डाक्टर अमोद घिमिरेलाई अस्पतालको काममा भ्याइनभ्याइ हुन्छ। कालीगण्डकी अस्पताल, कावासोतीमा काम गरिरहेका उनको धेरैजसो समय बिरामीको जाँचमै बित्छ। तर यी डाक्टरको व्यस्तता अस्पतालमा सीमित छैन।
अस्पतालको ड्युटी सकिएपछि उनी जंगलतिर चहार्छन्। अस्पतालमा मान्छेको ज्यान बचाउने उनी जंगल भने सर्प बचाउन पुग्छन्।
पेसागत रूपमा चिकित्सक अमोद १५ वर्षदेखि सर्प उद्धार गरिरहेका छन्। कावासोतीका बस्तीबाट उद्धार गरिएका सर्प जंगलसम्म छाड्न आफैं जान्छन्।
'यो मेरो जीवनको सार्थक पाटो हो,' अस्पतालको धपेडीपछि घर पनि नगई सिधै सर्प बचाउन पुग्ने अमोदले भने।
भरतपुरमा जन्मेका उनी सानैदेखि सर्प देखेर हुर्किए। कमै मान्छेको रुचाइमा पर्ने सर्प नजिक जान कसलाई मन लाग्ला र! अमोद तिनैमध्ये हुन्, जो हेर्दा डरलाग्दो देखिने सर्पको सुन्दरतामा मोहित भए।
'चितवनको गर्मीमा साना-ठूला सबैखाले सर्प घरआँगनमै आउँछन्। त्यहाँका मानिसलाई सर्प देख्नु नौलो होइन तर सबैलाई धेरै डर लाग्ने,' अमोद भन्छन्, 'मलाई पनि डर लाग्थ्यो। तर तिनको आकर्षक बनावटले तान्यो। कयौंपटक समात्ने कोशिस पनि गरेँ। त्यो क्रममा सर्पले टोकेको पनि छ।'
सर्पप्रति बाल्यकालममै हुर्केको आकर्षण पछिसम्म हटेन। एमबिबिएस अध्ययनअगावै उनी आफूले देखेका सर्पबारे अनुसन्धान गर्न थाले। जति अध्ययन गर्थे, सर्पसँगको लगाव उति बढ्थ्यो। उनको ध्यान सर्पको सुन्दरतामा मात्र अडिएन, संरक्षणबारे पनि सचेत भए।
'सर्पले पर्यावरण सन्तुलनमा राख्न योगदान पुर्याउँछ,' अमोद भन्छन्, 'तिनका दुलर्भ प्रजाति संरक्षण गर्न जरूरी छ।'
तर जुन बेला उनले यी कुरा महशुस गरे, त्यो बेला नेपालमा सर्पबारे चासो राख्ने मान्छे निकै कम थिए। अमोदले थाहा पाएअनुसार केही विदेशी अध्येताले यहाँका सुन्दर सर्पहरूको महत्व बुझे र उनीहरूले नै संरक्षण गर्नुपर्छ भनेर सिकाए। पछि संस्थागत रूपमै यो काम अघि बढ्यो।
उनी भन्छन्, 'यहाँ सर्पले टोक्छ भन्ने डरले देख्नेबित्तिकै मार्ने चलन छ। सर्पले त्यत्तिकै जो-कोहीलाई टोक्दैन भनेर मान्छेले बुझेकै छैनन्। कसैले चलाउन खोज्यो वा सर्पले खतरा महशुस गर्यो भने मात्र टोक्ने हो।'
मान्छेहरू अनजान भएकै कारण सर्प सधैं जोखिममा रहेको उनको भनाइ छ। आफूले मनपराएको प्राणीको संरक्षणनिम्ति केही त गर्नैपर्यो भन्ने ठाने।त्यसैले 'नेपाल टक्सिनोलोजी एसोसिएसन'मा सर्प उद्धार सम्बन्धी तालिम लिए।
तालिमलगत्तै उनी सर्प बचाउन हिँडिहाले। करिब पन्ध्र वर्ष भयो, उनी रोकिएका छैनन्।
'सर्प बचाउने काम जोखिमपूर्ण हो। तर आफ्नो रहरको काम गर्न पाएकोमा उत्साहित छु,' उनी भन्छन्।
अमोद एमबिबिएस पढाइसँगै यो क्षेत्रमा लागिरहे। उनको काममा घरपरिवारले पनि रोकतोक गरेनन्। जबसम्म उनले आफ्नो स्वास्थ्यको ख्याल गर्छन्, जता गएर जे काम गरे पनि परिवारले चिन्ता नलिने उनी बताउँछन्।
सामान्यतया उनी अस्पतालको काम सकेर सर्प उद्धारमा जान्छन्। तर उनलाई कहिलेकाहीँ सर्प र मान्छेबीच रोज्न पर्ने हुन्छ। बिरामीको चाप र अवस्थाले उनलाई बेलाबेला सर्पसम्म पुग्न रोक्छ।
'कहिलेकाहीँ बिरामीको अवस्था गम्भीर हुन्छ। त्यस्तो बेला म कहीँ जान्नँ,' उनी भन्छन्, 'फेरि यत्तिकै जुन समयमा पनि सर्प उद्धार गर्ने होइन। बिरामीको जिम्मेवारी लिएपछि पूरा गर्नुपर्छ। तर सर्प र मान्छे खतरामा परेका बेला अस्पतालमा समय मिलाएर भए पनि जान्छु।'
उनको काम चिन्नेहरूले आपतकालीन अवस्थामा फोन गर्छन्। उनी अरूलाई पनि सर्प संरक्षणको महत्व बुझाउन थुप्रै तालिम र कार्यक्रममा गइरहेका हुन्छन्। कोहीलाई सर्पदेखि डर लाग्छ, घरपरिसरमा आएको छ भन्दैमा त्यसलाई मार्न पाउने कुनै हक नभएको उनको भनाइ छ।
'मान्छेले आफ्नो डरको कारण मात्र यसलाई मार्न हुँदैन,' अमोद भन्छन्, 'यसलाई उपयुक्त ठाउँमा लैजानुपर्छ।'
अमोदका अनुसार सर्पको आहार स-साना किराफट्यांग्रादेखि चिल र मुसासम्म हो। यसले बाली उब्जनी सजिलो बनाइदिन्छ। नेपालमा पाइने ९६ प्रतिशत सर्प विषालु हुँदैनन्। तर मान्छेलाई यसबारे ज्ञानै नभएकाले सर्प दुश्मन भइरहेको उनी बताउँछन्।
'हिन्दु धर्ममा सर्पलाई भगवान मानेर पूजा गरे पनि फोटो वा मूर्तिमै सीमित छ। जीवित सर्प आफ्नो अगाडि आइलाग्यो भने कसैको मनमा धर्म-आस्थाको विचार आउँदैन,' उनी भन्छन्।
यस्तो बेला सर्प मार्ने होइन, यसबाट कसरी बच्ने र टोकिहाले के-कस्ता सावधानी अपनाउने भन्ने जान्नुपर्छ। उनले कोरोना लकडाउनमा पनि घरघर गएर सर्प उद्धार गरेका थिए। यो समयमा साविकभन्दा बढी सर्प बाहिर आएको उनी बताउँछन्।
'आहार खोजीमा कयौं जंगली जनावर बाहिर निस्किए र सर्पको अवस्था पनि त्यही भयो,' उनी भन्छन्, 'त्यसैले अहिले सर्प टोकाइबाट आउने बिरामी संख्या धेरै छ। यता अस्पतालमा बिरामीलाई बचाउनु पर्ने हुन्छ र उता सर्पलाई बचाउनु पर्ने पिर छुट्टै।'
यस्तो व्यस्ततामा अमोद आफ्नो ख्याल गर्न भ्याउँदैनन्। कुनै बेला दिक्क मान्छन्। तर उनलाई आफ्नो कामको माया लाग्छ।
'सर्प उद्धार र संरक्षण गर्नु मेरो जीवनको मुख्य लक्ष्य भइसक्यो। यसमा मेरो कुनै स्वार्थ छैन,' अमोदले भने, 'यो कामबाट मनको शान्ति पाउँछु।'