केही वर्ष पहिलेसम्म गाउँघरबाट रकम संकलन र मुठ्ठीदान गरी विद्यालय, पुस्तकालय र मठमन्दिर बनाउने गरेको सुनिन्थ्यो। तर बुद्ध जन्मस्थल लुम्बिनीमा महासिद्ध विश्व शान्ति वाटिका निर्माणको लागि मुठ्ठीदान सुरू गरिएको छ।
लुम्बिनीमा वाटिका निर्माण गरी विश्व शान्तिको साँस्कृतिक थलो बनाउने उद्देश्यले मुठ्ठीदानबाटै रकम संकलन गर्न लागिएको निर्माणकर्ताले बताएका छन्।
शान्ति वाटिकामा आफ्नो सहभागिता र लगानी पनि छ भन्ने भावनाको विकास गराउन र स्थानीयको अपनत्व जगाउने उद्देश्यले एक एक रुपैयाँमा मुठ्ठी दान अभियान चलाइएको निर्माणकर्ता स्याल्पा तेन्जिङ रिम्पुचेले जानकारी दिए।
महासिद्ध विश्व शान्ति वाटिका निर्माणको लागि बुधबार नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङले पनि एक रुपैयाँ दान गरेका छन्।
निर्माणकर्ता रिम्पुचेलाई एक रुपैयाँ हस्तान्तरण गर्दै घिसिङले विश्व शान्तिस्थल र बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनीमा मुठ्ठी दान गरी लुम्बिनीप्रति अपनत्व जगाउन पाउँदा खुसी लागेको बताए।
घिसिङले व्यक्तिको लागि एक रुपैयाँ ठूलो नहुने भएकाले यो अभियानमा सहभागिता जनाउन सबै नेपालीलाई आग्रह गरे।
यसअघि गत कात्तिकमा दक्षिण एसियाली सहयोग संगठन (सार्क) का महासचिव एसला रुवान विराकोनले एक डलर दान गरेर अभियानको औपचारिक शुभारम्भ गरेका थिए।
कात्तिक ३० गतेदेखि सुरू गरिएको उक्त अभियानमा कार्यक्रममा सार्कका महासचिव विराकोनकी श्रीमती क्रिशान्तिले पनि एक डलर दान गरेकी थिइन्।
नेपालबाट सुरू गरिएको मुठ्ठीदान अभियानलाई विश्वका बौद्ध, हिन्दू, जैन, सिख, ओमकार लगायत सबै परिवारका सबै सदस्यसामु पुर्याइने रिम्पुचेले बताए।
महायानी बौद्धमार्गीहरूको लागि छुट्याइएको पश्चिम क्षेत्रको प्लटमा दक्षिण कोरियाली विहारनजिक महासिद्ध विश्व शान्ति वाटिका निर्माण सुरू गरिएकोे छ।
कमलको फूलको आकारमा ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको वाटिकामा दुई हजार बढी क्षमताको सभाकक्ष, शान्ति वार्ता र ध्यान कक्ष, पुस्तकालय र संग्रहालय हुनेछन्।
त्यस्तै, विहार र गुम्बा रहने अत्याधुनिक केन्द्र समेत बनाइने गरी डिजाइन गरिएको रिम्पुचेले जानकारी दिए।