सुकेर चिराचिरा भएको कमलपोखरीमा मरेका माछा र गगटो फेला पर्न थालेका छन्। ति जिवहरू बीचबाट अब विरूवा पनि उम्रन थालेको भेटियो।
शुक्रबार हामीले कमलपोखरी विरोधक्रममा आएका अभियन्ताहरूसँग पोखरी अवलोकन गरेका थियौं। कमलपोखरीमा महानगरको लापरबाही भएपछि अभियन्ता र प्रकृति प्रेमीहरूले सांकेतिक विरोध गरेका छन्। त्यस्तै, सांकेतिक विरोध प्रकृतिबाट पनि आएजस्तो लाग्थ्यो।
शुक्रबार कमलपोखरीकै माटो आफ्नो अनुहारमा दलेर नयाँ शैलीमा अभियन्ताहरूले विरोध जनाएका थिए। रानीपोखरीबाटै पोखरी निर्माणबारे सिकाए पनि नगरपालिकाले नबुझेपछि लज्जाबोध भएको भन्दै उनीहरू यसरी उत्रिएका हुन्।
‘रानीपोखरीबाट हामीले पाठ सिकाउन सकेनौं जसकारण लज्जाबोध भएर आफ्नै अनुहारमा माटो दलेका हौं,’ अभियन्ता सुसन वैद्यले भने, ‘हामी मात्र होइन नगरपालिकाका सम्पुर्ण पदाधिकारीहरुले पनि लज्जित महसुस गर्नुपर्ने हो।’
सुसनले हातमा ‘डियर मेयर, रानीपोखरीबाट पाठ सिकाउन नसकेकोमा हामी लज्जित छौ’ लेखिएको प्लेकार्ड पनि बोकेका थिए। त्यस्तै, अरूले ‘डियर मेयर, सिमेन्ट र डन्डीको कमल हामीलाई चाहिँदैन’, ‘प्रकृतिको दोहन बन्द गर’ लगायत लेखिएको प्लेकार्ड बोकेका थिए।
‘हामी यहाँ प्रण गर्दैछौं कि कमलपोखरीलाई फेरी कमलपोखरी बनाउनुपर्छ। यहाँ सिमेन्टको फूल होइन, विभिन्न प्रजातिका कमल फूलहरू फूल्नेछ,’ सुसनले भने।
आफ्नो अनुहारमा माटो दलेपछि उपस्थित अभियन्ताहरूले पोखरीको फन्को मारे। त्यहाँ बन्दै गरेका संरचनाहरू नियाले। हामीले गुमाउँदै गरेका कमलपोखरीको अवस्था पनि देख्यौं।
करिब ९ करोड ४७ लाख रूपैयाँ बजेट छुट्याएको काठमाडौं महानगरपालिकाले कमलपोखरी निर्माणका लागि पोखरी सुकाइएको हो। वरिपरि कंक्रिट संरचना बनाउने योजना छ। बीचमा कंक्रिटकै फूल रोप्ने नगरपालिकाको योजना छ।
‘विकाश भनेको कंक्रिट मात्रै हो?’ बागमति प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठले भने, ‘जमिनको रिचार्जं प्रणाली के हो भन्ने केही अध्ययन छैन। मौलिकता त झन कता हो? सबै कामलाई ठेक्कामा दिएका छन्। पोखरीजस्तो अमुर्त सम्पदालाई जगेर्ना गर्ने कुनै वास्तै छैन।
’उनले अगाडि भने, ‘खाली पैसाकै लागि सम्पदालाई भत्काउनु भन्दा एकअर्कालाई पैसा बाढ्नुहोस्। हाम्रो ठाउँ नबिगारिदिनुस्। म नगरपालिकालाई यही भन्न चाहन्छु।’
विरोधक्रममा सम्पदाविद् सुदर्शन तिवारी, ऐतिहासिक ढुंगेधारा–हिति संरक्षण समितिका सुशील श्रेष्ठ, स्थानियहरूको पनि उपस्थिति थियो। उनीहरूले पोखरीको पुरानो अवस्था, यसकाे एतिहासिकता, निर्माणमा ढिलाई लगायत विषयमा पनि कुराकानी गरेका थिए।
कमलपोखरीलाई परम्परागत शैलीमै बनाइयोस् भन्ने उनीहरूको आग्रह हो। तर यसको ऐतिहासिकता र मौलिकता मासिने देखिएपछि उनीहरू जुर्मुराएका छन्।