देशभरका विभिन्न नदी र खोलामा रहेका ४५ वटा तुइन हटाउन नसकिने अवस्थामा छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभाग सस्पेन्सन बृज डिभिजन श्रीमहल पुल्चोकले दिएको जानकारीअनुसार ४५ ठाउँका तुइन हटाएर त्यहिँ झोलुंगे पुल बनाउन मिल्दैन।
यो पनि:
फूलमाया र कृष्णप्रसाद अझै तुइनमा झुन्डिरहेका छन्, किन?
डिभिजनका इञ्जिनियर दिनविनोद खड्काले तुइनका तलमाथि ठाउँ पहिचान गरी झोलुंगे पुल बनाउने काम भए पनि ४५ ठाउँका तुइन हटाउन सम्भव नदेखिएको बताए।
‘कुनै ठाउँमा पानी नाप्नका लागि बनाइएका तुइन पनि छन्, त्यस्तो ठाउँमा झोलुंगे पुल बनाउन सकिने अवस्था छैन,’ उनले सेतोपाटीसँग भने, ‘तुइन भएकै ठाउँमा भूगोलले पनि पुल हाल्न मिलेन।’
तुइनका तलमाथि पुल बनाए पनि मानिसहरू पुल केही टाढा रहेको भन्दै तुइनबाटै जोखिमका साथ नदी र खोला वारपार गर्छन्। जसले गर्दा दुर्घटनाको जोखिम बढाएको छ।
खड्काका अनुसार ललितपुरकै चार स्थानमा रहेका तुइन विस्थापन गर्न सकिने अवस्था छैन। काउसेवेशीमा बागमती, हेल्टारमा दुर्लुङखोला, कटुनवेशीमा बागमती, छाँगाटार (छालवेशी) मा बागमती नदीमाथि रहेका तुइन हटाएर त्यहाँ नै झोलुंगे पुल बनाउने अवस्था छैन।
उदपुरको कवपतिस्थित बैधनाथ खोला रिस्कुमा पनि तुइन विस्थापन गरी झोलुंगे पुल बनाउन नसकिएको डिभिजनले जनाएको छ। गोरखाको दरौंदी नदीमाथि अर्कुलमा रहेको तुइन पनि विस्थापन भएको छैन। धादिङमा त्रिशूली र बूढीगण्डकी नदीमाथि जरेघाट, घाटवेशी बाँगी र गोगेटार/खुदीटारमा अझै तुइन छन्।
त्रिशूली नदीमाथि चितवन र गोरखा जोड्ने दारेचोकमा रहेको तुइन पनि विस्थापन भएको छैन। अछाम, कालीकोट, बझाङ, मकवानपुर, सल्यान, प्युठान, बागलुङ, दार्चुला, कास्की, डोटी, नवलपरासी, दैलेख, जुम्ला, हुम्ला, मुगु, रूकुम र सिन्धुपाल्चोकमा रहेका केहि तुइन पनि विस्थापन गरी झोलुंगे पुल बनाउन सकिने अवस्था नरहेको खड्काले बताए।
यो पनि:
मन्दिर जान चढेको तुइन छिन्दा महिला बेपत्ता
हेटौंडामा तुइनबाट खस्दा ७७ वर्षीय वृद्धको मृत्यु
तुइन विस्थापित गर्न ४ अर्ब ३८ करोड बजेट विनियोजन
डिभिजनका अनुसार नेपालका विभिन्न नदीमाथि तुइन विस्थापन गर्दै आउँदो चैतसम्म १४ वटा पुल निर्माण भइसक्छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक २०७२ सालमा प्रधानमन्त्री हुँदा तुइन विस्थापन योजना प्राथमिकतामा राखे पनि विभिन्न कारणले अहिलेसम्म तुइन विस्थापन हुन नसकेका हुन्।
डिभिजनका अनुसार २०७२ देखि ०७७ असारसम्म एक सय २८ वटा तुइन विस्थापन भइसकेका छन्। एउटा तुइन विस्थापन गर्न भारत सरकारले अनुमति दिएको छैन। महाकाली नदीमाथि बैतडीमा रहेको तुइनले भारतको चम्पावत जोड्छ। सीमामा रहेको यो तुइन हटाएर पुल बनाउन भारत सरकारको स्वीकृति आउन बाँकी रहेको खड्काले जानकारी दिए।
सरकारले तुइन, डुंगा र फड्के विस्थापन गरी ती ठाउँमा झोलुंगे पुल बनाउने योजना अगाडि सारेको थियो। मानिसहरूले पुल बन्छ भनेर पनि तुइन राखिदिने गरेकोले समयमै तुइन विस्थापन गरी पुल निर्माण गर्ने कार्य सम्भव नदेखिएको डिभिजनले जनाएको छ।
यी हुन् तुइन हटाएर पुल बनाउन नसकिने ठाउँ: