अघिल्लो दिन कक्षा १ मा पस्दा शिक्षकले पढाउँदै गरेका दुई बालक देखिए।
‘यति थोरै विद्यार्थीलाई पढाउँदा कस्तो लाग्छ?’
यो प्रश्न सुनेर शिक्षक हमप्रसाद कुँवरले एकछिनसम्म संकोच माने।
‘नाइँ, पोहोर त कोठाभरि नअटाउने केटाकेटी थिए,’ उनले भने, ‘यसपालै स्वाट्टै घटेका हुन्।’
कुँवरले सोधिएको प्रश्नको पनि जवाफ दिए।
‘यी दुई जनालाई मात्र पढाउँदा नराम्रो जो लाग्छ,’ थपे, ‘तर, जति जना भए पनि आफ्नो काम त गर्नैपर्यो।’
कक्षाबाट निस्केको केही समयपछि यति थोरै विद्यार्थीको कारणबारे थाहा पाउँदा आश्चर्यले सीमा नाघ्यो।
‘पोहोरसम्म यो कक्षामा अटाइ नअटाइ केटाकेटी भरिएका हुन्थे,’ विद्यालय सञ्चालक समितिका अध्यक्ष सुजनचन्द्र गौतमले भने, ‘यो शैक्षिक सत्रदेखि हामीले चलाउँदै आएको दिवा खाजा बन्द गरेपछि विद्यार्थी आउनै छाडे।’
गुल्मीको सदरमुकाम तम्घासबाट २० किलोमिटर पश्चिम पर्ने अमरपुर गाउँस्थित ‘अमरपुर ओमप्रसाद गौतम उच्च माध्यमिक विद्यालय’ को अवस्था हो यो।
२०१८ सालमा स्थापित विद्यालयमा गाउँकै एउटा संस्थाले निजी तवरबाट तीन वर्षसम्म प्राथमिक तहका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराएको रहेछ। खाजा खुवाउन थालेपछि गाउँभन्दा घन्टौं पर-परदेखि तीन कक्षासम्मका केटाकेटी त्यहाँ आउन थालेका रहेछन्। कक्षा कोठा भरिभराउ।
यही शैक्षिक सत्रदेखि त्यो खाजा बन्द भयो। साना कक्षाका विद्यार्थी गायब।
यो जानकारी पाएपछि म भोलिपल्ट फेरि त्यो कक्षामा पुगेँ।
त्यति बेला कक्षामा छ जना विद्यार्थी थिए। तीमध्ये दुई जना विपन्न कुमाल समुदायका।
विष्णु कुमाल सिम्पानीदेखि आएका रहेछन्। अघिल्लो वर्ष शिशु कक्षामा हुँदा स्कुलले खाजा दिने गरेको उनले सम्झे।
‘यसपाला किन दिएनन्?’ भनेर सोध्दा उनी हाँसी मात्र रहे।
उनले पोहोरभन्दा धेरै कम साथी भएको अनुभव सुनाए।
जमुना कुमाल भने यसै वर्षदेखि यो स्कुल आउन थालेकी रहिछन्। उनकी दिदी यहीँ कक्षा दुईमा पढ्छिन्। जमुना अमरपुरभन्दा आधा घन्टा ओरालोमा पर्ने बुल्म गाउँदेखि हिँडेर आएकी हुन्।
‘पोहोर दिदी पढ्न आउँदा गाउँबाट २० जनाभन्दा धेरै साथीहरु सँगै आउँथे,’ उनले भनिन्, ‘यसपाला म र दिदीबाहेक अरू दुई जना मात्र आइरहेका छौं।’
बिहानै भएकाले मात्र त्यो कक्षामा छ जना विद्यार्थी देखिएको अध्यक्ष ज्ञवालीले सुनाए। दिउँसो हुँदै गएपछि फेरि अघिल्लो दिनकै अवस्था दोहोरिने रहेछ।
‘केही बेरपछि भोक लाग्दै जान्छ,’ उनले भने, ‘त्यसपछि यी पनि हराउँछन्।’
प्रधानाध्यापक तीलबहादुर पराजुलीका अनुसार पोहोरसम्म प्राथमिक तहमा झन्डै ६० विद्यार्थी यहाँ पढ्थे। अहिले २० जना मात्रै छन्।
‘उनीहरू पनि पढाइ अवधिभरि कक्षामा बस्दैनन्,’ उनले भने, ‘दिवा खाजा खुवाउँदा भएभरका विद्यार्थी खाजा दिने बेला अर्थात् बेलुकीसम्मै कक्षामा हुन्थे।’
पराजुलीका अनुसार तल बुल्म गाउँमै प्राथमिक विद्यालय भए पनि त्यहाँदेखि थुप्रै विद्यार्थी आधा घन्टा उकालो हिँडेर यो स्कुलसम्म आउँथे। यसको एउटै कारण त्यही दिवा खाजा थियो।
‘खाजा बन्द भएपछि अब त्यहाँबाट फाटफुट विद्यार्थी मात्र आउन थालेका छन्,’ उनले भने, ‘यसरी आउन बन्द गरेका विद्यार्थी त्यहीँको स्कुल पनि जान्छन् वा जाँदैनन् भनेर खोजी चाहिँ गरेका छैनौं।’
बुल्म विपन्न कुमाल जाति बहुल गाउँ हो। यो जातिमा अधिकांश अभिभावक दिनभर मजदुरी गर्ने र बेलुकी मदिरा सेवन गर्ने स्थिति रहेको अध्यक्ष ज्ञवाली बताउँछन्।
‘कमाएको पैसाजति मदिरामै सकेपछि घरेलु हिंसा पनि उत्तिकै हुने गरेको छ,’ उनले थपे, ‘यस्तो अवस्थामा भोका केटाकेटी साथीसँग खेल्न र खान पाउने लोभकै कारण उक्लेर माथिको स्कुल आउने गरेका थिए।’
‘जता पढे पनि भर्ना निःशुल्क हो। त्यसैले यो समूहका विद्यार्थी सजिलै स्कुल आउन थाल्ने र अचानक बन्द गरिदिने पनि गर्छन्,’ प्रधानाध्यापक पराजुली भन्छन्, ‘स्कुलमै सबभन्दा बढी ड्रपआउट (बीचैमा पढाइ छाड्ने) समूह पनि यही हो।’
खाजा कार्यक्रम बन्द गरेपछि प्राथमिक तहका प्रत्येक कक्षामा ठूलो मात्रामा विद्यार्थी घटेको उनले जानकारी दिए।
यसको अर्को रोचक पाटो पनि छ।
यहाँ पहिले खाजा कार्यक्रम चलाउने व्यक्ति कुलचन्द्र गौतम हुन्। उनी विश्वभरिका बालबालिकाको हितमा काम गर्ने राष्ट्रसंघीय निकाय युनिसेफमा कुनै समय नायब कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्।
गौतमले आमाको नामबाट स्थापित संस्था ‘हिमा स्मृति कोष’ तर्फबाट गाउँमा थुप्रै ठूला-साना कार्यक्रम चलाएका छन्। त्यसमध्येको एउटा यो ‘दिवा खाजा’ पनि थियो।
तीन वर्षसम्म चलेको यो कार्यक्रम किन बन्द भयो?
‘पैसा लगानी गर्न हामीलाई समस्या थिएन,’ गौतम भन्छन्, ‘तर, तीन वर्षसम्म घरमै पकाएर ल्याउँदै विद्यार्थीलाई खुवाउँदा पनि यसको स्वामित्व लिइदिन स्कुलदेखि स्थानीय तहसम्म कोही अग्रसर भइदिएनन्।’
यस किसिमका काममा स्थानीय अग्रसरता भइदिएन भने दिगो रूपमा चलाउन मुश्किल पर्ने गौतम सुनाउँछन्। तत्काललाई खाजा रोकिदिँदा यसरी विद्यार्थी घटेको थाहा पाउँदा दुःख लागेको उनले बताए।
‘दिवा खाजाले स्कुले केटाकेटीमा ठूलो प्रभाव पार्छ भन्ने विश्वव्यापी अनुभवकै आधारमा हामीले यहाँ सुरु गरेका थियौं,’ गौतम भन्छन्, ‘यसले कक्षामा विद्यार्थीको उपस्थितिदेखि ध्यान केन्द्रित गर्नसम्म सहयोगी भूमिका खेल्छ। यो संसारभर पुष्टि भइसकेका कुरा हुन्।’
आफूहरूले सुरु गरेर देखाइदिएपछि स्कुल वा गाउँपालिका कसैले सिकेर अघि बढाउँछ होला भन्ने लागेकोमा त्यसो हुन नसकेको उनले सुनाए।
‘यो धेरै महँगो पनि थिएन, वर्षको तीन लाख रुपैयाँमा काम चल्थ्यो,’ उनी थप्छन्, ‘पैसा लिएर फेरि अघि बढाउन स्थानीयले अग्रसरता लिइदिएको खण्डमा हामी नै लगानी गर्न तयार छौं।’
गौतमले विद्यालयकै अभिभावकतर्फ संकेत गर्दै उनीहरूले आलोपालो पकाएर खुवाउने जिम्मा लिइदिने हो भने पैसाको बन्दोबस्त गर्न आफू तयार रहेको सुनाए।
उनका अनुसार सरकारले स्कुले केटाकेटीका लागि चलाएको खाजा कार्यक्रम गुल्मीमा अहिलेसम्म लागू भएको छैन। जबकि, यसको आवश्यकता यहाँ कति धेरै छ भन्ने अमरपुरकै स्कुल उदाहरण बनेको छ।
अब यसलाई स्कुल वा गाउँपालिकाले अघि बढाउने हो भने सबभन्दा उपयुक्त हुने गौतमको सुझाव छ।
स्कुलका प्रधानाध्यापक पराजुली भने निजी श्रोतबाट थुप्रै शिक्षकलाई तलब खुवाउनु परेकाले स्कुललाई मासिक ७० हजार रुपैयाँ घाटा परिरहेको सुनाउँछन्। कार्यक्रम अघि बढाएर थप ब्ययभार उठाउन नसक्ने उनी बताउँछन्।
यस्तो स्थितिमा बाँकी हुन्छ गाउँपालिका।
अमरपुर जोडिएको इस्मा गाउँपालिका वर्तमान मन्त्रिपरिषद्का सदस्य गोकर्ण विष्टको घर हो। विष्टकै सहोदर दाजु यो पालिकाका प्रमुख छन्।
‘गाउँपालिकाले चाहने हो भने यहाँका स्कुलमा खाजा कार्यक्रम चलाउन मुश्किल पर्दैन,’ गौतम भन्छन्, ‘पहिले लाखका हिसाबले बजेट चलाउने निकाय अहिले करोडौं परिचालन गर्ने भएका छन्।’
मुलुकभरका स्थानीय तहजस्तै इस्मामा पनि सामाजिक एवं मानवीय विकासभन्दा बढी भौतिक निर्माणतर्फ बढी लगानी भइरहेको गौतम सुनाउँछन्।
‘सामाजिक विकास र भौतिक विकासमा सन्तुलन ल्याउनु जरुरी छ,’ उनी भन्छन्, ‘एउटा भवन बनाउने पैसाले दुई सय जना केटाकेटीलाई दिवा खाजा दिन सकिन्छ। उनीहरू स्कुलतर्फ आकर्षित हुन्छन्। त्यसले भविष्यमा दिने प्रतिफल भवनले दिनेभन्दा निकै ठूलो हुन्छ।’
गाउँपालिकाले यसमा हात नहाले फेरि पनि खाजा कार्यक्रम चलाउन आफूहरूले नै कुनै तरिका खोजी गर्ने गौतमले जानकारी दिए।
इस्मा गाउँपालिकाको वडा नम्बर ६ मा अमरपुर पर्छ। यसका वडाध्यक्ष हुन्, हिराबहादुर जिसी।
सरकारले विभिन्न जिल्लामा चलाइरहेको खाजा कार्यक्रम गुल्मीमा लागू नभएको र त्यसनिम्ति आफूहरूले अहिलेसम्म खोजी पनि नगरेको जिसीले स्वीकारे।
‘यो स्कुलको उदाहरणले यस्तो खाजा कार्यक्रम कति प्रभावकारी हुँदोरहेछ भन्ने मैले पनि थाहा पाएँ,’ जिसी भन्छन्, ‘यो गाउँपालिकामा ४३ वटा स्कुल छन्। सबैको अध्ययन गरेर यस्तो कार्यक्रम चलाउनुपर्ने हुन्छ।’
दिवा खाजा चलाउनेबारे गाउँपालिकामा आजसम्म कुरा नउठेको उनले जानकारी दिए।
‘हाम्रो प्राथमिकता पिछडिएका वर्गहरूलाई कसरी समेट्ने भन्नेतर्फ रह्यो,’ जिसी भन्छन्, ‘त्यसैअनुसार हामीले कुमाल जातिका केटाकेटीलाई स्कुल पोसाक बन्दोबस्त गरिदिएका छौं।’
जिसीका अनुसार हालै गाउँपालिकाले आफू मातहतका १२ सय कुमाल जातिका विद्यार्थीलाई स्कुल पोसाक किनिदिएको थियो।
‘स्कुलमा विद्यार्थीको पहुँच कसरी बढाउने भन्नेमा हामी पक्कै चिन्तित छौं,’ उनले थपे, ‘अमरपुरको स्कुलमा देखिएको दिवा खाजाको उदाहरण लिएर यो विषय अब म गाउँपालिकामा उठाउँछु।’
विद्यार्थीलाई छ महिनाअघिसम्म खाजामा मकै, चना र आलुजस्ता यतै पाइने चिज भुटेर-उसिनेर दिने गरेको व्यवस्थापन समितिका अध्यक्ष सुजनचन्द्र गौतम बताउँछन्।
‘कहिलेकाहीँ केही नजुट्दा दालमोठ र चिउरा पनि दिइन्थ्यो,’ उनले थपे, ‘त्यो खान पनि उनीहरू असाध्यै रमाइलो मान्थे।’
यी साना विद्यार्थीलाई फेरि दिवा खाजा व्यवस्था गर्न पाए विशेषगरी यो भेगका कुमाल जातिका धेरै केटाकेटी पढाउन सकिने गौतम सुनाउँछन्।