वसन्तपुर दरबार क्षेत्रको साँझ। एक हुल मान्छे घर फर्किने चटारोमा छन्, अर्को जमात डबलीतिर टहलिँदै छन्। भर्खर टुकुटुकु गर्न थालेका नानीबाबुदेखि लौरोको सहारामा हिँड्नेसम्मको चहलपहल। परिसरका मन्दिर-मूर्तिहरूमा सधैं झैं आरती हुँदैछ।
सात बज्यो। मान्छेको भिड पातलिँदै छ, कुकुरको हुल बढ्दै।
हनुमान ढोकातिरबाट आएको एक जोडी सेता कुकुर अरू कुकुरलाई हेर्दै जोडजोडले भुक्न थाले। आठ-दश वटा एकै ठाउँमा भेला भए। मानौं सेता कुकुरबाट केही संकेत भयो।
कुकुरको आवाज थामिन नपाउँदै काँ..काँ..गर्दै कागले पनि केही संकेत पाए झैं गर्छन्।
वसन्तपुर क्षेत्रमा अचेल सधैंजसो देखिने यो दृश्यका 'सर्जक' हुन् रूपक दर्शन। उनले हातमा पोलेथिन झोला बोकेर आएको देखेपछि यहाँका कुकुर यसै गरी भेला हुन्छन्। मासु र खानेकुराको गन्धले कागहरू पनि हुर्हरिएर आइपुग्छन्।
बांगेमुडा बस्ने रूपकले आफ्नो वरपर झुम्मिएका सबै कुकुरलाई मासु दिए। चुच्चो अगाडि सार्दै आएका कागले पनि टिप्न पाए। आ-आफ्नो भागमा मासु परेपछि कुकुर र काग यताउता छरिएर खान थाल्छन्।
४७ वर्षे रुपकका हरेक साँझ यसैगरी बित्छन्। वसन्तपुरका यी कुकुरको पेटमा उनले खाना भर्न थालेको पाँच वर्ष बढी भयो।
'के गर्ने यिनीहरूको पनि कोही छैन। माया लाग्छ,' रूपकले भने, 'एक दिन खुवाउन पाइनँ भने यिनीहरूको भोको पेटले मेरो मन पोल्छ। मेरो परिवार भन्नु नै यिनीहरू हुन्।'
हुन पनि रूपकको कोही छैन। उनलाई त आफू कहाँ जन्मिएको भन्ने पनि यकिन छैन। उनले थाहा पाउँदा आफ्नी फुपूसँग लुटपुटिएका थिए। कसरी र किन आफू फुपूसँगै हुर्किँएँ भन्ने अझै उनले ठम्याउन सकेका छैनन्।
घरमा उनका बुबा र दाजुदिदी पनि थिए। आर्थिक अवस्था राम्रो थियो।
'फुपूले साह्रै माया गर्नुहुन्थ्यो,' रूपकले भने, 'उहाँ हुञ्जेल दुःख भन्ने अनुभवै भएन।'
रूपकको खुसी जीवनले पाटो फेर्यो। फूपू बितिन्। बुबा पनि। दाजुले अकस्मात घर बेचिदिए।
त्योबेला रूपकका नजिकका साथी भनेकै कुकुर थिए। घरमै पालेका थिए। कुकुरमै झुम्मिएको देखेर दिदीले पनि रूपकलाई 'यहाँ नबस' भन्न थालिन्।
'आफूले माया गर्ने कुकुरहरूकै कारण दिदीले गाली गरेपछि घर छाडिदिएँ। अनि यी अब सडकमै छु,' ती दिन सम्झिँदै रूपकले सुनाए।
खानलाउन समस्या नभएको घरबाट एकाएक निस्केका रूपकले भोकको पीडा तिनै दिनदेखि महशुस गरेका हुन्। दिनभर काठमाडौंका ओसिला गल्ली चहार्थे। पेटीमा रात बिताउँथे। असन-इन्द्रचोकका यस्ता गल्ली छैनन्, जहाँ उनले भोकाएर लखतरान शरीर नबिसाएका हुन्।
उनले सुख अनुभव बिर्सिएँ।
'सडकको चिसो पेटी र कुइँकुइँ कराउने पेटको पीडा थाहा छ मलाई,' उनले भने, 'सडकका पशुपक्षी देख्दा पनि कतै भोकै पो छन् कि भन्ने लाग्छ। अनि त्यही आफ्नो भोक सम्झेर खान दिन्छु।'
घरबाट निस्केको धेरै दिनसम्म उनको बास सडकमै भयो। लेखपढ थिएन, काम पाउनै गाह्रो।
यही अप्ठ्यारोमा उनले एक जना 'मनकारी' मान्छे भेटे। उनैले रूपकलाई पत्रिका बेच्ने काम लगाइदिए।
त्यतिबेला माओवादी युद्ध उत्कर्षमा थियो। उनी पत्रिकाका 'हेडलाइन' सुनाउँदै बाटामा हिँड्न थाले। पत्रिका बेचेर जेनेतन गुजारा चल्ने भयो। नरदेवीमा डेरा खोजेर बस्न थाले।
एकदिन डेरा नजिकै अप्रिय घटना भयो।
दसैंको बेला थियो। बिहानैदेखि पानी परिरहेको भएर रूपक घरबाट अलि ढिला निस्किए।
बाहिर देख्नासाथ उनका आँखा रसाए।
पानीले निथ्रुक्क भिजेका दुइटा कुकुरका छाउरा जीवन र मरणको दोसाँधमा थिए। राम्ररी आँखासमेत नउघ्रिएका छाउरा सडक किनारमा लुछुप्प देख्दा रूपकको मन कुँडियो।
'ती छाउरा रातीदेखि नै त्यहाँ रहेछन्। म ढिला आएकोले अँध्यारोमा देखेनछु,' रूपकले त्यो दिनको घटना सुनाए, 'तिनीहरूको आमा कुकुर पनि थियो छेउमै। उसको बच्चा बचाइदिओस् कसैले झैं गरिरहेको। कुइकुइ कराइरहेको।'
रूपकले मन थाम्नै सकेनन्। घरबेटीका छोरालाई भने। उनले टिनको व्यवस्था गराइदिए। छाउरालाई टिनको ओत लगाइदिए। आफूले ओढ्ने झुत्रोझाम्रो सिरक ल्याएर छाउरालाई न्यानो बनाइदिए। सुरूमा दुइटा मात्र देखे पनि चार वटा छाउरा रहेछन्। झरीको कहर सहन नसकेर एउटाले त प्राण त्यागिसकेछ।
'अहिले पनि त्यो मरेको छाउरो आँखामा आउँछ,' उनले सुनाए।
घरबेटीका छोराले सहयोग गरे पनि बुबाको भने रिसको पारो चढ्यो। रूपकलाई थर्काए –कि कुकुर फालेर आउनू, कि डेरा छोड्नू।
कुकुर पालेकै कारण दिदीले 'घरमा नबस' भनेकी थिइन्। आफन्त त छाडेर हिँडेका रूपकलाई डेरा छोड्नु कुन ठूलो कुरा!
उनी फेरि सडकको आश्रय लिन आइपुगे। यसपालि एक्ला थिएनन्। कुकुरका छाउरा दुई काखीमा च्यापेर निस्के।
'त्यो कुकुरहरूलाई बचाउन कस्तो मुश्किल भयो। बजारको काँचो दूध किनेर खुवाएँ। एउटा छाउरा मर्यो। दुइटा भने जसोतसो बचाएँ,' उनले भने।
पछि उनी बांगेमुडा बस्न थाले। दुइटा छाउरा र माउ कुकुर आफूसँगै हुँदा खुसी थिए। तै यो खुसी लामो समय टिकेन। छाउरा एक महिना पुग्दै थिए। कुकुर तिहारको दिन थियो। गाडीले किचेर माउ कुकुर मारिदियो।
'मैले साथी जस्तै मानेको कुकुरको हत्या भयो,' उनी यसो भन्दाभन्दै रोकिए। स्वर भासियो।
कुकुर मरेको दस रात निद्रा परेन रे उनलाई। ऐठन भइरह्यो। अचेल तिनै दुई छाउरा उनका अघिपछि लाग्ने भएका छन्। रूपक यिनलाई आफ्नै हातले खुवाउँछन्। आफूसँगै सुताउँछन्।
'वर्षौंदेखि नदेखेको-नभोगेको सुख अहिले पाइरहेको छु,' उनी भन्छन्, 'यी कुकुरलाई पेटभरी खुवाउन पाएको दिन आरामको निद्रा लाग्छ।'
उनको 'हात'बाट खान आउने कुकुर ४० वटासम्म पुगेका छन्। उसो त उनी आफ्ना कुकुरलाई 'वटा' मा गन्दैनन्। परिवारका सदस्य मान्छन्, जना मै गन्छन्। नाम पनि राख्देका छन्- च्यान्टी, भुन्टी, पांग्रे, कालु, सेती। यस्तैयस्तै।
उनका 'परिवारका यति धेरै सदस्य' को पेट भर्न रूपकलाई कठिन छ। आफ्नै पेट पाल्ने दरिलो स्रोत छैन। पत्रिका बेच्ने जागिर २०७२ सालको भुइँचालोपछि छुटिसक्यो। अचेल सडकका गल्लीगल्ली चहारेर मोबाइल 'कभर' र इअरफोन बेच्छन्।
'तै पनि महानगरपालिकाले राख्न दिँदैन। यहाँ वडा, प्रहरी महानगर सबैलाई मेरो अवस्था थाहा छ, कसैको अगाडि पनि उपचार गरिदेऊ भनेर हात फैलाएको छैन, न त यिनीहरूलाई खानेकुरा किन्देऊ भनेको छु। काम गरेर खान देऊ न भन्दा पनि दया देखाउँदैनन्,' उनले एकै सासमा सुनाए।
उनी बिरामी पनि रहेछन्। मधुमेह लागेको थुप्रै वर्ष भएछ। राम्रो उपचार र औषधि नगर्दा अवस्था बिग्रँदै गएको छ।
यसरी कति दिनसम्म खुवाइरहने त?
यसको जवाफ रूपकसँग छैन। आफू रोगी छन्, कुकुरहरूलाई पनि रोगले सताइरहन्छ। कुकुरको स्याहारमा उनी जुट्छन्, उनको स्याहार गर्ने कोही छैन। सडक, कुकुर र रोजीरोटीको चटारोमा बिहे पनि गरेनन्।
'अब जसरी चल्छ, चल्छ। आफ्ना पाखुराले सकुन्जेल खुवाउने हो। यिनीहरूलाई भोकै राखेर म बाँच्नै सक्दिनँ। मासु खुवाउन नसक्दा बिस्कुट ल्याएर दिन्छु,' समूहमा थपिएको नयाँ कुकुर सुम्सुम्याउँदै उनले भने।
घरमा पालिएको कुकुर रहेछ। भर्खरै सडकमा आए जस्तो देखिन्थ्यो। कुकुरले आफूहरूलाई माया गर्ने मान्छे चिन्छन् सायद, त्यसैले त आफूलाई खुवाउने मान्छे रूपक नै हुन् भन्दै आइपुग्को छ यहाँसम्म।
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी