काठमाडौं जति तीव्र गतिमा सहरीकरण भइरहेको होस्, जति नै क्रंक्रिट भरिन थालेको होस्, यहाँ हाम्रा परम्पराको झल्को देख्न पाइन्छ। यहाँका मन्दिर हुन् वा घर, गल्ली हुन् वा झ्याल, तिनीहरू हाम्रा प्राचीन कथा सुनाउन लालायित देखिन्छन्। मानौं इतिहास भन्न पर्खेर बसेका छन्।
यीनैमध्ये एक हो, नरदेवी, येट्खा बहालस्थित एउटा सामान्य घरको भित्तामा अडिएको काठको मनमोहक झ्याल। जसलाई नेवारी भाषामा देशेय मरू झ्याः भनिन्छ।
देशेय मरु झ्याः को नेपाली अर्थ हुन्छ– देशभरि अन्त कहीँ नभएको।
वास्तवमै यो घरको जस्तो झ्याल देशभर अन्त कतै छैन।
सामान्य घरको यो झ्याल जति कलात्मक र आकर्षक छ, त्योभन्दा बढी रहस्यमयी छ।
पुरानो नेवारी शैलीको घर क्रंक्रिटको बनिसकेको छ। यसको यो मनमोहक झ्याल भने फेरिएको छैन।
देशय मरू झ्याः खोल्न मिल्दैन। यस्तै खोल्न नमिल्ने झ्यालहरू प्रायः नेवारी शैलीका घरको भुइँतलामा राखिन्छ। यिनलाई ‘टिकी झ्याः’ भनिन्छ।
सामान्यतयाः यस्ता झ्यालको स्वरुप सादा हुन्छ। काठमा स–साना समान आकारका प्वाल हुन्छन् जसले बाहिरबाट हेर्दा भित्रको दृश्य देख्न मुश्किल हुन्छ। भित्रबाट हेर्दा भने बाहिरको दृश्य सहजै देख्न सकिन्छ।
नेवारी शैली घरको दोस्रो तलामा भव्य र कलात्मक बुट्टा कुँदिएका झ्याल हुन्छन्। त्यसलाई सँझ्याः भनिन्छ र खोल्न पनि मिल्ने हुन्छ।
टिकी झ्याः को तुलनामा सँझ्याःमा धेरै फ्रेम राखिएका हुन्छन्। एक फ्रेममाथि अर्को गर्दै तहतह मिलाएर जम्मा ११ वटा फ्रेम हुन्छन्। त्यही तहै तह मिलेर बनेको फ्रेमको बीचमा प्वाल–प्वाल पारिएको काठको फल्याक हुन्छ। यसबाट पनि बाहिरको दृश्य सहजै देख्न सकिन्छ।
नरदेवीको यो सामान्य घरको भित्तामा यस्तो कलात्मक र रहस्यमयी झ्याल कहाँबाट कसरी अडियो भन्नेबारे धेरै जानकारी उपलब्ध छैन। यही झ्याल हेर्न धेरै पर्यटक यहाँसम्म आउँछन्। पर्यटक गाइड किताबमा पनि यसबारे उल्लेख भएको यही घरमा पसल चलाएर बसेका स्थानीय रिको स्थापित बताउँछन्।
तर मनै लोभ्याउने देशेय मरु झ्याः का बारेमा न स्थापितलाई धेरै जानकारी छ, न त घरमालिकलाई नै।
झ्यालमा एउटा काठको प्लेट छ जसमा ‘येट तोर नाम्बर (७) ९’ लेखिएको छ। प्राध्यापक काशीनाथ तामोटका अनुसार यसको अर्थ ‘येट्खाटोलयः ७९ ल्यायाछेँः’ अर्थात् येट्खाको घर नम्बर ७९ हो। यो राणाकालमा गरिएको घर संख्या गणना हो।
देशेय मरु झ्याः ले हाम्रो अनुपम इतिहास मात्र देखाउँदैन, वर्तमान नेपालले आफ्ना सम्पदा जोगाउन गरेको प्रयासको अवस्था पनि दर्शाउँछ।
उच्चकोटीको कलाले भरिएको भए पनि यो झ्याल राम्रो अवस्थामा छैन। क्रंक्रिट पर्खालबीच च्यापिएको झ्यालका काठ चर्किन थालेका छन्। जीर्ण हुँदै गएको छ। झ्याल भएको कोठा पनि एक ट्यूसन इन्स्टिच्युटले भाडामा लिएको छ।
बर्सेनि हजारौं पर्यटक आफूसम्म खिच्न सक्ने यस्तो ऐतिहासिक झ्यालको संरक्षणमा सरकारले केही चासो देखाएको छैन।
स्थानीयका अनुसार घर मालिकले घर पुनर्निर्माण गर्ने बेला सरकारले यो झ्याल लैजान खोजेको थियो। घर मालिक मानेनन्। पुरातत्व विभागले झ्याल लैजाला भनेर उनले पुनः यो झ्याल राखेर क्रंक्रिट पर्खाल लगाएका थिए।
यसको संरक्षणनिम्ति सरकारी अधिकारीले घर मालिकको चित्त बुझाएर पुरानै शैलीमा घर बनाउन मनाएको भए यो अनुपम झ्यालको अवस्था यस्तो हुने थिएन। यसले आफ्नो वास्तविक अस्तित्व पाउने थियो।
हामीले यो तथ्य पनि स्वीकार्नुपर्छ, त्योबेला हाम्रो बुझाइमा सम्पदा भनेकै प्राचीन वस्तु मात्र थिए। वर्षौं पुराना मूर्ति वा अरु वस्तु मात्र जोगाउनुपर्छ भन्ने मानसिकता थियो। त्यो बेला सम्पदा संरक्षण जिम्मा पाएकाहरूले समग्र सम्पदाबारे बुझेकै थिएनन्। तर दुर्भाग्य, आजका मितिसम्म उनीहरूले यो कुरा बुझेको देखिँदैन।
सम्पदाबारे उनीहरूको बुझाइ कति संकुचित छ भन्ने उदाहरण हो देशेय मरू झ्याः।
यसको संरक्षणमा कसैले पहल गरेका छैनन्। महत्व बुझ्ने कोशिस गरेका छैनन्। यसले भन्न खोजिरहेको कथा सुन्नै खोजका छैनन्।
तर, तिनै संरक्षण अधिकारी र हामी नेपालीको पहिचान दिने पासपोर्टको पृष्ठ संख्या २५ पल्टायौं भने देशेय मरु झ्याः हाम्रा प्राचीन कथा सुनाउन पर्खिरहेको देख्नेछौं।
(सम्पदा संरक्षणमा विद्यावारिधी लेखक महर्जन पोर्चुगलको डी इभोरा विश्वविद्यालय अन्तर्गत इतिहास, सँस्कृति र समाज विभागमा अनुसन्धानकर्ता हुन्।)