पाटनको कुमारीपाटीबाट गाबहालतर्फ जाँदा करिब २ सय मिटरमा एउटा ठूलो रुखको हाँगो तगारो बन्न आउँछ।
बाटोमा एउटा भित्ताबाट अर्को भित्ता छेडिएको त्यही हाँगोमुनि मान्छे निहुरिएर हिँड्छन्, दुईपाङ्ग्रे सवारी गुड्छन्। त्यसैसँग जोडिएको छ, पाटनको 'अग्निशाला' अर्थात् चौबीसै घन्टा आगो बालिने ठाउँ।
काठमाडौं उपत्यकामा पहिले विभिन्न ठाउँमा यस्ता अग्निशाला थिए। अचेल पाटनको यही अग्निशालाले मात्र यो परम्परा धानेको छ।
कला इतिहासविद् गौतमरत्न बज्राचार्य, हार्वर्ड विश्वविद्यालयका संस्कृत प्राध्यापक माइकल विट्जेल, संस्कृति अनुसन्धाताहरू नुतनधर शर्मा, बालगोपाल श्रेष्ठ, आभास राजोपाध्याय लगायतका साथमा हामीले गत साता यो अग्निशाला भ्रमण गर्यौं।
हामी पुग्दा अग्निहोत्री र अग्निहोत्रिनीहरू अग्निशाला मन्दिरभित्रै थिए। यहाँ नित्यकर्म गर्ने उनीहरू नै हुन्। हामीले त्यहाँ अग्निकुण्डमा आगो बलिरहेको हेर्यौं। अग्निकुण्ड कुनै गोलो, कुनै चारपाटे त कुनै अर्धगोलाकार छन्। यी अग्निकुण्डलाई विष्णुकुण्ड, ब्रह्माकुण्ड, रुद्रकुण्ड, सूर्यकुण्ड र सभ्यकुण्ड भनिने अग्निशाला व्यवस्थापन समितिका ओमकण्ठ राजोपाध्यायले बताए।
‘विष्णुकुण्डमा आगो कहिल्यै खाली हुँदैन,' उनले भने, 'ब्रह्मा, रुद्र र सूर्यकुण्डमा भने सधैं बाल्नुपर्छ। सभ्यकुण्डमा विशेष अवसरमा मात्र बालिन्छ।’
सन् १९९२ देखि अग्निशालाको अध्ययन गर्दै आएका विट्जेल यसलाई प्राग–ऐतिहासिक परम्परा मान्छन्।
अनुसन्धाताहरूका अनुसार यो परम्परा त्यतिबेला सुरु भयो, जब चुह्लोमा आगो बाल्ने सजिलो स्रोत थिएन। यस्तै अग्निशालाबाट आगो ल्याएर घरघरमा बाल्नुपर्थ्यो। पछि माइक्रोग्लास लगायतबाट घामका किरणले आगो बाल्न थालियो। सलाई र लाइटर आविष्कार भए। यस्ता आधुनिक विकासक्रमले यो प्राग्–ऐतिहासिक परम्परा हराउँदै गयो।
अग्निशालामा कसरी आगो बालिन्थ्यो?
अग्निकुण्डमा पत्थर घोटेर, काठ घोटेर, सूर्यको किरण, पानी र शरीरबाट समेत आगो बाल्ने परम्परा रहेको अनुसन्धाता नुतनधर शर्मा बताउँछन्।
‘ब्रह्माकुण्डमा काठ, विष्णुमा पानी, रुद्रकुण्डमा ढुंगा, सूर्यकुण्डमा सूर्यको ताप र सभ्यकुण्डमा अग्निहोत्री ब्राह्मणीको नाभीबाट आगो बालिन्थ्यो रे,’ उनले भने, ‘अहिले त्यसरी बालिन्न। पानी र शरीरबाट पनि आगो बल्छ भन्ने कुरा त झन् कथाजस्तै सुनिन्छ।’
अग्निशालाको परम्परा नेपालमा कहिलेदेखि सुरू भयो भन्ने यकिन छैन। किम्बदन्तीअनुसार बंगाल (गौढ) भन्ने राज्यबाट धेरै मानिस थानकोटको मातातिर्थ नजिकै ‘झुलग्राम’ भन्ने ठाउँमा बस्न आए। त्यहाँ एक दम्पतीले होम गर्दा आगोले पूरै गाउँ जलेछ। त्यसैमा पतिको निधन भएपछि पत्नी आफ्ना दुई छोरासहित ललितपुरको बुबहाल भन्ने ठाउँ आइन्। विहारमा बसेकाले छोरालाई बौद्धको अभिषेक दिइन्।
एघारौं शताब्दिका राजा शंकरदेवले त्यहाँ अग्निशाला बनाए। ती दाजुभाइमध्ये दाइलाई अग्निहोत्री बनाएर परम्परा सुरु गरे। कतिले भने विशालनगर वा साँखु जलेपछि यहाँ बसोबास सुरू भएको र अग्निशाला बनेको मान्छन्। नुतनधरलाई भने गौढकै कथा सान्दर्भिक लाग्छ।
‘बंगालसँग हाम्रो केही परम्परा मिल्दाजुल्दा छन्। जन्ममृत्युका केही परम्परा उस्तै छन्। त्योसँगै हाम्रो वशंका कतिले थानकोटमा गएर देवाली पूजा गर्ने चलन पनि छ,’ उनले भने, ‘बुबहाल र अग्निशालाको पनि सम्बन्ध रहेको देखिन्छ। त्यसैले त्यही कथा सान्दर्भिक छ।’
अग्निशालामा फैलिएर बाहिरसम्मै पुगेको रुखको नाम वरुणवृक्ष (टेम्पल ट्रि) हो। शर्माका अनुसार यो वृक्ष पानी भएको ठाउँमा बढी पाइन्छ। त्यसैले यहाँ पहिले पोखरी भएको पनि अनुमान गरिन्छ। यो रूख काट्दा चोट लाग्ने लगायत नराम्रा घटना भएकाले बाटैमा तगारो भए पनि नकाटिएको उनी बताउँछन्। त्यस्तै रूख बुबहालमा पनि छ।
‘यसले बुबहाल र अग्निशालाको सम्बन्ध देखाउँछ,’ नुतनधरले भने, ‘त्यसबाहेक हाम्रो परम्पराअनुसार बुबहाल वा अग्निशालाका परिवारमध्ये कुनैको वंश नाश भयो भने अर्कोले त्यो ठाउँ हेर्नुपर्छ। त्यसैले अग्निशाला र बुबहाललाई दाजुभाइका रूपमा मानिन्छ।’
अग्निशाला घुम्दै जाँदा नुतनधरले दक्षिणको एउटा ढोकातिर इसारा गरे। त्यो ढोका अग्निहोत्री र अग्निहोत्रिनी प्रवेश गर्दा एकपटक मात्र खोलिने रहेछ। ओहोरदोहोर गर्ने अर्कै ढोका छ। करिब एक वर्षअघि अग्निहोत्री र अग्निहोत्रिनीका रूपमा जगनमोहनधर र अनुराधा राजोपाध्याय नियुक्त भएका छन्।
अग्निहोत्री र अग्निहोत्रिनीको जीवन ऋषिमुनीजस्तै हुने नुतनधर बताउँछन्। यसमा ब्रह्मचर्य (२५ वर्ष), गृहस्थ (५०), वनप्रस्थ (७५) र सन्यास (१००) जीवन पालना गर्नुपर्छ। अग्निशालाका अग्निहोत्री र अग्निहोत्रिनी राजोपाध्याय परिवारका जेष्ठ दम्पती हुनुपर्छ। अग्निहोत्री र अग्निहोत्रिनीको जीवनलाई उनी वनप्रस्थसँग जोड्छन्।
उनका अनुसार अग्निहोत्रिनी भनेको ‘अरुन्धती’ हुन्, तिनकै पति अग्निहोत्री ‘वशिष्ठ’। यी भनेका सप्तऋषि (द ग्रेट बियर) तारामण्डलमा हुने सात तारामध्ये दुई।
‘अरुन्धती र वशिष्ठ त्यस्ता तारा हुन् जसले एकअर्कालाई परिक्रमा गर्छन्। उनीहरू एक आदर्श जोडी हुन्। यो कुरा अग्निहोत्री र अग्निहोत्रिनीमा ठ्याक्कै लागू हुन्छ,’ उनले भने, ‘उनीहरू दुवै गृह त्यागेर वनप्रस्थ जीवन बिताउन आउँछन्। ब्रह्मचार्यजस्तै बन्छन्, नीतिनियम पालना गर्छन्। अनि एकको निधन भए सबै कुरा छाडेर बाहिरिन्छन्।’
नियुक्त अग्निहोत्री र अग्निहोत्रिनीले विभिन्न नीतिनियम पालना गर्नुपर्छ। बिहान आरती हुन्छ। त्यसपछि श्राद्ध, होम लगायत विधि। यहाँ श्राद्ध भने कहिल्यै टुट्दैन्।
‘सुरुमा मृत्यु भएका अग्निहोत्री र अग्निहोत्रिनीको सम्झनामा दैनिक श्राद्ध हुन्छ। त्यसपछि मात्र अरू मानिसको,’ व्यवस्थापन समितिका ओमकण्ठ राजोपाध्यायले भने, ‘कुनै दिन कसैको श्राद्ध परेन भने अग्निहोत्री र अग्निहोत्रिनीको मात्र भए पनि गरिन्छ।’
यसबाहेक ग्रहदशा शान्ति, जन्मदिन ग्रहशान्ति, अपसगुन शान्ति, मूर्तिमा देवता जगाउने लगायत पूजा पनि यहाँ आयोजना हुने उनी बताउँछन्।
‘पहिले पहिले कसैलाई दुःख वा मानसिक पीडा भए यहाँ आउँथे। अग्निहोत्रिनीले परामर्शबाट समस्या सामाधान गर्थिन्,’ उनले भने, ‘अहिले यस्तो हुन्न।’
अग्निशालाका अग्निहोत्री र अग्निहोत्रिनीमध्ये कुनै एकको निधन भए नयाँ नियुक्त गरिन्छ। मृत्यु हुनेलाई त्यहीँको अग्निकुण्डको आगो लगेर दाहसंस्कार गर्नुपर्छ। अग्निकुण्ड पनि भत्काएर नयाँ बनाउनुपर्छ। त्यसबीच पनि आगो बाल्न भने टुट्दैन्। नयाँ नबनुन्जेल अर्को ठाउँमा बालिन्छ। केही समययता अग्निकुण्ड नै भत्काउने चलन नभएको अर्का अनुसन्धाता बालगोपाल श्रेष्ठ बताउँछन्।
‘सन् २००४ मा अग्निहोत्री विष्णुज्वालानन्दको निधन भयो। उहाँको छोराले दाहासंस्कार गर्न यहाँबाट आगो लगेपछि अग्निकुण्ड भत्काइयो। त्यसपछि यहाँको परम्पराअनुसार सकिमना पूर्णेमा नयाँ अग्निकुण्ड बनाइयो,’ उनले भने, ‘त्यही बेला अग्निशाला व्यवस्थापन समितिले अबदेखि नभत्काउने निर्णय गर्यो। सरकारी निकायको सहयोग नभएकाले सधैं भत्काउन र बनाउन समस्या भएकाले यस्तो नियम लागू गरिएको हो।’
सरकारी निकाएको ध्यानाकर्षण नहुँदा यहाँका धेरै नीतिनियम परिवर्तन भएको अनुसन्धाताहरू बताउँछन्। त्यसमध्ये अग्निशालाभित्रै बस्नु नपर्ने नियम पनि हो। अग्निहोत्री र अग्निहोत्रिनी पहिले अग्निशालामै बस्नुपर्ने नियम थियो। अचेल असुरक्षा लगायत अन्य असुविधाका कारण घरमै बस्छन्।
अनुसन्धाता नुतनधरका अनुसार अग्निशाला मात्र अध्ययन गर्ने हो भने पनि इतिहासका विविध पाटा उधिन्न सकिन्छ। ‘अग्निशाला भनेको विगत खोज्ने ढोका पनि हो। हामी यसबाट विगतलाई अझै नियाल्ने प्रयासमा छौं,’ उनले भने।