ सय हेक्टरभन्दा बढी जंगल सखाप पार्ने डढेलो लगाउनुको पहिलो कारण स्थानीयले खाद्यान्नको रूपमा प्रयोग गर्ने गुठी च्याउ राम्रो पलाउँछ भन्ने स्थानीयको विश्वास छ। सल्लाको जंगलमा डढेलो लगाउँदा च्याउ उम्रने स्थानीयमा विश्वास रहेको एक्याप मनाङका प्रमुख गौतमले बताए।
उनले अनुमान गरेको दोस्रो कारण वन्यजन्तुको शिकारका लागि हो। घोरल र झारलको राम्रो बासस्थान रहेको उक्त जंगलमा त्यसैको शिकार गर्ने उद्देश्यले स्थानीयले आगो लगाएको हुन सक्ने उनको अनुमान छ। तेस्रो कारण घाँसका हो। हिमाली क्षेत्रमा पालिएका पशुपंक्षीलाई चराउन डढेलोपश्चात राम्रोसँग घाँस पलाउने स्थानीयको विश्वास छ।
झन्डै २० वर्षअघिसम्म हिउँ रहने क्षेत्रमा बोट-बिरूवा र बुट्यान फैलिएर अहिले डढेलो लागिसकेको छ। हिमालय पर्वतमालामा ४ हजार ५०० मिटरको उचाइलाई संरक्षणविद् एवं वातावरणविदले सदावहार हिउँ रहने क्षेत्र ‘हिमरेखा’ मान्छन्। हिमरेखामाथि सदावहार हिउँ रहने भएकाले उक्त क्षेत्रमा बोटबिरूवा र वनस्पति नहुनु पर्ने हो। तर पछिल्लो वर्षहरूमा बोट-बिरूवा र बुट्यानले यो सिमाना नाघिसकेका छन्।
.jpg)
हिमाली क्षेत्रका बनस्पतिबारे अध्ययन गरेका वातावरणविद् दिनेश भुजु पछिल्लो २० वर्षयता हिमरेखा परिवर्तन भएको बताउँछन्।
‘हिमरेखामा हिउँ पर्ने सिजनमै हिउँ छैन’, उनी भन्छन्, ‘घाँसे मैदान र रूख बिरुवा हिमरेखा भन्दा उँभो लागिसक्यो।’
जलवायु परिवर्तनका कारण हिमरेखा माथि सरिरहेको छ भने घाँसे मैदानमा रूख प्रवेश गरिसकेको छ। पृथ्वीमा बढ्दो तापक्रमले हिमरेखाको हिउँ पग्लिसकेको वातावरणविद् भुजुले बताए। उनका अनुसार २० वर्षयता रूख बिरुवा २५ मिटर उचाइ चढेको छ। जसले हिमाली क्षेत्रका बासिन्दाले घरपालुवा जनावर पाल्ने चरनक्षेत्र रूख बिरुवाले अतिक्रमण गरेको छ। यस्तै, जंगली जनावर चर्ने घाँसे मैदान पनि रूखको अतिक्रमणमा पर्ने र नयाँ आगन्तुक झारले ढाकिँदा चरन क्षेत्र सकिँदै गएको संरक्षणकर्मी बताउँछन्।
चरन क्षेत्रमा भएका रूख र नयाँ प्रजातिका बिरूवाको अतिक्रमणका कारण आगो लगाउने घटना बढ्न थालेको डढेलोबारे अनुसन्धान गरेका कृष्ण भुजेल बताउँछन्। हिमाली क्षेत्रका जंगलमा आगो लाग्दा तीव्र गतिमा बहने हावा र जंगलमा बढ्दो सुख्खापनले डढेलो तीव्र बनेको उनले बताए।
‘हिमाली जंगलमा बढ्दो सुख्खापनले जल्ने पदार्थ बढ्दै गयो’, भुजेलले भने, ‘हिमाली क्षेत्रका बासिन्दाले पनि चरिचरन, शिकार, जडिबुटी संकलनलगायतका क्रियाकलाप बढाए, जंगलमा जानी जानी आगो लगाउन थाले।’
जसका कारण हिमाली जंगलमा रहेका बहुमुल्य जडिबुटी र वन्यजन्तुलाई नोक्सान पुर्याएको छ भने जमिन तातेर हिउँ पग्लने क्रमलाई पनि तीव्रता दिएको उनले बताए।
नेपालमा डढेलो लाग्ने समय चैतदेखि जेठसम्म मानिन्छ। उक्त समयमा बढी सुख्खापन हुने, हावाहुरी चल्ने भएकाले डढेलो तीव्र गतिमा फैलिन सक्छ, यस सिजनमा डढेलो लगाउँदा घाँस राम्रो उम्रने कतिपयको विश्वास छ। नेपालमा डढेलो लगाउने प्रवृत्तिमा पनि परिवर्तन आएको अध्यता भुजेलले बताए।
‘२० वर्षयताको बन डढेलोको अध्ययनले जाडो समयममा डढेलो लगाउने प्रवृत्ति बढ्दो छ’, उनले भने, ‘जाडोयाममा उच्च पहाडमा धेरै डढेलो लाग्न थालेको छ।’
हिमाली क्षेत्रको जंगलमा हिउँ पर्ने समयमै बढ्दो डढेलो रोक्न सरकार र तिनका निकाय भने चुकेको भुजेलले निष्कर्ष छ।
हिमाली क्षेत्रमा अधिकांश जडिबुटी, बोटबिरूवा र बुट्यान आगो सहन नसक्ने खालका हुने भुजेलले बताए। वन्यजन्तुले त झन् आगो सहने सक्ने नै भएनन्। बढ्दो डढेलोले कतिपय जीव र वनस्पति लोप हुन सक्ने र जैविक विविधतामा असन्तुलन पैदा हुन सक्ने खतरा रहेको उनको भनाइ छ।
हिमाली क्षेत्रमा बढ्दो डढेलोबारे अध्ययन गर्न दोलखामा चौंरी चर्ने घाँसे मैदान पुगेका भुजेलले त्यहाँ नयाँ प्रजातिका बिरूवा देखे, जसले घाँसे मैदान अतिक्रमण गर्दै थिए। नयाँ प्रजातिका बिरूवा वन्यजन्तु र घरपालुवा जनावरले मन नपराएको उनको अनुभव छ।
‘चौरीं चर्ने खर्क र घाँसे मैदानमा नयाँ प्रजाति र रूख बिरूवा देखियो’, भुजेलले भने, ‘रूखहरू माथि चढ्दै जाँदा पछि- पछि डढेलो पनि गयो।’
डढेलो समयमै नियन्त्रण गर्न सरकारी निकायले देखाएको उदासिनताले भुजेल पनि चिन्तित छन्।
‘डढेलोले जंगल र वन्यजन्तुमात्र जलाएको होइन, हाम्रो भविष्य पनि जलाउँदैछ’, उनले भने।
तस्बिरहरू सौजन्य: एक्याप मनाङ र जिल्ला प्रशासन कार्यालय मनाङ।