इन्दिरा दलीलाई पुस्तकालयविद्को उपमा यसै दिइएको होइन।
उनी ७० वर्ष पुगिन्। जिन्दगीको ३६ वर्ष पुस्तकालयमै बिताएकी इन्दिराले सात वर्षअघि औपचारिक अवकाश पाएकी हुन्।
अवकाशले उनको पुस्तकालय प्रेमलाई भने रोकेको छैन।
आज पनि इन्दिराको हरेक दिन पुस्तकालय गतिविधिमै बित्छ। साना नानीबाबुलाई पढ्ने बानी गराउन बाल पुस्तकालय अभियानमा लागेकी छन्। सानेपामा बाल पुस्तकालय चलाउँदै आएकी छन्। पुस्तकालयसम्बन्धी नीति निर्माण तहमा सहभागी हुन्छिन्।
‘बाल शाखा विस्तारपछि बल्ल पुस्तकालय निर्माणको आधार तयार हुन्छ,’ उनी भन्छिन् ‘रोजेको किताब पढ्न दिए केटाकेटी खुसी हुन्छन्। स्वअध्ययनले उनीहरूलाई दरिलो बनाउँछ। आफ्ना कुरा राख्न सक्छन्। अध्ययनशील समाजको सुरूआत यहीँबाट हुन्छ।’
अर्थशास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा स्नातक र कानुन पनि पढेकी इन्दिरालाई पुस्तकालयले कसरी आकर्षित गर्यो?
त्रिभुवन विमानस्थलको मौसम पूर्वानुमान महाशाखामा काम गर्ने उनी अर्थशास्त्रमा पिएचडीको तयारी गर्दै थिइन्। त्यही क्रममा उनलाई अध्ययन गर्न पुस्तकालय अभाव खट्कियो। उनले आठ वर्ष लामो सरकारी जागिर छाडेर त्रिभुवन विश्वविद्यालयमा आवेदन दिइन्। पुस्तकालयसँग निकट हुन पाइने लोभले उनलाई विश्वविद्यालयतर्फ तानेको थियो।
‘पिएचडीको तयारीमा थिएँ, गाइड एकातिर, जागिर अर्कातिर, अनि लाइब्रेरी अर्कातिर। समस्या भयो। मैले सरकारी जागिर छाडेर त्रिविमा आवेदन भरेँ। पहिलो नम्बरमै नाम निस्कियो,’ उनले भनिन्।
नाम त निस्कियो, तर उनले सोचेजस्तो सजिलो भएन। उनले त्रिविअन्तर्गतका अन्य क्याम्पस जानुपर्ने भयो। पुस्तकालय नजिक काम गर्न पाइन्छ भन्ठानेर आवेदन दिएकी इन्दिराले अन्यत्र जानुपर्ने भएपछि नियुक्तिपत्रै लिइनन्।
त्यसको १५ दिनमा उनलाई मानविकी संकायका डिन उपेन्द्रमान मल्लले भेट्न बोलाए। इन्दिराले आफ्नो रूचि खुलस्त राखिन्। उनलाई पद्मकन्या क्याम्पसको लाइब्रेरियन भएर बस्न भनियो।
यो उनले सोच्दै नसोचेको प्रस्ताव थियो। उनलाई पुस्तकसँग प्रेम थियो, तर पुस्तकालय व्यवस्थापनबारे ज्ञान थिएन। यस्तोमा पद्मकन्या क्याम्पसको पुस्तकालय सम्हाल्ने प्रस्ताव आएपछि सुरूमा उनले आनाकानी गरिन्। तत्कालीन डिन उपेन्द्रमानले सम्झाए। कर पनि गरे।
‘उहाँले पिएचडीमा सजिलो हुन्छ भनेपछि म सहमत भएँ,’ उनले भनिन्, ’पछि त्रिविमा खाली भएपछि बोलाउँछु भनेर आश्वासन दिनुभयो।’
उनी त्यसपछि पुस्तकालय विज्ञानसम्बन्धी ३५ दिने तालिममा सहभागी भएर पद्मकन्या गइन्।
यहीँबाट सुरु भयो, इन्दिराको पुस्तकालय यात्रा।
पद्मकन्या पुस्तकालयमा त्यति बेला किताबका चाङ अहिलेभन्दा बढी भएको इन्दिरा सम्झन्छिन्। ती सबै किताब व्यवस्थापन गर्न इन्दिरालाई सुरूमा अप्ठ्यारो पनि भयो। किताबप्रतिको लगावले काममा सहयोग गरेको उनी बताउँछिन्।
‘मैले पुस्तकालयमा आवश्यक सामग्री कहिल्यै कमी हुन दिइनँ। यसले विद्यार्थी मात्र होइन, प्राध्यापकसमेत पुस्तकालय प्रवेश नगरी अन्त नजाने भए,’ उनले भनिन्, ’मभन्दा अगाडिका लाइब्रेरियन आफू किताब पढेर बस्ने, अरू कोहीसँग नबोल्ने स्वभावका रहेछन्। म सबैसँग कुराकानी गर्थें। किताब खोज्न सघाउँथेँ। यसले विद्यार्थी, प्राध्यापक र पुस्तकालयका कर्मचारी पनि मसँग घुलमिल भए।’
सानैदेखि पढ्ने रहर भएकी इन्दिराले चारैतिर किताबको बीचमा बसेर पनि पढ्ने फुर्सद विरलै पाइन्। नयाँ किताब किन्नुपरे आफैं कुद्थिन्। विद्यार्थी र प्राध्यापक निम्ति कुनै किताब खोज्नुपरे आफैं लाग्थिन्। यसबाहेक पुस्तकालयमा आएका नयाँ किताब दर्तादेखि दराजमा मिलाउनेसम्म सबै काम आफैं गर्थिन्। यसले पढ्ने समय कम भयो। किताबप्रति लगाव भने हलक्कै बढ्यो।
‘लाइब्रेरी भनेको संसारकै सबभन्दा पवित्र स्थल हो भन्ने लाग्न थाल्यो,’ उनले भनिन्, ’यो ज्ञानको यस्तो भण्डार हो, जहाँ कसैलाई कुनै खालको विभेद हुँदैन।’
इन्दिरा आफू पुस्तकालयलाई जति सम्मान गर्थिन्, अरूले भने पुस्तकालय र त्यहाँ काम गर्नेलाई हेय दृष्टिले हेर्ने गरेको उनले पाइन्। एउटै क्याम्पसका साथीभाइले पनि पुस्तकालयको कामलाई कामकै रूपमा नलिएको देख्दा उनी दु:खी हुन्थिन्।
‘पुस्तकालयको कामलाई अहिले त तुच्छ सम्झने प्रवृत्ति छ भने २०३२ सालतिर कस्तो थियो होला! मलाई सबैले यति धेरै पढेको मान्छे लाइब्रेरीमा बस्ने हो भनेर हतोत्साही गर्थे। अन्तै काम गर वा क्याम्पस पढाऊ भनेर दबाब दिइरहन्थे। लाइब्रेरीमा बस्ने मान्छे कम पढेको र केही नजानेको हुन्छ भन्ने जब्बर मानसिकता थियो। अरूले जति बेवास्ता गर्थे, ममा पुस्तकालय सम्मानित क्षेत्र हो भनेर देखाउने तत्परता उति बढ्थ्यो,’ उनले भनिन्।
पद्मकन्यापछि उनको पुस्तकालय यात्रा मीनभवनस्थित नेपाल कमर्स क्याम्पससँग जोडियो। क्याम्पस गएकै दिन उनलाई त्यहाँको पुस्तकालयबारे एक सातामा रिपोर्ट बनाउन भनियो। पद्मकन्याको अनुभव छँदै थियो। उनले भोलिपल्टै रिपार्ट बुझाइन्। र, पुस्तकालय प्रमुख भएर काम सुरु गरिन्।
यी दुइटा क्याम्पसको अनुभवपछि इन्दिरा आधाआधी पिएचडी छाडेर पुस्तकालय विज्ञान पढ्न भारत गइन्।
उनलाई अझै याद छ, पिएचडी छाडेर पुस्तकालय विज्ञान नपढ्नू भनेर धेरैले सम्झाएका थिए। यसमा भविष्य छैन भन्दै तर्साएका थिए। उनी भने तर्सिनुको सट्टा दृढ भइन्। उनले ठानिन्, ’पिएचडी त जसले पनि गर्छ, पुस्तकालय सपार्ने अभिभारा बोक्ने कमै हुन्छन्।’
सन् १९९७/९८ मा भारतबाट 'लाइब्रेरी एन्ड इन्फरमेसन साइन्स' मा स्नातकोत्तर गरेकी इन्दिरा भन्छिन्, ‘ज्ञानसँग खेल्ने र ज्ञानसँग व्यवहार गर्न पाइने पुस्तकालयमा झन्डै आधा जीवन बिताउन पाउँदा म एकदमै सन्तुष्ट छु।’
त्यति नै सन्तोष उनलाई नेपालको पुस्तकालय क्षेत्रबाट भने हुँदैन।
'नेपालमा पुस्तकालयको अवस्था कस्तो छ? हाम्रो राष्ट्रिय पुस्तकालय कहाँ छ, तपाईंलाई थाहा छ?' उनले प्रश्न गरिन्।
‘भुइँचालोले देशभरि ठूलो क्षति पुर्यायो। पुस्तकालयमा पनि क्षति पुग्यो। तर यसलाई यति उपेक्षा गरियो, अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन,’ उनले भनिन्, ‘भुइँचालोको चार वर्ष पुग्न आँट्यो, अहिले पनि हाम्रा पुस्तकालयमा किताबहरू बोरामा थुप्रिएका छन्।’
सानो गौचरनस्थित महेन्द्र भवन स्कुलका दुईवटा कोठामा पाँच हजार किताब, विभिन्न अनुसन्धानमूलक लेख-रचना र इतिहासका ग्रन्थ बोरामा थुप्रिएको उनले उदाहरण दिइन्।
उनका अनुसार पुस्तकालयले कुनै पनि मानिसलाई आफ्नो प्रतिभा नियाल्न मद्दत गर्छ। औपचारिक कक्षामा मात्र सामेल हुनेको ज्ञानको दायरा सीमित हुन्छ। जबकि, पुस्तकालयमा हजारौंथरिका किताब उपलब्ध हुन्छन्। यसले लेखपढ संस्कृतिलाई मात्र बढावा दिँदैन। यो सामाजिक रूपमा घुलमिल हुने र बहस गर्ने थलो पनि हो। यस्तो सार्वजनिक स्थल हो, जहाँ विषयगत अन्तर्किया हुन्छ। किताब साटिन्छ। विचार साटिन्छ।
प्रविधि विकास र सामाजिक सञ्जालको बढ्दो प्रयोगले मान्छेलाई एकांकी बनाउँदै लगेका बेला पुस्तकालयको झन् बढी प्रवर्द्धन हुनुपर्ने इन्दिराको भनाइ छ। 'सबै उमेर समूहका मान्छे भेला हुने, मन लागेको पढ्ने, छलफल गर्ने र विचारको दायरा फराकिलो पार्ने पुस्तकालय हामीलाई बढीभन्दा बढी चाहिएको छ,' उनले भनिन्, 'तर, खोइ त यसमा सरकारको प्राथमिकता?'
हुन पनि सरकारले पुस्तकालय विकासका लागि दसवर्षे गुरुयोजना बनाएको गत वर्ष मात्र हो। बल्लतल्ल बनेको यो नीति कार्यान्वयनमा आउन अझै कति समय लाग्ने हो टुंगो छैन।
यो नीति बनाउन पनि इन्दिराले कम्ता दौडधूप गरेकी छैन। आफ्नै संयोजकत्वमा गुरुयोजना तयार पार्दा संसारभरका पुस्तकालयबारे अध्ययन गरेको उनी बताउँछिन्।
गुरूयोजनामा केन्द्रीय पुस्तकालयका अतिरिक्त सातवटै प्रदेश, जिल्ला, पालिका, वडा र गाउँस्तरमा पुस्तकालय निर्माण गर्न प्रस्ताव गरिएको छ। कार्यान्वयन हुने हो भने संघ र प्रदेश सरकारले मात्र होइन, देशभरका स्थानीय सरकारले आ-आफ्नो क्षेत्रमा पुस्तकालय स्थापना गर्नुपर्नेछ। अझ त्योभन्दा तल प्रत्येक वडामा कम्तीमा एउटा पुस्तकालय परिकल्पना गरिएको छ। स्कुल, कलेज र विश्वविद्यालयमा अनिवार्य पुस्तकालयको व्यवस्था छँदैछ।
उनका अनुसार अब पुस्तकालय बनाउँदा चारवटा छुट्टाछुट्टै शाखा वा कोठा हुनुपर्छ- बालबालिका, युवा, अपांगता भएका र वृद्धवृद्धा शाखा। यसले पुस्तकालय जानेको संख्या र पढ्ने बानी विकास गराउने उनको भनाइ छ। यसमध्ये सबभन्दा पहिला बालबालिका शाखा उनी अनिवार्य देख्छिन्।
अवकाशपछि उनले थालेको बाल पुस्तकालय अभियान यसैको सुरूआत हो। बच्चाहरूलाई खेल्दै, गाउँदै, नाच्दै, सिक्दै पढ्ने बानी गराउन पुस्तकालयले ठूलो भूमिका खेल्ने उनी बताउँछिन्।
'सरकारले जनतालाई पुस्तकालय सुविधा दिनैपर्छ। निरन्तर आर्थिक सहयोग गर्नुपर्छ। वडा स्तरमा आएको बजेट कति प्रतिशत पुस्तकालयलाई दिने प्रस्ट हुनुपर्छ,' इन्दिराले भनिन्, 'कहिले साकार होला यो सपना खोइ?'