मकवानपुरमा तुइनबाट खस्दा ७७ वर्षीय वृद्धको मृत्यु भएको छ।
मंगलबार साँझ ५ बजे तुइनबाट खसेर हेटौंडा उपमहानगरपालिका-१ लालझाडी बस्ने कृष्ण प्रसाद पराजुलीको मृत्यु भएको हो।
उनको उपचारका लागि अस्पताल लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
'उनी हिजो पारीपट्टिको खेतमा जान खोजेका थिए,'डिएसपी इन्द्रबहादुर रानाले भने,'तुइनमा चढ्न एउटा खुट्टा राखेर अर्को राख्दा चिप्लिएर लडे।'
डिएसपी रानाका अनुसार चट्टानमा बजारिएपछि उनी गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते भएका उनलाई प्रहरी पुग्नुअगावै हेटौंडाको जिल्ला अस्पताल लगिएको थियो।
'जिल्लाबाट भरतपुर अस्पतालमा ‘रिफर’ गरिएको थियो तर पुग्न नपाउँदै उनको बाटोमै मृत्यु भयो,'उनले भने।
उनको शव पोष्टमार्टमको लागि हेटौंडा जिल्ला अस्पतालमा राखिएको छ।