भोटो देखाउनुलाई रातो मच्छिन्द्रनाथ जात्राको ‘क्लाइमेक्स’ मान्ने हो भने लगनखेलमा हुने महास्नान यसको ‘ग्य्रान्ड ओपनिङ’ हो। अनि, मच्छिन्द्रनाथलाई उनको घर बुंगमती फिर्ता लैजाने उत्सव यो जात्राको ‘क्लोजिङ’, जुन आज सोमबार सम्पन्न भयो।
क्लाइमेक्सबारे मैले भदौ २२ गते लामो फिचर लेखिसकेको छु, आज हामी यसको ओपनिङ र क्लोजिङको कुरा गरौं।
अब तपाईं भन्नुहोला, यी ओपनिङ, क्लाइमेक्स र क्लोजिङ हुन् भने गत बिहीबार र शुक्रबार लेखेको रातो मच्छिन्द्रनाथको प्रेमकथा के हो त? त्यसलाई चाहिँ ‘इन्टरभल’ मानुँ न!
त्यसै पनि जुन बेला रातो मच्छिन्द्रनाथ आफ्नी ‘प्रेमिका’ भेट्न कीर्तिपुर जान्छन्, त्यो बेला जात्राको इन्टरभल नै चलिरहेको हुन्छ। मच्छिन्द्रनाथको रथ लामो समय लगनखेलको थति टोलमा रोकिएको हुन्छ, भीडभाड पनि कम हुन्छ। जसै उनी प्रेमिका भेटेर फर्किन्छन्, इन्टरभल सकिन्छ। जात्रा फेरि तामझामका साथ सुरू हुन्छ र जावलाखेलको क्लाइमेक्सतिर बढ्छ।
जहाँसम्म ‘ओपनिङ’ को कुरा छ, यसलाई सामान्य बोलीचालीमा ‘महास्नान’ भनिन्छ। म पनि त्यही भन्थेँ।
तर, सम्पदा तथा संस्कृति संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधर, जो मलाई काठमाडौं देखाउने, चिनाउने र बुझाउने गाइड हुन्, उनी ‘महास्नान’ भनेको मन पराउँदैनन्। हरेकचोटि मलाई सच्याउँछन्, ‘महास्नानले अर्थ खुलाउँदैन, यसलाई ‘न्हवं’ भन्नुपर्छ।’
‘न्हवं’ भनेको नेवारी शब्द हो, तुलाधर भन्छन्, ‘हरेक नेवारी शब्दको नेपालीमा ठेट अनुवाद हुन सक्दैन। जबर्जस्ती अनुवाद गर्दा त्यसको भाव मर्छ। महास्नान भन्नाले हामी मच्छिन्द्रनाथलाई नुहाउने मात्र बुझ्छौं, जब कि ‘न्हवं’ को अर्थ त्योभन्दा धेरै बृहत् छ।’
सुरूमा त म उनको कुरासँग सहमत थिइनँ।
सजिलै भन्न सकिने ‘महास्नान’ को सट्टा उच्चारण गर्नै गाह्रो ‘न्हवं’ किन भन्नु भन्ने मलाई लाग्थ्यो। त्यही भएर मैले यो स्टोरीको पहिलो अनुच्छेदमा महास्नान नै भनेको छु। ताकि, पढ्नेहरूले सुरूमै नबुझिने शब्द देखेर टाटा बाईबाई नगरून्!
कुरा बुझ्दै गएपछि मलाई पनि ‘महास्नान’ सही शब्द होइन कि जस्तो लागेको छ। यो जात्राको ओपनिङ जसरी हुन्छ, त्यसमा महास्नान त एउटा सानो अंग मात्र हो। बरू यसको सही अनुवाद ‘पुनर्जन्म’ पो हुन्छ कि!
किनकि, मच्छिन्द्रनाथ जात्राको ‘ओपनिङ’ उनको मृत्युबाट हुन्छ। जात्राको सुरूमै मच्छिन्द्रनाथ, अर्थात् बुंगद्यःले आफ्नो प्राण त्याग्छन्। यसलाई फिल्मको कथानक मान्ने हो भने, यो यस्तो फिल्म हो, जसको पहिलो दृश्यमै हिरो मारिन्छन्।
अचम्म मान्नुभयो? म बुझाउँछु नि।
हो, रातो मच्छिन्द्रनाथको जुन भव्य जात्राको हामी कुरा गर्दैछौं, त्यसको सुरूआतमै चैत शुक्ल पूर्णिमाको रात मच्छिन्द्रनाथको मूर्तिमा रहेको प्राण झिकेर चाँदीको कलशमा राख्ने चलन छ। यसलाई मच्छिन्द्रनाथको ‘मरण’ का रूपमा लिइन्छ।
हाम्रो र उनको मरणमा फरक के भने, हामी एकचोटि गएपछि गएका गयै हुन्छौं, फर्केर आउने नो चान्स! हाम्रा यी लोकेश्वर, करुणामय मच्छिन्द्रनाथ भने हरेक वर्ष मर्छन् र हरेक वर्ष यो लोकको उद्धार गर्न फेरि जन्म लिएर आउँछन्।
संस्कृतिविद् बुद्धाचार्य शाक्यले आफ्नो किताब 'रातो मत्स्येन्द्रनाथ' मा यसलाई ‘आयु संस्कार त्याग गर्ने दिन’ भनेका छन्।
उनका अनुसार, मच्छिन्द्रनाथको प्राण झिकेर कलशमा बन्द गर्ने कार्य मन्दिरभित्र एकदमै गोप्य तरिकाले गरिन्छ। सम्बन्धित आचार्य, जजमान र कर्ता मात्र गुप्त कोठामा बसेर खास्टोले छोपेर यो पूजा हुन्छ। उनीहरूबाहेक अरू कसैले हेर्नु हुँदैन।
त्यसपछि मच्छिन्द्रनाथको प्राणविहीन मूर्तिलाई खटमा हालेर नायखिँ र काहा बाजा बजाउँदै लगनखेलको महास्नान मण्डपमा लगिन्छ। त्यहाँ उनलाई चाँदीको कलशमा हालेको गाईको दूध, घीउ, सख्खर मिश्रित पानीले चार दिशाबाट स्नान गराइन्छ।
यसरी स्नान गराइसकेपछि मच्छिन्द्रनाथको मूर्तिलाई तःबहाःस्थित मन्दिरमा ल्याएर एउटा कुनामा राखिन्छ। पहिले मच्छिन्द्रनाथको मूर्ति रहने स्थानमा भने त्यही पूर्ण कलश प्रतिस्थापन गरिन्छ, जसमा मच्छिन्द्रनाथको प्राण छ।
‘यो बेला पूर्ण कलशलाई नै पूजा गर्ने चलन छ,’ मच्छिन्द्रनाथ पुजारी संघका अध्यक्ष यज्ञरत्न शाक्य यसलाई ‘मच्छिन्द्रनाथको मृत्यु भएर फेरि गर्भावस्थामा रहेको संकेत’ मान्छन्।
अष्टमीको दिनबाट मूर्तिलाई मन्दिरको पूर्वपट्टि दक्षिण फर्काएर राखिन्छ। त्यहाँ रंगरोगन र टुटफुट भएको छ भने मर्मतसम्भार हुन्छ।
द्वादशीको मध्यरात मच्छिन्द्रनाथको फेरि पुनर्जन्म हुन्छ भन्ने विश्वास गरिन्छ।
त्यो रात पृथ्वीमा जन्म लिएका मच्छिन्द्रनाथ दर्शन गर्न ६४ जना देवीहरू आउँछन् भनी बुद्धाचार्य शाक्यले लेखेका छन्, ‘६४ जना देवी आउने भनिएकाले ६४ वटा घैंटाहरू राखेर पूजा गरिन्छ।’
भोलिपल्ट तृतीयाको दिन मच्छिन्द्रनाथको आँखा खोलेर दृष्टि प्रदान गरिन्छ। यो उनको पुनर्जन्म हो। त्यसपछि राँगाको दाहिने आँखा, मास, कालो भटमास, रक्ति, तातो गेडागुडी र भात चढाएर न्वारन हुन्छ। अनि क्रमैसँग ती सबै विधिहरू गरिन्छ, जुन हामी मान्छेले आफ्नो जीवनभरमा गर्छौं। यसमा पास्नी, ब्रतबन्ध, आचार्य गराउने, बूढा रथारोहणसहित केटीहरूले गर्ने इही र गुफा राख्ने विधि पनि पर्छन्। यसलाई ‘दसकर्म संस्कार’ भनिन्छ।
मच्छिन्द्रनाथलाई केटा र केटी दुवैको संस्कार किन गरिएको होला भनेर मैले यज्ञरत्नलाई सोधेको थिएँ। उनको जवाफ थियो, ‘उनी बहुरूपी भगवान् हुन्। उनमा केटा र केटी दुवैको स्वरूप छ। त्यसैले दसकर्म गर्दा छोरा र छोरीलाई गर्ने सबै कर्मकाण्ड पूरा गर्नुपर्छ।’
मच्छिन्द्रनाथ एउटा जुनीबाट अर्को जुनी लिएर आउने प्रक्रिया नै ‘न्हवं’ हो। यज्ञरत्नले मलाई यसको ‘फिलोसोफी’ पनि बताएका थिए, ‘मृत्यु शाश्वत सत्य हो। सृष्टि भएपछि एक न एक दिन अन्त्य हुनैपर्छ, चाहे त्यो मानिस होस् या मच्छिन्द्रनाथजस्ता भगवान। भगवान त स्थायी छैनन् भने हामी मानव जातिले कहिल्यै मर्न नपर्नेजस्तो गरी रिस, राग, इर्ष्या, द्वैष र घमन्डको भारी बोकेर हिँड्नु व्यर्थ छ। यही हो मच्छिन्द्रनाथको सन्देश।’
अब तपाईंहरू नै भन्नुस् त, जन्म–पुनर्जन्मको यति बृहत् व्याख्यालाई ‘महास्नान’ को सानो दायरामा खुम्च्याउनु साँच्चै नै अपूर्ण छैन त?
यो त भयो, मच्छिन्द्रनाथको न्हवं उर्फ पुनर्जन्मको कुरा।
अब म तपाईंहरूलाई यस्तो परम्पराबारे बताउँछु, जुन रथयात्राजत्तिकै पुरानो भए पनि पछिल्लो २५ वर्षदेखि विभिन्न कारणले हुन सकेको छैन।
कलशमा प्राण झिकेपछि मृत अवस्थामा रहेका मच्छिन्द्रनाथको पुनर्जन्म निम्ति पाटनको लगनखेलमा स्नान गराउने कुरा हामीले माथि गर्यौं। यसरी स्नान गराउँदा गाईको दूधसहित तःबहाःको इनारको पानी प्रयोग गरिन्छ भन्ने धेरैलाई थाहा होला। यसैसँग जोडिएको एउटा परम्परा भने हाम्रो स्मृतिबाट धमीलो हुँदै गइसकेको छ।
त्यो हो, मच्छिन्द्रनाथको न्हवं गर्न काठमाडौंको इतुम्बहालबाट पानी लैजाने परम्परा।
इतुम्बहाल भनेको काठमाडौंकै ठूलो र पुरानो बहालमध्ये एक हो। यसलाई लिच्छविकालीन विहारका रूपमा लिने गरिन्छ। प्रत्येक वर्ष साउनमा ‘बहिबोय्’ भनी प्रसिद्ध विहारहरूमा सञ्चित प्राचीन वस्तुहरू इतुम्बहालमा प्रदर्शन गरिन्छ। त्यसमा एक लिच्छविकालीन हस्तलिखित ग्रन्थ पनि पर्छ।
इतुम्बहालभित्र चार–पाँचवटा साना–ठूला ‘ननी’ (चोक) छन्– बाकुननी, ताराननी, ससुननी, तहाननी, कगुननी र पासाननी। यीमध्ये सबभन्दा ठूलो तहाननी हो। विगतमा यी सबै ननी बृहत् इतुम्बहालकै अंग थिए भन्ने विश्वास गरिन्छ। विभिन्न कालखण्डमा इतुम्बहाललाई विभिन्न भागमा बाँडेर विहार र ननीहरू निर्माण गरिएको हुन सक्छ।
बहाल भन्नेबित्तिकै इनार पनि सँगसँगै जोडिएर आउँछ, जसले वरिपरि बस्ने समुदायलाई पानीको स्रोतको काम गर्छ। इतुम्बहालमा पनि थुप्रै इनार छन्। तीमध्ये ताराननीको इनार सबभन्दा प्रसिद्ध छ। यहाँको पानीलाई स्थानीयहरू ‘पवित्र जल’ मान्छन्। स्थानीय विहार मात्र होइन, आजभन्दा २५ वर्षअघिसम्म मच्छिन्द्रनाथलाई स्नान गराउन पनि यहाँको जल नलगी हुन्थेन।
यो इनार किन यति प्रसिद्ध भयो र यहाँको पानीलाई किन ‘पवित्र जल’ भनियो भन्नेबारे एउटा किम्बदन्ती छ। मलाई यो किम्बदन्ती सुनाएका थिए ओमरत्न बज्राचार्यले, जो मच्छिन्द्रनाथलाई स्नान गराउन पानी लैजाने गुठीका सदस्य हुन्।
उनका अनुसार, यो इनारमा ‘ज्वल नाग’ अर्थात् नाग–नागिनको जोडी बस्छन् भन्ने विश्वास गरिन्छ।
हुन त काठमाडौं उपत्यकाका जुनसुकै इनारमा नागको बास हुन्छ भनेर मान्ने चलन छ। तर, इतुम्बहालको इनारमा बस्ने भनिएको जोडी नाग अरू सामान्य नाग–नागिनजस्तो होइन। यिनीहरू रातो मच्छिन्द्रनाथको लोककथासँग जोडिएका कर्कोटक नागराज र नागरानी हुन्।
भारतको आसामस्थित कामरु कामख्या पीठमा रातो मच्छिन्दनाथलाई लिन राजा नरेन्द्रदेव, आचार्य बन्धुदत्त र रथचक्र ज्यापू सँगसँगै कर्कोटक नागराज पनि गएका थिए। बाटोमा ठाउँ–ठाउँ बाढी आउँदा कर्कोटक नागराजले पुल बनेर बाँकी तीन जनालाई नदी तारेको भनाइ छ। कर्कोटक नागराज नभइदिएका भए मच्छिन्द्रनाथलाई काठमाडौं ल्याउन असम्भवजस्तै थियो। यही बुझेर तान्त्रिक आचार्य बन्धुदत्तले उनलाई यात्रामा सामेल गराएका थिए।
'उनै नागराज आफ्नी नागरानीसँग यही इनारमा बस्छन्,' सानु गुर्जु भनेर चिनिने ७० वर्षीय ओमरत्न भन्छन्, ‘मच्छिन्द्रनाथको न्हवं गर्दा कर्कोटक नागराजका नाममा जल चढाउन यहीँको इनारबाट पानी लैजानुपर्छ।’
हुन त रातो मच्छिन्द्रनाथको मूल किम्बदन्तीमा कर्कोटक नागराज र नागरानी टौदहमा बस्छन् भनिएको छ। सायद टौदहदेखि पानी लैजान अप्ठ्यारो परेर हो कि यी नागजोडीलाई इतुम्बहाल सारिएको!
यो कामका लागि यहाँ ‘बुंगद्यः ल चायेगु गुठी’ अर्थात् ‘बुंगद्यःलाई पानी लैजाने गुठी’ स्थापना गरिएको छ। गुठियारहरूले मच्छिन्द्रनाथ नुहाउने दिन छवटा माटोको भाँडामा घीउ, सख्खर र गाईको दूध मिसाएर यहाँको पानी लैजान्छन्। माटोको भाँडा बनाउने जिम्मा यट्खा टोलका प्रजापतिहरूको हो।
यहाँबाट लगेको पानी मच्छिन्द्रनाथका पुजारी (पानेजु) ले चारवटा चाँदीको कलशमा मिसाउँछन् र चार दिशाबाट मच्छिन्द्रनाथलाई चढाएर स्नान गराउँछन्, उनी भन्छन्, ‘त्यसपछि हामी मच्छिन्द्रनाथलाई चढाएको जल, फूल र प्रसाद लिएर फर्कन्छौं। त्यो जल, फूल र प्रसाद गुठियारहरूलाई घर–घरमा लगेर बाँड्ने चलन छ।’
पानी लिएर इतुम्बहालदेखि पाटनको लगनखेल जाँदा बाटोमा एकठाउँ मात्र बिसाउन पाइन्छ। अहिले पुल्चोकको इञ्जिनियरिङ कलेजनिर जहाँ प्रहरी चौकी छ, पहिले त्यहाँ एउटा ‘रेस्टिङ प्वाइन्ट’ थियो। त्यही एकठाउँ मात्र पानीको घडा बिसाउन पाइने ओमरत्न सम्झन्छन्।
इतुम्बहालबाट पानी लैजाने चलन रातो मच्छिन्द्रनाथको रथयात्रा जत्तिकै पुरानो भएको उनको दाबी छ। यसलाई प्रमाणित गर्ने ऐतिहासिक अभिलेख छैन। इतुम्बहाल लिच्छविकालमै बनेको र मच्छिन्द्रनाथको रथयात्रा पनि आजभन्दा १४ सय वर्षअघि लिच्छविकालमै सुरू भएको मान्दा उनको दाबी सही हुन सक्छ।
तर, यति पुरानो परम्परा २०५३ सालदेखि रोकिएको छ।
गुठियारहरूको परिवार टुक्रिँदै जानु र गुठीभित्रकै आन्तरिक समस्याले यो परम्परा रोकिएको ओमरत्नको भनाइ छ। परिवारको ज्येष्ठ सदस्यका नाताले यसलाई जीवित राख्ने अभिभारा भने उनी महशुस गर्छन्।
‘पुस्तौं पुस्तादेखि चलेको परम्परा हाम्रै पालामा आएर धान्न नसकेकोमा पछुतो लाग्छ। म यसलाई जसरी हुन्छ फेरि सुरू गराउने कोशिसमा छु,’ उनी भन्छन्, ‘अहिले गुठीको आम्दानी छैन। माटोको भाँडा बजारबाट किन्नुपर्छ। आफ्नो व्यक्तिगत खर्चबाट भए पनि यो परम्परा ब्युँताऊँ भनेर गत वर्षदेखि नै गुठियारहरूसँग छलफल सुरू गरेको छु।’
सबै गुठियारले अलि–अलि पैसा निकालेर बैंकमा जम्मा गर्ने र त्यसैको व्याजबाट यो परम्परा चलाउने उनको प्रस्ताव छ, उनले अगाडि भने, ‘अर्को वर्ष भाइ, भतिजा र गुठीका सबै सदस्यलाई राखेर सल्लाह गर्छु। सहमति भयो भने अर्कोपालि हामी मच्छिन्द्रनाथको स्नान गराउन इतुम्बहालको पानी लिएर जानेछौं।’
इतुम्बहालका संस्कृति अध्येता ज्योतिरत्न शाक्यले पनि यो परम्परा पुष्टि गरे।
ज्योतिरत्नको घरमा बाबुबाजेको पालादेखि संग्रहित रातो मच्छिन्द्रनाथको जात्रासम्बन्धी डायरी छ। नेवारी लिपिमा लेखिएको उक्त हस्तलिखित डायरीलाई उनले देवनागरीमा उतारेर २०७२ सालमा किताब प्रकाशित गरेका छन्। उनी यसलाई रातो मच्छिन्द्रनाथ जात्रामा काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरू कसरी जोडिएका छन् भनी पुष्टि गर्ने ‘जीवन्त परम्परा’ का रूपमा व्याख्या गर्छन्।
‘यो परम्परा रातो मच्छिन्द्रनाथ जात्रा सुरू भएदेखि नै चलेको हुनुपर्छ,’ उनले भने, ‘विगतमा गुठीबाटै सबै काम हुँदै आएको थियो। धेरै वर्षदेखि बन्द छ। बूढा मर्यो, भाषा सर्यो भनेजस्तै भएको छ। गुठियारहरूले आपसमा मिलेर फेरि सुरू गरे हुन्थ्यो।’
यही गुठीका सदस्य हरेक वर्ष मच्छिन्द्रनाथलाई बुंगमतीबाट तःबहाः ल्याउने दिन पाटनको भनीमण्डलस्थित चौतारामा पूजा गर्न जाने चलन पनि छ। ‘हामी पूजा गर्न जानुलाई मच्छिन्द्रनाथ बुंगमतीबाट प्रस्थान गरिसके भन्ने संकेतका रूपमा बुझिन्छ,’ ओमरत्नले भने।
अब कुरा गरौं, रातो मच्छिन्द्रनाथ जात्राको ‘क्लोजिङ’ को जुन आजै सोमबार सम्पन्न भयो।
जात्राको ‘क्लोजिङ’ विधि जावलाखेलमा भोटो देखाएपछि सुरू हुन्छ। त्यही दिन मच्छिन्द्रनाथलाई रथबाट ओरालेर खटमा राखी बुंगमती लगिन्छ। यसपालि कोरोना महामारीका कारण भोटो देखाइएन। पुल्चोकको सोह्रखुट्टे पाटीबाटै बुंगमती लगियो।
क्लोजिङको मुख्य आकर्षण बुंगमतीमा हुन्छ।
मच्छिन्द्रनाथलाई जसै बुंगमती पुर्याइन्छ, त्यहाँका प्रत्येक घरबाट कम्तिमा एक जना व्यक्ति छ्वाली बालेर बाटोमा निस्कन्छन्। प्रायःजसो बुंगमती पुग्दा अँध्यारो भइसकेको हुन्छ। यस्तो बेला छ्वालीको आगोले बुंगमती रापिलो र झल्झलाकार हुन्छ।
पुजारी संघका अध्यक्ष यज्ञरत्न शाक्य यसको दुइटा अर्थ लगाउँछन्।
धार्मिक दृष्टिबाट हेर्दा यसरी छ्वाली बालेर बाहिर निस्कनु भनेको बुंगद्यःका नाममा सवा लाख बत्ती प्रज्वलन गरिएको हो। सामाजिक दृष्टिमा भने अर्कै अर्थ छ, उनले भने, ‘विगतमा जति बेला बत्तीको उज्यालो थिएन, त्यो बेला राति मच्छिन्द्रनाथलाई गृहप्रवेश गराउन अप्ठ्यारो हुन्थ्यो। स्थानीयले घर–घरबाट छ्वाली बालेर बाटो देखाउने गर्थे। कालान्तरमा यही अभ्यास जात्राको एउटा चलन बन्न पुग्यो।’
यो चलन विस्तार हुँदै भक्तपुरका मान्छेसमेत छ्वाली बाल्न आउने गरेको उनले बताए।
यो बेला बुंगमतीमा ठुल्ठूलो स्वरले ‘छ्वालप्वाः च्याका कयः भौ’ भन्दै कराउने चलन पनि छ। यसबारे बुंगमतीका स्थानीय र मच्छिन्द्रनाथका पुजारीहरूको फरक राय पाइन्छ।
एक ७५ वर्षीय स्थानीयका अनुसार, यो भनेको ‘लामो समय घरबाहिर रल्लिएर आएका मच्छिन्द्रनाथलाई बुंगमतीका बासिन्दा मिलेर अश्लील गाली गरेका हुन्।’
हुन पनि पाटन बस्दा मच्छिन्द्रनाथ कीर्तिपुरे केटीको प्रेममा भुल्छन्। थति टोलका केटीहरूसँग लसपस गर्छन्। दुनियाँले छोएको ‘जुठो’ खानेकुरा पनि खान्छन्। सोच्नुस् त, तपाईंहरू यसैगरी सहरमा रल्लिएर हिँड्नुभयो भने घर फर्कंदा आमाबुबाले के भन्लान्? तपाईंको आफ्नै अनुभव पनि त होला नि!
‘घरमा नबसेर कहाँ डुली हिँडेको ए असत्ती!’ भन्दै गाली खानुभएन र!
कि आमाको हातबाट कुचोको झटारो वा बाको लात्ती नै भेट्नुभयो!
मच्छिन्द्रनाथलाई पनि यसरी नै गाली गरिएको हो भन्ने जनविश्वास छ। जसरी आमाबाबुले गाली गर्दा स्वर चर्को भए पनि मनमा माया कम हुँदैन, त्यसैगरी मच्छिन्द्रनाथलाई गरिने गालीमा पनि बुंगमतीको माया र आस्था झल्किने स्थानीय बताउँछन्।
संस्कृतिविद् बुद्धाचार्य शाक्यको भनाइ योसँग मिल्दोजुल्दो छ। उनले आफ्नो किताबमा लेखेका छन्, ‘संसारको हातबाट खाएर आएको, लाज नभएको भनी आफ्ना बच्चालाई झैं मच्छिन्द्रनाथलाई गाली गरिन्छ।’
यही जात्राबारे लामो खोज गरेका अमेरिकी अन्वेषक जोन के लकले सन् १९८० मा प्रकाशित किताब ‘करुणामय’ मा यसलाई गालीकै रूपमा अर्थ लगाएका छन्।
यज्ञरत्न भने यसमा सहमत छैनन्।
उनका अनुसार यो स्थानीयहरूबाट गरिने मच्छिन्द्रनाथको स्वागत र आराधना हो।
‘हाम्रो गाउँमा सहकालका देवताको आगमन भयो, अब बादल लागेर पानी परोस्, खेतबाली फस्टाओस् भनेर स्थानीयले कामना गरेका हुन्,’ उनले भने, ‘राम्रो कुरा पनि कहिलेकाहीँ अपभ्रंश हुँदै नराम्रो बुझिन्छ। मान्छेले राम्रोभन्दा नराम्रो कुरा सजिलै टिप्छन्। यहाँ पनि त्यस्तै भयो।’
अब यसलाई तपाईंहरू गालीका रूपमा बुझ्नुस् या आराधनाका रूपमा — मान्छेहरू आ–आफ्नै बुझाइबाट प्रेरित भएर मच्छिन्द्रनाथको ‘क्लोजिङ’ मा हिस्सेदार बन्छन्। र, यो उत्सव भव्य रूपले मनाउँछन्।
लामो समयपछि बुंगमती फर्केका मच्छिन्द्रनाथलाई पूजापाठ गरेपछि मात्र आफ्नो ठाउँमा प्रतिस्थापन गरिन्छ। सबै पूजाविधि सकेर तीन दिनपछि सर्वसाधारणले मच्छिन्द्रनाथको दर्शन गर्न पाउँछन्। त्यस दिन लामो समयपछि घर फर्केका रातो मच्छिन्द्रनाथ दर्शन गर्न काठमाडौं उपत्यकाका कुना–कुनाबाट मान्छेको भीड लाग्छ।
यसरी रातो मच्छिन्द्रनाथको लामो यात्रा सम्पन्न हुन्छ।
यसपालि त्यस्तै भयो। अर्को वर्ष समयले साथ दियो भने काठमाडौं उपत्यकाको यो ठूलो सांस्कृतिक उत्सवमा भाग लिएर नजिकबाट आनन्द उठाउनुस् है त!
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी
यी पनि हेर्नुहोस्:
(सुदीप श्रेष्ठका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)