सत्यमोहन जोशीको आत्मकथा
ललितकला क्षेत्रमा योगदान दिने हिसाबले २०१९ सालमै नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) स्थापना भएको हो। संस्थापक कीर्तिनिधि विष्टले नै लामो समय नेतृत्व गरेको यो संस्था उनीपछि पछिल्लो समय मेरो नेतृत्वमा चल्दै आइरहेको छ।
विष्ट राजनीतिक व्यक्ति थिए थाहै छ। राजनीतिक जिम्मेवारीबाहेक कला क्षेत्रमा पनि केही योगदान दिन सकिन्छ कि भनेरै उनले यसतर्फ रूचि बढाएका थिए।
उनी कलाकार थिएनन्, कलाका राम्रा पारखी भने थिए।
मलाई सबभन्दा प्रभाव पारेको दृश्य उनको घरको बगैंचा थियो। त्यहाँ उनले आफ्ना पुर्खाहरूको सुन्दर मूर्ति बनाउन लगाएर अत्यन्त व्यवस्थित ढंगले लश्करै राखेका थिए। त्यसैबाट प्रभावित भएर मेरा आमाबुबाको मूर्ति मेरो घरमा राखेको हुँ।
जति बेला कला परिषद जन्मिएको थियो, त्यति बेला यहाँका कलाकारलाई अन्तर्राष्ट्रिय जगतमा विशेषगरी 'पेन्टिङ' क्षेत्रमा के भइरहेको छ भन्ने जानकारी समेत थिएन। अहिले पो संसार एकअर्कासँग सजिलै नजिकिन पाएको छ। उति बेला त कलाकार भनेकै परम्परागत किसिमले आफ्नै हिसाबले पौभा चित्रमा लागिरहेकाहरूको जमात थियो।
हामी कलाकारिताको मामिलामा पछाडि पर्नुपर्ने कुनै कारण थिएन। नवौं-दसौं शताब्दीतिर हाम्रा कलाकारले 'अष्टसाहस्रिका प्रज्ञापारमिता'का चित्र बनाएका थिए। त्यति बेला युरोपको कलाकारिता भर्खर बामे सर्न लागेको थियो।
तर, समयको फेरोले उनीहरूलाई कहाँ लगिदियो, हामी पछाडि छुट्यौं। नभए, नेपाल मात्र यस्तो देश होला जहाँ चित्रकार भन्ने थरै छ। उनीहरूले जन्मजात विरासतमा यो कामको सीप पाएका हुन्छन्।
यसरी परम्परागत सीपका हिसाबले कलाकारिता अघि बढाउँदै आएका चित्रकारहरूले बाँकी विश्वले जस्तो फड्को मार्न सकेका थिएनन्। तत्कालीन विश्व परिवेशबाटै पनि उनीहरू अलग थिए।
मोनालिसा भनेको के हो? त्यो कहाँ छ? फ्रान्सको लुभ्र संग्रहालय वा अन्यत्र के कस्ता महत्वपूर्ण कलाकृति छन्, केही थाहा थिएन। 'इम्प्रेसनिस्ट' र 'पोस्ट इम्प्रेसनिस्ट' के हुन् भन्ने त जानकारीमै थिएन। अमूर्त र अतियथार्थवाद (सररियलिजम) को अत्तोपत्तो हुने कुरै भएन।
सबभन्दा पहिले ती जानकारी मिल्ने वातावरण बनाउनु जरूरी थियो। यही अवस्थामा नेपाल कला परिषदको जन्म भएको हो।
काम सुरू गर्न भनेर मृगेन्द्रशम्शेरले आफ्नो तर्फबाट एक लाख रुपैयाँको थैली नै दिएका थिए। त्यति बेलाको एक लाख रुपैयाँ भनेको ठूलो पैसा थियो।
परिषदको पहिलो कार्यसमितिमै मलाई संस्थापक सदस्यका रुपमा राखियो। तत्कालीन शिक्षा सचिव श्यामकृष्ण भट्टराई, परराष्ट्रका यदुनाथ खनाल, क्षयरोग विशेषज्ञ डाक्टर जयनारायण गिरी, पुरातत्व विभागका निर्देशक रमेशजंग थापा पनि त्यसमा थिए।
विष्टकै अध्यक्षतामा राजा महेन्द्रले भर्खर युरोपबाट बोलाएका कलाकार लैनसिंह बांग्देल सचिव थिए। मृगेन्द्रशम्शेरलाई कोषाध्यक्ष राखियो। पछि पद्यशम्शेरकी छोरी पनि जोडिएकी थिइन्।
मृगेन्द्रशम्शेरहरूको बबरमहललाई त्यतिन्जेल राणाजीहरूले छाडिसकेका थिए। त्यो तमाम सम्पत्ति राष्ट्रियकरण भइसकेको थियो। त्यसकै एउटा भवनको भुइँतलामा दुइटा कोठा लिएर सानो कार्यालयसहित परिषद चलाइयो।
परिषद स्थापना भएपछि दूतावासहरूको पार्टीमा जाने सबैले यसबारे जानकारी बाँड्ने काम गर्यौं। सबै विदेशीहरूले सहयोगको आश्वासन दिए। हामीले काठमाडौंमै रहेका दूतावासहरूबाट कलाकृति माग्यौं।
रुसी र पूर्वी जर्मनीले सुरूमै राम्रा कृतिको प्रतिलिपि दिए।
त्यसपछि फ्रान्स, जर्मनी, बेलायत, इटाली र अमेरिकाजस्ता मित्रराष्ट्रहरूबाट पनि प्रतिलिपि चित्र मगाउन थालियो। यसरी ३० भन्दा बढी मुलुकबाट उल्लेख्य संख्यामा चित्र जम्मा भए।
राणाजीको बैठकजस्तो त्यो कोठामा चित्र थन्क्याउन मिले पनि प्रदर्शनी गर्न सकिन्थेन। प्रदर्शनी गर्ने व्यवस्थित ठाउँ पनि काठमाडौंमा कतै थिएन। भएको भनेको उही डिल्लीबजारको सरस्वती सदन।
त्यही सरस्वती सदनमा २०२४ सालमा हामीले पहिलोपटक चित्रकला प्रदर्शनी गरेका थियौं। प्रदर्शनीका निम्ति परिषदसँग भएका प्रतिलिपि चित्रको 'क्याटलग' नै तयार पारिएको थियो। राजा महेन्द्रबाट प्रदर्शनी उद्घाटन गराइयो। काउन्सिलको संरक्षक बन्न पनि राजा तयार भए।
त्यही अवसर छोपेर अध्यक्ष कीर्तिनिधि विष्टले 'एउटा व्यवस्थित ग्यालरी बनाउन पाए हुन्थ्यो' भनेर राजालाई अनुरोध गरेपछि अहिले काउन्सिल भवन रहेको जग्गा प्राप्त भयो।
आर्ट काउन्सिल खडा भइसकेपछि त्यसमा विदेशीका कलाकृति ल्याउने मात्र नभई हाम्रा कलाकारको काम पनि बाहिरको संसारमा लैजाऔं भन्ने कुरा भयो। हामीले नेपाली कलाकारका कृति पनि संग्रह गर्यौं। ती कृतिलाई पनि उसैगरी विदेशका कला पारखीसम्म पहुँच गराउने काम थाल्यौं।
सरकारबाट काउन्सिलका लागि जग्गा प्राप्त भए पनि भवन बनाउन पैसा अभाव थियो। केही समय कुर्नुपर्यो। २०२८ सालमा भने संस्थालाई सरकारका तर्फबाट एक लाख रुपैयाँ अनुदान प्राप्त भयो। त्यसैगरी व्यापारिक समुदायलाई पनि आह्वान गर्यौं।
२०३४ सालमा बालकृष्ण समको हातबाट काउन्सिल भवन शिलान्यास गराइयो। त्यसपछि पनि आर्थिक समस्याले गर्दा भनेको समयमा काम अघि बढ्न सकेन। थुपारेर राखेको सिमेन्ट पनि सबै ढुंगामा परिणत भएर काउन्सिललाई नोक्सानी पर्यो।
विष्ट प्रधानमन्त्री भएकै बेला भारतीय दूतावासका तर्फबाट भवन निर्माणका निम्ति केही सहयोग भएको थियो। यसरी सहयोग जुटाउँदै अन्ततोगत्वा भवन उभ्याउन सफल भयौं।
भवन विशेषगरी प्रदर्शनी गर्न मिल्ने 'ग्यालरी'कै रुपमा डिजाइन गरियो। पूर्ण बनिसक्न २०४७ सालसम्म पर्खनु पर्यो। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईबाट भवन उद्घाटन गराइएको थियो।
भवन बनिसकेपछि गज्जब देखियो। पछाडि पश्चिमतिर डाँडा जस्तो थियो। रुखैरुख भएकाले हरियाली पनि। अर्कोतिर व्यस्त सडक।
काउन्सिलसँग जोडिएका धेरै तितामिठा सम्झना छन्। एकपटक एक जना 'क्लर्क'को भर पर्दा बांग्देलजी निकै अप्ठ्यारोमा परेका थिए। क्लर्कले के बहानामा हो, बांग्देलजीलाई खाली कागजमा सही गर्न लगाएछन्। बांग्देलजीले पनि हुन्छ भन्दै सही घस्काइदिइ हाले।
क्लर्कले खाली कागजको सहीलाई आधार बनाएर काउन्सिलको चालिस हजार रुपैयाँ निकालिदिए। त्यो पैसाकै कारण बांग्देलजीले मुद्दै खेप्नु परेको थियो। क्लर्क काउन्सिलको कामबाहेक उसको भिनाजुसँग मिलेर चितवनबाट तोरी ल्याएर बेच्ने काम गर्दो रहेछ। घाटामा डुबेपछि यस्तो बदमासी गरेको थियो।
मुद्दा परेपछि बांग्देलजीसँगै म पनि अञ्चलाधीश कार्यालय धाएको थिएँ। अञ्चलाधीशले 'यो सही तपाईंको हो कि होइन?' भनेर सोधे। बांग्देलजीले भएको कुरा कसरी हैन भन्ने?
'हो' भने।
त्यो बेला पनि विष्टजी अध्यक्ष थिए। तर, उनले यस्तो कुरामा भूमिका खेल्ने कुरै भएन। मुख्य कुरो बांग्देलजी यस्तो बदमासी गर्ने मान्छे नै थिएनन्। त्यसैले कुरा मिलिहाल्यो।
विष्टजी मन्त्री हुँदा पनि, नहुँदा पनि नियमितजसो काउन्सिल आइरहन्थे। साथमा बसेर चियापान गर्दै हामी गफिन्थ्यौं। कहिलेकाँही काउन्सिलमा नभएर यस्तो भेटघाट बांग्देलजी वा मृगेन्द्रशम्शेरका छोरा सागरशम्शेर कहाँ पनि हुन्थ्यो। कतिपय बेला बांग्देलजीको श्रीमतीकै हातबाट चियाचमेना बन्थे। उहाँकी श्रीमती दार्जिलिङको मान्छे, सफा र मिठो पकाउन जान्ने। हामी मिठा पकवान चाख्दै लामो समय विभिन्न विषय लिएर गफिन्थ्यौं।
यस्ता भेटघाटमा राजनीतिक कुरा कहिल्यै हुन्थेन। विष्टजी साह्रै रसिक मान्छे। दुई 'पेग' लगाएपछि अझ रमाइलो। हामीबीच सामाजिक कुरा हुन्थे। कहिलेकाहीँ दरबारका कुरा चल्थे। तर, अब न राजतन्त्र रह्यो न कीर्तिबाबु। त्यसैले ती कुरा गर्न मलाई मन छैन।
विष्टजीसँग अधिकांश भेट त्यही आर्ट काउन्सिलमै हुन्थ्यो। उहाँ मन्त्री भएका बेला भेट गर्न जाने स्वभावको म थिइनँ। घरमा पनि आक्कल झुक्कल एक-दुईपटक मात्र गएको सम्झना छ।
कीर्तिबाबु जे भए पनि हाँसिरहने। असाध्यै मुडी पनि। आफूलाई मनपरेको कुरा छ भने सडकमै पनि आइदिने।
एकपटक रानीपोखरीभित्रै प्रहरी कार्यालय राख्न लागेकोमा विरोध कार्यक्रम चलिरहेको थियो। निम्तो पाएर म पनि गएको थिएँ। त्यस्तो सडकको कार्यक्रममा चिताउँदै नचिताएको कीर्तिबाबुलाई पनि देखेँ। बारम्बार प्रधानमन्त्री भइसकेको मान्छे कुनै संस्थाले निकालेको जुलुसमा बोलाएकै भरमा आएका रहेछन्। उचित काम जेसुकै होस् र जोसुकैले गरेको होस्– बोलाएको छ भने आइहाल्ने।
मलाई मनपर्ने मान्छे हुन्, कीर्तिबाबु।
प्रधानमन्त्री हुँदा पनि दैनिक गोबर सोहोर्ने आफ्नो नियमित बानी उनले त्यागेका थिएनन्।
अर्को महत्वपूर्ण कुरा पनि छ।
राजा त्रिभूवनका पालामा संसदनै भारतीयहरूले चलाउँथे भन्ने धेरैलाई थाहा छ। हाम्रो शासनसत्तामा त्यस्तो छिमेकीको प्रभुत्व पछिसम्मै थियो।
विष्टजी प्रधानमन्त्री भएकै बेलासम्म पनि यहाँ भारतीयहरूको 'मिलिट्री मिशन'को जगजगी थियो।
त्यो बेला भारतीय सैनिकको यति चल्ती थियो, ललितपुर र काठमाडौं दरबारका 'मिशन'हरूबीच लगातार गाडीको ओहोरदोहोर चलिरहेकै हुन्थ्यो। हामी हरेकपटक काठमाडौंबाट यता आउँदा मिशनको एउटा न एउटा गाडी नदेखेको दिन हुन्थेन।
सारा मिलिट्री मिशनका भारतीयहरू कस्सिएर ती मोटरमा यताउता गरिरहन्थे। दबदबा उनीहरूकै थियो। उता तिब्बतसँगको सीमानामा पनि जम्मै चेकपोष्ट उनीहरूकै थियो। यस्तो प्रभावशाली मिशनलाई उठाउन धेरै गाह्रो थियो।
जब कीर्तिनिधि विष्ट प्रधानमन्त्री भए उनले यो सारा दृश्य कायापलट गरिदिए। त्यस्तो परिस्थिति चलिरहेको बेला भारतीय मिलिट्री मिशनका मान्छेलाई विष्टजीले 'तपाईंहरूको काम अब सकियो। अब छाडेर जानुभए हुन्छ' भनिदिए।
हुन त राजाको सह नपाएर उनी एक्लैले त के गर्न सक्थे! तर, सबै कुरामा राजाकै इशाराबाट चल्ने मान्छे पनि उनी थिएनन्।
त्यसको एउटा उदाहरण सिंहदरबार आगलागीको घटनामा उनको राजीनामा पनि हो। सिंहदरबार जल्नुमा उनको के भूमिका थियो र? त्यो त फगत एउटा दुर्घटना थियो। जल्यो त जल्यो।
प्रधानमन्त्रीले छाड्नुपर्ने कुरा त थिएन। न दरबार नै कीर्तिबाबुले छाडून् भन्ने चाहन्थ्यो।
'तिमीले गरेको होइन। राजीनामा दिनुपर्दैन' भनेकै थिए रे!
त्यति हुँदाहुँदै उनले नैतिकताका आधारमा राजीनामा गरिदिए।
कत्रो ठूलो त्याग! त्यो समयमा जनताको छोरोले पाउनसक्ने सबभन्दा ठूलो पद त्यही प्रधानमन्त्री थियो। त्यस्तो पद सर्लक्कै छाडिदिए। त्यस्तो नैतिकता देखाएका थिए। अहिले सोच्दा दन्त्य कथाजस्तो लाग्छ।
राजीनामा दिएपछि उनी नियमित आउने ठाउँ फेरि आर्ट काउन्सिलै हुन्थ्यो। काउन्सिलमा उपस्थित हुँदा विष्टजी हिजो प्रधानमन्त्री भएका थिए भन्ने सुइँको पनि नमिल्नेगरी सामान्य व्यवहार देखाउँथे।
यसरी अघि बढेको काउन्सिलमा ०६२–०६३ को आन्दोलनसम्म सबै कुरा सामान्यै हिसाबले चल्दै थियो। त्यो आन्दोलन बेला भने केही कलाकारले 'हामीलाई पनि एकेडेमी चाहिन्छ' भन्दै विरोध जनाउन काउन्सिलमै जम्मा भए।
उनीहरूले काउन्सिलै 'क्याप्चर' गरे। नाराबाजी गरे। आफ्नो नियन्त्रणमा लिइसकेपछि कलाकारका घर-घरमा भएका सामान ल्याएर त्यहीँ थुपारे। त्यहाँ काम गर्ने मान्छेलाई गाह्रो हुने गरी जथाभावी गरे। त्यसपछि कीर्तिबाबुले 'यस्तो गञ्जागोलमा अब म बस्दिनँ' भनेर छाडिदिए।
शंकरनाथ रिमाल सचिव थिए। उनले पनि छाडे। अरूले पनि हात झिके। काउन्सिलमा स्थापनाकालदेखि कार्यरत विश्वासपात्र कर्मचारी हरिबहादुर खड्का थिए। उनी स्वयं कलाकार पनि भएकाले उनकै हातमा काउन्सिल जिम्मा लगाइयो।
हाम्रो साथ पाएर उनी त्यहीँ अडिएर बसे। कलाकारहरूको त्यो हुलमुल पनि सेलायो। हुलमुल सेलाएपछि सबै मिलेर फेरि कीर्तिबाबुलाई फर्कन अनुरोध गर्यौं। उनी मानेनन्। चित्तै दुखाए। उनले छाडी नै दिए। आउँदै आएनन्। त्यसपछि म अध्यक्ष बनाइएको हुँ।
यो कलाकारका निम्ति खडा गरिएको संस्था थियो। बलियो बनाएर लगियो भने कला क्षेत्रकै विकासमा मद्दत दिने हो। आखिरमा कलाकारकै सम्पत्ति हो। म आएपछि यसलाई कलाकारका निम्ति खुला गरिदिएको छु। कार्यसमितिमा बाहिरका केही कलाकार साथीहरूलाई पनस समावेश गरिएको छ।
केही समयअघि मात्र नारायणहिटी दरबारभित्र बनाइएको गणतन्त्र स्मारकको प्रदर्शनी हल तयार पार्ने जिम्मेवारी काउन्सिलले पाएको थियो। त्यो दायित्व हामीले जिम्मेवारीपूर्ण ढंगबाट पूरा गरिदिएका छौं।
आर्ट काउन्सिलको ग्यालरीमा हाम्रो आफ्नो भनेर देखाउने स्थायी प्रदर्शनी थलो बनाउने मेरो पहिलेदेखिको चाहना छ। त्यो सिंगो वागमती सभ्यता झल्काउने गरी उच्चस्तरीय कलाकारिता बोकेको हल होस् भन्ने इच्छा छ।
त्यसनिम्ति काठमाडौं उपत्यकाकै भव्य नक्सा बनाउने कुरा आएको थियो। यी सब काम गर्न पैसा अभाव छैन। दाताहरू लगानी गर्न तयार छन्। तर, त्यस्तो कलाकारिता कसले र कसरी गर्न सक्छ भन्ने मुख्य प्रश्न भएको छ।
यसरी स्थायी हल बनाउँदा प्रदर्शनी गर्ने ठाउँ कम होला भन्ने चिन्ता पनि छ। अहिले काउन्सिललाई चालू राख्न आर्थिक जोहो तिनै प्रदर्शनीका निम्ति भाडामा लाग्ने हलले थेगिरहेको छ। यस्तो अवस्थामा स्थायी हलले सधैंभरि टिकट काटेर हेर्न आउने मान्छे जुटाउने स्तरमा आफूलाई उभ्याउन सकेन भने त्यो उपयुक्त हुँदैन।
यसअघि नै हामीले दुई-तीनपटक 'वागमती सभ्यता ग्यालरी' बनाउने प्रयास गर्यौं। सफलता हात लागेन। राख्दै निकाल्दै गरियो। कुनै न कुनै दिन त सपना पूरा होला भन्ने आश अझै छ।
तस्बिर सौजन्यः सत्यमोहन जोशी र आर्ट काउन्सिल