साँघुरा गल्ली। गल्लीपिच्छे मठ-मन्दिर र चैत्य। पुरानो शैली सम्झाउने घरहरु। र, सँस्कृतिका अनेक पाटा।
किलागल, दम्बचोकको यो परम्परागत विशेषता अब एकादेशको कथा हुन सक्छ।
काठमाडौं महानगरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मध्य-काठमाडौंको पुरानो बस्तीका यी विशेषता मासेर ‘हाउस पुलिङ’ योजना लागू गर्ने भएको छ। यसअन्तर्गत काठमाडौंको पुरानो जनजीवन झल्काउने घरहरु भत्काएर सामूहिक आवास अर्थात् आधुनिक अपार्टमेन्ट बन्ने छ।
महानगर र प्राधिकरणबीच सोमबार भएको बैठकले यो योजना कार्यान्वयन गर्ने निर्णय गरेको हो। काठमाडौं सम्पदा र सँस्कृतिसँग जोडिएको परम्परागत बस्ती नै मास्ने निर्णय लिनुअघि दुवै निकायले सार्वजनिक सुनुवाइ गर्ने दरकार देखेनन्।
बैठकले दम्बचोकसम्म पुग्ने पूर्वाधारको काम प्राधिकरणलाई जिम्मा दिएको छ। योजना तथा नक्सा निर्माण र मापदण्ड महानगरले तय गर्नेछ। निर्माणको काम उपभोक्ताले गर्ने निर्णय भएको छ। आगामी कार्यकारी समिति बैठकले यसबारे थप निर्णय गर्ने प्राधिकरणले जनाएको छ।
स्थानीय बासिन्दा तथा सम्पदा संरक्षण अभियन्ताहरुले भने 'मध्यसहरमा अपार्टमेन्ट बनाउँदा काठमाडौंको मौलिकता मासिने' भन्दै विरोध गरेका छन्।
किलागलका स्थानीय आलोकसिद्धि तुलाधरले निम्न वर्गका जनता बहकाएर दुरगामी असर पार्ने योजना अघि बढाउनु आपत्तिजनक भएको बताए।
‘दम्बचोकका धेरै स्थानीय निम्न आयस्रोतका छन्। आर्थिक क्षमता नभएकैले भुइँचालोपछि घर बनाउन सकेका छैनन्। राज्यबाट तीन लाख पाउँदा पनि घर बनाउन सक्ने उनीहरुको हैसियत छैन,' उनले भने, 'महानगर र प्राधिकरणले पुनर्निर्माणका नाममा स्थानीयको कमजोरीबाट फाइदा उठाउन खोजेका छन्।’
भुइँचालोयता तीन वर्षदेखि जोखिमपूर्ण घरमा बसिरहेका उनीहरुलाई सरकारले नै सुविधायुक्त घर बनाइदिने र सँस्कृति पनि संरक्षण गर्ने भनेर बहकाउमा पारेको उनले बताए।
हाउस पुलिङमा एकै ठाउँका धेरै जग्गाधनीले आफ्नो लालपुर्जा बन्धकी राख्छन्। त्यसपछि पुराना घर भत्काइन्छ। एउटा बहुतले अपार्टमेन्ट बन्छ। लालपुर्जा बन्धकी राख्नेलाई त्यही अपार्टमेन्टमा केही कोठा वा तल्ला दिइन्छ। यो भनेको लालपुर्जा बन्धकी राखेर अपार्टमेन्टको सेयर किनेजस्तो हो।
‘सँस्कृति भनेको सेयरमा लगानी गरेजस्तो होइन। बहुतले घर न हाम्रो सभ्यता हो, न सँस्कृति। यसमा हाम्रो मौलिकता रहँदैन। आत्मीयताको भावना हुँदैन। यसले हाम्रो सँस्कृति बिगार्छ। भत्काउँछ,’ तुलाधरले भने।
यहाँका घरलाई भूकम्प प्रतिरोधक बनाउन जोड दिनुपर्नेमा सरकारले हाउस पुलिङ गरेर ‘अरिंगालको गोलोमा हात हालेको’ उनले बताए।
'काठमाडौंको नेवार सभ्यतामाथि सिधै धावा बोल्ने प्रयास हो यो,' उनले भने।
प्राधिकरणका सहसचिव राजुमान मानन्धर भने भुइँचालोले प्रभावित पुराना घर भएको काठमाडौंको भित्री बस्ती बचाउन यो योजना ल्याएको बताउँछन्।
‘काठमाडौंका कतिपय भित्री बस्तीमा पुनर्निर्माण हुन सकेको छैन। सानो क्षेत्रमा ६/७ तल्ले घर छन्। धेरै परिवार एकै ठाउँ बस्छन्। पुरानो भत्काएर नयाँ बनाउन समस्या छ। यसैलाई बचाउन हामीले यो योजना ल्याएका हौं,’ उनले भने।
मानन्धरका अनुसार हाउस पुलिङअन्तर्गत बन्ने घरको डिजाइन तयार भइसकेको छ। कार्यकारी समिति बैठकले पास गरेपछि काम सुरु हुन्छ।
सुरुमा केही स्थानीयले विरोध गरे पनि धेरै जना यसमा समाहित भएको दाबी गर्दै उनले भने, ‘हाउस पुलिङबारे हामीले धेरै पहिलेदेखि कुरा उठाएका हौं। पाइलट प्रोजेक्टका रुपमा दम्बचोकबाट सुरु गर्दैछौं। त्यसपछि खोकनालगायत भित्री बस्तीमा विस्तार गर्नेछौं।’
काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले भित्री क्षेत्रको आकर्षण बढाउन हाउस पुलिङ गर्न लागेको बताएका छन्। स्थानीय बसोबास व्यवस्थापन गर्दै यो क्षेत्रलाई सँस्कृति प्रवर्द्धन स्थलका रुपमा विकास गरिने उनको भनाइ छ।
‘निर्माण अवधिमा स्थानीयको बसोबास व्यवस्थापन, भूकम्प प्रभावितलाई सरकारको सहयोग, भूकम्पले घर नभत्काएका तर सामूहिक आवासका लागि भत्काउनुपर्ने घरधनीलाई दिइने सहुलियतबारे स्पष्ट भएपछि काम सुरु हुनेछ,’ उनले भने।
हाउस पुलिङपछि पनि स्थानीयको परम्परागत रीतिरिवाज, चालचलन र परम्परालाई निरन्तरता दिन सकिने महानगर र प्राधिकरणले जनाएका छन्।
दम्बचोकका स्थानीयमध्ये धेरैले २०७२ असारमा सुरक्षित बास निर्माणका लागि महानगरमा लालपुर्जा बुझाएका थिए। यहाँ करिब ३ रोपनी क्षेत्रमा ५४ घर छन्। ती ५४ घरमध्ये ३६ वटा बस्नै नहुने अवस्थामा रहेको महानगरले जनाएको छ।
सम्पदाविद् तथा आर्किटेक्चर इञ्जिनियर सुदर्शनराज तिवारी यस्ता पुराना घरलाई अहिलेकै अवस्थामा भुइँचालो प्रतिरोधक बनाउनुपर्नेमा निमिट्यान्न पारेर बहुतले घर बनाउँदा सभ्यता र सँस्कृति नाश हुने बताउँछन्।
'काठमाडौं सम्पदा सहर हो। यहाँको भित्री बस्तीमा अझै लिच्छवि र मल्लकालीन शैली बाँचेको छ। ती घर जोखिममा छन् भने रेट्रोफिट वा अन्य तरिकाबाट जिर्णोद्धार गर्न सकिन्छ। सबै भत्काएर अपार्टमेन्ट बनाउने योजनाले भित्री बस्ती संरक्षण हुनेवाला छैन,' उनले भने, 'यसले काठमाडौंको मल्लकालीन आवास शैली मात्र होइन, यहाँको वातावरणमा समेत असर पर्छ।'
दम्बचोकमा प्रस्तावित हाउस पुलिङ योजनाको डिजाइन आफूले पनि हेरेको जानकारी दिँदै तिवारीले भने, 'यो कहीँ नसुनेको अवधारणा हो। यसले हाम्रो सम्पदा र मौलिकता कुनै हालतमा संरक्षण गर्दैन।'
प्राधिकरणले गैरसरकारी संस्था भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) को अवधारणामा यो योजना अघि बढाएको हो। एनसेटले सन् २०११ देखि यो विषय उठाएको थियो। उसले भुइँचालोजस्ता विपदबाट बच्न मध्यसहरका पुराना घर हाउस पुलिङबाट पुनर्निर्माण गर्नुपर्छ भन्ने अवधारणा अघि बढाउँदै आएको छ।
समाजका वरिष्ठ प्राविधिक सल्लाहकार सूर्यभक्त साङ्घाछे किलागल र खोकनासँगै उपत्यकाका ५२ पुराना बस्तीमा यही अवधारणा लागू गर्नुपर्नेमा जोड दिन्छन्।
समाजले भुइँचालो गएको तीन महिनापछि नै स्थानीय र नगरपालिकाको आग्रहमा यस्ता बस्ती पहिचान गरेको थियो। उनीहरुले साँखु, बुङ्मति, खोकनालगायत पाँच ठाउँमा हाउस पुलिङको सुरुआती डिजाइन तयार पारेका छन्।
साङ्घाछेका अनुसार पैतृक सम्पत्ति बाँडफाँट क्रममा भित्री बस्तीका जमिन टुक्रिएका छन्। त्यहाँ बनेका साना घरले उपत्यकाका भित्री सहर अव्यवस्थित छन्। जथाभाबी तल्ला थप्ने, भित्ता र पर्खाल थपेर घर टुक्र्याउने र मर्मतसम्भार नगर्ने प्रवृत्तिले पुराना बस्ती जोखिममा रहेको उनले बताए। ती बस्तीलाई अर्को भुइँचालो जानुअघि नै हाउस पुलिङबाट व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिए।
यो योजनामा केही प्रश्न भने अनुत्तरित छन्- संयुक्त बस्ती निर्माण गर्दा लिएको ऋण व्यक्तिको हुन्छ कि समूहको? सम्पत्तिमाथि अधिकार कसको हुन्छ? उपयोग गर्ने विधि, लाभ र दायित्व के हुन्?
यी अनुत्तरित प्रश्नकै बीच यहाँको वडा कार्यालय पनि अभियान सफल बनाउन लागेको छ।
‘मैले स्थानीयसँग भोट माग्दा नै यो विषय उठाएको थिएँ। त्यतिबेला ९० प्रतिशत जनता यसको पक्षमा थिए। कामले सोचेजस्तो गति लिन नसकेपछि स्थानीय फेरि विभाजित भएका छन्। अहिले ७५ प्रतिशतले एकीकृत प्रणालीमा जाने भनेका छन्,’ वडा नम्बर १८ का अध्यक्ष न्हूछेकाजी महर्जनले भने।
हाउस पुलिङले थोरै जग्गामा बनेका साना र जोखिमयुक्त पुराना घरको सट्टा केही परिवार मिलेर बस्ने अपार्टमेन्टको प्रबन्ध मिलाउने उनको बुझाइ छ। पुराना कलाकौशल, सम्पदा र मौलिकता कायम राख्दै यो योजना कार्यान्वयन गर्न सकिने उनले बताए।
'यसमा टोलबासीको पूर्ण समर्थन रहने मैले विश्वास लिएको छु,’ उनले भने।
सबै तस्बिर (सेतोपाटीका लागि): आलोकसिद्धि तुलाधर