‘रानीपोखरी पनि भक्तपुरलाई बनाउन दिने कि?’
भक्तपुरले धमाधम परम्परागत पोखरी र सम्पदा ब्युँताइरहँदा धेरैको प्रतिक्रिया यस्तै हुन्थ्यो।
अन्ततः पुनर्निर्माण प्राधिकरणले रानीपोखरी बनाउने जिम्मा पाएपछि भक्तपुरसँग सहकार्यको निर्णय गर्यो। भक्तपुरेहरू रानीपोखरीमा घाँस उखेल्न आए। पोखरी पुनर्निर्माणका काममा लागि परे।
भक्तपुरको भाजुपोखरी जिर्णोद्धार गरिरहेको उपभोक्ता समितिको काम मन परेपछि प्राधिकरणले यस्तो निर्णय गरेको सह–सचिव राजुमान मानन्धर बताउँछन्।
‘भुइँचालो गएको तीन वर्षसम्म पोखरी बन्न सकेन। विभिन्न विवादमा फसिरह्यो,’ मानन्धरले भने, ‘हामीले पोखरी बनाउने जिम्मा लिएपछि पुरातात्विक तरिकाले बनाउने मान्छे खोज्न थाल्यौं। भक्तपुरले ०५८ सालदेखि पोखरीहरू पुनर्निर्माण गर्दै आएको छ। पहिलेदेखि सफलतापूर्वक पोखरी बनाएकाले भक्तपुरको सहयोग लिएका हौं।’
मानन्धरका अनुसार रानीपोखरी पुनर्निर्माणका लागि ‘रानीपोखरी पुनर्निर्माण उपभोक्ता समिति’ गठन गरिएको छ। यसबाहेक रानीपोखरी पर्ने १, २८ र २९ वडाका स्थानीयको समेत सहभागिता हुनेछ। पोखरीको डिलसम्मको काम समिति र स्थानीयमार्फत् गरिनेछ। बाहिरका काम ठेकेदारले गर्नेछन्, जसमा बत्ती हाल्ने, मन्दिर र पुल पुनर्निर्माण लगायत छन्।
हालैको अध्ययनबाट पुलको जग पनि कमजोर देखिएकाले पुनर्निर्माण क्रममा पुल भत्काउन लागिएको छ। मानन्धरका अनुसार पुलको जगदेखि पानीको सतहसम्म 'ड्राई ड्रेस स्टोन वाल' लगाइनेछ। बाहिरी भागमा पुरानै इँटा (माअप्पा) प्रयोग गरिनेछ।
पोखरी निर्माणमा अब महानगरले बनाएजस्तो कफी सप लगायत सौन्दर्यकरण नहुने प्राधिकरणले जनाएको छ। परम्परागत शैलीमा निर्माण हुने मन्दिर र पोखरीका लागि अनुमानित २५ करोड रूपैयाँ छुट्याइएको छ।
रानीपोखरीसँगै उता भक्तपुरको भाजुपोखरी पनि पुनर्निर्माण भइरहेको छ। यी दुवै पोखरीको संरचना एकै प्रकारका छन्। दुवैको बीच भागमा मन्दिर छ। मन्दिर ग्रन्थकुट शैलीमा बनेको अध्ययनले देखाएको छ। त्यही स्वरुपमा पुनर्निर्माणको तयारी हुँदैछ।
एकसाथ दुवै पोखरी बन्नुलाई संयोग मान्छन्, भाजुपोखरी पुनर्निर्माण विज्ञ समितिका संयोजक एवं इतिहासका प्राध्यापक पुरुषोत्तमलोचन श्रेष्ठ।
‘दुवै पोखरी र मन्दिर एकैसाथ उठ्नु रमाइलो संयोग हो,’ श्रेष्ठले भने, 'फेरि इतिहास दोहोरिएजस्तो।’
उनका अनुसार भाजुपोखरी र रानीपोखरी एकअर्काका ‘फोटोकपी’ जस्ता हुन्। पहिले रानीपोखरीबाट अभिप्रेरित भएर भाजुपोखरी बनेको हुनसक्ने अनुमान गरिएको थियो। हालैको अध्ययनमा त्यसको विपरीत तथ्य देखा परेका छन्।
रानीपोखरी विक्रम सम्बत् १७२७ मा बनेको हो। राजा प्रताप मल्लले छोरा चक्रवतेन्द्रको निधनपछि पोखरी र मन्दिर बनाएर रानीको चित्त बुझाएको इतिहास छ।
भाजुपोखरी भने भागिरथ प्रधानाङ्ग अर्थात् ‘भाजु कस’ ले बनाएको मान्यता छ। श्रेष्ठका अनुसार भागिरथ भनेका भक्तपुरका तत्कालीन राजापछिका शक्तिशाली प्रधानमन्त्री हुन्। उनी कायस्थ समुदायका थिए। भाजुपोखरीसँग जोडिएको इतिहास यत्ति हो। इतिहासका अन्य विवरण खुलाउने शिलालेख वा मुद्रा फेला परेका छैनन्।
इतिहास खोतल्ने अभिप्रायले जग खनिएको थियो, तर केही भेटिएन। पोखरीमा प्रयोग भएका इँटा, नजिकैका हिटी, गणेशका मूर्ति लगायतले भने १२ शताब्दीमा बनेको झलक दिने श्रेष्ठ बताउँछन्।
‘केही १८ औं शताब्दीका इँटा पनि फेला परेका छन्। यसले मन्दिर बेलाबखतमा जिर्णोद्धार भएको देखिन्छ,’ श्रेष्ठले भने, ‘भाजुपोखरीको विषयमा थप अध्ययन हुँदैछ।’
जग खन्ने क्रममा मन्दिर पश्चिमतिर फर्किएको देखिन आएको छ। रानीपोखरी पनि त्यही दिशामा छ। मन्दिरको जग खण्डको नाप-नक्सासमेत उत्रै भएको श्रेष्ठ बताउँछन्। यसैले दुवै एकअर्काबाट अभिप्रेरित देखिन्छन्।
श्रेष्ठका अनुसार काठमाडौंका राजा प्रताप मल्लले नेपाल सम्बत् ७८३ मा ललितपुरका राजा श्रीनिवास मल्लसँग मिलेर पटक पटक भक्तपुर आक्रमण गरेका थिए। भक्तपुरलाई जितेर ललितपुरमाथि पनि आक्रमण गरी उपत्यका एक्लौटी बनाउने प्रताप मल्लको अभिलाषा थियो।
उनले चाँगु कब्जा गरेर उत्तरतिरको महाकाली पीठसम्म आक्रमण गर्दै आए। भक्तपुरको पर्खालबाट भने भित्र छिर्न सकेनन्। त्यहाँ मजबुत गढ थियो। उत्तरबाट नसकेपछि किल्ला बाहिरैबाट आक्रमण गर्न खोजे। सैनिक आवासीय महाविद्यालय परिसरमा रहेको भक्तपुरको रानीपोखरी तोडफोड गरे। सुन्दर पोखरी बिगारे। बासुकी स्तम्भ भत्काए। सुनको नागराज लगायत अन्य कलाकृति उठाएर हनुमानढोका दरबार सजाउन लगे।
‘त्यो बेला प्रताप मल्लले भाजुपोखरी पनि भत्काएको हुनुपर्छ। यहाँको पोखरी मन परेर काठमाडौंमा रानीपोखरी बनाएको हुनसक्छ,’ श्रेष्ठले भने, ‘राजा प्रतापले पटक-पटक भक्तपुर आक्रमण गर्नु र पोखरीको कलाकृति लैजानुले काठमाडौंको रानीपोखरी भक्तपुरबाट अभिप्रेरित भएको सहजै अनुमान लगाउन सकिन्छ।’
भक्तपुरको रानीपोखरी काठमाडौंको भन्दा ४० वर्ष पुरानो हो। भक्तपुरको रानीपोखरी नेपाल सम्बत् ७५० मा राजा जगज्योर्ति मल्लले बनाएका हुन्।
काठमाडौंको आक्रमणमा परेपछि जगज्योर्ति मल्लका नाति जितामित्रको पालामा भक्तपुरको रानीपोखरी जिर्णोद्धार गरियो। यो पोखरी ललितपुर र काठमाडौंका राजालाई पनि बोलाएर बनाउन लगाइएको इतिहास छ।
श्रेष्ठका अनुसार भक्तपुर प्रवेश गर्दा होस् वा बाहिरिँदा यही पोखरी हुँदै जानुपर्छ। जगज्योर्ति मल्लले नगरको शोभा बढाउन, राज्यको प्रतिष्ठा कायम राख्न, संस्कृति जीवन्त र जल भण्डारण गर्न पोखरी बनाएका थिए। त्योबाहेक तीनवटै मल्ल राजाको भेटघाट समेत यही पोखरीमा हुन्थ्यो।
‘हाल सेनाको कब्जामा रहेको यो पोखरीलाई नगरपालिकाले सार्वजनिक बनाउने प्रयास गरिरहेको छ। यसको संरक्षण गर्न १ करोड बजेट पनि विनियोजन गरेको छ,’ श्रेष्ठले भने, ‘सेनाको तारबार निकालेर जनतासँग हातेमालो गराउने प्रयासमा छौं। भूकम्पपछि सबै सम्पदा निर्माण भइरहँदा यो पोखरीलाई पनि जनताको बनाउन सके अर्को उपलब्धि हुनेछ।’
श्रेष्ठका अनुसार उस्तै स्वरुपका भाजुपोखरी र रानीपोखरीको मन्दिर मृणमय मन्दिर हो। यो भनेको इँटैइँटाले बनेका।
सन् १८४५ मा प्रुसियाका राजकुमार वाल्डमारका साथमा आएका चित्रकारले बनाएको स्केचबाट काठमाडौंको रानीपोखरी ग्रन्थकुट भएको थाहा भएको थियो।
विसं १८९० को भुइँचालोमा धेरै जनधन क्षति भएको थियो। रानीपोखरीको यो मन्दिरमा भने त्यो बेला केही नभएको चित्रले देखाउँछ। बरु चित्रको पृष्ठभूमिमा भएका घरमा पाश्चात्य शैलीको प्रभाव देखिन थालेका छन्।
भक्तपुरको भाजुपोखरीको जग खन्दा चारैतिर बुर्जा भेटिएको छ। त्यस्तो बुर्जा भने रानीपोखरीमा भेटिएन।
मन्दिरको बुर्जा १९९० सालको भुइँचालोपछि निकालिएको हुनसक्ने श्रेष्ठको अनुमान छ। त्यसबेला जुद्धशमशेरले मन्दिरलाई गुम्बज शैलीमा निर्माण गरे।
रानीपोखरीको बीचमा रहेको मन्दिरलाई बालगोपालेश्वर भनिन्छ। श्रेष्ठका अनुसार ती जलेश्वर पनि हुन्। जलको मध्य भागमा रहेको शिवलिंगलाई जलेश्वर भनिन्छ, तर यहाँ बालगोपालेश्वर नाम नै प्रसिद्ध छ।
भाजुपोखरी उत्खनन क्रममा एक खण्डित मूर्ति फेला परेको थियो। दायाँ हातमा बज्र, पुष्प कुण्डल धारण गरेको, नृत्यरत मुद्रामा रहेको मूर्तिको परिचय सुरुमा पत्ता लगाउन गाह्रो थियो। धेरैले देवी मूर्ति भने। तर त्यसको वक्षस्थल थिएन। अध्ययन गर्दै जादाँ त्यो चतुर्बाहु इन्द्रसँग मिल्न गएको श्रेष्ठले बताए।
त्यही वरिपरि भेडाको आसनसमेत फेला परेको थियो। अध्ययन गर्दा पञ्चमहाभूत दर्शनबाट अभिप्रेरित भएर मन्दिर निर्माण भएको देखिन्छ। त्यो भनेको पृथ्वी, जल, आकाश, वायु र अग्नि मिलेर बनेको।
मन्दिर अगाडि खण्डित काठ पनि भेटिएको छ। त्यसबाट मन्दिरअघि नागराज भएको बासुकी स्तम्भ रहेको हुनसक्ने श्रेष्ठ बताउँछन्।
‘काठमाडौंको रानीपोखरी र भक्तपुरको भाजुपोखरी एकअर्काका ऐनाजस्ता हुन्। रानीपोखरी निर्माण गर्दा भक्तपुरको भाजुपोखरीलाई बिर्सनु हुँदैन,’ श्रेष्ठले भने।
भाजुपोखरी पनि परम्परागत इँटा र कालिमाटीकै प्रयोग गरेर निर्माण हुँदैछ। यहाँ रानीपोखरीमा जस्तो इनारहरू भेटिएका छैनन्। रानीपोखरीमा सातवटा इनार रहेको भनाइ छ। यी इनारबाट काठमाडौंका विभिन्न टोलमा पानी आपूर्ति हुन्थ्यो।
भाजुपोखरीमा भने इँटैइँटामात्रै फेला परे। श्रेष्ठका अनुसार यहाँको पानी पहिले जिर्णोद्धार क्रममा खनेर इनार, ढुंगेधारा अनि खेतीपातीका लागि लगेको देखिन्छ। हाल मन्दिरसम्म जाने पुल निर्माण गरिएको छ। मन्दिर पुनर्निर्माणको तयारी पनि हुँदैछ।
प्राधिकरणका सह–सचिव मानन्धरका अनुसार डिलमा रहेको झार निकालेर इँटाको अवस्था हेरिनेछ। त्यसपछि भत्किएको ठाउँमा इँटा थपिनेछ।
महानगरपालिकाले बिगारेर बनाएको रिटेनिङ वालमा माअप्पा (प्राचीन इँटा) ले छोपिन्छ। पोखरीको उबडखाबड सम्म पारेर बालुवा हालिनेछ। त्यसमाथि १८ इन्च द्यःचा भन्ने कालिमाटी हालिन्छ। द्यःचालाई भगवानको अर्थात् गुणकारी माटो मानिन्छ।
‘साँखु, मध्यपुर, भक्तपुर र पनौती क्षेत्रबाट कालिमाटी ल्याउने तयारी हुँदैछ। झन्डै १२ हजार क्युबिक मिटर माटो लाग्ने अनुमान छ,’ मानन्धरले भने, ‘यसको पानीलाई रोकिराख्ने क्षमता हुन्छ। त्यसमाथि, इँटाको सोइलिङ गरिनेछ।’
पोखरी भर्ने पानीका लागि भने टुँडिखेलको बोरिङका साथै त्रिचन्द्र क्याम्पसमा उत्तर पूर्व र उत्तर पश्चिममा ३०० मिटरमा बोरिङ गरेर निकाल्न लागेको मानन्धरले बताए। त्योबाहेक मेलम्चीबाट पनि एक लाइन पानी ल्याउने सहमति भएको छ।
‘यसले वाष्पीकरणबाट जाने पानीको क्षतिपूर्तिस्वरुप काम गर्ने छ,’ मानन्धरले भने।
प्राधिकरणका अनुसार आउँदो तिहारसम्म पोखरी बन्ने लक्ष्य छ। ‘दिदीबहिनीले भाइटीका लगाइदिने थलो भएकाले त्यसअगावै रानीपोखरी बनाउने लक्ष्य लिएका छौं,’ उनले भने।