आज म तपाईंहरूलाई एक जीवित सम्पदासँग परिचय गराउँदैछु। उनी हुन्, रातो मच्छिन्द्रनाथ अर्थात् बुंगद्यःकी 'प्रेमिका'।
उनको नाम लक्ष्मीकुमारी महर्जन हो। उमेर– ७० वर्ष, घर– कीर्तिपुर।
तपाईंहरूले कीर्तिपुरमा उमा–महेश्वरको मन्दिर देख्नुभएको छ?
बाघभैरव नाघेर उकालो लागेपछि कीर्तिपुर डाँडाको सबभन्दा उचाइमा पर्छ उमा–महेश्वर। यहाँबाट काठमाडौं उपत्यकाको पर–परसम्म मज्जाले देखिन्छ। तर, मैले देखाउन खोजेको लक्ष्मीकुमारीको घर यहाँ होइन है। यो त मैले ठाउँ चिनाउन मात्र भनेको।
तपाईंहरू जसै उमा–महेश्वरका ४६ खुड्किलानिर पुग्नुहुन्छ, त्यो खुड्किला चढ्ने कष्ट नगरी त्यहाँबाट ४६ पाइलाजाति सोझै अगाडि बढ्नुस्। बाटोको देब्रेपट्टि साँघुरो गल्ली छ, जसले एउटा सानो बहालमा पुर्याउँछ। यसलाई 'प्यंगथाँ' भनिन्छ।
यही प्यंगथाँमा हो लक्ष्मीकुमारीको घर, जसलाई रातो मच्छिन्द्रनाथको 'ससुराली' भनिन्छ।
रातो मच्छिन्द्रनाथ जात्रा बेला रथमा बस्ने मूलपुजारी आफैं यहाँ आएर लक्ष्मीकुमारी अर्थात् मच्छिन्द्रनाथकी जीवित 'प्रेमिका' लाई फूल र प्रसाद चढाउने गर्छन्। त्यसपछि कीर्तिपुरका अन्य अविवाहित केटीहरू पनि यो विधिमा सरिक हुन पाउँछन्। यसपालि भने कोरोना महामारीका कारण संक्षिप्त विधिबाट जात्रा सम्पन्न गर्न लागिएकाले कीर्तिपुरले यो उत्सव मिस गर्नेछ।
प्यंगथाँकी कुमारी कन्यालाई मच्छिन्द्रनाथकी प्रेमिका मान्ने चलन रथयात्रा जत्तिकै पुरानो भएको जनविश्वास छ। ती केटीले जीवनभर विवाह गर्न हुन्न भन्ने कडा नियम छैन। तर, विवाह गरेपछि उनी मच्छिन्द्रनाथकी प्रेमिका बन्न योग्य रहँदिनन्। उनको ठाउँ अर्को अविवाहित केटीले लिन्छिन्। लक्ष्मीभन्दा अगाडि यो भूमिका कसको थियो भन्ने स्थानीयलाई सम्झना छैन।
लक्ष्मीले पहिलोपटक मच्छिन्द्रनाथको नामबाट फूल—प्रसाद लिँदा उनी जम्मा १० वर्षकी थिइन्। त्यसयता ६० वर्षदेखि निरन्तर मच्छिन्द्रनाथकी 'प्रेमिका' का रूपमा समर्पित छिन्। उनी अविवाहित बसेकीले उनको ठाउँ अरू कसैले लिएको छैन।
प्यंगथाँमा लक्ष्मीको पुर्ख्यौली घर अहिले पनि छ, तर अचेल उनी आफ्ना दाजुभाइसँग कीर्तिपुरको नयाँबजार बस्छिन्।
बुधबार साँझ सवा ५ बजे हामी उनलाई भेट्न नयाँबजार पुगेका थियौं। उनका नाति रिकेश महर्जन मूलबाटोसम्मै हामीलाई लिन आएका थिए।
कोरोना महामारीबीच अर्काको घर छिर्ने कि नछिर्ने संकोच मान्दै मैले सोधेँ, 'तपाईंहरूलाई अप्ठ्यारो हुन्छ भने हामी माथि उक्लिँदैनौं, आँगनमै भेटे हुन्छ।'
रविभवनमा होटल व्यवस्थापन तथा पर्यटन विषय पढिरहेका रिकेशले हाँस्दै भने, 'हामी सबै तीन हप्ता लकडाउनमा बसेर आएका त हौं, केही फरक पर्दैन। माथि कोठा ठूलो छ, सजिलो हुन्छ।'
हामी एक तला माथि उक्लियौं।
परिवारका सबै सदस्य बैठक कोठामा हामीलाई पर्खेर बसेका रहेछन्। कोठा फराकिलो थियो। दुईतिरको झ्यालले प्रशस्त हावा खेल्ने ठाउँ भएको। कोरोना बेला कसैलाई भेट्नै परे यस्तै हावा खेल्ने ठाउँ रोज्नू भनेर डाक्टरहरूले भनेका छन्।
हामी परिवारका सदस्यबाट अलि दुरी राखेर अलग्गै बस्यौं। उनीहरू कोही सोफामा बसे, कोही खाटमा, कोही भुइँमै। पहिलोचोटि भेटेकाले हामीले एकछिन मास्क फुकालेर आफ्नो अनुहार देखायौं, अनि फेरि टम्म।
ढाकाको चोली र रातो साडीमा रातो पछ्यौरा ओढेकी लक्ष्मीकुमारी निधारमा रातो टीकाले उज्याली देखिएकी थिइन्। उनका कानमा सुनका ठुल्ठूला मुन्द्री झुन्डिएका थिए। देब्रे हात हल्लाउँदा राता चुरा छनछन बज्थे। उमेर र शारीरिक अपांगताका कारण उनलाई थोरै हिँड्नधरि अर्काको भर चाहिन्छ।
आफूलाई भेट्न आएका अपरिचित व्यक्तिहरूलाई देखेर होला, उनी धेरैजसो समय लजाएरै बसिन्। अंकुराउन आँटेको कोपिलाजस्तो उनको मुखबाट हाँसो फुट्न खोज्थ्यो, तर उनी त्यो हाँसोलाई ओठको बिर्कोले बन्द गरिहाल्थिन्। यस्तो बेला उनको मुख लाम्चो गरी तन्किन्थ्यो। गालामा बन्ने अनेकौं मुजाहरूमा उनको हाँसो सलल बग्थ्यो। उनको यस्तो मन्द मुस्कान हामी चिनिहाल्थ्यौं।
मेरा सहकर्मी फोटो पत्रकार नारायण महर्जनले क्यामरा तेर्स्याउँदा भने उनले आफ्नो हाँसो थाम्न सकिनन्। आवाज निस्केन, तर अघिदेखि टालिएको मुख मज्जाले खुल्यो। दाँतहरू धेरै झरिसकेछन्।
लक्ष्मी बोल्न पनि सक्दिनन्। त्यसैले हामीले सिधै उनको कुरा सुन्न पाएनौं। उनका दाजुभाइ, भाउजू–बुहारी र नाति–नातिनाले नै सबै वर्णन सुनाए।
उनको बुवाको नाम बेखालाल महर्जन हो। उनका चार दाजुभाइ रहेछन्। सबभन्दा जेठा रत्नबहादुर, माइला हीराबहादुर, साइँला तीर्थराम र कान्छा नौकेश। लक्ष्मी यी चार दाजुभाइमध्ये ठ्याक्कै बीचकी हुन्। रत्न र तीर्थको निधन भइसकेछ। उनी आफ्ना दाजुभाइको घरमा पालैपालो बस्छिन्। सामान्यतया एउटा वर्ष एक जनाको घर, अर्को वर्ष अर्को। अहिले उनको बसाइ हीराबहादुरसँग छ। हामीलाई यहाँसम्म ल्याउने गाइड रिकेश हीराबहादुरकै नाति हुन्।
'तपाईंहरूको घरलाई त रातो मच्छिन्द्रनाथको ससुराली भनिँदो रहेछ नि, कस्तो लाग्छ?'
मेरो यो प्रश्नमा माइला दाजु हीराबहादुरले आफ्नो मास्क अलिकति तल तानेर भने, 'यो त हाम्रो लागि गर्वको कुरा हो। पुरानो जन्मको पुण्यको फल होला।'
आफूहरूलाई सम्झना भएदेखि मच्छिन्द्रनाथकी प्रेमिकाका रूपमा फूल–प्रसाद ग्रहण गर्ने काम लक्ष्मीले नै गर्दै आएको उनले बताए। 'ऊभन्दा अगाडि को थियो याद छैन। पक्कै हाम्रै खलकको कोही हुनुपर्छ, तर ठ्याक्कै भन्न सक्दिनँ,' उनी एकटक आफ्नै बहिनीलाई हेर्दै थिए।
उनका अनुसार, रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल लैजानुभन्दा चार दिनअघि मूलपुजारी (पानेजु) खाली खुट्टा हिँडेरै प्यंगथाँ आउँछन्। उनले चप्पलधरि लगाएका हुँदैनन्। पुजारीले सधैं लगाउने रातो जामा पहिरेका हुन्छन्। काँधमा रातो पछ्यौरा हुन्छ, कम्मरमा रातो पटुका। उनले आफ्नो कम्मरमा बुंगमतीबाट ल्याएको फूल सिउरेका हुन्छन्।
यसरी कीर्तिपुर आउँदा पुजारीले बाटोमा कसैलाई छुन नहुने नियम छ। यसको निम्ति चार जना सहयोगी अगाडि, पछाडि र दायाँबायाँ हिँड्छन्। ती सहयोगीले प्यंगथाँमा चढाउने फूल–प्रसाद र अरू सर्जामको भारी बोकेका हुन्छन्। अगाडि हिँड्नेले बाटोमा लौरी ठोक्दै कसैलाई पनि पुजारीको नजिक आउन दिँदैनन्।
नेवार भाषामा 'प्यंगथाँ' भनेको चारवटा थाम हो। यहाँ थामजस्तो संरचना भने केही छैन। फलामे रेलिङले बारेको मन्दिर छ, जहाँ एउटा ठूलो ढुंगा छ। मच्छिन्द्रनाथको पुजारी आइपुग्नुअघि लक्ष्मीको परिवारले ढुंगा लिपपोत गरेर फूलहरू चढाएका हुन्छन्। पुजारी आएपछि हातखुट्टामा चोखो पानी हालेर स्वागत गरिन्छ। त्यसपछि पुजारीले त्यही ढुंगामा आसन जमाउँछन् र पूजाविधि सुरू गर्छन्।
यो विधि गर्दा पनि पुजारीलाई कसैले छुन हुँदैन। फूल–प्रसाद दिँदा नछोई दिने नियम छ। रातो मच्छिन्द्रनाथको फूल–प्रसाद चाँदीको थालमा सजाइएको हुन्छ। सबभन्दा पहिला प्रसाद ग्रहण गर्न अघि सर्छिन् लक्ष्मी। उनी भिक्षा थापेजस्तो आफ्नो पछ्यौरा थाप्छिन्। त्यही पछ्यौराको झोलीमा पुजारीले चाँदीको थाल फुत्त फाल्ने चलन छ।
चाँदीको थाल यसै त गह्रुंगो हुन्छ, त्यसमाथि प्रसादले थप गह्रुंगो बनाउँछ। यस्तोमा लक्ष्मीको हात नधर्मराओस् भनेर परिवारका अरू कसैले तलबाट हात थापेर भर दिन्छन्।
पहिले लक्ष्मी सानो हुँदा उनलाई आमाले काखमा राख्ने गरेको हीराबहादुरले सुनाए, 'लक्ष्मीले प्रसाद लिइसकेपछि हाम्रै खलकका अरू कुमारी कन्याहरूले लिने चलन छ। त्यसपछि कीर्तिपुरका अन्य महर्जन समुदायबाट इच्छा हुनेले लिन सक्छन्।'
रातो मच्छिन्द्रनाथका नाममा आउने प्रसादमा चामल, फलफूल लगायत वस्तु हुन्छन्। फूल भने बुंगमतीकै ल्याउनुपर्छ। चाँदीको थालमा यिनै सर्जाम सजाइएको हुन्छ। प्रसाद लिनेले रित्तो थाल फर्काउनु हुँदैन। उनीहरूले पनि आफ्नो घरबाट चामल, गहुँ, आलु, फलफूल लगायत सर्जाम थालमा भरेर फिर्ता गर्नुपर्छ।
यो पूजाविधि करिब एक–डेढ घन्टामा सकिन्छ। त्यसपछि पुजारी फर्कन्छन्। अन्य सहयोगी बेलुकी तीन–चार बजेसम्म यो चलन कसरी सुरू भयो भन्ने कथा सुनाएर बस्छन्।
'कीर्तिपुरकी कुमारी कन्यालाई फूल नदिई लगनखेलबाट रथ अगाडि बढाउन पाइँदैन। बढायो भने विघ्न पर्छ भन्ने भनाइ छ,' लक्ष्मीका कान्छा भाइ नौकेशले भने, 'प्रसाद दिन रथको दाहिनेतिर बस्ने मुख्य पानेजु (पुजारी) नै आउनुपर्छ। देब्रेतिरको पानेजु आएर हुँदैन।'
उनले अगाडि भने, 'कुनै जमानामा दाहिने पानेजु अरू नै काममा अल्झेका भएर देब्रेतिर बस्ने यहाँ आएका रहेछन्। उनी प्रसाद दिएर फर्कंदा बागमती नदी तर्नेबित्तिकै सिकिस्त बिरामी परेछन्। त्यसयता देब्रे पानेजु कहिल्यै आउँदैनन्।'
यसरी कीर्तिपुर आउँदा पुजारीले कुन दिन आउने भनेर पहिल्यै सन्देश पठाउँछन्। टेलिफोन र मोबाइल आएपछि सन्देश पठाउन सजिलो छ। पहिले रथयात्रा हेर्न गएका कीर्तिपुरका स्थानीयलाई नै सन्देश पुर्याइदिनू भनिन्थ्यो।
कीर्तिपुरकी केटीलाई किन रातो मच्छिन्द्रनाथकी प्रेमिका मानियो र फूल दिन आउने चलन कसरी सुरू भयो भन्नेबारे अनेक किम्बदन्ती छन्। मलाई एउटा किम्बदन्ती प्यंगथाँकै स्थानीय तथा संस्कृति–सभ्यतामा गहिरो रूचि राख्ने नारायण महर्जनले सुनाएका थिए।
जब भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक आचार्य बन्धुदत्त, ललितपुरका किसान रथचक्र ज्यापू र टौदहका कर्कोटक नागराजले भारतको आसामस्थित कामरु कामाख्या पीठबाट मच्छिन्द्रनाथलाई ल्याएर रथयात्रा चलाए, काठमाडौं उपत्यकामा वर्षा सुरू भयो। खेतमा धानका पोटिला बाला लहलहाउन थाले। बाह्र वर्षदेखिको अघोर अनिकाल सकियो, सहकालको नयाँ युग सुरू भयो।
उपत्यकाबासीले रातो मच्छिन्द्रनाथलाई बुंगमतीमा प्रतिस्थापन गराएका थिए। उनी जात्राको समय महिना दिनभन्दा बढी व्यस्त रहन्थे, अरू बेला भने फुर्सदिला हुन्थे। मन्दिरमा बस्दा–बस्दा उनलाई दिक्क लाग्थ्यो। उनी भेष बदलेर विभिन्न ठाउँ घुम्न जान थाले।
किन अचम्म मान्नुभएको? पछिल्लो समय लामो लकडाउनमा घर बस्दा–बस्दा हामीलाई कति दिक्क लागेको छ, सोच्नुस् त! हामीलाई दिक्क लाग्छ भने हाम्रै कल्पनाको स्वरूप ईश्वरलाई दिक्क लाग्ने भएन त!
ए त्यही भएर पो रहेछ– सबै ज्ञानीहरूले भगवान कणकणमा हुन्छ भने पनि विशेष जात्रापर्व वा अवसरमा मन्दिर नै धाउनुपरेको! अरू बेला त मच्छिन्द्रनाथजस्तै सबै भगवान भेष बदलेर मन्दिरबाहिर घुम्न निस्केका हुँदा रहेछन् र पो!
होस् गर्नुस् है, काठमाडौं गल्ली घुम्दा कुनै चोक–दोबाटोमा भगवानसँग तपाईंको जम्काभेट हुन बेर छैन!
मच्छिन्द्रनाथको त्यस्तै जम्काभेट भयो कीर्तिपुर, प्यंगथाँकी एक कुमारी केटीसँग।
पहिलो नजरमै उनी मोहित भए। आजको भाषामा भन्दा– लभ एट फस्ट साइट!
कीर्तिपुरकी कन्या पनि मच्छिन्द्रनाथको प्रेममा चुर्लुम्म डुबिन्। भेष बदलेर आएकाले उनलाई रातो वर्णका ती लक्का–जवान रातो मच्छिन्द्रनाथ हुन् भन्ने थाहा थिएन। तर, परिचय पाएर गरेको प्रेम पनि के प्रेम! प्रेम त आत्मादेखि निस्किने पुकार पो हो, जहाँ मान्छेको मानप्रतिष्ठाको के मोल!
कीर्तिपुरकी कन्यालाई पनि त्यस्तै भयो। उनी नचिनिकनै, नजानिकनै आफूले पहिलोपटक देखेको रक्तवर्णका युवकतर्फ लठ्ठ भइन्।
मच्छिन्द्रनाथ हरेक दिन सबैका आँखा छलेर बुंगमतीबाट कीर्तिपुर धाउन थाले। कहिलेकाहीँ त उनी कयौं–कयौं दिन कीर्तिपुरमै बास बस्थे। यी प्रेमजोडीले कीर्तिपुरको उमा–महेश्वर, बाघभैरवका कुनाकाप्चामा कसैले नदेख्ने गरी खुब माया साटे होलान्। कहिले नगाउँ पुगे होलान्, कहिले पांगा। बेला–बेला अलि धेरै नै उन्मुक्त भएका बेला हातमा हात समातेर भत्केको पाटीभन्दा माथि मच्छेगाउँको जंगलतिर पनि गए कि! कहिले टौदहको पानीमा खुट्टा चोबलेर एकअर्काको काँधमा पालैपालो शिर राख्दै घन्टौं पानीहाँस हेर्दै मायाप्रेमका बात् मारे कि!
मच्छिन्द्रनाथ र कीर्तिपुरे कन्याको प्रेमले चन्द्रागिरिको उचाइ छुँदै थियो। उनीहरू मगनमस्त भएर हिँडेका बेला एकचोटि मच्छिन्द्रनाथ आफ्नो रथयात्रामा धरि जान बिर्सेछन्।
लगनखेलबाट रथ तान्नुभन्दा चार दिनअघिको कुरा हो। त्यो बेला मच्छिन्द्रनाथको मूर्ति त छ, तर त्यसमा प्राण छैन भन्ने पुजारीहरूले चाल पाए। मच्छिन्द्रनाथ कहाँ गए भनी खैलाबैला मच्चियो। पुजारीले आफ्नो तान्त्रिक बलबाट ध्यानदृष्टि लगाएर हेर्दा उनले मच्छिन्द्रनाथ भेष बदलेर कीर्तिपुरमा प्रेमलीला रच्न मग्न रहेको चाल पाए।
त्यसपछि पुजारी मच्छिन्द्रनाथलाई डाक्न कीर्तिपुर पुगे। भने, 'प्रभु, हजुर यहाँ हुनुहुन्छ। उता हजुर नभएर रथ अघि बढाउन विलम्ब भइसक्यो। छिट्टै आउनुपर्यो।'
कीर्तिपुरे कन्याको प्रेममा डुबेर दिनरात, भोकप्यास बिर्सेर बसेका मच्छिन्द्रनाथ झल्याँस्स भए। रथयात्रा बीचैमा छाडेर हिँडेकोमा उनलाई पछुतो पनि लाग्यो। उनले आफ्नो प्राणप्यारीसँग विदा मागे, 'प्रिय, तिम्रो मायाको न्यानो पाएर झन्डै मैले आफ्नो कर्तव्य बिर्सेको। मलाई छिट्टै यहाँबाट गएर रथयात्रा पूरा गर्नुछ।'
यति बेलासम्म ती कन्यालाई भेष बदलेर आएका पुरुषको वास्तविक परिचय थाहा थिएन। उनले हृदयको आवाज पछ्याउँदै आफ्नो तन–मन सुम्पेकी थिइन्। आफ्ना तिनै प्रिय काठमाडौं उपत्यकाले नै मानेको रातो मच्छिन्द्रनाथ होलान् भन्ने त उनले चिताएकै थिइनन्। पुजारीको अनुनय र आफ्नै प्रियको मुखबाट परिचय खुलेपछि उनलाई सबै कुरा छर्लंग भयो।
जुन प्रेमीलाई उनले आफ्नो ठानेकी थिइन्, ती त लोकले मानेका लोकेश्वर पो रहेछन् भन्ने जानेपछि उनले आफूलाई थाम्नै सकिनन्।
यस्तो लाग्यो, मानौं उनले बालुवासँग प्रेम गरेकी थिइन् र अब जति मुठ्ठी कस्यो, बालुवा उति हातबाट फुस्कँदै जानेछ।
उनलाई रूनु न हाँस्नु भयो।
एक पल त उनको दिमागले केही सोच्नै सकेन। अलि बेरमा जसै मच्छिन्द्रनाथ घरको दैलोबाट निस्कन खोजे, उनी बाटो छेक्दै दैलोमा उभिन पुगिन्। भनिन्, 'म तपाईंलाई जान दिन्नँ। तपाईं एकचोटि यहाँबाट गएपछि कहिले फर्कनुहुन्छ थाहा हुन्न। तपाईं आफ्ना लाखौं भक्तहरूको भीडमा हराउनुहुन्छ। तपाईं लोकेश्वरलाई यो लोकले मकहाँ आउन के देला! म यता विरहमा छट्पटिरहन्छु, तपाईं उता सब भुलेर बस्नुहुन्छ।'
त्यो बेला उनी गर्भवती पनि थिइन्। उनले मच्छिन्द्रनाथलाई हुनेवाला बच्चा सम्झाउँदै भनिन्, 'तपाईं आफ्नो बच्चालाई चटक्कै छाडेर कसरी जान सक्नुहुन्छ? के तपाईंलाई आफ्नो बच्चाको याद आउन्न?'
मायाको तापले मच्छिन्द्रनाथ मैनझैं पग्लिए।
'प्रिय, मलाई अहिले नगई हुन्न, त्यसैले मेरो बाटोमा आँशुको तगारो नलगाऊ, यसले मेरा पाइला बोझिला हुनेछन्,' उनले भावविभोर हुँदै भने, 'मलाई आँशुले होइन, हाँसोले विदा गर। म हरेक वर्ष यही समय तिमीलाई भेट्न आउँछु, यो मेरो बचन भयो।'
प्रेममा प्राप्ति मात्र सबथोक होइन। कुनै–कुनै प्रेम हासिल गरेरभन्दा गुमाएर नै अमर हुन्छ। त्यही भएर नै साँचो प्रेमलाई समर्पण र त्यागको पर्याय भनिएको होला।
कीर्तिपुरे कन्याले पनि मच्छिन्द्रनाथका नाममा आफूलाई समर्पण गरिन्। उनले आफ्नो आँशु र विरहको चोटलाई मुटुको एक कुनामा दबाएर ओठमा मुस्कान छर्दै मच्छिन्द्रनाथलाई विदा गरिन्। हासिल गरेर होइन, गुमाएर आफ्नो प्रेमलाई अमर बनाइन्। जसको सम्झना हामी आज पनि गर्दैछौं।
'त्यही प्रेमको सम्झनास्वरूप आज पनि लगनखेलबाट रथ तान्नुभन्दा चार दिनअघि मूलपुजारी फूल र प्रसाद लिएर मच्छिन्द्रनाथकी प्रेमिका भेट्न कीर्तिपुर आउने चलन छ,' नारायणले विस्तार लगाउँदै भने, 'यहाँ पुजारी मच्छिन्द्रनाथका प्रतिनिधि भएर आएका हुन्। फूल र प्रसाद भनेको मच्छिन्द्रनाथले आफ्नी प्रेमिकाको सम्झनामा पठाएका कोसेली हुन्।'
यो किम्बदन्तीमा कीर्तिपुरकी केटी मच्छिन्द्रनाथसँग बसेर गर्भवती भएको उल्लेख छ। त्यसो भए खोइ त त्यो सन्तान?
जवाफमा नारायणले उमा–महेश्वर मन्दिरका ४६ सिँढी चढेपछि दाहिनेतिर रहेको लक्ष्मीनारायणको मूर्तितिर संकेत गरे। यो मूर्तिलाई कीर्तिपुरमा 'ख्यालीमः द्येः' भनिन्छ। स्थानीय विश्वासअनुसार, यसले प्रेमी–प्रेमिकालाई माया साट्न सिकाउँछ र उनीहरूको प्रेम सफल होस् भनेर आशीर्वाद दिन्छ।
'लक्ष्मीनारायणको मूर्तिमा एउटा सानो बच्चा पनि देखिन्छ। हामीकहाँ यो बच्चालाई मच्छिन्द्रनाथ र कीर्तिपुरे केटीको सन्तान मानिन्छ,' नारायणले भने।
कीर्तिपुरको यो डाँडाबाट अहिले पनि पाटन छर्लंग देखिन्छ। पहिले–पहिले बस्ती पातलो भएका बेला यहाँबाट सोझै मच्छिन्द्रनाथको जात्रा हेर्न सकिन्थ्यो रे। लक्ष्मी र नारायणले आफ्नो काखमा लिएको बच्चालाई यहीँबाट जात्रा देखाउँदै भन्थे रे, 'उ त्यो जात्रामा तिम्रो बुवा मच्छिन्द्रनाथ छन्। तिमी यहीँबाट बुवाको दर्शन गरेर आशीर्वाद लिऊ।'
'यसलाई कीर्तिपुरमा हामी 'लभ–गड' मान्छौं,' नारायणले भने, 'यो मच्छिन्द्रनाथ र कीर्तिपुरे केटीको प्रेमको प्रतीक हो।'
यो किम्बदन्तीको अर्को भर्सन पनि छ, जसको मूल विषय उस्तै भए पनि घटनाक्रम केही फरक छन्।
पाटनको सुन्धाराबाट लगनखेलसम्म रथ तानेर ल्याएपछि त्यसको माथिबाट नरिवल फ्याँक्ने चलन छ। भोलिपल्ट एकदिन महिलाहरूले मात्र रथ तान्छन्। महिलाहरूलाई पनि रथयात्रामा सहभागी गराउन यो चलन थालिएको हो। त्यसपछि लामो समय रथ थति टोलमा रहन्छ। किम्बदन्तीअनुसार धेरै दिन एकैठाउँ बस्दा मच्छिन्द्रनाथलाई दिक्क लागेछ। उनी चञ्चल स्वभावका थिए। चञ्चले केटाहरू कहिले धीर भएर एकै ठाउँ बस्छन् र!
स्कुल–कलेज पढ्दा हामीलाई नै एउटै ठाउँमा एक घन्टा बस्नुपर्यो भने कसरी पहाडै फोर्नुपरेजस्तो सकस हुन्थ्यो, सम्झौं त! मच्छिन्द्रनाथलाई पनि त्यस्तै भयो होला।
उनी उन्मुक्त भएर भमराको रूपमा रथबाट निस्के र वरिपरि डुली हिँड्न थाले। यही क्रममा थति टोलका केही केटीहरूसँग उनको सम्बन्ध गाँसियो। तर, त्यतिले पनि उनको मन अडिएन। उनी झनै बेकाबू भए र घुम्दै घुम्दै कीर्तिपुर पुगे।
कीर्तिपुर डाँडाको प्यंगथाँ पुगेपछि एक स्थानीय केटीसँग उनको जम्काभेट भयो। उनी कीर्तिपुरे केटीको प्रेममा परे– लभ एट फस्ट साइट!
त्यसपछिको विवरण अघिल्लो किम्बदन्तीसँग मिल्दोजुल्दो छ।
रातो मच्छिन्द्रनाथ जात्राबारे विस्तृत खोज गरेका अमेरिकी अन्वेषक जोन के लकले आफ्नो किताब 'करुणामय' मा यही भर्सनको किम्बदन्ती उल्लेख गरेका छन्।
'प्यंगथाँ बहाल वरिपरि महर्जन समुदायका दसदेखि बाह्र परिवार बसोबास गर्छन्,' उनले सन् १९८० मा लेखेको उक्त किताबमा भनिएको छ, 'तिनै परिवारको सबभन्दा जेठी अविवाहित केटीले पुजारीको हातबाट रातो मच्छिन्द्रनाथको फूल र प्रसाद लिनुपर्छ। त्यसपछि यो फूल–प्रसादलाई उनीहरूको समुदायका सबै घरमा बाँडिन्छ।'
जोन लकले प्यंगथाँको त्यो ठूलो ढुंगाको पनि वर्णन गरेका छन्, जसमाथि बसेर पुजारीले फूल–प्रसाद दिन्छन्।
'यो ढुंगालाई मच्छिन्द्रनाथ र कीर्तिपुरे केटीको प्रेमको प्रतीकका रूपमा लिइन्छ,' उनी लेख्छन्, 'यही ढुंगा भएको ठाउँमा उनीहरूबीच प्रेम–सम्बन्ध गाँसिएको थियो र यहीँ उनीहरू प्रेमालाप गर्थे भन्ने विश्वास गरिन्छ।'
यहाँनिर एउटा अर्को जनविश्वास पनि जोडिएको छ, जसको चर्चा जोन लक र अर्का विदेशी अध्येता ब्रुस म्याककोय ओवन्सले आ–आफ्नो किताबमा गरेका छन्।
'थति टोलमा रथ रोकिएका बेला सन्तान नभएका महिलाहरू मध्यरात रथमुनि आएर निर्वस्त्र सुत्ने चलन छ,' ब्रुस ओवन्सले रातो मच्छिन्द्रनाथसम्बन्धी आफ्नो किताबमा लेखेका छन्, 'यसरी सुत्दा राति मच्छिन्द्रनाथ आएर समागम गर्छन् र सन्तानको कामना पूरा हुन्छ भन्ने जनविश्वास पाइन्छ।'
यसले रातो मच्छिन्द्रनाथको यौनिकता वर्णन गर्ने ओवन्सको भनाइ छ।
यस्तो चलन अहिले बाँकी छैन। हामीले धेरै समयदेखि यसबारे केही कुरा सुनेका छैनौं। जोन लकले भने 'सन् १९७६ सम्म पनि केही केटीहरू मध्यरात घरबाट निस्केर रथमुनि केही घन्टा निर्वस्त्र सुत्छन्' भनेर लेखेका छन्।
रातो मच्छिन्द्रनाथको कीर्तिपुर सम्बन्धसँग जोडिएको तेस्रो किम्बदन्ती पनि छ, जुन माथिका दुइटाभन्दा बिल्कुलै फरक छ।
मलाई यो किम्बदन्ती रातो मच्छिन्द्रनाथकै पुजारी कपिलमुनि बज्राचार्यले सुनाएका थिए।
उनका अनुसार, मच्छिन्द्रनाथलाई आसामबाट लिएर आएपछि काठमाडौं, भक्तपुर र ललितपुरले आ–आफ्नो नाममा रथयात्रा चलाए। पुल्चोकबाट गाबाहालसम्मको रथयात्रालाई आचार्य बन्धुदत्तको नाममा चलाइएको काठमाडौं जात्रा भनिन्छ। गाबाहालदेखि सुन्धारासम्मको यात्रालाई राजा नरेन्द्रदेवप्रति समर्पित भक्तपुर जात्रा मानिन्छ। यो बेला पहिले भक्तपुर दरबारबाट स्वयं राजा नरेन्द्रदेवको खड्ग ल्याएर रथसँगै घुमाउने गरिन्थ्यो। पछि मल्लकालदेखि राजा श्रीनिवास मल्लको खड्ग ल्याउने चलन छ। त्यसपछि सुन्धारादेखि लगनखेलसम्मको यात्रालाई पाटनको रथयात्रा भनिन्छ, जुन रथचक्र ज्यापूका नाममा समर्पित छ।
त्यति बेला एक जनाको नाममा भने जात्रा चलाइएको थिएन। उनी थिए टौदहका कर्कोटक नागराज, जो मच्छिन्द्रनाथ लिन सँगसँगै आसाम गएका थिए। जसले बाटोमा ठाउँ–ठाउँ बाढी आउँदा पुल बनेर बाँकीलाई नदी तारेका थिए। उनीबिना मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यका ल्याउन असम्भवजस्तै थियो। यही बुझेर नै आचार्य बन्धुदत्तले उनलाई टोलीमा सामेल गराएका थिए।
यति हुँदाहुँदै बाँकी तीन जनाको नाममा जात्रा चलाउने, तर आफ्नो भागमा केही नपरेको देखेर कर्कोटक नागराज रुष्ट थिए। उनले त जसोतसो आफूलाई सम्हाले, तर नागरानीले आफ्नो क्रोध दबाएर राख्न सकिनन्। उनी जात्रा चलिरहेकै बेला मान्छेको रूप धारण गरेर मच्छिन्द्रनाथलाई लिन लगनखेलको थति टोल पुगिन्।
रथबाट नरिवल खसालेको भोलिपल्ट नागरानीले आफ्नो शक्तिको बलमा मच्छिन्द्रनाथको रथ तानेर टौदह लैजान खोजिन्। नागरानीको बललाई चुनौती दिने ताकत त्यहाँ कसैसँग थिएन। त्यसपछि आचार्य बन्धुदत्तले आफ्नो तान्त्रिक शक्तिको बलमा रथलाई गुड्नबाट रोके। नागरानीले जति तान्दा पनि बन्धुदत्तको तन्त्रमा बाँधिएको रथका पांग्रा डेग चलेनन्।
केही सिप नलागेपछि नागरानी बन्धुदत्तको आँखा छलेर मच्छिन्द्रनाथका बत्तीस लक्षणमध्ये एउटा लक्षण लिएर कुलेलाम ठोकिन्।
'नागरानी त्यहाँबाट सिधै टौदहमा गएर अलप हुन चाहन्थिन्। त्यसो भइदिएको भए उनलाई खोजेर मच्छिन्द्रनाथको एउटा लक्षण फिर्ता ल्याउन असम्भव हुन्थ्यो,' कपिलमुनिले भने, 'त्यही भएर आचार्य बन्धुदत्तले फेरि तन्त्र गरेर नागरानीलाई टौदह होइन, कीर्तिपुरको डाँडो चढाइदिए।'
नागरानी हस्याङफस्याङ गर्दै कीर्तिपुरको प्यंगथाँ पुगिन्। आचार्य बन्धुदत्त पनि पछिपछि गए। उनले नागरानीसँग अनुनय गरे।
'हे नागरानी, एउटा लक्षण भएन भने पनि मच्छिन्द्रनाथको प्रताप पूरा हुँदैन। त्यसैले तपाईं यो फिर्ता गर्दिनू,' उनले भने।
नागरानी मान्दै मानिनन्।
बन्धुदत्तले भने, 'हे नागरानी, तपाईं त्यो लक्षण फिर्ता गर्न तयार हुनुभयो भने म बाचा गर्छु, हरेक वर्ष लगनखेलबाट जावलाखेलसम्मको यात्रा कीर्तिपुरको नाममा हुनेछ।'
उनले अर्को बाचा पनि गरे, 'हरेक वर्ष आजकै दिन मच्छिन्द्रनाथको फूल र प्रसाद लिएर म यहाँ प्यंगथाँमा आउँछु र कुनै कुमारी कन्यालाई प्रसाद चढाउँछु।'
यति दुइटा बाचा गरेपछि बल्ल नागरानी मच्छिन्द्रनाथको एउटा लक्षण फिर्ता गर्न राजी भइन्।
'त्यही बेलादेखि कीर्तिपुरमा पूजा ल्याउने चलन पनि सुरू भयो, अनि कीर्तिपुरका नाममा जात्रा मनाउन पनि थालियो,' कपिलमुनिले भने।
लगनखेलको थति टोलदेखि जावलाखेलसम्मको रथयात्रालाई कीर्तिपुरको जात्राका रूपमा लिइन्छ। यो बेला कीर्तिपुर, पांगा, नगाउँ, सतुंगल, बलम्बू, मच्छेगाउँ र थानकोट गरी सात गाउँका मानिस धीमे बाजा बजाउँदै रथ तान्न आउने चलन छ।
आफूले सुनाएको किम्बदन्तीलाई थप विस्तार लगाउँदै कपिलमुनिले भने, 'त्यो बेला कस्तो भएछ भने, जबसम्म मच्छिन्द्रनाथ ३२ लक्षणयुक्त थिए, उनको जात्रामा ठूलो भीड लाग्थ्यो। थति टोलबाट जसै उनको एउटा लक्षण नागरानीले खोसेर लगिन्, मच्छिन्द्रनाथको प्रताप कम भयो। जात्रा हेर्न आउने भीड पनि घट्दै गयो। अहिले पनि पुल्चोकबाट थति टोलसम्म आउँदा जात्रामा एकदमै भीडभाड लाग्छ। त्यहाँ आएपछि केही दिन मान्छे कम हुन्छन्। यसको कारण त्यही एउटा लक्षण गुम्नुले हो। पछि कीर्तिपुर गएर मच्छिन्द्रनाथको लक्षण फिर्ता ल्याएपछि जावलाखेलसम्मको यात्रा फेरि धुमधाम हुन्छ।'
उनले सुनाएको किम्बदन्ती कीर्तिपुरमा प्रचलित कथाभन्दा बिल्कुलै फरक थियो। मैले सोधेँ, 'कीर्तिपुरमा त प्यंगथाँलाई मच्छिन्द्रनाथको ससुराली र यहाँकी एक महिलालाई प्रेमिका मान्ने चलन रहेछ। के त्यो सही होइन।'
उनले त्यसलाई गलत भनेनन्। बरू यसरी व्याख्या गरे, 'केटीले कुनै चिज चाह्यो भने एकैछिनमा पूरा हुन्छ। जबकि केटाले बाह्रै वर्ष इच्छा गरे पनि केटी राजी नभएसम्म पूरा हुन सक्दैन। यहाँ नागरानीले इच्छा गर्नेबित्तिकै मच्छिन्द्रनाथको एउटा गुण खोसेर लैजान सफल भइन्। बन्धुदत्तजस्ता सिद्ध तान्त्रिकले पनि तबसम्म त्यो गुण फर्काएर ल्याउन सकेनन्, जबसम्म नागरानी आफैं राजी भइनन्।'
'यो लोककथाले महिलाको शक्ति वर्णन गर्छ। यो भनेको प्रेमको शक्ति नै हो,' उनले भने।
उनले यो पनि भने, 'यहाँ पूजा लिने कार्य अविवाहित केटीले नै गर्नुपर्छ। एकचोटि विवाहितले लिन खोज्दा उनी ठाउँको ठाउँ मुर्छा परेको भनाइ छ।'
मच्छिन्द्रनाथ पुजारी संघका अध्यक्ष यज्ञरत्न शाक्यले सुनाउने कीर्तिपुर सम्बन्धको कथा त अझ भिन्न छ। उनको भनाइमा मच्छिन्द्रनाथ केटीको प्रेममा परेर कीर्तिपुर गएका होइनन्, बरू त्यहाँकी केटीलाई दुःख पर्दा उद्धार गर्न गएका हुन्।
उति बेला सबै केटीको बिहेबारी हुँदैनथ्यो। कोही आफूलाई मन परेको केटासँग बिहे गर्न नपाएर अविवाहित रहन्थे भने कसैलाई धनसम्पत्ति नहुँदा आमाबाबुले नै बिहे गरेर पठाउँथेनन्। यस्तोमा कतिपय केटी आफ्ना सबै दौंतरीको बिहेवारी हुँदा पनि आफू अविवाहित बस्नुपरेकाले साह्रै दुःख मान्थे।
कीर्तिपुर, प्यंगथाँकी एक जना केटीको पनि उमेर हुँदासम्म बिहे भएको रहेनछ। उनका सबै साथी आमा भइसकेका थिए। उनको भने बिहेको सुरसार नै थिएन। बिलखबन्दमा परेकी ती केटीले एकदिन मच्छिन्द्रनाथको आराधना गरिछन्।
'जसरी हिन्दु नारीले राम्रो श्रीमान पाऊँ भनी तीजको ब्रत बस्ने चलन छ, त्यसैगरी कीर्तिपुरकी केटीले राम्रो वरको कामना गर्दै आराधना गरेपछि मच्छिन्द्रनाथ उनको उद्धार गर्न सुकुमार केटाको भेषमा प्यगंथाँ पुग्नुभएछ,' यज्ञरत्नले आफ्नो भर्सनको कथा विस्तार लगाए, 'त्यहाँ केटीसँग कोठाभित्र बसेर मच्छिन्द्रनाथले कुरा गर्न थाल्नुभएछ। उनको पीरमर्का सुन्न थाल्नुभएछ।'
एउटी अविवाहित केटीको कोठाबाट अपरिचित केटाको खासखुस सुनेपछि परिवारका अरू सदस्यले बाहिरबाट ताल्चा मारिदिएछन्। मच्छिन्द्रनाथ कोठामै थुनिएछन्।
यता लगनखेलमा रथ तान्ने घडी बित्न लागेको थियो। यस्तो बेला मच्छिन्द्रनाथको मूर्तिमा प्राण नभएको चाल पाएपछि पुजारीहरूले तन्त्रबलबाट ध्यानदृष्टि लगाएर हेरेछन्। उनीहरूले मच्छिन्द्रनाथ त कीर्तिपुरकी केटीलाई उद्धार गर्न जाँदा उनकै कोठामा थुनिएका रहेछन् भनेर थाहा पाए।
पुजारीहरू तुरुन्तै मच्छिन्द्रनाथलाई मुक्त गरेर रथयात्रामा फर्काउन प्यगंथाँ पुगे। उनीहरूले केटीको परिवारका सदस्यलाई भने, 'तपाईंहरूले जसलाई कोठामा थुनेर राख्नुभएको छ, उहाँ त साक्षात् मच्छिन्द्रनाथ हो। तपाईंकै छोरीको दुःख–पुकार सुनेर उद्धार गर्न आउनुभएको। हामीलाई उता रथयात्रा चलाउन ढिला भइसक्यो। त्यसैले कोठाको ताल्चा खोलेर मच्छिन्द्रनाथलाई मुक्त गरिदिनुस्।'
परिवारका सदस्यले मानेनन्।
आखिरमा पुजारीहरूले बाचा गरे, 'हामी हरेक वर्ष लगनखेलबाट रथ तान्नुअघि मच्छिन्द्रनाथको फूल र प्रसाद लिएर यहाँ चढाउन आउने छौं।'
'मच्छिन्द्रनाथ प्रेममा परेर कीर्तिपुर आएका होइनन्। भक्तहरूलाई दुःख पर्दा भगवान जहाँ पनि पुग्छन्। त्यही क्रममा उहाँ कीर्तिपुर आउनुभएको हो,' यज्ञरत्नले भने, 'हरेक वर्ष कीर्तिपुर लगिने फूल-प्रसादलाई आफ्ना भक्तको निम्ति मच्छिन्द्रनाथले पठाउनुभएको 'मायाको चिनो' भन्न सकिन्छ।'
उनले अगाडि भने, 'तर, यी सबै कथा–किम्बदन्तीका कुरा हुन्। यसमा आधिकारिकता केही छैन। बरू यी सबैभन्दा आधिकारिक कथा अर्को छ।'
यज्ञरत्नले मलाई पाटनका राजा सिद्धिनरसिंह मल्लसँग जोडिएको मच्छिन्द्रनाथको कथा सुनाए।
सिद्धिनरसिंहकी जेठी श्रीमतीको कुनै सन्तान भएनछ। जतिसुकै तप, ब्रत, पूजाअर्चना गर्दा पनि गर्भ नरहेपछि उनले मच्छिन्द्रनाथको भाकल गरिछन्।
त्यसपछि मच्छिन्द्रनाथ एक नवयुवकको भेषमा रानीको उद्धार गर्न दरबार पुगेछन्। त्यही क्रममा रानीसँग शारीरिक सम्पर्क पनि भएछ। मच्छिन्द्रनाथ र रानीको त्यही समागमबाट श्रीनिवास मल्लको जन्म भएको विश्वास गरिने यज्ञरत्नले सुनाए।
'श्रीनिवास मल्लले आफू राजा भएपछि रातो मच्छिन्द्रनाथलाई पिताका रूपमा सम्मान गर्दै उनको नाममा प्रशस्त जग्गा र धनसम्पत्ति भेटी चढाएको इतिहास छ,' उनले भने, 'बुंगमतीको एउटा शिलालेखमै श्रीनिवास मल्लले ठूलो धनसम्पत्ति मच्छिन्द्रनाथलाई चढाएको उल्लेख छ।'
यही कारणले श्रीनिवास मल्लको पालादेखि नै मच्छिन्द्रनाथको रथयात्रामा उनको खड्ग प्रदर्शन गर्न थालिएको यज्ञरत्नको भनाइ छ। अहिले पनि उक्त खड्ग नदेखाई रथयात्रा चलाउन हुँदैन।
कथा–किम्बदन्ती भनेका कथ्य र तथ्यको मिश्रण हो। ऐतिहासिक अभिलेखले सुल्झाउन नसकेका रहस्यको गाँठो किम्बदन्तीहरूमा लुकेको हुन्छ।
यहाँ कीर्तिपुरकी केटीलाई बुंगमतीका मच्छिन्द्रनाथकी 'प्रेमिका' मान्नुको कारण कुनै समय बुंगमती र कीर्तिपुरबीच बिहेवारीको गहिरो सम्बन्ध पो थियो कि!
यसले अहिलेका यी दुई सहर र त्यति बेलाको 'नेपाल मण्डल' का दुई ठूला गाउँबीच गाँसिएको नङमासुको सम्बन्ध झल्काउँछ भन्न सकिन्न र!
कारण जेसुकै भए पनि कीर्तिपुरको प्यंगथाँमा मनाइने उत्सव र त्यहाँकी लक्ष्मीकुमारी महर्जन रातो मच्छिन्द्रनाथ जात्रासँग जोडिएका 'जीवित सम्पदा' पक्कै हुन्।
केही समयदेखि कीर्तिपुरका स्थानीय यो सम्पदा जीवित राख्न र यसलाई व्यवस्थित पार्दै लैजाने अभियानमा जुटेका छन्। प्यंगथाँको मन्दिरबाट फलामे रेलिङ हटाएर प्राचीन नेवारी वास्तुकला झल्किने मन्दिर बनाउने तयारी हुँदैछ। यसको निम्ति काठहरू ल्याएर राखिएका छन्।
त्यस्तै, फूल र प्रसाद लिएर आउने मच्छिन्द्रनाथका पुजारीलाई गत वर्षबाट कीर्तिपुर विश्वविद्यालयको मूलढोकासम्म धीमे बजाउँदै लिन जान थालिएको छ। पहिले यस्तो चलन थिएन। पूजामा धेरैभन्दा धेरै अविवाहित केटी सरिक हुन् भनेर व्यापक प्रचारप्रसार पनि गरिँदैछ।
प्यंगथाँका स्थानीय नारायण महर्जनका अनुसार गत वर्ष चार–पाँच सय अविवाहित केटीहरू मच्छिन्द्रनाथको प्रसाद थाप्न आएका थिए। सबभन्दा पहिला लक्ष्मीलाई चढाएपछि अरूलाई दिइएको थियो।
'रातो मच्छिन्द्रनाथ जात्राको यो अभिन्न अंगलाई हामी कीर्तिपुरकै ठूलो सांस्कृतिक उत्सवका रूपमा मनाउने तयारी गर्दैछौं,' नारायणले भने।
यी स्थानीय पहलबीच मच्छिन्द्रनाथकी 'प्रेमिका' मानिने लक्ष्मीकुमारीलाई राज्यका तर्फबाट पनि 'जीवित सम्पदा' का रूपमा स्वीकार गरिनुपर्ने खाँचो छ। जसले ६० वर्षदेखि यो भूमिका अनवरत निर्वाह गरिरहेकी छन्, उनको परिवारलाई राज्यबाट सहयोग र संरक्षण पनि हुनुपर्छ। ताकि, यो संस्कृति अकन्टक यसैगरी चलिरहन सकोस्। छुट्टै गुठी स्थापना गरेर पनि यसलाई व्यवस्थित गर्न सकिन्छ, जुन अहिलेसम्म यहाँ छैन।
सबभन्दा ठूलो कुरा त, लक्ष्मीकुमारीभन्दा पहिला मच्छिन्द्रनाथकी 'प्रेमिका' को थिइन् भन्ने खुल्दैन। उनीपछि यो जिम्मा कसलाई जान्छ भन्ने पनि टुंगो छैन।
लक्ष्मीका दाजुभाइ आफ्नै खलकबाट कोही अविवाहित केटी खोज्नुपर्ने बताउँछन्। कोही नभए वा कसैले इच्छा नदेखाए महर्जन समुदायबाट कसैलाई छान्न सकिने उनीहरूको राय छ। गुठी बनाउने हो भने त्यसैले छनौट विधि तय गर्न सक्छ।
यो परम्परा टिकाउने जिम्मा अब नयाँ पुस्ताको हो, जसका एक सदस्य हुन् लक्ष्मीका नाति रिकेश, जसले मलाई आफ्नो घरसम्म लिएर गएका थिए।
फर्किने बेला मैले उनलाई भनेँ, 'नयाँ पुस्ताले चाख दिएर खोजबीन गर्यो भने विगतमा रातो मच्छिन्द्रनाथकी 'प्रेमिका' भएर बस्ने को–को रहेछन् भन्ने पत्ता लगाउन सकिन्छ।'
उनी सहमत भए, 'हामी प्रयास गर्नेछौं।'
म उनको जवाफको प्रतीक्षामा छु। कम्तिमा दुई–तीन सय वर्षको भए पनि नामावली निस्किहाल्छ कि!
मच्छिन्द्रनाथकी जीवित 'प्रेमिका' को नामावली!
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी
यो पनि हेर्नुहोस्:
(सुदीप श्रेष्ठका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)