काठमाडौं अबेर सुत्छ, बिहान सबेरै जाग्छ। मैतिदेवीकी इन्दिरा सापकोटाको दिनचर्या यो सहरकोभन्दा अलग छैन।
बिहान चार नबज्दै उठेर नुहाइधुवाइ गरी भजनकीर्तन सुन्यो। चिया-खाजा बनाएर खायो, दिनभर काममा व्यस्त भयो। राजनीतिक घटनाक्रमबारे अपडेट हुँदै साँझ खाना बनाएर खायो अनि ओछ्यानमा भुक्लुक्क।
बीस-बाइस वर्षे तन्नेरी झैं दिनचर्या भएकी इन्दिरा ८१ वर्षकी हुन्। आफ्नो कामधन्दा एक्लैले भ्याइरहेको सुन्दा उनको उमेर पत्याउन गाह्रै हुन्छ।
इन्दिराका दिन यसरी बित्न थालेको चार दशक बढी भयो। घरको काम भ्याएर उनी बिहान दस बजेतिर घट्टेकुलोको बाक्लो बस्तीबीचको तीन तले घर पुग्छिन्। घरबाहिर टाँगिएको बोर्डमा लेखिएको छः भोटु–इन्दिरा सामाजिक कल्याण प्रतिष्ठान।
माझ तलाको कोठामा पुग्छिन्। अनि सुरू हुन्छ लुगा सिलाउने कलको खट् खट् खट्।
उनी केटाकेटीका लुगा सिलाउँछिन्। शिशुदेखि फुरफुर कुद्ने नानीबाबुको शरीर नाप्न तल्लीन हुन्छिन्। कपाल सेतै फुलेको अनुहारमा १६ वर्षे उत्साह देखिन्छ। शरीर उस्तै फूर्तिलो। कामको हरहिसाबदेखि कामदारलाई 'यसोउसो गर' भन्नसम्म आफैं भ्याउँछिन्।
इन्दिरा यही कोठामा भेटिन थालेकै ३० वर्ष भयो। उमेर उकालो लाग्दै गए पनि उनका हातपाखुरा गलेका छैनन्।
दिनैभर यहाँ मात्र बस्ने पनि कहाँ हो र!
'दिउँसो फुर्सद हुनेबित्तिकै डिल्लिबजारको महिला कारागारमा जान्छु,' जोशिली इन्दिराले भनिन्, 'त्यहाँका कैदीबन्दीलाई सिलाइकटाइ सिकाएको छु। उनीहरूले बनाएको हेर्छु। यसोउसो भनेर आउँछु।'
कैदीबन्दीले राम्रो गर्दा उनलाई सन्तुष्टि हुन्छ रे। साँझ अबेरसम्म कलमा आफ्ना खुट्टा तलमाथि गरिरहेकी इन्दिरालाई भ्यानइनभ्याइ छ।
'नेपालमा काम पाइँदैन भनेर सबै मान्छे विदेश गइहाले। आफूलाई यहाँ अर्डर पुर्याउनै भ्याइनभ्याइ छ। फेरि राम्रो काम गर्न सक्ने मान्छे पनि पाइँदैनन्,' उनले दुखेसो पोखिन्।
दुखेसो मात्रै होइन, अलि अलि झोंक पनि। गोकर्णेश्वर–३, बालुवामा उनी आफैंले स्याहार्दै आएको ग्राम सुधार आधारभूत विद्यालय त्यहाँको नगरपालिकाले नहेरेको र बजेट पनि नदिएकोमा रिस रहेछ।
'यो देश के हो, विद्यालयलाई पैसा दिन भनेपछि भुतुक्कै हुन्छन्, मर्न लागेको स्कुल हुर्काएँ, अहिले छुट्टाएको रकमसमेत दिन मान्दैनन्,' उनले फर्रर पोखिन्।
शिक्षा र स्वरोजगार उनको पहिलो प्राथमिकता। यिनलाई वेवास्ता गर्ने व्यक्ति होस् वा राज्य, उनलाई भाउन्न छुट्छ।
'तन्त्रले होइन, शिक्षाले पो मुलुक बन्छ, यहाँ त मैले महिलाको दशा देखेकी छु। कपाल फुलिसक्यो, नाम लेख्न जान्दैनन्। अन्धकारमै छन्,' उनी आफूले देखे-भेटेका र सीप सिकाएर दक्ष बनाएका महिलाको सुरूआती अवस्था बताउँछिन्।
'आफूलाई यो उमेरमा पनि हात नचलाई सन्तोक लाग्दैन, अचेलका मान्छे दुःख गर्नै खोज्दैनन्। पैसा पचाउन पाए खुसी,' गुनासो गर्न छाड्दिनन्।
इन्दिरा बदलिँदो सहरकी साक्षी हुन्। कपालको रङसँगै सहरको रुप पनि फेरियो। तर, राजधानीकै महिलाको अवस्था जस्ताको तस्तै पाउँछिन्।
'अहिले पनि श्रीमानसँग हात नथापे धेरै महिलाको जीवन चल्दैन। आर्थिक सबलता नहुँदा अपहेलना त्यत्तिकै भोग्छन्। कतिले अनाहकमा हिंसा भोगेका छन्, ज्यान गुमाएका छन्,' उनलाई महिलाका अवस्थाबारे थाहा छ। उनी आफैंले भने त्यत्तिको दुःख भोग्नु नपरेको बताउँछिन्।
वीर अस्पतालपछाडि महाबौद्धमा जन्मिएकी रैथाने इन्दिरा श्रीमानको कमाइमा मात्र भर परिनन्। साना-ठूला इच्छा पूरा गर्न छोराछोरीको मुख ताकिनन्। उनका बुबा सरकारी जागिरे थिए। इन्दिरालाई तीन कक्षासम्म घरमै राखेर कखरा सिकाए। त्यसपछि पद्मोदय माविमा भर्ना गरिदिए।
सात कक्षा पढ्दा बुबाको सरुवा भयो। बुबासँगै जलेश्वर पुगिन्। मेट्रिक परीक्षा (एसएलसी) दिन एक वर्ष बाँकी थियो। २००७ सालको क्रान्ति सुरू भयो। जलेश्वर बस्न सक्ने अवस्था भएन। केही समयपछि उनीहरू महाबौद्ध नै फर्किए। इन्दिराको पढाइ अलपत्र पर्याे।
'प्रजातन्त्रले मुलुकलाई पढ्न-लेख्न पाउने अधिकार दियो, मेरो चाहिँ खोसियो,' इन्दिरा पीडा पोख्छिन्।
पढाइ छुटेपछि उनको बिहे भयो। २१ वर्ष नपुग्दै चार सन्तान भए।
२०२० सालतिरको कुरा, श्रीमान महिनामा पाँच सय कमाउँथे। घर चलाउने खर्च कसिँन थाल्यो।
इन्दिराले उपाय भेटिन्- सिलाइकटाइ गर्ने। उपाय सोचेजस्तै सहज अपनाउन कहाँ थियो र।
'त्योबेला बाहुन-क्षत्रीहरू सिलाइकटाइ गर्थेनन्,' उनले सुनाइन्,'मेरो परिवारमा रोकतोक थिएन। सासूलाई चाहिँ खास चित्त बुझेको थिएन। तर केही भन्नुहुन्थेन।'
त्योबेला मैतीदेवीबासीका लुगा सिउने 'ठेक्कै' पाएका सूचीकारसँग इन्दिराले लुगा काट्न सिकिन्। सीप उद्यममा बदल्ने निधो गरिन्।
उनलाई आज पनि याद छ, १२ रुपैयाँको एकमिटर कपडा किनेको। उनले हातैले बच्चाका लागि चिटिक्क भोटो र सुरूवाल सिलाइन्।
'यहीँ पिपलबोटमा साथीको पसल थियो। त्यहीँ बेचेँ, २५ रुपैयाँ हातमा आयो,' उनले आफ्नो उद्ममको पहिलो अनुभव सुनाइन्।
जोश बढ्यो। दैनिकी फेरियो। घरधन्दा भ्याएर बजारबाट कपडा ल्याउने, राती अबेरसम्म खटेर भोटोसुरूवाल सिलाउने र फेरि बजारमा बेच्न निस्कने। उनी उद्यमी बनिन्।
बच्चाकै कपडा किन रोज्नुभयो?
सबैजसोले उनलाई गर्ने यो प्रश्नको जवाफमा उनी भन्छिन्, 'सुरूमा धेरै कपडा किनेर ठूलाका लागि लुगा सिलाउन पैसा थिएन। फेरि त्यतिबेला सामान्य घरका बच्चालाई थाङ्नामा बेर्ने चलन थियो। उनीहरूमध्ये धेरैलाई बच्चालाई न्यानो चाहिन्छ भन्नेसम्म थाहा थिएन।'
एक जोडी भोटोसुरूवालबाट थालेको उनको कामले सफलता कमायो। महिला उद्यमीका रूपमा उनले ख्याती कमाइन्।
'चालीस दशकमा त मैले बनाएका लुगा अमेरिकासम्म निर्यात हुन्थ्यो। झन्डै दुई सय पचास कामदार थिए। मासिक कारोबार बढेर दस लाख पुग्यो,' उनले सुनाइन्, '५० प्रतिशत एडभान्समा अमेरिकन कम्पनीसँग डिल भएर अर्डर आउँथ्यो। हातले बुनेका स्विटर सिधै अमेरिका पठाउँथे।'
तर समय सधैं एकनाश कहाँ हुन्छ र। बजार फेरियो। मान्छेका माग फेरिए। लुगा बनाउने-ल्याउनेहरू फेरिए। तै उनले आफ्नो दैनिकी फेरिनन्।
व्यवसायमा कमी आए पनि उनको जोशजाँगर घटेन।
'दश वर्ष अघिसम्म त मज्जाले कैंची चलाउँथे, अचेल नापअनुसार काट्न अलि गाह्रो हुन्छ,' उनले भनिन्।
अनि यो बोर्डमा लेखिएको भोटु कसको नाम नि?
'श्रीमानको,' उनले भनिन्, '०४२ सालमा बित्नुभयो।' भोटु सापकोटासँग बाँसबारी छालाजुत्ता कारखाना गाँसिएर आउँछ। अहिले गंगालाल हृदय रोग केन्द्र उभिएको भवनमा कुनै बेला बाँसबारी छालाजुत्ता कारखाना थियो। मकैका बोट उखेलेर कारखानाको जग बसाएको उनलाई अहिलेजस्तो लाग्छ। चिनियाँ कामदार र भारतीय मालसामग्रीको प्रयासले उभिएको थियो बाँसबारी छालाजुत्ता। यो पनि इतिहास बन्यो।
'श्रीमान गुमाउँदा भन्दा बढी पीडा कारखाना गुमाउँदा भयो,' रसिला आँखा पार्दै उनले भनिन्।
आफ्नो व्यवसाय खस्किँदै गयो, श्रीमान बिते, कारखाना मासियो।
छोराछोरी पनि आ–आफ्ना बाटो लागे। कहाँ छन् उनलाई पत्तो छैन।
भन्छिन् 'मैले मेरो कर्तव्य पूरा गरेकै हुँ। उनीहरूले आफ्नो दायित्व सम्झेनन् त के गरौं। उनीहरू मलाई खोज्दैनन्, म पनि खोज्दिनँ। दुःख सम्झिए दुःखले पिरोल्ने रहेछ, नसम्झिए सुख।'
मनलाई उनी यसैगरी भुलाउँछिन्, शरीरलाई दैनिक दस घन्टा चलाउँछिन्।
'सोच बूढो भयो भने काममा अनेक बाधा आउँछ। अरूसँग माग्न परेन भने सोच उच्च हुन्छ। आत्मबल र शीर ठाडो। म यो उमेरसम्म बलियो देखिएको आत्मबलले त हो,' स्वस्थ अवस्थाको राज फुकाउँछिन् उनी।
८० काटेको उमेर, एक्लै। निम्न आए भएका महिलालाई सीप सिकाउँदै आएकी इन्दिरा अहिलेका मान्छे अल्छी भएको बताउँछिन्।
'पचास वर्ष पुगेको छैन, अब त बुढी भएँ, सक्दिनँ भन्छन्। फेरि राज्य व्यवस्थाले पनि अल्छी बनाउन बल पुर्याइरहेको छ,' उनी भन्छिन्, 'नेताहरू विदेशमा कामदार पठाउन श्रम सम्झौता गरेर खुसी हुन्छन्, म यहाँ राम्रा कामदार नपाएर समस्यामा छु। यसरी नै हुन्छ त विकास?'
भीम शमशेरदेखि केपी ओलीसम्म २५ जना प्रधानमन्त्रीको काम नियालिसकेकी इन्दिराले चार वटा राज्य व्यवस्था बदलिएको पनि देखिन्।
'नेपालीको नियति भने बदलिएन। गुनासो पनि छैन। सकुन्जेल सीप सिकाउँछु,' उनले भनिन्, 'कसैको एक पैसा कमाइ खान नपरी काम गर्दागर्दै प्राण बिसाउने चाहना छ।'
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी