पाटनको छाबहाः ढुंगेधारा (हिटी) मा केही समययता पानी आउन थालेको छ।
काठमाडौंमा बाह्रै महिना सुख्खा हिटी देखेकालाई अचम्म लाग्न सक्छ- पाटनका ४७ वटा हिटीमा बर्खा लागेसँगै पानी खस्छ। यहाँ बाह्रै महिना पानी प्रवाह गर्न सकिने विज्ञ बताउँछन्।
कसरी? के यहाँका हिटीको प्रणाली अहिले पनि पुरानै अवस्थामा छ?
हामीले यसबारे पानीविज्ञ प्रयागलाल जोशीसँग कुरा गर्यौं।
उनका अनुसार ललितपुरको जमिन दक्षिणबाट उत्तर ढल्केको छ। भूमिगत पानीको बहाव यसैगरी हुन्छ। यस क्षेत्रको तल्लो भागको बायाँतिर नख्खुखोला, दायाँतिर कोड्कु र उत्तरमा बागमती नदी बग्छे। नदी किनार कालीमाटीको बाक्लो पत्र छ। यसले वर्षातको पानी सजिलै जमिनमा सोसिन्छ। र, भूमिगत भण्डार बन्छ। यसले पाटनमा भूमिगत जलभण्डार सक्रिय राख्ने जोशी बताउँछन्।
परम्परागत हिटीको मुहानमा स-साना प्वाल भएको माटोको भाँडो हुन्छ। त्यसमा बालुवा र कंकड भरिएको हुन्छ। तल्लो भाग काठ वा ढुंगाले बनेको नालीसँग जोडिएको हुन्छ। यो मल्लकालीन हिटी संरचना हो। हिटीको मुहान सुरक्षित राख्न हत्केलाले कुँदेको आकृति राख्ने गरेको जोशी बताउँछन्।
'त्यस्तो आकृतिलाई मान्छे चेतावनीका रुपमा लिन्छन्। मुहान क्षेत्र खन्न डराउँछन्,' जोशीले भने, 'हिटीको माथिल्लो भाग खन्यो भने रगत छादेर मर्छ भन्ने विश्वास अहिले पनि छ।'
यही विश्वासले पाटनमा धेरै हिटीका मुहान संरक्षित रहेको उनले बताए।
कुनै समय उपत्यकाका तीनै जिल्लामा राजकुलोबाट पानी आउँथ्यो। यहाँ तीनवटा प्रमुख राजकुलो प्रणाली छन्। काठमाडौंका लागि बुढानिलकण्ठबाट आउँथ्यो, भक्तपुरमा बागेश्वरी र पाटनमा टीकाभैरवबाट। विगतमा स्थानीयले राजकुलोकै पानी पिउँथे। खेतबारीमा प्रयोग गर्थे। सहरीकरणसँगै राजकुलोमाथि सडक बने। ऐतिहासिक हिटी र पोखरी सुक्दै गए।
‘४० वर्षअघिसम्म पाटनको राजकुलो सग्लो थियो। अव्यवस्थित सहरीकरण र व्यक्तिगत स्वार्थले सब मासियो। बीस वर्षअघि तिखेदेवलका स्थानीयले सुनाकोठीदेखि लगनखेलसम्म राजकुलो पुरेर मोटरबाटो बनाए। टीकाभैरवसम्म तन्किएको राजकुलोको सहरसँग सम्पर्क टुट्यो,’ जोशीले भने।
यति हुँदाहुँदै राजकुलोका डोब बाँकी छन्। माटो पनि मलिलो छ। पहिला त दुई फिट खन्दै पानी आउँथ्यो। अहिले पनि माटो ढाडिइसकेको छैन। कम्तिमा बर्खा बेला मुहान रसाएर हिटीमा पानी झर्छ।
हिटीको स्रोत पहिल्याउने र राजकुलोको सम्पर्क जोड्न सके बाह्रै महिना कलकल पानी आउने जोशी बताउँछन्।
उनका अनुसार यहाँका प्राय: हिटीमा ५ सय मिटर वरिपरि मूल छन्। मानिस गैरजिम्मेवार भएर मूल भत्काउँदा धेरै हिटी सुकेका हुन्। पानी चाहिन्छ भन्ने जानकारी हुँदाहुँदै बेवास्ता गरिएको उनको भनाइ छ।
'धेरैले हिटी व्यक्तिगत बनाएर खाइसके। यो हाम्रो सम्पदा हो भन्ने पनि ख्याल गरिएन,’ उनले भने।
हिटीमा बाह्रै महिना चौबीसै घन्टा पानी झार्नेमा ललितपुर महानगर पनि उत्साही छ। यसलाई प्राथमिकतामा राखेर काम भइरहेको ललितपुर मेयर चिरिबाबु महर्जन बताउँछन्।
‘विज्ञहरुसँग छलफल गरेर हिटीहरुमा सधैं पानी आउने बनाउन लागेका छौं,’ उनले सेतोपाटीसँग भने, ‘चक्रपथ निर्माण भइरहेकाले राजकुलोलाई सहरमा जोड्न अप्ठ्यारो भइरहेको छ। चक्रपथ हस्तान्तरण हुनेबित्तिकै योजना अघि बढ्छ।’
हिटी ब्युँताउन मुहान नजिक इनार खन्न बन्द गर्नुपर्ने जोशी सुझाउँछन्। इलेक्ट्रिक मोटरबाट पानी तान्न नदिने, मुहान वरपर घर बनाउन नदिने र राजकुलो ल्याउन पहल गर्नुपर्ने उनको सुझाव छ।
उनका अनुसार पाटनका केही हिटीमा स्थानीयलाई पुग्दो पानी आउँछ। तीमध्ये इकुहिटी, हिकुहिटी, तापाहिटी, कोन्तीहिटी, आलुको हिटी, सिन्चा हिटी, मंगः हिटी, च्यासः हिटी प्रमुख छन्। दैनिक ३५ लाख लिटर पानी आउने उनले बताए।
'अरु हिटी पनि ब्युँतिए दैनिक करिब ५० लाख लिटर पानी उत्पादन हुन्छ। वषौंदेखि मेलम्ची कुरेर बसेका स्थानीयलाई राहत हुनेछ। हामीले चक्रपथ बनाउन सुरु नगर्दै यो कुरा उठाएका हौं,’ पानी विज्ञ जोशीले भने।
पहिला टीकाभैरवबाट राजकुलो आउने बाटो महालक्ष्मीस्थान हो। अहिले त्यहाँका पोखरी मासिए। तै सातदोबाटोबाट ल्याउन सकिन्छ। यसले लगनखेलका पोखरीमा पानी भरिन्छ। लागत पनि कम पर्ने उनले बताए।
यो राजकुलो जोडिए प्रतिसेकेन्ड डेढ सय लिटर झर्ने उनको दाबी छ।
लिच्छवी राजा मानदेवले इस्वी सम्बत् ५५० मा काठमाडौंको हाँडीगाउँमा पहिलो हिटी बनाएर पानी वितरण गरेको इतिहास छ। उनकी छोरी भारवीले पाटनको मंगलबजारमा इस्वी सम्बत् ५७० मा दोस्रो हिटी बनाएकी थिइन्।
लिच्छवी राजाले हिटी बनाउन सुरु गरे पनि मल्लकालमा काठमाडौं र ललितपुरमा हिटी प्रणाली विस्तार भएको थियो।
उपत्यकाको अन्तिम हिटी काठमाडौंको सुन्धारा हो भनिन्छ।