ठमेलको ‘गार्डेन अफ ड्रिम्स’ मा ‘कुटुम्ब’ को कन्सर्ट थियो। बीचमा कन्सर्ट रोकियो।
हुँदाहुँदैको कार्यक्रम किन रोकियो भनेर अलमलिएका दर्शक छक्क पार्दै बगैंचाको संरचना झिलिमिली प्रकाशले झकिझकाउ भयो।
पृष्ठभूमिमा अंग्रेजी गीतको धून बज्यो। त्यही धूनको तालमा संरचनाका विभिन्न खण्ड थरीथरीका प्रकाशले रंगीचंगी भए।
खम्बाहरू पहेँलिए। दलिन निलाम्मे। भित्ता राताम्मे।
दर्शकले मुख बाउन अझै बाँकी थियो।
हेर्दाहेर्दै त्यहाँका इँटा भुर्रर उडे। तासका पत्ती दुई औंलाले तलमाथि च्यापेर फुर्रर हावामा उडाएझैं।
लौ यो के भयो!
सोच्न नभ्याउँदै माथिको छत गर्ल्यामगुर्लम खस्यो। खम्बाहरू केटाकेटीले बनाएका बालुवाको घरजस्तै भुइँसम्मै लडे। झ्यालका पल्लाहरू हावामा उडे।
संगीत थामियो। अन्धकार छायो।
हेर्नेका आङ सिरिंग भए।
पाँच मिनेटपछि फेरि कन्सर्ट सुरु भयो।
दर्शकले आँखैअगाडि भत्केको देखेका दरबार जस्ताको तस्तै थियो।
भर्खरै उनीहरूले जे देखे त्यो थियो, ‘दृष्टिभ्रम’।
प्रकाश र ध्वनिको संयोजनबाट दृष्टिभ्रम गराउने छायाचित्र प्रदर्शन गरेको थियो, इमेजिङले।
गार्डेन अफ ड्रिम्समा यो कार्यक्रम भएको छ वर्ष बितिसक्यो। आज पनि यस्तो प्रदर्शनी हामीकहाँ नौलो मानिन्छ।
अन्तर्राष्ट्रिय स्तरमा रात्रिकालीन मनोरञ्जनका रूपमा लिइने यस्ता प्रदर्शनीको इतिहास लामो छ। सन् १९५२ मा पहिलोपटक फ्रान्समा भएको थियो।
यसमा ऐतिहासिक महत्वका संरचनाको भित्तामा प्रकाश परावर्तन गराइन्छ। पृष्ठभूमिमा ध्वनि र कथाको संयोजन हुन्छ। प्रकाश छर्न ‘लिक्विड वा लेजर लाइटिङ’ प्रयोग हुन्छ। दृश्य परावर्तन गरेर छायाचित्र देखाउन ‘प्रोजेक्सन म्यापिङ’ गरिन्छ।
काठमाडौंमा ऐतिहासिक संरचनाको कमी छैन। कथामा त त्यसै धनी। यहाँका हरेक जात्रा, पर्व र सम्पदाका आ–आफ्नै कथा। लिच्छविकालदेखिका रंगीन इतिहास छन् हामीसँग। इतिहासका रोचक पात्र र चाखलाग्दा घटनाक्रम छायाचित्र बन्न सक्छन्। हेर्नलाई मनोरञ्जन। साथमा, इतिहास र संस्कृतिको झलक।
यति धनी हुँदाहुँदै ऐतिहासिक संरचनामा छायाचित्र कुदाउन हामी किन गरिब?
गत साता यही प्रश्न उठाउँदै ‘वसन्तपुर दरबारको सेतो भित्तामा इतिहासको एनिमेसन’ शीर्षक रिपोर्ट प्रकाशित गरेका थियौं।
त्यही क्रममा यसपालि हामीले ‘इमेजिङ’ कम्पनीका सञ्चालकद्वय कुमुद सिंह र राजन मास्केलाई भेट्यौं, जसले सन् २०१२ डिसेम्बरमा ‘गार्डेन अफ ड्रिम्स’ मा उक्त छायाचित्र देखाएका थिए।
त्यतिबेला ‘इमेजिङ’ कम्पनी नयाँ थियो। विभिन्न कार्यक्रम (इभेन्ट) आयोजना गर्थ्यो। स्नातक पढ्दाका दौंतरी कुमुद र राजन आफ्नो कम्पनीबाट नौलो काम गर्न चाहन्थे। विदेशमा यस्तो प्रदर्शनी हेरेर उनीहरू लोभिएका थिए। नेपालमा यो नौलो थियो नै। तै देखाउने आँट गरे।
दुवैको सक्रियतामा छायाचित्रका केही नमूना तयार भयो। ‘रिहर्सल’ निम्ति आफ्नै अफिसको ग्यारेज छाने।
रिहर्सल सफल भयो, सार्वजनिक प्रदर्शनी गर्ने पो कहाँ?
‘धेरैलाई यो कस्तो खालको प्रदर्शनी हो भन्ने नै थाहा थिएन,’ सानेपा खरिबोटस्थित कार्यालयमा पुरानो अनुभव बाँड्दै कुमुदले भने, ‘हामी आफ्नो प्रस्ताव लिएर धेरै ठाउँ गयौं। सरकारी निकायहरू धायौं। कसैले वास्ता गरेनन्।’
त्यही बेला, गार्डेन अफ ड्रिम्समा कुटुम्बको कन्सर्ट हुँदैछ भन्ने थाहा पाए। कुटुम्बसँग पुरानो चिनजान थियो। उनीहरूले त्यही चिनजानका आधारमा कन्सर्टकै बीच पाँच मिनेट समय मागे।
कुटुम्ब तयार भयो। कार्यक्रम आयोजकले पनि माने।
नतिजा, हामीले माथि वर्णन गरिसकेका छौं।
यसरी छ वर्षअघि नै ‘थ्री-डी’ प्रोजेक्सन गरिसकेका उनीहरूले त्यसपछि किन विस्तार गर्न सकेनन्?
‘यस्तो प्रदर्शनी जहाँ पायो त्यहाँ गर्ने कुरा आउँदैन। ऐतिहासिक स्मारकहरूमा देखाउँदा मात्र यसको महत्व रहन्छ। अरू देशमा पनि ऐतिहासिक स्मारकको आकर्षण बढाउन नियमित कार्यक्रमका रूपमा गरिँदै आएको छ। हामीकहाँ भने यस्तो सोच विकास भइसकेकै छैन,’ उनले भने, ‘अनुमति पाउनै गाह्रो।’
यसबीच उनीहरूले छायाचित्र देखाउन अरू कार्यक्रम नगरेका भने होइनन्।
तिहार बेला एनसेल कम्पनीको कर्पोरेट अफिसमा दुईपटक छायाचित्र देखाए। ग्राहकलाई शुभकामना दिइएको उक्त छायाचित्रमा पटाका फोडिएको थियो। दियो बालिएको थियो। कर्पोरेट अफिसको भित्तामा प्रकाश परार्वतन गराएर रंगोली सजाइएको थियो।
त्यस्तै, कुनै एक वर्ष लबिम मलको भुइँमा थ्री-डी प्रोजेक्सनबाट विभिन्न कम्पनीका विज्ञापन देखाए। विश्व शरणार्थी दिवसका अवसरमा घन्टाघर झिलिमिली पारे। अहिले भक्तपुर, सांगाको महादेव मूर्तिमा महादेवकै छायाचित्र देखाउने तयारी गर्दैछन्।
‘भारतमा पनि भगवानका ठूल्ठूला मूर्तिमा छायाचित्रबाट पौराणिक कथा भन्ने चलन छ। यहाँ त्यही शैली अपनाएर महादेवको कथा भन्न खोज्दैछौं,’ कुमुदले भने।
भारतमा यस्ता उदाहरण थुप्रै छन्। नयाँदिल्लीको लालकिल्लामा मुगलहरूले हमला गर्दाको इतिहास देखाइन्छ। अमेर, अजमेर, जन्तरमन्तर, जयपुरका दरबार पनि हरेक साँझ प्रकाश र ध्वनिले जगमगाउँछन्।
हामीसँग पनि विभिन्न कालखण्डका अनेक कथा छन्। कसरी लिच्छविहरूले काठमाडौंमा सम्पन्न सहर बसाले? त्यो सम्पन्नतालाई मल्लहरूले कसरी उचाइमा पुर्याए? मल्लहरूमाथि पृथ्वीनारायण शाहले कसरी विजय पाए? यी सबै कथा हामी छायाचित्रमा देखाउन सक्छौं।
हाम्रै संस्कृति र जात्रापर्वका झाँकी छायाचित्रका विषयवस्तु बन्न सक्छन्।
कल्पना गर्नुस् त, तपाईं वसन्तपुर डबलीमा उभिनुभएको छ। अगाडि हनुमानढोका दरबार, गद्दी बैठकको सेतो भित्तामा लाखे नाच्दैछ। कहिले देवी नाच चल्छ। कहिले महाकाली। घरि पुलुकिसी गुटुटुटु कुद्दै आउँछ। घरि ‘होए होए’ गर्दै रथ तानिन्छ। उतिन्खेरै ‘जीवित देवी’ सँगैको कुमारी घरबाट निस्केर दर्शन दिन आउँछिन्। अनि पृष्ठभूमिमा गुञ्जिन्छ, धिमे बाजाका धमधम र छ्याइँछ्याइँ।
इतिहासका कथादेखि जात्रापर्वका यस्ता भिडियो र तस्बिर एनिमेसन गरेर वसन्तपुर, पाटन वा भक्तपुर दरबारका भित्तामा प्रोजेक्सन गर्न सकिन्छ कि सकिँदैन?
‘सम्भव छ,’ कुमुदले आफ्नो अनुभवका आधारमा भने, ‘समय र लगानीको खाँचो पर्छ।’
उनका अनुसार यस्तो प्रस्तुतिका तीन चरण हुन्छन्।
पहिलो चरणमा सिलसिलेवार कथा बुनिन्छ। सिनेमाको पटकथा लेखेझैं। इतिहासको लामो कालखण्डलाई सबैले बुझ्नेगरी सरल र समयसीमामा बाँधेर कथानक बनाउनु चुनौतीपूर्ण भएको कुमुद बताउँछन्।
‘त्यसपछि आउँछ, स्केचिङ,’ उनले भने, ‘कथाका आधारमा स्केच तयार पारिन्छ। ‘एनिमेसन’ गरिन्छ। यति गरेपछि बल्ल प्रोजेक्सनको काम आउँछ।’
थ्री-डी प्रोजेक्सन निम्ति सबभन्दा पहिला जहाँ छायाचित्र देखाउने हो, त्यो संरचनाका थ्री-डी तस्बिरहरू तयार पारिन्छ। थ्री-डी तस्बिर नै प्रोजेक्सनलाई चाहिने डिजिटल क्यानभास हो। क्यानभासका आधारमा कुन छायाचित्र कुन खण्डमा राख्ने तय हुन्छ।
दरबारको झ्यालढोका, दलिन र पर्खालले यहाँ क्यानभासको काम गर्छन्। छायाचित्र देखाउन यिनै संरचनासँग दुरुस्तै हुने गरी एनिमेसनको नमूना तयार पार्नुपर्छ। त्यसै आधारमा प्रकाश परावर्तन गराइन्छ।
‘कथा तयार पार्नदेखि स्केचिङ र एनिमेसन गर्न हामीलाई प्रशस्त जनशक्ति खाँचो पर्छ,’ उनले भने, ‘त्यो हदसम्म नगएर जात्रापर्वका सामान्य भिडियो वा तस्बिर मात्र प्रोजेक्सन गर्न भने सजिलो हुन्छ।’
यो प्रदर्शनी गर्न लागत कसरी जुटाउने भनी पहिल्यै निर्क्यौल हुनुपर्ने उनले बताए।
‘खर्च कसरी जुटाउन सकिन्छ त?’
हाम्रो यो प्रश्नमा उनले कि सरकार आफैंले लगानी गर्नुपर्ने, नभए ठूल्ठूला कम्पनीहरूलाई सहभागी गराउनुपर्ने बताए।
‘अर्को तरिका दर्शकहरूसँग पैसा उठाएर आम्दानी बाँड्ने हो,’ उनले भने, ‘तर, हाम्रा दरबार क्षेत्रको बाहिरी भाग सार्वजनिक स्थान भएकाले त्यहाँ गरिने प्रदर्शनीमा पैसा लिन सम्भव हुन्न।’
बरु दरबारको भित्री चोकमा सशुल्क थ्री-डी प्रोजेक्सन गर्न सकिने सम्भावना उनले औंल्याए।
उदाहरणका लागि, वसन्तपुर दरबारको नासल चोक वरिपरिका स्मारकमा यस्तो प्रदर्शनी गर्न सकिन्छ। पाटन दरबारमा पनि भित्रको संग्रहालय क्षेत्रमा प्रदर्शनी हुनसक्छ।
‘बाहिरतिर यस्तो प्रदर्शनी सशुल्क नै हुन्छ,’ उनले भने, ‘निःशुल्क गर्ने हो भने सरकार आफैं अग्रसर हुनुपर्छ।’
सरकारले डिजिटल प्रोजेक्सनमा काम गर्ने कम्पनीहरूलाई एकै ठाउँ ल्याएर पाँच–पाँच मिनेटको प्रदर्शनी गराउन सक्ने उनले सुझाए।
‘विषयवस्तु र लागत टुंगो लाग्ने हो भने जस्तोसुकै थ्री-डी प्रोजेक्सन गर्न हामी प्राविधिक रूपले सक्षम छौं,’ उनले भने।
यो कम्पनीले यस्तै प्रोजेक्सन निम्ति करिब ४० लाख रुपैयाँ लगानीमा ठूल्ठूला पाँचवटा प्रोजेक्टर किनेरै राखेको छ। साना प्रोजेक्टर पनि छन्।
स्थानीय कम्पनी र प्राविधिकहरू तम्तयार बसेका बेला कस्सिने जिम्मा सरकारकै हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँग यसबारे कुरा गर्दा सकारात्मक जवाफ दिएका थिए।
‘दरबार क्षेत्रको पुनर्निर्माण आधाआधी सकिएको छ। पूरा हुनेबित्तिकै यस्ता ऐतिहासिक स्थलहरू बढीभन्दा बढी सदुपयोग गर्न हामी छलफल गरिरहेका छौं,’ उनले भनेका थिए, ‘काठमाडौं संस्कृति झल्काउने झाँकीहरू यस्ता सार्वजनिक स्थलमा बाह्रै महिना प्रदर्शन गर्न सकिन्छ।’
यसनिम्ति इच्छुक कम्पनीहरूसँग छलफल गर्न तयार भएको उनले बताएका थिए।
अघिल्लो अंकमा हामीले डिजिटल आर्टिस्ट अशीम शाक्यको सम्भावना देखाएका थियौं। इमेजिङ अर्को सम्भावित कम्पनी हो।
सरकारले यी कलाकार तथा प्राविधिकसँग सहकार्य गर्ने हो भने वसन्तपुर गद्दी बैठक वा पाटन र भक्तपुर दरबारको भित्तामा काठमाडौं सभ्यता र संस्कृतिको झलक देखाउन सम्भव छ।
‘ऐतिहासिक स्मारकका भित्ता भनेका यस्ता क्यानभास हुन्, जसमा डिजिटल पद्धतिबाट पेन्टिङ प्रदर्शनी पनि गर्न सकिन्छ,’ कुमुदले भने, ‘तिहारजस्तो पर्वमा त अन्तर्राष्ट्रिय कलाकारहरू डाकेर प्रकाश र ध्वनिको ठूलै उत्सव मनाउन सक्छौं।’
हाम्रा ऐतिहासिक स्मारकहरूमा नयाँ आकर्षण थपिने कहिले त?