प्रहरीले चार किलो दुई सय ग्राम लागुऔषध रसायन इफेड्रिनसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले शुक्रबार काठमाडौं १६ को एक कार्गोबाट न्यूजील्याण्ड पठाउन लागेको उक्त बराबरको लागुऔषध बनाउने सहायक रसायनसहित ३१ वर्षीय झाङ लाओलाई पक्राउ गरेको हो।
आइतबार ब्युरोले ती चिनियाँ नागरिकलाई सार्वजनिक गरेको छ। पत्रकार सम्मेलन गरी ब्युरोका प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले लागुऔषध कारोबारमा चिनियाँ नागरिक पहिलोपटक पक्राउ परेको बताए। उनका अनुसार यसअघि चिनियाँ नागरिक नेपालमा लागुऔषध कारोबारमा जोडिएका थिएनन्।
बस्यालका अनुसार उक्त रसायन चीनबाट नेपाल हुँदै न्यूजील्याण्ड लैजान लागिएको अवस्थामा पक्राउ गरिएको हो। न्यूजील्याण्ड निकासी गर्दा उक्त रसायनको नेपाली मूल्य पचास लाख रुपैयाँ बराबर हुन जान्छ।
नीलो रंगको रंगिन कागजको डिब्बाभित्र १० वटा काठको फ्रेम बनाइ उक्त रसायन निकासी गर्न खोजिएको थियो। प्रारम्भिक अनुसन्धानमा लाओ लागुऔषध बनाउने रसायनका कारोबारी भएको खुलेको ब्युरोले जनाएको छ।
नेपालमा केही सीमित मुलुकबाट औषधिको रुपमा मात्र रसायन खरिद गर्न पाइन्छ। नेपालमा प्रिकर्सर केमिकल औषधि बनाउनका लागि ल्याइन्छ।
तर, यो रसायन आयात भएर तस्करी हुँदै विदेशिने गरेको खुलेको थियो। यो रसायन रुघाखोकीको औषध बनाउँदा प्रयोग हुन्छ।
यसबाट एमफेटामाइन नामक लागुऔषध पनि बन्ने गरेकाले कडाइ गरिन्छ। मात्राअनुसार मात्र यसको खरिदमा सरकारले अनुमति दिने गरेको छ। तर, आयातपछि पुन निर्यात गर्न नपाइने भएकाले यसको तस्करी हुने गरेको प्रहरीको भनाइ छ।
यसअघि ब्युरोले नेपालबाट जापान जान लागेको चार किलो एमफेटामाइनसहित पोर्चुगिच नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ परेका लाओलाई लागुऔषध नियन्त्रण ऐन अनुसार अदालतबाट म्याद लिई अनुसन्धान थालिएको ब्युरोका प्रहरी उपरीक्षक बस्यालले बताए।