त्यो बेला भुइँचालो भन्ने शब्दै सुनेका थिएनौं।
नेपालमा यो शब्दको प्रचलन सुरु भएकै १९९० सालको भुइँचालोपछि हो।
नब्बे सालमा भुइँचालो जाँदा म दरबार हाइस्कुलको विद्यार्थी थिएँ। भुइँचालोबारे पाठ्यसामग्री त परको कुरा, कुनै पनि लिखतमा कहीँ कतै उल्लेखै थिएन। अलि पछि थाहा पाएअनुसार वंशावलीमा मात्र यसको चर्चा भएको रहेछ। नत्र त जनजीवनमा भुइँचालो भन्ने शब्दै थिएन। त्यसैले, यसबारे कुनै जानकारी हुने कुरै आएन।
हाम्रो नेवार परम्परामा कुमार षष्ठीका दिन सिठी नखः भन्ने पर्व मनाइन्छ। इनारलगायत पानीका विभिन्न मुहान सफा गर्ने पर्व हो यो। त्यही बेला पृथ्वी मातालाई पनि पूजा गर्ने चलन उहिल्यैदेखि छ। पृथ्वी माताको पूजा गर्दै घर वरपर सफासुग्घर गर्ने। पर्यावरण स्वच्छ राख्ने।
खै के भएर हो, त्यो सिठी नखःकै दिन अक्सर गरेर कम्पहरू आउँथे। यसरी जमिन काँप्ने बेला महिलाहरूले बूढीऔंलाले भुइँ थिच्थे। त्यसरी थिच्दा पृथ्वीले सान्त्वना पाउँछ भनिन्थ्यो। हल्लिएको भुइँ थामिन्थ्यो पनि। हामीले थाहा पाएको यति मात्रै थियो।
यति ठूलो कम्पन पनि हुन्छ र ज्यानै जोगाउनुपर्छ भन्ने त कहीँ कतै केही जाने-सुनेकै थिएनौं। श्रुति परम्पराबाट पाउने जानकारीबाहेक अहिलेजस्तो आमसञ्चारको जग पनि राम्ररी बसेको थिएन। पछि जब ९० सालको भुइँचालो गयो, प्रायः सबैले नयाँ र कहिल्यै नसुनेको अनुभव गरे।
त्यति बेला मेरो पनि आफ्नै खाले केटाकेटी अनुभव छ।
त्यो माघ महिना मीनपचासको विदाकै बेला परेको थियो। म पढ्ने दरबार हाइस्कुलमा छुट्टि भएकाले गाउँ गएको थिएँ। त्यो गाउँ भनेको अहिलेको महाराजगन्ज हो। त्यहाँ मेरा पिताजीको डेरा थियो। पिताजीसँग उहाँको डेरामै बसिरहँदा त्यस दिन म गोठालेहरूसँग खेल्न चौरतिर निस्केको थिएँ।
हामी भुराभुरी खेलिरहेकै बेला मैले हेर्दाहेर्दै अगाडिका रूखहरू नाच्न थाले। रूख मात्र के हुन्थ्यो? म त आफैं पनि नाचिरहेको रहेछु। मलाई त गज्जब रमाइलो लाग्यो। पेट मिचिमिचि हाँस्न थालेँ।
‘यो के गजब भयो’ भन्दै हामी सबै केटाकेटीका हुल रमाइरहेका थियौं।
एकैछिनमा एक जना मान्छे हामी नजिकै आइपुगे।
‘यस्तोमा रमाइलो मान्दै हाँस्ने हो मोराहरू?’ उनले हामीलाई हकार्न पो थाले, ‘यो त ठूलो विपत हो।’
उनले हामी बसेका घरतिर जम्मै भत्किसकेको, चर्किसकेको जानकारी दिए। अब सुरक्षित भएर बस्नुपर्छ भनेर अह्राए पनि। त्यसपछि बल्ल त्यो त ठूलै विपद रहेछ भन्ने चाल पायौं।
स्कुल खुलेपछि पढ्न सहरतिर जाँदा जताततै भत्केको देखियो। म पढ्ने दरबार हाइस्कुल पनि नराम्ररी भत्केको थियो। यस्तो अवस्थामा हाम्रो स्कुल सार्नुपर्ने भयो।
त्रिचन्द्र कलेजको पुरानो भवनमा रहेको मानविकी फाँट र नयाँ भवनको विज्ञान फाँटमा ज्यादै ठूला ‘कोरिडोर’ थिए। तिनै ‘कोरिडोर’का बीचबीचमा कोरा कपडाको छेकाजस्तो राखेर फरक-फरक कक्षा छुट्याइएका थिए।
त्यो बेला कक्षामा बढीमा ४५ जना विद्यार्थी राखिन्थ्यो। त्यसैमा ‘क्लास एक्स’, ‘क्लास आई एक्स’, ‘क्लास आई भि’ लेखेर जनाउ दिइयो। यसरी ९० सालको भुइँचालोपछि दरबार हाइस्कुलका विद्यार्थीलाई धेरै दिनसम्म त्रिचन्द्रमा पढाइएको थियो।
भुइँचालोको नोक्सानीसम्बन्धी सारा कुराको विवरण राख्न एउटा महत्वपूर्ण कदम सरकारले चालेको थियो। भुइँचालोका विस्तृत तथ्यांक समेट्न ‘भूकम्प पीडितोद्धारक अड्डा’ कायम गरियो। त्यो अड्डा टुँडिखेलस्थित महांकाल मन्दिरको तीनतिरको टहरामा खोलिएको थियो। पछि स्वयंसेवी परिचालनको काम पनि त्यसै अड्डाबाट भएको थियो।
त्यसै अड्डाबाट बिग्रे–भत्केका घरको तथ्यांक लिने काम गरियो। त्यसैबाट एउटा कोष तयार पारियो। ‘भूकम्प पीडित कोष’ नाम दिइएको त्यसमा उतिबेलाको पचास लाख रूपैयाँ जति जम्मा भएको थियो। त्यही कोषबाट जनतालाई निर्ब्याजी ऋण दिइएको थियो। ऋण लिन कसको-कति नोक्सानी भएको छ, सबै उल्लेख हुनुपर्थ्यो। त्यही विवरण हेरेर रकम वितरण गरियो।
पछि भने दान-दातव्यबाट जम्मा भएको पैसाको ब्याज मात्र होइन, ऋणै मिनाहा गरिदिनुपर्छ भनेर राणा शासकले निर्णय गरिदिए। कसैले फर्काउनु परेन। तिर्न गएका ऋणीलाई पनि पैसा नलिएरै फिर्ता पठाइयो।
त्यो बेला भुइँचालो कसरी गयो? के कति नोक्सान भयो? कति मान्छे मरे? भुइँचालोसम्बन्धी जनविश्वास के थियो? हामीकहाँ भुइँचालो नाप्ने यन्त्रसमेत नभएकाले कति कम्पनको थियो? केन्द्रविन्दु नेपाल नभएर सीमावर्ती सीतामढी थियो भन्ने तथ्यका साथै आइन्दा भुइँचालो आउँदा कसरी होसियार हुनुपर्छ भन्नेजस्ता विवरण समेटेर पुस्तकै तयार पारिएको थियो। त्यसरी पुस्तक तयार पार्ने काम ब्रह्मशमशेरले गरेका थिए। उनी त्यो बेलाका ‘डाइरेक्टर जेनरल अफ हेल्थ सर्भिसेज’ (आजभोलिका हिसाबले स्वास्थ्यमन्त्री) थिए।
भुइँचालो त गइरहने कुरा भयो। फेरि कुनबेला आउँछ थाहा छैन। तर, त्यसउपरान्त फेरि यत्तिको क्षति नहोस् भनेर घर बनाउने बेला पनि यो यो तरिका अपनाउनु, उपत्यकाभित्रै फलानो ठाउँमा बनाउनू, फलानो ठाउँमा नबनाउनू भनेर भावी पुस्तालाई काम लाग्ने गरी दस्तावेजीकरण त्यस पुस्तकमा गरिएको थियो।
कतिसम्म भने, हाम्रा मन्दिरहरू त आफ्नै प्रविधि, आफ्नै डिजाइनका हुने गर्छन्। त्यस्ता मन्दिरको सुरक्षालाई समेत ख्याल गरेर पुस्तकमा मार्गदर्शन गरिएको थियो।
त्यो पुस्तक पढेरै मान्छेले ९० सालअघि पनि सय–सय वर्षको अन्तरालमा यहाँ ठूला भूकम्प गइरहेको रहेछ भन्ने जानकारी पाए।
आजजस्तो सञ्चारको यत्रो विकास भएको क्षणमा होइन, एउटा गोरखापत्र पनि सातामा एक अंक मात्र निस्कने गरेको बेला लेखिएको पुस्तक हो त्यो। त्यसले आजको निम्ति पनि आवश्यक कतिपय महत्वपूर्ण कुराबारे उतिबेलै संकेत गरेको थियो। त्यसलाई हामीले ख्याल गरेनौं। त्यो ख्याल नगरेकै कारण तीन वर्षअघिको महाभूकम्पमा हामीले धेरै दुःख पायौं। हामीले इतिहासबाट पाठ सिक्ने कामै गरेनौं। अझै पनि गरिरहेका छैनौं जस्तो लागिरहेको छ।
त्यो बेला रानीपोखरीको डिलदेखि त्रिपुरेश्वरसम्म विशाल टुँडिखेल थियो। त्यसैभित्र टन्नै कमलका फूलले ढाकिएका दुईवटा असाध्यै सुन्दर पोखरी थिए। वातावरण र सुन्दरताको हिसाबले त्यसको वर्णनै गर्न सकिन्न। यतातिर सुन्धारामा अविच्छिन्न अविरल रूपले बग्ने एउटा मुख्य र अरू पनि थुप्रै धाराहरू थिए। सबैले पिउने पानीको आधार थियो त्यो। त्यत्रो भुइँचालो जाँदा पनि त्यो सुन्धाराले पानीको ठ्याम्मै अभाव हुन दिएन। सारालाई छेलोखेलो पानी दियो। काठमाडौं मात्र होइन, वरपरका सारालाई त्यो टुँडिखेलले आश्रय दियो।
अहिलेजस्तो त्रिपालको चल्ती थिएन। आ–आफ्नै तरिकाले खादीका कपडा राखेर आश्रयस्थल तयार पारिएको थियो। जे होस्, सबैले ओत पाएका थिए।
विद्युत प्राधिकरण, राष्ट्रिय सभागृह, पर्यटन बोर्ड, भृकुटीमण्डप, प्रदर्शनी मार्गका विभिन्न क्याम्पस केही थिएनन्। पूरै हरियाली थियो यो क्षेत्र। पर्याप्त जमिन र हरियाली भएकाले जतिसुकै मान्छे टुँडिखेलमा अटाएर शरण लिएका भए पनि फोहोर देखिएन।
त्यतिबेला त्यसरी आश्रय दिएको ठाउँ फेरि काम लाग्नसक्छ। त्यो धाराको पानी बगिरहनुपर्छ। बस्नका निम्ति कस्ता घर बन्नुपर्छ भन्ने शिक्षा त लिनुपर्ने हो। त्यो केही भएन। त्यति महत्वपूर्ण सुन्धाराकै पछिल्तिर अग्लो घर बनाएर मुहानै थुन्ने काम गरियो। जबकि ब्रह्मशमशेरले त्यो किताबमा यस्ता कुरा उतिखेरै संकेत गरेका थिए।
सम्पदा संरक्षणका हिसाबमा कुरा गर्दा पनि त्यतिबेला संकलित जानकारी महत्वपूर्ण छ। जस्तो, उपत्यकाका कुन कुन महत्वपूर्ण मठमन्दिर कसरी भत्केका थिए भन्ने कुराको सचित्र वर्णन थियो।
एउटा उदाहरण महाबौद्ध मन्दिरकै लिन सकिन्छ। पाटनको महाबौद्ध मन्दिर बुद्धमार्गीका निम्ति असाध्यै महत्वपूर्ण थियो। यसको निर्माण ‘टेराकोटा’ बाट गरिएको थियो। इँटा बनाउन त हामी सबैले जानेकै छौं। त्यो टेराकोटाले बनेको मन्दिर उभ्याउन भने यस्तो चिज चाहिने जुन माटोदेखि पकाउने तरिकासम्मै फरक। माटो मात्रै सात प्रकारको प्रयोग हुने। सुकाउने, पोल्ने सबै तरिका फरक। यसबारे पनि उतिबेलै विस्तारमा वर्णन गरिएको थियो।
त्यही सुझावबमोजिम ९० सालमा भत्किएको महाबौद्धको मन्दिरलाई पछि जस्ताको त्यस्तै उभ्याउने काम गरिएको थियो।
अहिलेको भुइँचालोबाट पनि हामीले के कस्ता पाठ सिक्यौं भन्ने अध्ययन गरेर आउने समयको निम्ति मार्गदर्शन गर्नु जरुरी छ।
त्यो बेला काठमाडौंको सहरीकरण भइसकेको थिएन। ९० सालमा बस्ती भनेकै अहिलेका असन, भोटाहिटी र इन्द्रचोकवरपर थिए। त्यो भुइँचालोले सहरीकरण विकासतर्फ लाग्न घच्घच्यायो। जुद्ध सडक त्यसैको देन हो। त्यसैलाई पछि नयाँ सडक वा न्यूरोड पनि भनियो। उति बेला नेवारहरू न्ह्यु सडक भन्थे।
कमसेकम टुँडिखेलदेखि अहिले जुद्धशम्शेरको सालिक भएको स्थानसम्म आधुनिक सडक बन्यो। त्यही सालिकबाट अर्को लर्कन इन्द्रचोकतर्फ उतिबेलै लगिएको हो, बजार जोड्ने गरी। त्यसैगरी अर्को लर्कन रणमुक्तेश्वरतिर आयो।
यसरी आजको न्यूरोड ९० सालको भुइँचालोको उपज थियो।
दैवीप्रकोप आउँछ। नआउने होइन। त्यसले बिगार पनि गर्छ। तर, त्यसबाट शक्ति आर्जन गर्न र त्यसैको प्रयोगबाट आउने समयको निम्ति योजनाबद्ध तरिकाले विकास गर्न सक्नुपर्छ।