विगत ३ वर्षदेखि पुनर्निर्माणको पर्खाइमा रहेको सुन्धारास्थित धरहरा संरक्षण गर्न पहल सुरु भएको छ।
निरन्तर परिरहेको पानीबाट जोगाउन काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बुधबार क्षतिग्रस्त धरहरामा पाल ओढाउँदै संरक्षण पहल सुरु गरेकी हुन्।
भत्काएर पुनर्निर्माण गर्ने वा ठूटो नै संरक्षण गर्ने भन्ने विषयमा अन्यौल भए पनि अरु पहल नहुञ्जेल घाम/पानीको असरबाट जोगाउन पाल ओढाइएको उपमेयर खड्गीले बताइन्।
‘धरहरा नभत्काएर स्मारक पार्क बनाउने सकारात्मक कुरा भएको छ,' उनले भनिन्, 'तर काम सुरु नहुनेबेलासम्म यसको संरक्षण जरुरी छ।'
सम्पदा अभियन्ता गणपति लाल श्रेष्ठले यो सांकेतिक पहल भएको भन्दै यसले २०७२ सालको भूकम्प स्मरण गराउने अन्य सम्पदा संरक्षणमा पनि सचेत गराउने बताए।
धरहरा नयाँ प्रविधिबाट निर्माण गर्न सरकारले पुनर्निर्माण प्राधिकरणलाई जिम्मा दिएको थियो। यसलाई यथास्थितिमा राखेर नयाँ आधुनिक धरहरा बनाउने तयारीमा प्राधिकरण छ। केहीसमय अगाडि भूकम्पले क्षतिग्रस्त धरहराको भागलाई शिशाभित्र राखी स्मारक पार्क निर्णय भएको थियो।
तस्बिरहरु: नारायण महर्जन