नेपाल सरकारले भारतमा हालै आएको अंपुन चक्रवातका कारण भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेको छ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले चक्रवातका कारण पश्चिम बंगाल र उडिसा राज्यमा ज्यान गुमाउनेहरूका परिवार र भारत सरकारप्रति समवेदना प्रकट गरेको हो। नेपालले चक्रवातमा परी घाइते हुनेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।
पूर्वी भारत र बंगलादेशमा बुधबार दिउँसोदेखि आएको चक्रवातले ८० बढी मानिसको मृत्यु भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार प्रभावित क्षेत्रको हवाइ निरीक्षण गरेका छन्।
नेपालले उक्त चक्रवातका कारण बंगलादेशमा भएको जनधनको क्षतिप्रति पनि दु:ख व्यक्त गरेको छ।