कोरोना लकडाउनले संसारभरका प्रेमीहरूलाई भुतुक्कै पारेको छ।
लुकिछिपी भेट्नुपर्नेहरूको त मन हरहर हुँदा पनि हेराहेर नभएर कति बेहाल होला! अझ वर्षको एकचोटि भेट्न आउने प्रेमी यही बेला लकडाउनमा थुनिएपछि प्रेमिका कति 'सेन्टी' भएर बसेकी होलिन्, सोच्नुस् त!
रातो मच्छिन्द्रनाथकी ‘प्रेमिका’ भनिने लक्ष्मीकुमारी महर्जनको परिवारले बुधबार मसँग भेट्दा यस्तै दुःखमनाउ गरेको थियो।
‘वर्षौंदेखि फूल र प्रसाद ल्याउने चलन यसपालि पहिलोचोटि रोकिएलाजस्तो छ,’ लक्ष्मीका माइला दाजु हीराबहादुरले भनेका थिए।
कीर्तिपुर, प्यंगथाँकी ७० वर्षीया लक्ष्मीले ६० वर्षदेखि मच्छिन्द्रनाथकी ‘प्रेमिका’ को भूमिका निर्वाह गर्दै आएकी छन्। हरेक वर्ष मच्छिन्द्रनाथ जात्रा बेला उनको नाममा फूल र प्रसाद आउँछ।
उनलाई किन रातो मच्छिन्द्रनाथकी प्रेमिका भनियो र फूल दिन आउने चलन कसरी सुरू भयो भन्नेबारे मैले हिजो लामो स्टोरी लेखेको थिएँ। हेर्नुहोस्– रातो मच्छिन्द्रनाथकी जीवित ‘प्रेमिका’।
यसपालि भने रातो मच्छिन्द्रनाथ आफैं पुल्चोकको ‘निषेधाज्ञा’ मा फसेका छन्। छोटो विधि अपनाएर यही भदौ २९ गते उनलाई बुंगमती लगिँदैछ। कीर्तिपुरमा फूल–प्रसाद ल्याउने कुनै सुरसार थिएन।
तर, शुक्रबार बिहानै रातो मच्छिन्द्रनाथले ‘सरप्राइज’ दिए।
बिहान ८ बजेतिर हीराबहादुरको मोबाइलमा फोन आयो, ‘यहाँ पानेजु (रातो मच्छिन्द्रनाथका पुजारी) फूल–प्रसाद लिएर आउनुभएको छ, तपाईंहरू झट्टै आउनुपर्यो।’
खबर पाउनेबित्तिकै हडबडी सुरू भयो।
परिवारका सदस्यहरूले लक्ष्मीलाई छिटोछिटो तयार पारे। साथीको ट्याक्सी मगाए र त्यसैमा कीर्तिपुर डाँडामा रहेको प्यंगथाँ पुर्याए।
रातो मच्छिन्द्रनाथका पुजारी एक जना सहयोगी लिएर आएका रहेछन्। यहाँ आउँदा खाली खुट्टा हिँडेर आउनुपर्ने नियम छ। यसपालि भने पुजारी र उनका सहयोगी मोटरसाइकलमा आएका थिए। उनको पोसाक सामान्य थियो। पहिलेजस्तो रातो जामा लगाएका थिएनन्। कम्मरमा रातो पटुका भने बाँधेका थिए।
लक्ष्मीलाई उनका नातिनीहरू रितिका र रिना महर्जनले दुई हात समातेर डोर्याउँदै प्यंगथाँ मन्दिर पुर्याए।
नेवार भाषामा ‘प्यंगथाँ’ भनेको चारवटा थाम हो। यहाँ थामजस्तो संरचना भने छैन। फलामे रेलिङले बारेको मन्दिर छ, जहाँ एउटा ठूलो ढुंगा छ। नियमअनुसार मच्छिन्द्रनाथको पुजारीले यही ढुंगामा बसेर पूजाविधि चलाउनुपर्छ। यसपालि यो विधि पनि संशोधन गरियो।
पुजारी सधैंजस्तो प्यंगथाँको ढुंगामा बसेनन्। भरतले आफ्ना दाजु रामचन्द्रको खराउ सिंहासनमा राखेर अयोध्याको शासन चलाएजस्तो उनले उक्त ढुंगामा चकटी ओछ्याए। आफू चाहिँ त्यसको देब्रे कुनामा आसन जमाए। उनीसँगै आएका सहयोगी पछाडि बसे।
पूजाविधि सुरू भयो।
सबभन्दा पहिला लक्ष्मीलाई प्यंगथाँभित्र लगियो। उनले भिक्षा थापेजस्तो आफ्नो रातो पछ्यौराको झोली अघि सारिन्। पुजारीले चाँदीको थालमा सजाइएको मच्छिन्द्रनाथको फूल–प्रसाद लक्ष्मीको पछ्यौरामा राखिदिए।
त्यसो त यो पूजा गर्दा पुजारीले कसैलाई छुन हुँदैन। फूल–प्रसाद दिँदा पनि आफ्नो हातले नछोइकन चाँदीको थाल फुत्त फाल्ने गर्छन्। यसपालि चाहिँ उनले नजिकबाटै दिए। लक्ष्मीको हात नधर्मराओस् भनेर परिवारका अरू सदस्यले सधैंजस्तो तलबाट हात थापेर भर दिएका थिए।
उनको पालो सकिएपछि प्यंगथाँको महर्जन समुदायकै अन्य कुमारी कन्याहरूले पनि पालैपालो फूल–प्रसाद लिए।
लगभग साढे १० बजे पूजा सकियो।
‘छोटो तरिकाले पूजा गरिएकाले खासै धेरै समय लागेन। डेढ–दुई घन्टामै सबै सकियो,’ हीराबहादुरका नाति रिकेश महर्जनले भने।
रातो मच्छिन्द्रनाथका पुजारीले यसरी अप्रत्यासित रूपमा आएर पूजा सम्पन्न गरेकोमा परिवारका सदस्यहरू खुसी छन्।
‘हामीले त यो वर्ष रोकियो भन्ठानेका थियौं। बिहान उठ्दासम्म केही थाहा थिएन। एक्कासि माथि प्यंगथाँबाट हजुरबाको मोबाइलमा फोन आयो। पुजारी आइसक्नुभएको रहेछ,’ नातिनी रितिकाले भनिन्, ‘एकदमै हड्बड भयो। के गर्ने, के गर्ने? अहिले पूजा सकिएपछि चाहिँ खुसी लागेको छ।’
प्यंगथाँका स्थानीय तथा संस्कृति–सभ्यतामा रुचि राख्ने नारायण महर्जनले पनि सबै जात्रापर्व स्थगित भइरहेका बेला कीर्तिपुरको परम्परा नटुटेकोमा खुसी व्यक्त गरे।
उनका अनुसार, मच्छिन्द्रनाथका पुजारीले परम्परा नटुटोस् भनेर अचानक कीर्तिपुर आउने निर्णय लिएका रहेछन्।
‘हामीले खबर पाउनेबित्तिकै सबैलाई भन्न भ्यायौं। केही साथीहरूले त फेसबुक लाइभसमेत गरे,’ उनले भने, ‘अपर्झट भए पनि ५० जनाभन्दा बढी सहभागी थिए।’
संस्कृति र परम्परा भनेको नियमितता पनि हो। यसपालि कुनै कारणले रोकियो भने मान्छेलाई अर्को वर्ष पनि नगर्ने बहाना हुन्छ, उनले अगाडि भने, ‘धन्न अन्तिम समयमा भए पनि पुजारी आइदिनुभयो, कीर्तिपुरको परम्परा तोडिन पाएन।’
प्यंगथाँकी कुमारी कन्यालाई रातो मच्छिन्द्रनाथकी प्रेमिका मान्ने चलन रथयात्रा जत्तिकै पुरानो भएको जनविश्वास छ।
ती केटीले जीवनभर विवाह गर्न हुन्न भन्ने कडा नियम छैन। तर, विवाह गरेपछि उनी मच्छिन्द्रनाथकी प्रेमिका बन्न योग्य रहँदिनन्। उनको ठाउँ अर्को अविवाहित केटीले लिन्छ। लक्ष्मीभन्दा अगाडि यो भूमिका कसको थियो भन्ने स्थानीयलाई सम्झना छैन।
लक्ष्मीले पहिलोपटक मच्छिन्द्रनाथको नामबाट फूल—प्रसाद लिँदा उनी जम्मा १० वर्षकी थिइन्। अविवाहित बसेकीले उनको ठाउँ अरू कसैले लिएको छैन। त्यति बेलादेखि रातो मच्छिन्द्रनाथको प्रतिनिधि भएर आउने पुजारीसँग उनको हरेक वर्ष भेट हुँदै आएको थियो।
कोरोना महामारीले संसारभरका प्रेमीहरू भुतुक्कै भएर बसेका बेला धन्न उनको चाहिँ 'ह्याप्पी एन्डिङ' भयो।
कीर्तिपुरको यो ‘जीवित सम्पदा’ सँग जोडिएको कथा, किम्बदन्ती र रितिथितिबारे पढ्नुहोस्ः रातो मच्छिन्द्रनाथकी जीवित ‘प्रेमिका’।
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी