टाइफाइडको नयाँ खोपको परीक्षण नेपालका बालबालिकामा सफल भएको समाचार विश्वका सञ्चार माध्यमहरुले प्रमुखताका साथ प्रकाशित गरेका छन्। धेरै वैज्ञानिकहरू यो परीक्षण टाइफाइडविरूद्धको लडाइँमा महत्वपूर्ण खुड्किलो भएको बताएका छन्। तर नेपालमा भने यो खबरको सामाजिक सञ्जालमा विरोध भइरहेको छ।
विकसित राष्ट्रहरुले नेपालीहरुलाई चिकित्सा अनुसन्धानका लागि गिनीपिग (जोखिमपूर्ण परीक्षणका लागि उपयोग) बनाएको धेरैले टिप्पणी गरे।
यो परीक्षणसँग जोडिएका धेरै पक्षहरूसँग कुरा गर्दा यो स्वभाविक परीक्षण भएको, यसमा कुनै पनि जोखिम नभएको, सबै प्रक्रिया पूरा गरिएको र आवश्यक सबै ठाउँबाट स्वीकृति लिएको देखिएको छ।
यो परीक्षण बेलायतको अक्सफोर्ड र अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालय, र अन्तर्राष्ट्रिय गैरनाफामुखी संस्था पीएटिएचको साझेदारीको बाल्टिमोर अमेरिकामा रहेको टाइफाइड भ्याक्सिन एक्सिलिरेसन कन्सोर्टियमले गरेको हो।
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद (एनएचएरसी) का अधिकारी निर्भय शर्माका अनुसार सन् २०१७ नोभेम्बरदेखि सुरू भएको सो परीक्षण एनएचएरसी, औषधी व्यवस्था विभाग र बाल स्वास्थ्य विभागसँग अनुमति लिएरै गरिएको हो।
टाइफाइड कन्जुगेट भ्याक्सिन नाम दिइएको सो खोप नेपालमा परीक्षण हुनुभन्दा अगाडि बेलायतमा एक सय १२ जना बालबालिकामा परीक्षण गरिएको थियो। बेलायतको परीक्षणले पनि उक्त खोपले टाइफाइडविरूद्ध सुरक्षा दिएको देखाएको थियो।
त्यस्तो परीक्षण टाइफाइड रोगको संक्रमण धेरै हुने गरिब देशहरूमा भने गरिएको थिएन। गरिब देशहरूमा यसको परीक्षण गर्न अर्बपति बिल गेट्सको संस्था बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले आर्थिक सहयोग गरेको थियो।
अक्सफोर्ड विश्वविद्यालयका बाल स्वास्थ्य विभागका एन्ड्रयु पोलार्ड यो परीक्षणका प्रमुख शोधकर्ता हुन्।
नेपालमै किन परीक्षण गरिएको भन्ने प्रश्नको जवाफमा पाटन अस्पतालका डाक्टर र नेपालमा गरिएको परीक्षणका मुख्य सोधकर्ता बुद्ध बस्नेतले भने- नेपालमा टाइफाइड रोग धेरै लाग्ने भएकोले यसको परीक्षण नेपालमा गरिएको हो।
उनकाअनुसार यस्तो परीक्षण भारत, बंगलादेश र अफ्रिकाका मलावी र बुर्किना फासोमा पनि गरिएको छ।
दक्षिण एसियामा एक लाखमध्ये पाँच सय जनालाई टाइफाइड लाग्ने भएकोले पनि यो परीक्षण नेपालमा गरिएको उनको तर्क छ।
नेपालमा परीक्षण सुरू हुनुअगावै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बेलायतमा गरिएको परीक्षणको आधारमा यो खोपलाई स्वीकृति दिइसकेको थियो।
बेलायतमा पहिले परीक्षण गरिसकिएको, परीक्षणको नतिजा द ल्यान्सेट जर्नलमा प्रकाशित भएको, विश्व स्वास्थ्य संगठनले स्वीकृति गरिसकेको र अक्सफोर्डजस्तो सम्मानित विश्वविद्यालय संलग्न भएकाले आफू यो परीक्षणमा सहभागी भएको बस्नेतले बताए।
नेपालीलाई ‘गिनीपिग’ नबनाइएको दाबी गर्दै उनले भारतको हैदरावादस्थित भारत बायोटेक इन्टरनेशनल कम्पनीले बनाएको यो खोप पाकिस्तानमा पनि प्रयोग हुने उनले जानकारी दिए।
‘प्रभावकारी नभएको भए भारतमा बनाइएको खोप पाकिस्तानले प्रयोग गर्दैनथ्यो,’ उनले भने।
पाकिस्तानमा एन्टिबायोटिक प्रतिरोधी टाइफाइडको प्रकोप धेरै भएपछि उसले यो खोप प्रयोगमा ल्याइसकेको छ।
‘यो खोप बच्चामा प्रयोग भए उनीहरूलाई टाइफाइड लाग्दै नलाग्ने भएकोले एन्टिबायोटिक प्रतिरोधी टाइफाइडसँग लड्न पनि अझै सजिलो हुन्छ,’ बस्नेतले भने।
ललितपुरमा गरिएको परीक्षणमा दश हजार पाँच जना बालबालिकालाई यो खोप दिइएको थियो।
अर्को दश हजार १४ जनामा मेनिन्जोकोकल रोगविरूद्ध खोप दिएर ‘कन्ट्रोल ग्रुप’ बनाइएको थियो।
न्यु इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा बुधबार प्रकाशित यो परीक्षणको प्रारम्भिक विश्लेषणमा नौ महिनादेखि १६ वर्षसम्मका स्वस्थ बालबालिकालाई सहभागी गरिएको उल्लेख छ।
अभिभावकलाई पहिलानै सबै जानकारी दिएर उनीहरूबाट लिखित अनुमति लिएपछि परीक्षणमा सहभागी गरिएको बस्नेतले बताए।
यो परीक्षण ‘र्यान्डमाइज्ड कन्ट्रोल ट्रायल’ अन्तर्गत गरिएको र बालबालिका तथा तिनका अभिभावकलाई आफ्नो बच्चालाई कुन खोप दिएको भन्ने जानकारी नदिइएको बस्नेतले बताए।
प्रारम्भिक विश्लेषणले ८१.६ प्रतिशत सहभागीलाई यो खोपले टाइफाइडबाट जोगाएको देखिएको छ।
‘भ्याक्सिन लगाएको २८ दिनपछि यसले सहभागीमा उल्लेख्य मात्रामा एन्टिबडी उत्पादन गरेर प्रतिरक्षा गरेको देखिएको छ,’ बस्नेतले भने।
‘एक पटक यो खोप लगाउनु सुरक्षित, इम्युनोजेनिक (रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय पार्ने) र प्रभावकारी छ भनेर देखाउने यो पहिलो अध्ययन हो। यो खोपले गम्भीर प्रकारका रोग नियन्त्रण गर्न सक्छ भन्ने स्पष्ट प्रमाण दिएको छ। साथै खोप कार्यान्वयन गर्ने डब्लुएचओको नीतिलाई पनि बलियो समर्थन दिएको छ,’ न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रमुख अनुसन्धानकर्ता डाक्टर पोलार्डले भनेका छन्।
यो खोप दिइएको पहिलो सात दिनमा पाँच प्रतिशत बच्चाहरूलाई सामान्य ज्वरो आएको र १.४ प्रतिशतलाई बान्ता र झाडापखाला भएको थियो। एक जना बच्चालाई स्ट्याफाइलो कोकल संक्रमण भएर सात महिनामा मृत्यु भए पनि सो खोपसँग सम्बन्धित नभएको जर्नलमा उल्लेख गरिएको छ।
डाक्टर बस्नेतले वयस्कहरूमा पहिला नै एन्टीबडी विकास भइसकेको हुन सक्ने भएकाले प्रतिरोध प्रणाली बलियो नभएका बालबालिका टाइफाइडको सिकार हुने सम्भावना बढी भएको औल्याए।
‘मुख्यगरी यो खोप बच्चाहरूका लागि हो तर यसले हामीजस्ता वयस्कहरूलाई पनि टाइफाइडबाट जोगाउन सक्छ,’ उनले भने।
साल्मोनेला टाइफी ब्याक्टेरियाका कारण हुने टाइफाइड निम्न तथा मध्यम आय भएका देशका बच्चाहरूमा धेरै देखिन्छ। यो प्रदुषित पानी र खानाबाट सर्ने गर्छ।
डब्लुएचओका अनुसार हरेक वर्ष संसारभरि १ करोड १० लाख मानिसलाई यो रोग लाग्छ र तीमध्ये १ लाख १६ हजारको ज्यानै जाने गरेको छ।
टाइफाइडका लागि अहिले पनि दुई वटा खोपहरू छन्। तीमध्ये एउटा क्याप्सुल छ वर्षमाथिका बच्चाहरूलाई मात्र दिन मिल्छ किनकी निकै ठूलो हुने भएकाले साना बच्चाहरूले यो क्याप्सुल निल्न सक्दैनन्। समाचार संस्था रोयटर्सका अनुसार अर्को खोप सुईमार्फत् लगाउने गरिन्छ तर यसले दुई वर्षमूनिका बच्चामा काम गर्दैन।
यो खोप नौ महिनादेखिका बच्चाहरूलाई दिइएको छ र यो सबैखाले बच्चाहरूलाई लगाउन सकिन्छ। यसले लामो समयसम्म उनीहरूलाई टाइफाइडबाट जोगाउने अपेक्षा गरिएको छ।
डाक्टर बस्नेतले अध्ययनमा सहभागी भएकाहरूमा मध्यम र दीर्घकालीन प्रभावको तथ्यांक विश्लेषण गर्न अझै पनि उनीहरूमाथि नियमित निगरानी भइरहेको बताए।