वीरेन्द्रनगरस्थित शिविरमा बसिरहेकी बाढीपीडित दिपा शाही कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राममा कक्षा १० मा पढ्छिन्।
आफ्नै घरमा बस्ने साथी बिहान ट्युसन पढ्न जाँदा सरकारले दिएको पुरानो त्रिपालमुनि बसिरहेकी दिपा भने त्यही समयमा गिट्टी कुट्न जान्छिन्।
बिहान ६ बजेतिर गिट्टी कुट्न गएकी उनी ९ बजे घर फर्किन्छिन्। खाना खाएर १० बजे पुग्नेगरी विद्यालय हिँड्छिन्। उनलाई विद्यालय पुग्न कम्तीमा आधा घण्टा लाग्छ । २०७१ सालको बाढीबाट घरबारविहीन बनेका परिवारमध्येकी दिपा र उनीजस्ता साथीको यो बाध्यता हो।
‘पहिला जग्गा, जमिन थियो, बुवाआमाले धान, चामल बेचेरै भए पनि खर्च धानेको थिए,’ दिपाले भनिन्, ‘अहिले हामीसँग न घर छ न त जग्गा जमिन नै। बिहान बेलुका खान त बुवाआमाले दिनभर मजदूरी गरेर बल्लतल्ल पुग्ने गरेको छ, म मेरो पढाइ खर्च जुटाउन गिट्टी कुट्ने काम गर्छु।’
विभिन्न ठाउँमा अस्थायी शिविरमा बसेका उनीजस्ता धेरै बाढीपीडित बालबालिकाका पीडा यस्तै छन्। उनीहरू मजदूरी गरेर बचेको समयमात्र विद्यालय जान्छन्।
‘विद्यालयमा शुल्क तिर्नुपर्यो, ड्रेस, कापी, कलम र पढाइ खर्च जुटाउनका लागि पनि काम गर्नुपर्ने बाध्यता छ,’ दिपाले भनिन्।
‘नाम लेख्न र ट्युसनका लागि अर्काबाट ६ हजार सापटी मागेर काम चलाइयो, अब त्यो पैसा तिर्नका लागि पनि काम गर्नुपर्ने बाध्यता छ,’ कक्षा ७ मा अध्ययनरत बाढीपीडित कविता रोकायले भनिन्, ‘बिहान बेलुका गिट्टी कुट्ने काम गरेरै विद्यालय जान्छु, कति दिन त काम गर्दागर्दै विद्यालय छुट्छ।’
बुवाआमाको कमाइ गर्ने स्रोत केही नभएपछि आफूले काम गर्नैपर्ने उनले बताइन्।
बाढीपीडित शिविर नजिकैको बालमन्दिरमा कक्षा ५ मा अध्ययनरत सीता नेपालीको व्यथा पनि उनीहरूको भन्दा कम छैन। आमा खोलामा काम गर्न जाँदा खाना लिएर आमालाई पुर्याउन खोलामा जानुपर्ने भएकाले कति दिन त उनको विद्यालय नै छुट्छ।
‘साँझमा पढ्नलाई बत्ती पनि छैन, गतिलो बस्ने बास छैन,’ सीताकी आमा लक्ष्मी नेपालीले भनिन्, ‘कमाउने मान्छे छैन जेनतेन अलिअलि मजदूरी गरेर दुई छोरी र आफू पालिएका छौं।’
कान्छी छोरी भने सानै भएकाले विद्यालय नियमित जाने गरेको उनले बताइन्।
‘मैले काम गर्नुपर्यो, मलाई खानापानी काम गर्ने ठाउँमा सीताले पुर्याउँछे,’ उनले भनिन्, अलिअलि बालुवा उठाउने काम पनि गर्छे। काम नगरे यिनीहरूलाई कसरी पाल्ने ?’
महिला प्रशिक्षण केन्द्रको प्राङ्गणमा रहेको शिविरमा बस्ने ३५ जना बालबालिकाको जीविका मजदूरी गरेरै चलेको छ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–५ मुरमुरीका गगन सुनार कक्षा ५ मा पढ्छन्। उनी पनि बाढीपीडित हुन्।
त्रिपालमा बस्दै आएका गगन विद्यालयको पोशाक, शैक्षिक सामग्री किन्ने खर्च नभएर पढाइ छोड्ने विचारमा छन्।
‘पढ्ने मन त धेरै छ घरमा कमाउने कोही छैन, यसअघि त संघसंस्थाले दिएको सहयोगमा पढाइ चल्यो,’ उनले भने, ‘अहिले गाउँमा बालुवा बटुलेरै दिनमा एक, दुई सय कमाइ गर्छु, यसैबाट खर्च चलाएको छु। अब यसरी नै पढ्न त सकिँदैन होला।’
नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पञ्चपुरी–५ मुरमुरीका प्रध्यानाध्यापक बेला थापाका अनुसार विद्यालयमा ८२ जना बालबालिका बाढीपीडित छन्। तीमध्ये ४० जना जति मात्र विद्यालय आउने गरेको उनले बताइन्।
जिल्ला शिक्षा समन्वय ईकाई सुर्खेतका प्रमुख भोजप्रसाद लम्साल बाढीपीडित बालबालिकाको अध्ययनका लागि भनेर सरकारले कुनै व्यवस्था गर्न नसक्नु दुखद् भएको बताउँछन्।
नेपालको संविधान २०७२ मा शिक्षाको हक र बालबालिकाको हकलाई मौलिक हकमध्येमा राखिएको छ। तर सुर्खेतका बाढीपीडित बालबालिका भने कमजोर आर्थिक अवस्थाका कारण यी दुवै मौलिक हकको पूर्ण उपयोग गर्न सकिरहेका छैनन्।