दाङमा पाटेबाघको छालासहित तीन जना पक्राउ परेका छन्।
शनिबार मध्यराति १ बजेतिर गढवा गाउँपालिका- ६ खवारीबाट प्रहरीले तीन जनालाई छालासहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय गडवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए।
पाटे बाघको छालाको किनबेच हुन लागेको भन्ने सूचना वडा कार्यालय लमहीले सूचना पाएको थियो। उक्त सूचनापछि वडा कार्यालय र इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बम र वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेको संयुक्त टोली खटिएको थियो।
उक्त टोलीले करिब ९ फिट २ इन्च लामो र दुई फिट ३ इन्च चौडाइको बाघको छाला बरामद गरेको हो। छालासहित खवारीका ४१ वर्षीय विक्रम बुढामगर, राजपुर-१का ५३ वर्षीय केशवराज सेन ठकुरी र बर्दियाका ३३ वर्षीय अनिल थारू छन्।
पक्राउ परेकाहरूलाई वडा प्रहरी कार्यालय लमही राखिएको छ।
थप अनुसन्धानका लागि छालासहित डिभिजन वन कार्यालय, लमहीमा बुझाउने तयारी भइरहेको छ।
स्रोतका अनुसार पाटे बाघ शिकारीले दाङकै जंगलमा मारेका थिए।
चौधरी र ठकुरीले मिलेर छाला बेच्नका लागि विभिन्न व्यक्तिहरूसँग डिल गरिरहेका थिए।
‘सोह्र लाखमा किनबेच हुने गरी डिल भइरहेको खुलेको हो,’ प्रहरी स्रोतले भन्यो, ‘एक जना भारतीय नागरिकले ह्वाट्सएपमा मूल्यको बार्गेनिङ गर्दै सोह्र लाखमा किन्नका लागि अन्तिम डिल भएको देखिन्छ।’
दाङकै जंगलमा शिकारीले मारेको पाटेबाघको छाला घर धनी बिक्रमले घरको माथिल्लो तलामा लुकाएर राखेका थिए।
‘शिकारीले मारेको बाघको छाला बिक्रमको घरमा राखिएको र बिक्रमसहित चार जनाका बीचमा छाला बेचे बाफत आउने पैसा भागबण्डाको सहमति भएको देखिन्छ,’ स्रोतले भन्यो।
उनीहरूले भारतीय नागरिकसँग डिल हुनु भन्दा पहिला पनि अन्य व्यापारीहरूसँग बार्गेनिङ गरेका थिए।