लमजुङमा तुइन छिन्दा एक जना महिला बेपत्ता भएकी छन्।
लमजुङको दोर्दी गाउँपालिका-६ कीर्तिपुरवेंसीका ३२ वर्षीय फूलमाया गुरूङ सोमबार पूजा गर्न मन्दिर जाँदै थिइन्। दोर्दीखोला पारी रहेका जलदेवी मन्दिरमा पूजा गर्न जान तुइन चढेर खोला तर्नुपर्ने थियो। तुइनमा चढेर खोला तर्दै गर्दा अचानक तुइन छिन्यो, उनी बेपत्ता भइन्।
फूलमायासँगै स्थानीय १७ वर्षीय विकास घले पनि तुइन चढेर मन्दिर जाँदै थिए। उनी भने खोलामा खसेपछि तुइन समातेर ज्यान जोगाए। उनलाई स्थानीयवासीले उद्धार गरेको लमजुङ प्रहरीले जनाएको छ। फूलमाया र विकास तुइन चढ्नुअघि २ जना त्यही तुइन चढेर दोर्दी खोला तरेर मन्दिर गएको दोर्दी गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले बताए।
जनैपूर्णिमामा उक्त मन्दिरमा विशेष पूजा हुने भएकाले धेरै मानिस मन्दिर जाने उनले बताए। जसमा धेरैजसो भने अर्के बाटो घुमेर मन्दिर गएका थिए।
यसअघि उक्त स्थानमा अर्को तुइन थियो। त्यो तुइन जीर्ण भएको र तुइन भएको ठाउँमा झोलुंगे पुलको योजना परेकाले भत्काएको उपाध्यक्ष दिलबहादुरले बताए। पुल बनाउन प्रदेश सरकारबाट ५८ लाख योजना परेको र निर्माणको काम अघि बढिसकेको थियो। निर्माण सामाग्री वारिपारि गर्न एउटा लठ्ठा राखेर तुइन बनाएको उनले बताए।
‘पुल बनाउने टोलीले सामान ओसार पसार गर्न तुइन बनाएछन्,’ उपाध्यक्ष दिलबहादुरले भने, ‘त्यही तुइनबाट खोला तर्दा तुइन छिनेछ।’
लकडाउनका कारण पुल बनाउने काम पनि रोकिएको उनले बताए।