सरकारले सार्वजनिक विदा दिने गरेकाले घोडेजात्रा हामीलाई ठूलै पर्व हो कि जस्तो लाग्छ। तर, यो काठमाडौंको सांस्कृतिक महत्वसँग जोडिएको जात्रा होइन। सेनाको तामझाम देखाउने ‘सैनिक उत्सव’ मात्र हो।
राज्यले सैन्य कौशल देखाउने यो सैनिक 'जात्रा' लाई बढावा दिँदा यही बेला मनाइने काठमाडौंको मौलिक सांस्कृतिक पर्व पाँहाचरे भने ओझेल पर्दै आएको छ। घोडेजात्राको मात्र बढ्ता हाई हाईले काठमाडौं सभ्यतामा पाँहाचरेको कति महत्व छ भन्ने नै धेरैलाई भेउ छैन।
‘घोडेजात्रा सैनिकहरूको कवाज मात्र हो, त्योभन्दा बढी यसको कुनै सांस्कृतिक महत्व छैन,’ काठमाडौं संस्कृतिमा दख्खल राख्ने वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ भन्छन्, ‘बरु यसको अघिल्लो दिन र राति काठमाडौंमा एउटा सांस्कृतिक महत्वको परम्परागत जात्रा मनाइन्छ।’
उनका अनुसार असन, इन्द्रचोक, महाबौद्ध, नरदेवी लगायत काठमाडौंका भित्री बजारमा परम्परागत पाँहाचरे जात्रा हुन्छ। लगभग इन्द्रजात्राकै जस्तो देवीदेवतालाई खटमा राखेर जुधाउने गरिन्छ। दिनभरि र रातभरि यो जात्रा चल्ने श्रेष्ठ बताउँछन्।
यसरी खट जुधाउने जात्राको सुरुआत प्राचीन काठमाडौंको मातृसत्तात्मक समाजसँग जोडिएको छ।
त्यो बेला काठमाडौंभित्र सातथरीका अजिमा थिए। तिनै अजिमाको खट असनमा लगेर जुधाउने परम्परा चल्दै आएको छ। यो जात्रामा न्ह्याँकी बाजा बजाउने चलन छ। पाँच–छ कुनाबाट ल्याएर खट जुधाउने गरिए पनि त्यो कुनै झगडा होइन। छरिएर बसेका सातवटा अजिमाको भेटघाट गराउने अर्थमा खट जुधाउने गरिएको हो।
संस्कृतिविद् सत्यमोहन जोशी पनि काठमाडौं उपत्यकामा मनाइने अनेकथरी जात्रा-पर्वजस्तो घोडेजात्राको सांस्कृतिक महत्व नभएको बताउँछन्।
सार्वजनिक विदाकै रूपमा मनाइँदै आएको यो जात्राबारे केही बुझ्न पाइन्छ कि भनेर अनुरोध गर्दा उनी यति भन्छन्, ‘यो अरूजस्तो सांस्कृतिक जात्रा नभएर रमिता वा तमासा मात्रै हो। राणाकालमा सैनिक महत्वका साथ यसलाई अगाडि ल्याइएपछि यो दिन भव्य रूपले मनाउन सुरु गरिएको हो।’
उनी पनि घोडेजात्राभन्दा अजिमाको खट जुधाउने पाँचाहरे र यही बेला पशुपतिमा मनाइने ‘दुदु च्याँ च्याँ’ उत्सवलाई बढ्ता महत्वपूर्ण मान्छन्।
सांस्कृतिक महत्व नै नभएको जात्रालाई किन यस्तरी धूमधाम मनाउन थालियो होला त?
‘उतिबेला मनोरञ्जनको साधन थिएन, मान्छेहरू सैनिकको रमिता हेरेरै रमाउँथे,’ जोशीले भने, 'त्यही रमिता हेर्न टुँडिखेलमा मान्छे ओइरिन थालेपछि मनोरञ्जनकै हिसाबले यो दिन छुट्टि दिएको हुनसक्छ।'
श्रेष्ठ भने नेवारहरूले जात्रा मनाएको देखेर त्यसैको सिको गर्दै सैनिकहरूले घोडा दौडाएर रमाइलो गर्न थालेको अनुमान गर्छन्।
‘काठमाडौंमा बहालमा बस्दै आएका सैनिक र सरकारी कर्मचारीले नेवार समुदायका घरघरमा पाँहाचरे जात्रा मनाएको देखेपछि भोलिपल्ट आफूहरूले पनि रमाइलो गर्न घोडेजात्रा सुरु गरेका हुन् भन्ने हामीले सुनेका थियौं,’ उनले भने।
काठमाडौंको यो सांस्कृतिक पर्व र त्यसको भोलिपल्ट मनाइने सैनिक उत्सव घोडेजात्राबीच कुनै सम्बन्ध नरहेको श्रेष्ठले प्रस्ट पारे।
जोशीका अनुसार उनी तन्नेरी हुँदासम्म घोडेजात्राका दिन साइकलधरि दौडाउने गरिन्थ्यो। हुलका हुल तन्नेरी नम्बर लगाएर साइकल दौडमा भाग लिने र पुरस्कार पाउने गर्थे।
‘त्यो ताका टुँडिखेल अहिलेजस्तो साँघुरो नभएकाले गोलाकारमा घुम्ने होइन, घोडा र साइकलहरू रानीपोखरीदेखि अहिलेको रंगशालासम्म एकोहोरो कुद्थे,’ जोशी थप्छन्, ‘पछि साइकल कुदाउन बन्द गरियो।’
इतिहासविद् दिनेशराज पन्त घोडा कुदाउने परम्पराको सिको काठमाडौंले भारतको हरियाणाबाट गरेको मान्छन्।
‘बाह्रौं शताब्दीताका हरियाणामा यस्तो घोडा कुदाउने प्रचलन प्रख्यात थियो,’ उनी भन्छन्, ‘अन्तको सिको गर्ने र उता हराइसके पनि यहाँ निरन्तरता दिइरहने नेपाली समाजको प्रवृत्तिअनुसार घोडेजात्रा हामीकहाँ चलिरहेकै छ।’
हरियाणामा भने घोडा दौडाउने काम निकै पहिले बन्द भइसकेको उनले बताए।
पन्तका अनुसार नेपालमा यसको सुरुआत मल्लकालतिरै भएको हो। घोडासँगै घोडचढी पनि हुने भएकाले यो सेनासँग जोडिँदै र परिस्कृत हुँदै आएको उनी बताउँछन्।
कालान्तरमा घोडा कुदाएर मात्र सांस्कृतिक महत्व स्थापित नहुने बुझेर यसलाई काठमाडौंको लोकश्रुतिमा रहेको गुरुमापाको प्रसंगसँग जोडिएको जोशीको भनाइ छ।
केटाकेटी खाने र मानिसलाई असाध्यै दुःख दिने उतिबेलाको गुरुमापालाई नियन्त्रणमा लिएर टुँडिखेलमा गाडिएको भन्ने भनाइ छ। यसरी गाडिएको गुरुमापा फेरि फर्केर आउन नसकोस् भनेर घोडा दौडाइएको भन्दै यसको सांस्कृतिक महत्व स्थापित गर्न खोजिएको जोशी सुनाउँछन्।
‘यो कथा पछि ल्याएर जोडिएको हो,’ जोशी भन्छन्, ‘एक प्रकारले यसलाई सांस्कृतिक लेपन भनिदिँदा पनि हुन्छ।’
अर्को मान्यताअनुसार घोडेजात्राको अघिल्लो दिन पाँहाचरेमा लुकेको महादेवलाई रक्सी र मासु खुवाउने चलन छ। यस्तो महादेवलाई ‘लुकु महादेव’ भनिन्छ।
परापूर्वकालमा शनिको श्रापमा परेर महादेव फोहोरमा लुकेर बसेका थिए रे। उनलाई पाँहाचरेकै दिन फोहोरबाट बाहिर निकालिने हुँदा रक्सी र छोयला खुवाएर जात्रा गर्ने चलन सुरु भएको भनाइ पनि श्रेष्ठ सुनाउँछन्।
जोशीका अनुसार काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै राज्यमा कसैले कुनै कार्यक्रम आयोजना गर्दा त्यसको सिको अर्कोले पनि गर्थ्यो। काठमाडौंमा घोडेजात्रा सुरु भएपछि ललितपुरमा पनि त्यसलाई पछ्याइयो। ललितपुरको बालकुमारी मन्दिरमा अहिले पनि घोडेजात्रा मनाउने गरिन्छ।
‘ललितपुरमा त झनै यसको कुनै सरोकारै थिएन,’ जोशी भन्छन्, ‘तै घोडासँग जोडिएको रमितामय आयोजना यहाँ पनि सुरु गरियो।’
ललितपुरमा नेवार राजाको खड्गलाई ‘सिम्बोल अफ किंगसिप’ का रूपमा शाही छतरीसमेत राखेर एउटा घोडा सजाउने गरिन्छ। त्यो घोडालाई दरबार क्षेत्रबाट बाजागाजासहित बालकुमारी लैजाने गरिन्छ। यसरी जाने घोडालाई पहिले छेवडेल अड्डाबाट विदावारी गर्ने प्रचलन रहेकामा अहिले गुठीबाटै हुँदै आएको छ।
ललितपुरको घोडेजात्रा ‘अन्धो घोडा दौडाउने जात्रा’ भनेर पनि चर्चित छ। कुनै समय आँखा नदेख्ने घोडा परेर त्यही हल्ला सर्वत्र फैलिएको हुनसक्ने जोशी सुनाउँछन्।
बालकुमारीतर्फ लावालश्करसहित बढेको घोडालाई भोलढोका पुगेपछि बिच्काउने गरिन्छ। होहल्लासहित बिच्काएपछि त्यो घोडाले चढेका मानिसलाई पनि लडाउँदै बेतोड कुद्न थाल्छ।
‘यो पूर्णतया मनोरञ्जनात्मक तमासा नै हो,’ जोशी भन्छन्, ‘ललितपुरका अन्य सम्पन्न परम्पराको तुलनामा यसमा खासै गम्भीरता छैन।’
यो जात्रा मनाउन ललितपुरमा महर्जनहरूको गुठी छ। उनीहरुले नै यो प्रक्रिया पूरा गर्दै आएका छन्।