२०७२ को भुइँचालोपछि ‘खण्डहर’ बनेको रानीपोखरी साढे पाँच वर्षपछि पुरानै स्वरूपमा फर्किएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो चरणको काम सकेर यही दसैंमा रानीपोखरी उद्घाटन गर्दैछ। सकभर घटस्थापनाकै दिन वा दसैंभित्र राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गराउने प्राधिकरणको योजना छ।
यसै सन्दर्भमा पुनर्निर्माणसँग सम्बन्धित नौ प्रश्न हामीले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीसँग सोधेका छौं।
रानीपोखरीमा पानी कति अट्छ?
पोखरीको तल्लो तहसम्म मात्र भर्दा ३ करोड लिटर अट्छ। माथिको किनारसम्म भर्ने हो भने २५ करोड लिटर अट्ने क्षमता छ। रानीपोखरी सर्वसाधारणका लागि खुला गरेपछि सार्वजनिक सुरक्षाको ख्याल राख्नुपर्छ। त्यसैले २५ करोड लिटर नै अट्ने गरी टम्म पानी भर्ने योजना छैन।
अहिलेलाई पोखरीसम्म जाने सिँढीको दुई–तीनवटा खुड्किलोमा आइपुग्ने गरी पानी भर्दैछौं। त्यो भनेको झन्डै ८ करोड लिटर हो। त्यसमध्ये अहिले नै तीन करोड लिटरभन्दा बढी पानी भरिइसक्यो।
यो पानी घट्छ कि घट्दैन?
पोखरीको पिँधबाट पानी चुहिएर खेर जाँदैन। हामीले पुनर्निर्माणकै क्रममा दुईवटा नमूना पोखरी बनाएर हेर्यौं। किनारमा आली लगाएर पानी जम्मा गर्यौं। हाम्रो परीक्षणबाट पानी चुहिँदैन भन्ने प्रमाणित भइसक्यो।
भक्तपुरका कालिगढले पाँगो माटो, बालुवा र कालो माटोको तहमाथि इँटा सोलिङ गरेर रानीपोखरी बनाउनुभएको छ। यो भनेको पोखरी बनाउने परम्परागत शैली हो। यसबाट पानी चुहिँदैन।
चुहिँदैन भन्दैमा अहिले जति छ, त्यो सधैं रहन्छ भन्ने होइन। घामको तापले हरेक दिन केही पानी बाफ बनेर उडेर जान्छ। यो प्राकृतिक प्रक्रिया नै हो। प्रत्येक वर्ष एकचौथाइ पानी यसरी बाफ बन्छ भन्ने अध्ययनले देखाएको छ। रानीपोखरी टम्म भरिराख्न त्यो बराबरको पानी हरेक वर्ष भर्नुपर्छ।
पानी भर्ने उपाय के?
दुइटा तरिका छन् — वर्षातको पानी र मेलम्ची पाइपलाइन।
बर्खा राम्रो भयो भने हरेक वर्ष बाफ बनेर उड्ने एकचौथाइ पानी आकाशबाटै भरिन्छ। अर्को विकल्प अपनाउनै पर्दैन।
यो भनेको आकाशबाट सोझै रानीपोखरीमा खस्ने पानी मात्र होइन। वरिपरि जम्ने आकाशेपानीको कुलो ल्याउने व्यवस्था पनि छ।
मल्लकालमा रानीपोखरी बनाउँदा नै रत्नपार्क, दरबार हाइस्कुल र त्रिचन्द्र कलेजतिरबाट कुलो ल्याइएको थियो। त्यसलाई पुरानै शैलीमा पुनर्निर्माण गरेका छौं। आकाशेपानीका यी स्रोतले पनि रानीपोखरी भर्न मद्दत गर्नेछ।
यसबाहेक मेलम्ची पाइपलाइन अर्को भरपर्दो स्रोत हो।
मानौं, कुनै वर्ष मनसुन राम्रो भएन। औसतभन्दा कम पानी पर्यो। वा, कुनै वर्ष गर्मी बढेर पोखरी सुक्यो। त्यस्तो बेला आकाशेपानीले मात्र भरथेग गर्दैन। यस्तो अवस्थाका लागि मेलम्चीको छुट्टै पाइपलाइन व्यवस्था गरेका छौं।
यसपालि नै आकाशेपानीले मात्र पोखरी भरिएको होइन। हामीले खानेपानी मन्त्रालयसँग सहकार्य गरी सुन्दरीजलबाट पानी तानेका थियौं। भोलि यही पाइपलाइनलाई मेलम्चीसँग जोडिनेछ।
यी दुइटा स्रोत भएपछि बाह्रै महिना पोखरी भर्न पानीको दु:ख हुँदैन।
कुनै वर्ष धेरै पानी परेर ओभरफ्लो भयो भने? यहाँ निकासको ‘आउटलेट’ छैन भन्ने सुनिन्छ नि!
यो गलत कुरा हो। यहाँ पहिलेदेखि नै आउटलेट थियो। अहिले त्यो प्रयोगमा छैन। हामीले छोपेर राखेका छौं। दोस्रो चरणमा त्यो पनि बन्नेछ। हाम्रा प्राविधिकहरूले त्यसलाई पुरानै स्वरूपमा फर्काउन खाका तयार पारेका छन्।
रानीपोखरीको आउटलेटलाई बागबजार हुँदै टुकुचा खोलामा लगेर निकास गर्ने योजना छ। थप विकल्पहरूमाथि पनि अध्ययन हुँदैछ।
पोखरी त नियमित सफा गरिरहनुपर्छ, त्यो चाहिँ कसरी गर्ने?
एउटा त सिधै मान्छे छिरेर सफा गर्ने, जुन यसपालि गर्यौं। पानी माथिसम्म आएपछि मान्छे छिर्न सम्भव हुन्न। त्यो बेला सामान्य डुंगा प्रयोग गरिनेछ। दुई–तीन जनाले डुंगा खियाउँदै जालीले सफा गर्दै जान्छन्। यो काम नियमित गरिनेछ।
त्यसमाथि पोखरी जुन प्राकृतिक तरिकाले बनेको छ, त्यो वातावरणमा माछाहरू राम्ररी बाँच्न सक्छन्। केही हदसम्मको सरसफाइ ती माछाबाटै हुन्छ भनेर हाम्रा कालिगढहरूले बताएका छन्।
पोखरी पनि भरियो, मन्दिर पनि बन्यो, अब थप काम के–के बाँकी छन्?
हामीले रानीपोखरी पुनर्निर्माणलाई पहिलो र दोस्रो चरणमा छुट्टयाएका छौं। पहिलो चरणमा पोखरी र मन्दिरसँगै बगैंचा र लाइटिङ पर्छन्।
बगैंचाको काम धमाधम हुँदैछ। यसको लाइटिङमा आधुनिक र परम्परागत दुवै शैली मिश्रण गरेका छौं।
तपाईंहरूले पाटन दरबार स्क्वायरका मन्दिरको लाइटिङ देख्नुभएको छ? त्यहाँ झल्झलाकार बत्ती बल्दैन। हरेक मन्दिरमा पुरानो जनजीवन झल्किने गरी मधुरो लाइटिङ गरिएको छ। मल्लकालमा जसरी दियोको मधुरो प्रकाशले मन्दिर उज्यालो पारिन्थ्यो होला, हामीले सम्पदा स्थलहरूमा त्यस्तै लाइटिङ राख्ने योजना गरेका छौं।
रानीपोखरीमा पनि त्यस्तै मधुरो बत्ती बल्नेछ। विशेष कार्यक्रम हुँदा मन्दिर र पोखरी उज्यालो देखिने गरी फोकस लाइट राखिनेछ। तिहार बेला पोखरीका चार कुनाबाट विभिन्न रंगको प्रकाश छरिनेछ। वरिपरिको बगैंचा र सिँढीहरूमा पनि ठाउँ–ठाउँमा मधुरो लाइटिङ राखिँदैछ।
पहिलो चरणका यी सबै काम सकेर दसैंमा राष्ट्रपतिबाट उद्घाटन गराउने योजना छ। उद्घाटनकै क्रममा मन्दिरको प्राण प्रतिस्थापन गर्न साइत हेराउँदैछौं। त्यसअघि बालगोपालेश्वर मन्दिरको गजुर राख्न साइत हेर्ने काम हुँदैछ।
के रानीपोखरी उद्घाटनलगत्तै सर्वसाधारणका लागि खुला हुन्छ?
त्यो अहिले निर्णय भइसकेको छैन। सर्वसाधारणका लागि खुला गर्नुअघि सुरक्षा उपाय अपनाउनुपर्छ। वरिपरिको बगैंचा नमासियोस् भनेर केही मापदण्ड तय गर्नुपर्छ। यसलाई सम्पदा स्थलका रूपमा सञ्चालन गर्ने निर्देशिका पनि बन्नुपर्छ। हामी त्यसमा काम गर्दैछौं।
राजा प्रताप मल्लले यहाँ नेपाल र भारतका ५१ तीर्थस्थलको जल हालेको इतिहास छ। यसले रानीपोखरीको सांस्कृतिक महत्व बढाएको थियो। अब त्यो रहेन भनिन्छ नि!
हामी त्यो इतिहास फेरि दोहोर्याउँदै छौं। प्रताप मल्लले जस्तै विभिन्न तीर्थस्थलको जल हाल्ने योजना छ। कोरोना महामारीका कारण भारतीय तीर्थस्थलबाट ल्याउन सम्भव नहोला। तर, नेपालभित्रका बढीभन्दा बढी तीर्थस्थलबाट ल्याउने तयारी हुँदैछ।
यसमा गोसाइँकुण्डदेखि मुक्तिनाथ, माईपोखरी, पाँचपोखरी, कालीगण्डकी, कोशी, रारा लगायत पर्छन्।
हामी देशभरका जनप्रतिनिधिलाई आ–आफ्ना तीर्थस्थलको जल रानीपोखरीमा चढाउन आह्वान गर्दैछौं। यसले रानीपोखरीको सांस्कृतिक महत्व बढ्नुका साथै यो राष्ट्रिय एकताको प्रतीक बन्नेछ।
अहिलेसम्म कति खर्च भयो?
अहिलेसम्म करिब २७ करोड रुपैयाँ खर्च भयो। पोखरी पुनर्निर्माणमा १० करोड, बीचको मन्दिर र वरिपरि बगैंचा बनाउन र लाइटिङ गर्न १७ करोडजति लाग्यो।
पुनर्निर्माणको दोस्रो चरणमा के–के काम पर्छन्?
दोस्रो चरणमा रानीपोखरीलाई बृहत टुँडिखेल मास्टरप्लानको हिस्सा बनाउने गरी थप काम हुनेछन्।
त्रिचन्द्र कलेजका केही संरचना हटाएर पोखरी क्षेत्र विस्तार गरिनेछ। त्रिचन्द्रका शैक्षिक पूर्वाधारलाई आधा घन्टाघरतर्फ र आधा जमलमा सार्ने योजना छ। रानीपोखरीको दक्षिण–पश्चिम मोहडामा पर्ने प्रहरी कार्यालय पनि हटाइनेछ।
वरिपरिका संरचना हटाएपछि पोखरी वरिपरि फूलले ढकमक्क उद्यान, बाल वाटिका र पानीको फोहोरासहितको खुला पार्क निर्माण हुनेछ।
विश्वज्योति हलको ठ्याक्कै अगाडि पहिले कानुन पुस्तकालय थियो। त्यो भवन परम्परागत आर्किटेक्चरको झलक आउने गरी रेट्रोफिट हुँदैछ। यसलाई प्रताप मल्ल संग्रहालयका रूपमा विकास गरिँदैछ। रानीपोखरी जीर्णोद्धार क्रममा फेला परेका मल्लकालीन वस्तुहरू यहाँ प्रदर्शनका लागि राखिनेछन्।
शान्ति वाटिका फराकिलो पारेर सोह्रहाते गणेशस्थानदेखि प्रहरी कार्यालयसम्म विस्तार गर्नेछौं। शान्ति वाटिकाकै बीचमा अहिले जहाँ गणेशमान सिंहको शालिक छ, त्यहाँ पहिले मल्लकालीन ‘फल्चा’ (पाटी) थियो। त्यो फल्चा मासिएको धेरै भयो। केही पुराना तस्बिरका आधारमा हामी त्यो फल्चा ब्युँताउँदैछौं र गणेशमानको शालिक नजिकै अर्को ठाउँमा सार्दैछौं। त्यसपछि रानीपोखरी र रत्नपार्क आपसमा गाभिने छन्।
यी सबै काम यसै आर्थिक वर्षभित्र सुरू गर्न बजेट व्यवस्था गरिसकेका छौं।
(यसबारे विस्तृतमा- सेनासँग सहमतिपछि यसरी बन्दैछ बृहत् टुँडिखेल पार्क)
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी
यी पनि हेर्नुहोस्:
भक्तपुरका महिलाहरूले 'रेस्क्यू' गरेको रानीपोखरी
रानीपोखरी बीचमा नयाँ खालको मन्दिर देखेर छक्क नपर्नु!
रानीपोखरी जोगाउने लडाकूहरू