सम्पादकीय नोटः साहित्यकार मदनमणि दीक्षितको आज बिहान ९६ वर्षको उमेरमा देहान्त भएको छ। जीवनको अन्तिम समयसम्म पनि उनी लेखनमा सक्रिय थिए। सेतोपाटीले तीन वर्ष अगाडि दीक्षितको सक्रिय जीवन बारेमा स्टोरी गरेको थियो। ९३ वर्षको उमेरमा पनि उनी सहयोगीको साथ लिएर किताब लेखिरहेका थिए। त्यतिखेर उनले हामीलाई भनेका थिए- लेख्दालेख्दै मर्न पाउँ।
दीक्षितप्रति श्रद्धासुमन स्वरूप सो स्टोरी पुनः प्रकाशित गरेका छौं।
मदनमणि दीक्षितले केही वर्षअघि आफ्नो ३६ औं पुस्तक जीवन दर्शनको भूमिकामा लेखेका थिए– ‘यो मेरो जीवनको अन्तिम पुस्तक हुनेछ। अब म लेखनबाट सन्यास लिन्छु।’
यसपछि उनका अरू दुई पुस्तक प्रकाशित भइसके– अनन्त चैतन्य र जयपराजय। अहिले पनि दिनहुँ आफ्ना सहयोगी हिमाल जिसीलाई लेखाइरहेकै छन्। उनी ‘आमा’ शीर्षकमा एउटा पुस्तक तयार पारिरहेका छन्। ऋगवेदका दुई सुक्तको अनुवाद र व्याख्या पनि लेखाइरहेका छन्।
दीक्षितलाई त्यतिबेला ‘अब म लेख्न सक्दिनँ’ भन्ने लागेको रहेछ। त्यो भूमिका हेरेर सल्लाह दिन उनले युवा लेखक अशोक सिलवाललाई आग्रह गरे। अशोकलाई लाग्यो, दीक्षितको जीवनमा लेख्नु र पढ्नुबाहेक अर्को कामै छैन, लेख्न छोडे भने उनलाई दिन गुजार्न पनि गाह्रो हुने छ। उनले त्यो प्रसंग हटाउने सल्लाह दिए।
अशोकले दिएको सल्लाह मनासिव लागेछ, दीक्षितले पनि नलेख्ने घोषणा गरेनन्।
९३ वर्षीय दीक्षितका लागि पढ्नु, लेख्नु भनेको सास फेर्नुजस्तै हो, अनवरत, स्वतस्फूर्त।
दीक्षितको दाबी छ– नेपाली भाषामा सबैभन्दा धेरै अक्षर छापिने लेखक उनी नै हुन्। उनी अनुमान गर्छन्, ‘मेरा अढाई करोड शब्द प्रकाशित भए।’ ३८ किताब, चार दशकसम्म ‘समीक्षा’मा समाचार, सम्पादकीय, विचार, स्तम्भ आदि र ‘समीक्षा’ बन्द भएपछि प्रायः ठूला पत्रिकामा पाठक प्रतिक्रियादेखि विचारसम्म। उनी साहित्य, संगीत, कला, राजनीति, दर्शन, विज्ञान, धर्म लगायत सबै विषयमा लेख्छन्। यी सबै जोड्दा उनको दाबी गलत लाग्दैन, सम्भवतः उनी नै सबैभन्दा धेरै ‘प्रिन्टेड’ अक्षर लेख्ने नेपाली हुन्। त्यसैले त कतिपयले उनलाई ‘अक्षर शिरोमणि’ पनि भन्न थालेका छन्।
लेख्नलाई त्यत्तिकै पढ्नु पनि पर्यो। दीक्षितले अहिलेसम्म कति पुस्तक पढे त? उनी आफैं यसको अनुमान लगाउन सक्दैनन्। कुनै पनि पुस्तकलयमा छिरेपछि कला, संस्कृति, साहित्य, राजनीति, इतिहास, दर्शन, भूगोलजस्ता विषयका किताब सकेसम्म छिचोल्ने उनको बानी थियो। उनले सयौं पुस्तकालयका हजारौं पुस्तक छिचोलेका छन्। वैदिक दर्शन त नेपाली, अङ्ग्रेजी, संस्कृत, हिन्दी लगायत भाषामा भेटेसम्मका सब पुस्तक पढिभ्याएका छन्।
म उनको लेखन कक्षमा छिर्दा उनको हातमा विष्णुप्रसाद शर्मा पराजुलीको ‘तिब्बत यात्रा’ नामक पुस्तक थियो। उनले भनेअनुसार नरेन्द्रराज प्रसाईंले लेखेको ‘भानुभक्त आचार्यको जीवनवृत्त’, आफैंले लेखेको ‘हिन्दु संस्कृतिको परिशिलन’ पनि पढिरहेका छन्। ‘दुर्गा सप्तशती’ पनि उनी पढिरहेका छन्। उनलाई आफूले पढेका अधिकांश किताब राम्रो लाग्छ।
किताबमा कुनै नयाँ शब्द भेटे उनी डिक्सनरी पल्टाइहाल्छन्, अर्थ अनुमान गरेर पढ्दैनन्। त्यो शब्दको अर्थ, जरा र इतिहास खोज्न थाल्छन्। उनले अध्ययन कक्षमा राखेका आफ्ना १० वटा डिक्सनरी देखाए। एउटा डिक्सनरी हेरेर चित्त बुझ्दैन उनलाई।
उनको व्यवस्थित पढाइ विसं १९९१ सालमा बनारस गएपछि सुरु भएको हो। यहाँबाट आजसम्म उनको पढाइको दौड चलिरहेकै छ। त्यसअघि काठमाडौंको गैह्रीधारास्थित घरमा बडाबा राममणि आचार्य दीक्षितको पुस्तकालयमा भएका पुस्तक उनले देखेका थिए। कलकत्तामा डाक्टरी पढिरहेका काका सिद्धीमणि दिक्षितका ठूल्ठूला किताब पनि उनले देखेका थिए। त्यतिबेलै उनको मनमा परेको थियो, ठूलो मान्छे हुन किताब पढ्नु पर्छ।
उनलाई डाक्टर बन्ने इच्छा थियो, तर मेडिकल डाक्टर र पिएचडी डाक्टर हुन्छ भन्ने उनलाई थाहा थिएन। बिए पढ्न बनारस विश्वविद्यालय गएपछि मात्रै उनले यी दुई डाक्टरबीच भेद थाहा पाए। बनारस विश्वविद्यालयबाट एमए गरे। उनी एमए गर्ने २३ औं नेपाली हुन्। पिएचडी गरेर डाक्टर हुने उनको सपना भने अधुरै रहयो। पिएचडी छाडेर वीरगन्जको त्रिजुद्ध हाइस्कुलमा जागिर खान उनी बाध्य भए।
उनले बनारसको क्विन्स कलेजको पुस्तकालमा भएका २५ सय, बनारस विश्वविद्यालयमा भएका ४५ हजार किताबका बीचमा बसेर हजारौं पुस्तकको ज्ञान आफूमा समाहित गरे।
उनको दैनिकीमा पढ्ने र सुत्ने समयबीच भेद नै थिएन। प्रायः पढ्दापढ्दै निदाउँथे। श्रीमती रीता दीक्षित ब्युँझिएपछि उनको छातीबाट पुस्तक हटाइदिन्थिन्। पढाइको यो गति उनले कहिल्यै कम गरेका छैनन्। ९३ वर्षको उमेरमा पनि उनी सातामा ३–४ वटा पुस्तक पढिरहेका छन्।
उनको आँखा अलि कमजोर छ। टाढाको दृश्य ठम्याउन मुस्किल पर्छ। कुरा गर्दा चस्मा लगाउँछन्। पढ्दा भने चस्मा खोल्छन् र पुस्तक उचालेर आँखको छेवैमा पु¥याउँछन्। अनि थर्थराइरहने हातले पुस्तक समातेर घन्टौं पढिरहन्छन्।
परिवारका सदस्य बिरामी हुँदा पनि आफ्नो लेखनकक्षमा पढेर वा लेखाएर बसिरहेका हुन्छन्। श्रीमती बिरामी भएर अस्पताल भर्ना हुँदा उनी हामीसँग माधवी उपन्यासबारे कुरा गरिरहेका थिए। आफैं बिरामी भएर अस्पतालको बेडमा हुँदा पनि लेखाइरहेका हुन्छन्।
त्यो लेखनकक्ष, केही हजार किताब र अक्षर नै उनको संसार हो।
...
किताब मात्र होइन, पत्रपत्रिका पनि उनी उत्तिकै पढिरहेका हुन्छन्। प्रत्येक दिन उनको पढाइ पत्रिकाबाट सुरु हुन्छ। पत्रिकामा उनी समाचार मात्र पढ्दैनन्, सेटिङ पनि पढ्छन्। हेडलाइन यस्तो राख्नुपर्ने यस्तो राखेको रहेछ, यो समाचार यति कोलमको बनाएको भए हुने, जस्ता कुरा उनको दिमागमा फुत्त आइहाल्छ। शब्दको प्रयोग अलिकति मात्रै अमिल्दो भएको पनि ठम्याइहाल्छन्।
‘नेपाली समाजको सय वर्ष’ नामक पुस्तक लेख्न दीक्षितसँग निरन्तर कुराकानी गरिरहेका लेखक सिलवाल भन्छन्, ‘यो उमेरमा पनि उनी राष्ट्रिय–अन्तराष्ट्रिय राजनीति, साहित्य, कला, संगीत, दर्शन, विज्ञान सबै विषयमा अपडेट भइरहेका छन्।’
यी विषयमा जानकारी मात्र राख्दैनन्, आफ्नो धारणा पनि बनाइहाल्छन्। पत्रपत्रिकामा पाठक प्रतिक्रिया होस् वा लेख, उनी लेखाइहाल्छन्, पठाहाल्छन्। पहिलेजस्तो आजकल उनका सबै लेख छापिँदैनन्। छापिँदा खुसी हुन्छन्, तर नछापिँदा निराश हुँदैनन्।
उनको लेखाइ हेर्दा लाग्छ उनी नै सबै कुराको केन्द्रमा छन्। सरकारको निर्णय चित्त बुझेन भन्नुपर्यो भने ‘सरकारको यो निर्णय म खारेज गर्दछु’ भन्छन्। मन पर्यो भने ‘अनुमोदन गर्दछु’ भन्छन्। आफ्ना कुरा भन्दा ‘घोषणा गर्दछु’ भनेर लेख्छन्। समीक्षामा लामो समय सम्पादकीय लेखेकाले पनि उनको शैली यस्तो भएको हुनसक्छ।
यही सक्रियताले हो, दीक्षित कहिल्यै बूढो भएनन्, ज्ञान र सूचनामा उनी अग्रपंक्तिमा उभिएका युवा हुन्।
दीक्षितलाई सक्रिय तुल्याइराख्ने अर्को स्वभाव हो, नयाँ पुस्तासँगको अन्तरसंवाद। उनी कुनै न कुनै रुपमा नयाँ पुस्तासँग संवाद गरिरहन रुचाउँछन्। हरेक विषयमा उनीहरुका धारणा बुझ्छन्। आफ्ना लेख रचनामा सुझाव माग्छन्।
उनी सधैं आफू युवा भएर संसारलाई हेरिरहन रुचाउँछन्।
...
उनी कान निकै कम सुन्छन्। आँखा कमजोर छ तर उनको स्मृति अत्यन्तै तेज छ। विगतका कुनै घटना वर्णन गर्नुप¥यो भने साल, महिना, गते, बार, समयसहित कुरा गर्छन्।
म माधवीबारे कुरा गर्न पुग्दा उनले यसरी सुरु गरेका थिए, ‘सम्बत् २०३४ मंसिर मसान्तका दिन दिउँसो साढे चारतिर मैले एउटा निर्णय लिएँ, आत्मदाहको।’ भोलिपल्ट पुस १ गते नारायणहिटी दरबारको दक्षिण ढोकामा आत्मदाह गर्ने सोच बनाएका थिए, तर त्यो सोच बदले र माधवी लेख्न थाले। उनले भने, ‘यसरी सम्बत् २०३४ पुस १ गते दिउँसो २ बजे मैले माधवी लेख्न सुरु गरेँ र सुरुका दिनमा १८–२० पृष्ठ लेखेँ।’
बाल्यकालका कुराको सम्झना उनलाई एकदमै धेरै छ। उनी त्यतिबेलाका घटना विस्तृतमा सम्झन र सुनाउन सक्छन्। हालसालका घटना भने कम सम्झिन्छन्। पुरानो चिनजानको मानिस बिर्सँदैनन् तर आजभोलि नै चिनजान भएका मानिस बिर्सन पनि सक्छन्।
एकपटक एकजना नेता उनलाई भेट्न पुगेका थिए। उनले चिनेनन्। ती नेताले चिनाए पनि, तर दीक्षितले सुनेनन्। एक घन्टाजति राजनीति र साहित्यबारे भलाकुसारी गरेपछि उनी फर्किए। अनि दीक्षितले सोधे, ‘ती मान्छे को थिए?’
केही समयदेखि उनलाई केही विस्मृतिजस्तो पनि छ। उनी विक्रम संवत र इस्वी संवतमा झुक्किन थालेका छन्। एउटा व्यक्तिको बारेमा कुरा गर्दा अर्को व्यक्तिको नाम लिइरहेका हुन्छन्। स्मृति र विस्मृति तुलना गर्दा उनको स्मृति कयौं गुणा बलियो छ। उनी अहिले पनि माधवी उपन्यासका प्रत्येक पात्रले बोलेका संवाद जस्ताको तस्तै सुनाइदिन सक्छन्।
हुन त उनलाई सबैभन्दा धेरै मन पर्ने आफ्नो किताब ‘मेरी नीलिमा’ हो। माधवीसँगको उनको अफेयर भने निकै गाढा छ। सपनामा माधवी देख्न छाडेको १० वर्षजति मात्रै भयो। नभए रातभर उनी माधवीसँग संवाद गरिरहन्थे। कहिले श्रीमती रीताले व्युँझाउथिन् त कहिले त्यत्तिकै कुरा गरिरहन्थे।
सपना र तन्द्रामा पनि उनी अक्षरकै संसारमा हुन्छन्। ननिदाएको बेला लेख्ने अनेकन कुरा सोचिरहन्छन्।
...
दीक्षितको दैनिकी सुरु हुन्छ– बिहान पाँच बजे।
पाँच बजे नियमित उठ्छन्। शौचालय गइसकेपछि कोठामै १५ मिनेट यताउति हिँड्छन्। अनि छाती र हातको सामान्य व्यायाम गर्छन्।
छ बजे उनी आफ्नो लेखन कक्षमा छिर्छन्। पत्रपत्रिका पढ्न सुरु गर्छन्। तीनचार वटा पत्रिकाको वार्षिक ग्राहक छन्।
सात बजेतिर दूध, हर्लिक्स र बिस्कुट खान्छन्, ब्रेकफास्टका रुपमा। अलिकति सुप खान्छन्। त्यसपछि पुस्तक पढ्न थाल्छन्। १० बजेसम्म पुस्तक पढिरहन्छन्। कहिलेकाहीँ पढ्न मन नलागे चिन्तन गरेर बसिरहन्छन्।
१० देखि साढे १० को बीचमा खाना खान्छन्। उनका दाँत छैनन्। त्यसैले खानालाई ग्राइन्डरमा पिँधेर सुप बनाउनुपर्छ। बीचमा लामो समय उनले मासु खान छाडेका थिए। आजकल खानामा मासु भएको मन पराउँछन्।
खानापछि एक बजेसम्म सुत्छन्। यसपछि उनको लेख्ने क्रम सुरु हुन्छ। उनी आफैं कलम समाएर लेख्दैनन्। लेखिदिने सहयोगी राख्छन् र डिक्टेट गराउँछन्।
छोरा विनोद भन्छन्, ‘पिताजीले अहिलेसम्म लेखिरहन सक्नुको मुख्य कारण डिक्टेट गराउने भएकाले हो। आफैं लेख्ने भएको भए हात कामेर यो उमेरसम्म लेख्न सक्नुहुने थिएन। लेख्न निकै शक्ति पनि चाहिन्छ। डिक्टेट गराउने भएकाले उहाँलाई लेख्न सजिलो छ।’
हिमाल जिसी अहिले उनलाई लेख्न सहयोग गर्छन्।
लेखाउने क्रम दुईदेखि चार–पाँच घन्टासम्म चल्छ। कहिलेकाँही त बिहानको समयमा पनि लेखाउँछन्। लेखाउनु छैन भने पुस्तक पढ्छन्। भेटघाटको समय पनि यही हो उनको। यो बीचमा खाजाका रुपमा सुप खान्छन् एकपटक।
रातिको खानामा दूधमा भिजाएको सुख्खा रोटी र तरकारी हुन्छ।
कालिकास्थानस्थित घरमा उनी श्रीमति रीता दीक्षितसँगै बस्छन्। पहिले छोरा आमोदमणि दीक्षितको परिवार पनि यही घरमा थियो। आमोद भैंसेपाटीमा नयाँ घर बनाएर सरे। मदनमणि सर्न चाहेनन्। उनीहरु बाबुआमाको हेरचाहका लागि निरन्तर कालिकास्थान पुगिरहन्छन्। जेठा छोरा विनोदको घर पनि सँगै छ। बाबुआमाका खाना बुहारीहरु पालो गरीगरी बनाउँछन्। धेरै त विनोदकी श्रीमती विनिताले नै बनाउँछिन्।
दीक्षितलाई २०३१ सालमा उच्च रक्तचापले समात्यो। बेलाबेला उनलाई हृदयाघात भएको छ। १० वर्षजति अघि भएको हृदयाघातपछि उनको कानमा असर प¥यो। यसपछि शरीर पनि अलि शिथिल हुन थाल्यो। करिब ८४ वर्षसम्म त उनी पूरै हट्टाकट्टा थिए।
...
बाराकी गौतमकी छोरी रीतासँग दीक्षितको विवाह भएको ७८ वर्ष भयो।१९९५ सालमा विवाह हुँदा मदनमणि १६ वर्षका थिए, रीता १२ वर्षकी।
९० टेक्नै लागेकी रीता अहिलेसम्म तन्दुरुस्त छिन्। कान, आँखा सबै तगडा छ उनको। स्मृति त दीक्षितको भन्दा राम्रो। कुराकानीका क्रममा दीक्षितले भन्न छुटाएका स–साना कुरा सम्झाइरहन्छिन् उनी।
उनी भन्छिन्, ‘मैले उहाँको हेरविचारमा केही कमी हुन दिइनँ। साह्रै अप्ठ्यारो परेको बेला समेत टाइममा खाना खुवाएँ। औषधी उपचारमा ध्यान दिएँ।’ त्यसैले त दीक्षित यो समयसम्म सक्रियताका साथ काम गर्न सकिरहेका छन्।
‘तपाईंलाई उहाँको के कुरा सबैभन्दा मन पर्छ?’
दीक्षितपत्नीले हाँसेर जवाफ दिइन्, ‘मलाई त केही पनि मन पर्दैन बाबु!’
हुन पनि दीक्षितले घर व्यवहारमा उनलाई कहिल्यै साथ दिएनन्। आफू अक्षर र ज्ञानको दुनियाँमै रमाइरहे। पिताजीले सम्पत्तिबाट वञ्चित गरेकाले मदनमणिसँग दैनिक गुजाराका लागि चाहिने खर्चसमेत थिएन। खानदानी परिवारमा हुर्किएकी भए पनि रीताले गुनासो गरिनन्।
राणा परिवारको निगाह प्राप्त गरेको दीक्षित परिवारका भए पनि मदनमणिले गरिबीको सामना गर्नुपर्यो। ०१३ सालमा बनारसबाट काठमाडौं आउँदा उनीहरुको घर थिएन, भाडामा बसे। उधारो चिउरा मागेर पेट भर्नुपर्ने अवस्था थियो। तराईबाट माइतीले उनलाई ठूलो सहायता गरे। दाल–चामल माइतीले नै पठाइदिने हुनाले उनलाई निकै सहज भयो। माइतीबाट प्राप्त केही जग्गा बिक्रीसमेत गरेर उनले परिवार धानिन्।
दीक्षितले घरव्यवहारमा पत्नीलाई त्यति साथ दिन सकेनन्। उस्तो पैसा पनि कमाएनन्। पैसा कमाउन भनेरै कुनै काम पनि गरेनन्। कम्युनिस्ट पार्टीको मुखपत्रका लागि लेखेर उनले पत्रकारिता सुरु गरे। हालखबर पत्रिकामा जागिर खाए तर असाध्यै छोटो समय। त्यसपछि समीक्षा चलाउन थाले। पञ्चायतविरोधी समीक्षाले नाफा कमाउने सम्भावना नै थिएन। थुप्रै जग्गा बेचेर समीक्षा धाने। पञ्चहरुले विज्ञापन दिँदैनन् भन्ने धारणा बनाएर उनी सरकारी कार्यालयमा विज्ञापनका लागि कहिल्यै गएनन्। आफूले व्यवस्थापन हेर्न थालेपछि सरकारी कार्यालयबाट पनि प्रशस्तै विज्ञापन आएको उनका जेठाछोरा विनोद बताउँछन्। व्यावसायिक विज्ञापन त समीक्षाको जीवनकालमै १५–२० वटा भन्दा बढी छापिएन।
‘म मस्कोमा पढेर फर्किएपछि समीक्षा व्यवस्थित गर्न लागेँ। अनि मात्रै समीक्षाको घाटा कम भएको हो,’ विनोद भन्छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भएपछि मात्रै उनले मासिक र नियमित पैसा कमाउन थालेका हुन्। त्यसबेला उनले ६ हजार तलब पाउँथे। अहिले मासिक २५ हजार आउँछ।
साझाबाट किताबको लेखकस्व न्यूनतम रुपमा प्राप्त हुन्थ्यो। तर छोराछोरी हुर्काउने-पढाउने समयमा यी कुरा थिएनन्। रीता एक्लैले चार छोरा र एक छोरी हुर्काइन्÷पढाइन्।
विनोद भन्छन्, ‘हामी सबै दाजुभाइ राम्रो पढ्न सक्यौं र घरव्यवहारमा आमालाई अलि चाँडैदेखि सघाउन सक्यौं। तर पिताजीलाई यो कुरा केही थाहै भएन।’
मदनमणिका चार छोरामध्ये विनोद समीक्षादेखि नै पत्रकारितामा सक्रिय रहे। उनी लेखक पनि हुन्। प्रमोदमणि र आमोदमणि पनि आ–आफ्नो क्षेत्रमा सफल छन्। कमोदमणिले सफल जागिरे जीवन गुजारे। केही वर्षअघि उनको निधन भयो। छोरी इल्या भट्टराईले लेखकको रुपमा नाम कमाएकी छन्।
रीता भन्छिन्, ‘माइतीकै सहयोगमा छोराहरु पढाएँ। उनीहरुले राम्रो पढे र कमाउन पनि सके। राम्रो प्रगति गरे।’
दीक्षितलाई भने अक्षरको दुनियाँबाट बाहिर जानु नै थिएन। श्रीमतीले त्यो स्वतन्त्रता उनलाई दिइन्। त्यसैले उनले माधवीजस्तो ग्रन्थ लेख्न सके। वैदिक दर्शनजस्तो गहन विषयमा घोरिएर महत्वपूर्ण किताबहरु रचना गर्न सके।
दीक्षितले पत्नीतिर हेर्दै भने, ‘व्यवहारमा त उनी मभन्दा अब्बल छँदैछिन्, दर्शनका कतिपय विषयमा उनको बुझाइ मेरोभन्दा अब्बल छ।’
दाम्पत्य जीवनको खुसीले पनि दीक्षितलाई अहिलेसम्म सक्रिय रहन साथ दिएको छ।
...
‘मैले पिताजीबाट दुई कुरा सिकेँ– इमानदारी र अनुशासन,’ विनोद भन्छन्।
दीक्षित परिवारमा अनुशासनलाई एकदमै महत्वपूर्ण रुपमा लिइने। मदनमणि यस्तै वातावरणमा हुर्किए। अरुलाई अनुशासनमा राख्नु उनको स्वभाव बन्यो।
‘दीक्षित परिवारमा राणाजीकहाँजस्तो कडा अनुशासन। केही गल्ती गर्यो भने किन गरेको भनेर नसोध्ने, गाली गरिहाल्ने,’ रीता भन्छिन्।
अहिले पनि उनी कार्यक्रममा अतिथिका रुपमा गइरहन्छन्। कार्यक्रम नसकिउन्जेल सकेसम्म बस्ने उनको बानी छ। सकिनँ भनेर कार्यक्रमबाट फुत्त निस्किन रुचाउँदैनन् उनी।
घरमा उनलाई भेट्न आएका पाहुनासँग पनि उनी त्यो शिष्टाचार पूरा गर्छन्। शरीर थाकेको वा समस्या भएको भए पनि उनी पाहुनाहरुसँग कुरा गरेर बसिरहन्छन्।
आठ वर्षदेखि उनलाई लेख्न सहयोग गरिरहेका छन् हिमाल। उनी भन्छन्, ‘बुवा समयको एकदमै ख्याल गर्नुहुन्छ। पहिलेपहिले भनेको भन्दा ढिलो भयो भने रिसाए झैं गर्नुहुन्थ्यो। आजकल पनि ढिला भयो है भन्नुहुन्छ।’
कार्यक्रममा जानु छ भने एक घन्टाअगाडि नै तयार भइसक्छन्। दौरा–सुरुवाल र कोटमा सजिएर कोठाबाट बाहिर निस्किन्छन् र लिन आउनेलाई पर्खिरहन्छन्।
विनोद भन्छन्, ‘दुई–चार वर्ष पहिलेसम्म उहाँ आफैं बाहिर आएर पर्खिनु हुन्थ्यो। एक घन्टासम्म आफ्नै घरको गेट अगाडि उभिएपछि बल्ल उनलाई लिन आइपुग्थे। आजकल तयार भएर कोठामै बसिरहनु हुन्छ।’
यो उनको अनुशासन र उत्साह दुवै हो। पत्रकारिता गर्दैदेखि कार्यक्रममा एक घन्टा अगाडि जाने उनको बानी थियो। दूतावासमा हुने कार्यक्रममा १५ मिनेट अगाडि मात्रै ढोका खुल्थ्यो। उनी बाहिर सडकमा यताउता हिँडेर समय काट्थे।
छोटो समय वीरगन्जको त्रिजुद्ध हाइस्कुलको हेडमास्टर हुँदा उनले त्यहाँ पनि अनुशासन कायम गराउन निकै मेहेनत गरे। सबैलाई ढाका टोपी लगाएरै आउनुपर्ने नियम बसाएका थिए। त्यतिबेला उनी माडेर धोएको सेतो सफा दौरा सुरुवाल इस्त्री गरेर चटक्क पारेर लाएर हिँड्थे। त्यसैले उनलाई व्यंग्य गरेर ‘माडसाब’ भन्न थाले। पछि अरुले मास्टर साहेबबाट ‘माडसाब’ भएको भन्ने बुझे र सम्मानसाथ ‘माडसाब’ भन्न थाले।
आफ्नो आदर्श र अडानमा दृढ रहनु उनको अर्को स्वभाव हो। उनको अडानकै कारण बाबुले उनलाई सम्पत्तिबाट वञ्चित गरे तर उनी आफ्ना बाबुसँग पनि झुकेनन्। पछि बाबुले नै आफूबाट गल्ती भएको महशुस गरे।
तुलसी गिरीले मन्त्री बन्नसमेत आग्रह गरेका थिए उनलाई। शैलेन्द्रकुमार उपाध्यायले राजदुत बन्न प्रस्ताव राखेका थिए। उनले पञ्चायतले आफूलाई किन्न खोजेको रुपमा अथ्र्याए र अस्वीकार गरिरहे। उपाध्यायले एकपटक चितवनमा सात बिघा जमिन दिलाउन खोजेका थिए। त्यो पनि उनले अस्वीकार गरे।
बाबुले नरुचाए पनि उनी कम्युनिस्ट पार्टीमा लागे। चित्त नबुझेपछि २०४१ सालमा पार्टी छाडे। पछि अर्को कुनै पार्टीमा लागेनन्। उनी कम्युनिस्ट भएको उनका पिता लक्ष्मणमणि आदीलाई पटक्कै मन परेको थिएन। तर आफ्नो निर्णय ठीक भएकाले पिताको दबाबसमेत उनले टेरेनन्।
आफ्नै जीवनबारे उनी भन्छन्, ‘मैले कहिल्यै सम्पत्तिको लोभ गरिनँ। मलाई इष्र्या र द्वेष भएन। मैले आफ्नो प्रतिज्ञा कहिल्यै भंग गरिनँ।’
प्रज्ञा प्रतिष्ठानको उपकुलपतिका रुपमा काम गर्दा भने आफू असफल भएको उनको भनाइ छ, ‘त्यहाँ आर्थिक अराजकता थियो। विधि र प्रक्रिया बाहिर गएर खर्च हुन्थ्यो। मैले त्यसलाई रोकेर अनुशासन कायम गराउन खोजेँ तर सकिनँ।’ यसबाहेक अन्यत्र आफू असफल भएजस्तो उनलाई लाग्दैन।
लेखनमा पनि उनी अत्यन्तै इमानदारीसाथ लेख्नुपर्छ भन्ने धारणा राख्छन्। आफ्नै परिवारका कमजोरी पनि उनी कत्ति नलुकाई लेख्छन्। आफ्ना कमजोरीबारे लेख्न पनि उनलाई केहीले छेक्दैन।
‘आनन्दमय जीवन’मा संकलित ‘मेरो अन्तिम इच्छा’ शीर्षकको लेखमा उनी लेख्छन्, ‘काठमाडौंमा ‘स्टुडियो भेनस’ चलाउँदा एउटी केटीप्रति ममा गम्भीर प्रेम बढ्न गएको थियो, तर तिनैसित क्षमाप्रार्थी भएर म अलग भएँ र पत्नीलाई बताउन पुगेँ। नेकपामा प्रवेश गरेपछि पिताजीसित विवाद बढ्दै गयो। उहाँका आफ्ना कारणहरु थिए। मैले ‘पारिवारिक दोष’ ठानेर आफूलाई संयमित गर्नुपथ्र्यो तर गरिनँ। ममा पनि चरित्रदोष बढ्न थाल्यो, राजनीतिका नाममा परिवारलाई प्रबल आर्थिक विपन्नतामा पारेँ। यसको बोझ ससुरालीमाथि पर्न गयो। त्यस्तो हुँदाहुँदै डेरामा बसेकी एउटी विधवीको बलात्कारमा पर्न गएँ। बाह्र जनाको परिवारमा रहेकी मेरी रोगी माताजीको हेरविचार गर्नुको सट्टा अन्तिम अवस्थामा उहाँको औषधीलाई रोक्न पुगेँ।’(पृ२५४)
‘उमेर बढ्दै गएपछि आफूले पहिले गरेका कतिपय कुरा गलत लाग्दो रहेछ,’ उनले भने।
अहिलेसम्म ३८ किताब लेखे पनि माधवीलाई उनी आफ्नो जीवनको ठूलो प्राप्ति ठान्छन्। नेपालीमा मात्र होइन, हिन्दी, बंगाली र मराठीजस्ता नेपालीभन्दा समृद्ध इतिहास र आयाम भएका भाषामा पनि यत्तिको स्तरीय उपन्यास नछापिएको उनको दाबी छ।
जीवनका यी सबै आयाम, नाफा घाटा हिसाब गरेपछि उनको अनुहारमा देखिन भावले संकेत गर्छ– उनी आफूले बिताएको जीवनसँग सन्तुष्ट छन्।
...
मृत्युसँग उनलाई डर छैन। कुनै पनि बेला जीवनको यो सिलसिला टुट्न सक्छ भन्ने उनलाई थाहा छ। तर, मृत्युबारे उनको कुनै विशिष्ट दर्शन छैन। मृत्युबारे कुरा गर्न वा लेख्न रुचाउँदैनन् उनी।
८७ वर्ष हुँदा उनले ९२ वर्षको उमेरमा आफ्नो मृत्यु हुनसक्ने अनुमान गरेका थिए। ‘आनन्दमय जीवन’मा उनले यो कुरा उल्लेख गरेका छन् (पृ.२५२)। अब उनी समय अनुमान गर्न चाहँदैनन्। तर जुनसुकै बेला मृत्युसँग साक्षात्कार गर्न उनी तयार छन्।
मृत्युअघि यति काम गर्नैपर्छ भन्ने दबाबमा पनि उनी छैनन्। उनको चाहना यति नै हो– लेख्दालेख्दै मर्न पाउँ।