भारतको जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालसम्बन्धी गरेको विवादास्पद ट्वीट डिलिट गरेका छन्।
जी न्युजले प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंस्थित चिनियाँ राजदूतबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको थियो। जसको नेपालमा व्यापक विरोध भएको थियो।
त्यस्ता भ्रमपूर्ण समाचारको चर्को विरोध भएपछि बिहीबार नेपालका केबल अपरेटरहरूले भारतीय समाचार च्यानलहरू बन्द गरेका थिए।
त्यसरी समाचार च्यानलहरू बन्द गरेपछि भने प्रधान सम्पादक चौधरीले नेपालीहरू भारतीय समाचारवाचकहरूसँग नै डराएको सेनाको जरूरी नै नपरेको भन्दै ट्वीट गरेका थिए।
यसअघि पनि नेपालले आफ्नो नयाँ नक्सा जारी गरेपछि सुरू भएको विवादकै क्रममा भारतीय सञ्चारमाध्यमले नेपाल र भारतको सेनाको तुलना गरेका थिए।
शुक्रबारको आफ्नो ट्वीटले नेपालीहरू आहत भएको र भारतीयहरूले नै त्यो विचार ठीक नभएको बताएपछि ट्वीट डिलिट गरेको चौधरीले बताएका छन्।
'मेरो यो ट्वीटले नेपालमा रहेका हाम्रा दर्शक आहत भएका छन्। यहाँ भारतमै पनि धेरैजसो मान्छेहरूले यो विचार ठिक नभएको भनेर लेखेका छन्। हुन सक्छ की मैले समाचारहरू आएपछि आवेशमा आएर प्रतिकृया दिएँ होला। यो मञ्च अभिव्यक्तिको लागि हो, आहत हुन होइन। त्यसैले खेद जनाउँदै मैले यो ट्वीट हटाएको छु,’ उनले ट्वीटरमा लेखेका छन्।