बर्मेली नेपालीका कथाः
गोपाल ज्ञवालीलाई म्यानमारको राजधानी नेपिद्अमा भेट्दा हामी दुवै अंग्रेजी सोमरसले रमरम भइसकेका थियौं।
आफूलाई नबोलाएको बिहेमा नेपालीको नाता जोडेर साखुल्ले पल्टिँदै पुगेको थिएँ, म। गोपाल भने दुलही पक्षबाट बकाइदा चाँदीको झल्को दिने बट्टा र त्यसभित्र हजारौं च्याट (बर्मेली पैसा) खर्च गरेर बनाइएको निमन्त्रणा पत्र पाएरै बिहेमा आएका थिए।
तीन सय ५० जति नेपालीभाषी बर्मेली र १५ जना भारतीय हिरा व्यापारीलाई दुलही पक्षले पाँचतारे होटलमा तीन दिनको गाँस, बास, खेल, मनोरञ्जन लगायत सबै व्यवस्था गरेको थियो। गोपालजस्ता आमन्त्रितलाई नेपिद्अ भ्रमण र यांगुनसहित म्यानमारका प्रमुख सहरबाट आउनेजाने व्यवस्था पनि दुलहीका पिता हिरा व्यापारी भेषराज न्यौपानेले गरेका थिए।
खाना खाने टेबल एउटै परेपछि मैले आफ्नो नाम भन्दै पछाडि थपेँ, ‘नेपालबाट।’
‘अनि म चाहिँ कहाँ’ट भन्ने सोच्या त?’ अलिक चर्को स्वर, अझ त्यसमा हाँसो थपेर गोपालले भने, ‘म नि नेपालै’ट हो।’
मसिनो स्वर भएका गोपाललाई बेलायती स्कचले स्वर उचो बनाउन सहयोग गरेको थियो।
‘हजुर हजुर,’ एक त सित्तैमा पाएको बेलायती स्कच र त्यसमाथि नेपालीभाषी बर्मेलीका सुखदुःखका कुरा धुत्न मैले भनेँ, ‘म त भर्खरै नेपालबाट आएको, यहाँ एउटा संस्थामा काम गर्छु। अनि तपाईं नि?’
‘ए,’ गोपालले लेग्रो तान्दै भने, ‘म रेष्टुरेन्ट चलाउँछु, रंगुनमा। कहाँ बस्नुहुन्छ?’
‘म नि रंगुनमै बस्छु। अफिसको कामले राजधानी नेपिद्अ आउन परेको थियो, यही बेला यहाँ नेपालीको बिहे रहेछ, छिरेँ,’ मैले ङिच्च दाँत देखाउँदै भनेँ।
‘डाकी न बोलाई, लेँडे पुच्छर डोलाई रहेछ,’ मैले पहिलोपटक यस्तो नेपाली उखान सुनेँ।
प्राय: नेपालीभाषी बर्मेलीका शब्द उच्चारण र वर्णविन्यास सुन्दा २० औं वर्ष भारतमा बसेर आएका पश्चिम पहाडका नेपालीको जस्तो लाग्छ।
‘रंगुनमा केही केस परे, कुनै प्रहरीले दुःख दिए मलाई भन्ने,’ गोपालले थपे, ‘सब पुलिसलाई भात खिलाउँछु, मिलटिरीसँग चाहिँ निहु नखोज्नू नि।’
पचास वर्षसम्म पूर्ण सैनिक शासनमा चलेको देशमा अहिले पनि अर्धसैनिक शासन छ। संसदमा २५ प्रतिशत सिट सेनाका लागि सुरक्षित छ। प्रधानसेनापतिले जर्नेल, कर्णेल र मेजरलाई संसदमा पठाउँछन्।
गृहसँगै रक्षा र सीमा सुरक्षा मन्त्रालयको जिम्मेवारी सेनाले नै लिएको छ। सैनिक प्रमुखले तोकेको व्यक्ति नै ती मन्त्रालयका मन्त्री हुन्छन्। गृह मन्त्रालय सेनाको हातमा भएपछि र कर्मचारी प्रशासनमा अहिलेसम्म पूर्वशासकले नियुक्ति गरेका सैनिकहरू नै भएपछि अर्धसैनिक शासन भन्नु अत्युक्ति नहोला।
‘तपाईंको रेष्टुरेन्टमा मम: खान आउन पर्यो,’ दुलहीका परिवार शाकाहारी भएकाले शाकाहारी बिहे भोजमा चिकेन मम:को स्वाद सम्झँदै मैले भनेँ, ‘तपाईंको रेष्टुरेन्टको ठेगाना दिनु त।’
‘ओहो, यो मोमो सुनेको त छु कि, बनाउन जानिएको छैन,’ पान खाँदा खाँदा खिया परेको दाँत देखाउँदै गोपालले भने।
सरकारी तथ्यांकअनुसार बर्माका ७० लाख जनसंख्या पानका अम्मली छन्। गाउँ-सहर जताततै पानले खिया परेको दाँत देखाएर हास्नेहरू बर्मामा टन्नै भेटिन्छन्।
‘म सिकाउँछु मम: बनाउन तपाईंलाई। तपाईंको रेष्टुरेन्टमा मम: बनाएर नखाई म नेपाल नफर्कने,’ आफ्नो केही ढंग नभए पनि श्रीमतीको सीप सम्झँदै मैले ध्वाँस दिएँ।
‘ल डिल है त डिल,’ गोपालले भने, ‘स्वीट नेपाली रेष्टुरेन्टमा मोमोको मेनु थपिन्छ।’
मैले सहमतिमा मुन्टो तलमाथि गर्दै भनेँ, ‘त्यो अब थपियो थपियो।’
केही दिनपछि गोपालको फोनले मोबाइलको घन्टी बज्यो। श्रीमतीलाई आफ्नो व्यथा सविस्तार सुनाएँ। नेपालबाट ल्याएको मम: उसिन्ने भाँडोसहित एक सप्ताहन्त हामी दुई गोपालको रेष्टुरेन्टमा हाजिर भयौं।
रेष्टुरेन्टमा चार जना १४/१५ वर्ष उमेरका बर्मेली नानीहरू खाना बनाउने, ग्राहकलाई पस्किने र भाँडा माझ्ने गर्दै थिए।
‘यिनका बाबुआमाले पैसा लगिसके,’ गोपालले भने, ‘दुई-तीन महिनामा एकपटक आउँछन्, पैसा पहिल्यै लान्छन्। यिनीहरूलाई मैले गाँसबासको व्यवस्था गरेर राखेको छु।’
अन्तर्राष्ट्रिय श्रम संगठनले सन् २०१५ मा निकालेको तथ्यांकअनुसार बर्मामा ११ लाख ३० हजारभन्दा बढी बाल श्रमिक छन्। बर्माका हरेकजसो सडकछेउका रेष्टुरेन्टमा स्कुल जाने उमेरका बालबालिका खाना पकाउँदै, जुठा भाँडा माझ्दै गरेका भेटिन्छन्। बाबुआमाले दिनको ५० नेपाली रुपैयाँभन्दा कम मूल्यमा छोराछोरीलाई बँधुवा मजदुरसरह काम गर्न साहुकहाँ पठाएका हुन्छन्।
श्रीमतीले तिनै नानीहरू र गोपालसँग मिलेर मम: बनाउन थालिन्। म भने गोपालका बुबासँग गफिन थालेँ।
‘मेरा बुबा नेपालको हुआँबाट आउनुभएको,’ गोपालका बुबाले भने।
हुआँ नेपालको कहाँ हो? यसको जवाफ न गोपालका बुबाले भन्न सके न त मैले पत्ता लगाउन सकेँ। गोपालले पछि मलाई भने, ‘गुल्मी हो रे, पुर्खाको थलो भन्ने थाहा पाएको छु।’
‘भारतको कलकत्ताबाट पानीजहाज चढेका मेरा बा सातौं दिनमा रंगुन आइपुग्नु भा होरे,’ गोपालका बुबाले भने।
त्यसपछि गोपालका हजुरबा रंगुनबाट ८ सय ८० किलोमिटर उत्तरपूर्वी सहर नाम्तु गएर बसेछन्।
नाम्तुको कोइला भट्टीमा काम गर्न धेरै नेपाली ८० वर्षअघि बर्मा पुगेका थिए। त्यसैमा एक जना रहेछन्, गोपालका हजुरबा पनि। भारतीयहरूले सञ्चालन गरेको त्यो भट्टीनजिक अहिले पनि एक सयभन्दा धेरै नेपालीभाषीको घर छ।
गोपालका हजुरबाले बर्मामै अर्की नेपालीभाषीसँग बिहे गरेछन्। ‘मेरी आमाको ७/८ वर्षकै उमेरमा पहिलो बिहे भएको रहेछ, बालविधुवी आमालाई बाले ३० वर्षको उमेरमा बिहे गर्नुभएको हो,’ गोपालका बुबाले भने।
गाईभैंसी हुर्काएर, बेचेर अलिकति पैसा जम्मा पारेपछि नेपाल फर्कने गोपालका हजुरबाको योजना थियो। त्यही बेला सन् १९४४ मा जापान सरकारले बर्मामाथि धावा बोल्यो। उनले जापानी पैसा लिएर गाईभैंसी बेचेछन्। त्यसको केही समयभित्रै बेलायतीले शासन लिएपछि त्यो पैसा काम नलाग्ने भएछ।
‘जापानी पैसा त खोस्टो भयो,' गोपालका बाबुले भने, 'पैसा कामै नलाग्ने भएपछि बा नेपाल फर्कन सक्नुभएन।’
नेपाल फर्कन नपाएका गोपालका हजुरबा नेपालीभाषीहरूको बाक्लो बस्ती मोगोक पुगेर भात दोकान (खाना खुवाउने होटल) गर्न थाले। त्यसको केही समयपछि रोगले थला परेर उनी मोगोकमै बिते।
‘मैले त सानैदेखि तुइनको काम गर्न थालेँ,’ गोपालका बुबाले पुराना दिन सम्झे।
बहुमूल्य रुबीपत्थर पाइने ठाउँ हो, मोगोक। रुबी खोज्न एक-दुई किलोमिटरसम्म जमिनभित्र सुरुङ खन्दै जानुपर्छ। तुइन चढेर भित्रसम्म जानुपर्ने भएकाले कहिले पहिरो त कहिले अक्सिजन कम भएर बर्सेनि १०-२० जना नेपालीभाषीको तुइनमा मृत्यु हुन्छ।
रुबी खानीमा काम गर्दागर्दै एकैपटकमा पाँच-छ सय जनाको मृत्यु भएका उदाहरण पनि छन्।
गोपालका बुबाले खानीमा काम गर्दै घरव्यवहार चलाए। उनका दुई छोरी र एक छोरा जन्मे। मैले नेपिद्अमा भेटेका एक मात्र छोरा गोपाल ४३ वर्षका छन्।
मोगोकबाट छोराको साथ लाएर रंगुन सहर बसाइँ सरेका गोपालका बुबाले पुराना दिन सम्झँदै भने, ‘हामीले मोगोकमा देउसीभैलो खेलेर एक वर्ष १२ वटा चिया पिउने कटौरा किन्यौं। अर्कान वर्ष मइन्टोल (पेट्रोमेस- मट्टीतेल हालेर बालिने र लाल्टिनले भन्दा धेरै उजेलो दिने दियो) किनियो। तिस्रा साल हार्मोनियम।’
गोपालका बुबाको सोख नै गानाबजाना हो।
‘एउटा दर्जी थियो मेरो साथी, उसैको सम्झना आउँछ आजभोलि यो सहरमा। उसले दुःखी तबेला बजाउँथ्यो। म गाउँथेँ। रमाइलो मोगोकमै थियो,’ बालपान, किशोरवय र आफ्नो पौरख गाउँमा गरेर सहर भित्रिने हरेक बाबुआमाका जस्तै छन् गोपालका बुबाको मन पनि।
गोपालका बुबासँग कुरा गर्दागर्दै मम: तयार भयो। मम:को डल्लो मुखमा हाल्दै गोपालले भने, ‘ओहो कति स्वादिलो हुँदो रहेछ नि!’
पतिना (पुदिना) को अचारसँगको मम: मलाई पनि राम्रै लागेको थियो।
‘एक जना नेपालबाट बैंकमा काम गर्न आउनुभएका दाइले अस्ति नै मोमो माग्नुभएको थियो। अब त बनाउन जानियो, गज्जब भयो,’ गोपालको आँखामा चमक थियो।
केही भारतीय मूलका ग्राहक र आफ्ना परिवारलाई गोपालले मम: चखाए। हामीलाई दालभात र खसीको मासु खुवाएर विदा गरे। मैले जति कर गरे पनि खानाको पैसा लिन मानेनन्। मम: भाँडो त्यहीँ छाडेर, मम: बिक्रीमा सफलता मिलोस् भन्ने शुभकामनासहित हामी फर्क्यौं।
म महिना, डेढ महिनामा गोपाललाई फोन गर्थें। ‘तपाईंको मोमो बनाउने भाँडा लिन आउनू नि,’ हरेकपटक उनी यसै भन्थे।
‘आउँला नि, मम: नि खाउँला’ म यसै भन्दै टारिरहन्थेँ।
चार महिनापछि गोपाललाई फेरि फोन गरेँ, ‘मम: खान आउनुपर्यो।’
उनले ‘आउनू आउनू रेष्टुराँमा’ भने। एक सप्तान्त फेरि गोपालको रेष्टुरेन्टमा पुगियो।
गोपाल मोगोकबाट रंगुन आएको नौ वर्ष भएछ। ‘रंगुन आएर डेढ साल एक्लै बसेँ, दसैं-दिवाली केही नभनी काम गरेँ,’ गोपालले थपे, ‘१२ वर्षको उमेरदेखि मोगोकमा रुबी बेच्न थालेको। त्यही रुबीको बिजनेस बढाउन रंगुन आइयो।’
‘कच्चा रुबी किन्यो, अलिकति नाफा कमायो, बेच्यो। कहिले घोटेर पलिस गरेर बेच्यो। त्यो बेला पैसा हुने त अर्बपति भए नि,' गोपाल १५, २० वर्षअघिका दिन सम्झँदै थिए, ‘अलिकति कमजोरी हुँदा (पैसा नहुँदा) मैले चाहिँ धेरै कमाउन सकिनँ।’
हातमा रुबीका केही टुक्रा देखाउँदै गोपालले भने, ‘यो एक टुक्राको दाम २५ लाख हो। मैले १५ लाखमा किनेको।’
मैले जिब्रो ओठबाहिर निकालेर टोकेँ। बर्मेली २५ लाख च्याट भनेको नेपाली त्यही दुई लाख रुपैयाँजति।
गोपालले रुबी मेरो हातमा थमाइदिए। कता त्यो खस्ला र हराउला भन्ने चिन्ताले मैले पाँच सेकेन्ड पनि ती साना बहुमूल्य ढुंगा आफ्ना हत्केलामा राखिनँ।
‘थाहा छ दाइ, बर्मामा ३० हजारजति नेपाली यही रुबीको काम गर्छन्। बरू त्योभन्दा धेरै नै होलान्, कम छैनन्,’ गोपालले भने।
बर्मामा जति पनि नेपाली धनी भएका छन्, ती सबै यही पत्थरले भएका हुन् भन्ने थाहा थियो। तर, ३० हजार नेपालीले यही काम गर्छन् भन्ने जानकारी थिएन। संख्यामा गोपालले अलि बढाइचढाइँ गरे कि?
‘यो रुबीको काम विश्वासको काम हो। एउटा सामान हजार, लाखदेखि तीन-चार हजार लाखसम्मको हुन्छ, अर्कालाई विश्वास गरेर दिनपर्छ। कहिलेकाहीं विश्वासघात हुनसक्छ,’ गोपालले आफ्नो पुरानो घटना सम्झे।
‘सन् २०१४ मा मोगोक गाउँकै चिनियाँसँग मिलेर दलाली गरेको। चार सय लाखमा किनेर ६ सय लाखमा चीनमा लगेर बेचेको रुबीको अहिलेसम्म पैसा पाएको छैन,’ गोपालले थपे, ‘मान्छे भाग्यो, हाम्रो लक (भाग्य) रहेनछ।’
रंगुनमा भर्खरै १ सय २० लाख च्याट (करिब १ करोड १० लाख नेपाली रुपैयाँ) मा किनेको नयाँ अपार्टमेन्ट देखाउँदै गोपालले भने, ‘त्यसमा नठगिएको भए त चार वर्षअघि नै घर हुन्थ्यो नि रंगुनमा।’
‘रुबीको कारोबारमा एक-दुईचोटि जसलाई नि घाटा हुन्छ। विश्वासघात हुन्छ। कसैले भन्छन्, कसैले भन्दैनन्,’ गोपाललाई मैले सोधें, ‘एउटै टुक्रा ढुंगा बेचेर तपाईंले चाहिँ अहिलेसम्म कति कमाउनुभएको छ त?’
‘एउटै रुबीबाट दुई सय लाखभन्दा ज्यादा पारेको छैन। नेपालीमा हिसाब गर्दा २० लाखसम्म नाफा पारेको छु,’ गोपाल मख्ख परे।
‘त्यत्रो नाफा हुने रुबीको काम मात्र नगरेर किन यो भात खुवाउने रेष्टुरेन्ट खोलेको त?’ मेरो प्रश्न नसकिँदै गोपालले भने, ‘वर्षाको भलजस्तो हो रुबीको व्यापार। रेष्टुराँ सधैं चल्छ, विस्तार हुँदै जान सक्छ। रुबीको त कुनै दिन ठगिन पनि सकिन्छ, व्यापार बन्द हुन नि सक्छ।’
उनले अझ गाँठी कुरा खोले, ‘खासमा ग्राहक भेट्न अनि बाआमा र श्रीमतीलाई व्यस्त राख्न पनि यो रेष्टुराँले सहयोग गर्छ। मैले २०११ देखि नै रेष्टुराँ चलाइरहेको छु।’
‘नेपाल पुग्ने मन छ कि दाजु, तर अरूजस्तो १०/१५ दिन जाने होइन। दुई महिना गएर आफ्नो पुर्खाको भूमि पुगेर इतिहास बुझेर आउने हो,’ गोपालले भने, ‘आगो लिन छिमेकमा गएजस्तो एकछिन जाने होइन नि, आफ्नो पितृभूमिमा।’
भर्खरै किनेको अपार्टमेन्ट देखाउन लगेपछि गोपाललाई मैले 'अब भविष्यमा के गर्ने त' भनेर सोधेँ। उनलाई रुबीको व्यापार सँगसँगै रेष्टुरेन्टको व्यापार बढाउने मन रहेछ।
‘अरू त हैन, यी छोरीहरूलाई विदेश पढ्न पठाएर आफू पनि त्यतै गएर रंगुनको रेष्टुराँ शाखा खोल्ने मन छ,’ १० र ७ वर्षका दुई छोरीका पिता गोपालले भने।
गफैगफमा साँझ पर्न लागिसकेको थियो। अक्टोबर महिनासम्म बर्खायाम नै रहने रंगुनमा ठूलो पानी पर्ने लक्षण देखियो। ढिलो हुन लागेको संकेत गर्दै मैले भनेँ, ‘मम: नखुवाउने त?’
मेरो प्रश्नले गोपालको अनुहार कागती निचोरेजस्तो बिग्रियो।
‘खासमा कि दाजु, मोमो त चलेन नि यहाँ, मान्छेले स्वादै रुचाएनन्,’ गोपालले मम: पकाउने भाँडा फिर्ता दिँदै भनेँ, ‘बर्मेलीलाई मनपर्ने स्वादको बनाउन अलिकति समय लाग्ने भो। म आजभोलि यो रुबीको व्यापारमा व्यस्त छु। फुर्सद भयो भने पछि मोमोको स्वाद चेन्ज गर्न पर्ला।’
म र श्रीमती खिस्रिक्क पर्यौं। प्लास्टिकमा हालेको मम:को भाँडा समातेर हिँड्न आँटेका थियौं, गोपालले सोधे, ‘यो झोल मोमो चाहिँ कस्तो हो भाउजू, अस्ति नेपालबाट भर्खरै बर्माको युएनमा काम गर्न आएकाले माग्दै थिए।’
श्रीमतीको सीप रंगुनमा नबिकेकोमा उनलाई नरमाइलो लागिरहेको थियो।
‘त्यही उसिनेको मम:लाई स्वादअनुसार पातलो अचारको झोलमा डुबाएर खाने हो,’ श्रीमतीले भनिन्, ‘आजभोलि युट्युबमा थुप्रै भिडियो छन्, मम: बनाउन सिकाउने। त्यहाँ हेर्दा पनि हुन्छ।’
गोपालले जुक्ति निकाले, ‘बर्मेलीले दालको सुप खुब रुचाउँछन्, दालको सुपमा मोमो हालेर पो झोल मोमो बनाएर बेच्ने हो कि?’
‘हुन्छ हुन्छ नयाँ नयाँ प्रयोग गर्दै गर्नू, कुनै दिन मम: मेनुमा राख्न मन लाग्यो भने सम्झनूस् है, हामी फेरि आउँछौं,’ मैले गोपालको परिवारसँग विदा माग्दै भनेँ।