बम्बईबाट हिँडेको रेलले अचानक अर्कै बाटो समात्यो।
जानुपर्थ्यो पटना जंक्सन। नजिकै पुगेपछि रेल मोडियो पटना सिटीतिर।
बम्बई विश्वविद्यालयका नेपाली विद्यार्थी मसँगै यात्रा गरिरहेका थिए। अर्कै बाटो समातेपछि उनीहरू हंगामा गर्न थाले। विद्यार्थीमध्येका बनवारीलाल मित्तल अलिक टाठा थिए। उनी मसँग नेवारीमै कुराकानी गर्थे।
‘सत्यमोहन दाइ, रेलले हामीलाई अर्कैतिर लैजान खोज्यो,’ मित्तलले नेवारीमै भने, ‘हामी यो रेल रोक्दैछौं। तपाईं चुपचाप बसिदिनुहोला।’
मैले के हो, कसो हो राम्ररी बुझ्नै पाएको थिइनँ। विश्वविद्यालयका केटाहरूले रेलको जञ्जिर तानिहाले।
चलिरहेको रेल एकाएक छुस्स्स्स... गर्दै रोकियो।
यो २०१६ सालको घटना हो।
हिन्दुस्तानमा पहिलोपटक नेपाल सरकारले संस्थागत रूपमै मुलुक चिनाउने जमर्को गरेको थियो। प्रथम जननिर्वाचित सरकारले भर्खरै गठन गरेको पुरातत्व तथा संस्कृति विभागमा मलाई निर्देशक बनाएको थियो। त्यसै विभागको पहलमा उतिबेला बम्बईको नामीगिरामी ‘प्रिन्स अफ वेल्स म्युजियम’ मा दुई साता लामो ‘नेपाल दर्शन’ कार्यक्रम सम्पन्न गरेर म ती विद्यार्थीका साथ फर्किरहेको थिएँ।
प्रधानमन्त्री बिपी कोइराला एवं महाराष्ट्रका राज्य प्रमुख श्रीप्रकाशले संयुक्त रूपमा प्रदर्शनी उद्घाटन गरेका थिए। राज्यस्तरमै आयोजित प्रदर्शनी भए पनि त्यसको सारा श्रेय त्यतिबेला बम्बईमा बसेर पढिरहेका नेपाली विद्यार्थीलाई जान्थ्यो।
बम्बई विश्वविद्यालयमा त्यतिबेला मित्तल लगायत मोहम्मद मोहसिन, अनुप राणा, केदारभक्त श्रेष्ठजस्ता विद्यार्थी थिए। त्यहीँको अर्को नामुद ‘जे जे स्कुल अफ आर्ट’ मा पनि थुप्रै नेपाली विद्यार्थी थिए। तीमध्ये उर्मिला उपाध्यायलाई अहिले पनि सम्झन्छु।
उनीहरूले बम्बईमा ‘नेपाल–भारत विद्यार्थी सम्मेलन’ आयोजना गर्ने विचार गरेका रहेछन्। मुलुकमा भर्खरै लामो राजनीतिक संक्रमणपछि पहिलो आमनिर्वाचन सम्पन्न भएको थियो। नेपाली कांग्रेसले दुईतिहाइ बहुमतसहित विजय हासिल गरेको थियो। यस्तो बेला बम्बईमा नेपाल चिनाउने प्रदर्शनी आयोजना गर्न सके मुलुकको ताजा अवस्था ‘अपडेट’ हुने प्रस्ताव ती विद्यार्थीले ल्याएका थिए। उनीहरूले नै प्रधानमन्त्री कोइरालासँग भेटेर आफ्ना कुरा सुनाए।
त्यो बेलासम्म नेपाली इतिहास र संस्कृतिका कुरा बाहिरी दुनियाँमा त्यति फैलिएको थिएन। राणाकालमा यस्तो हुने कुरै थिएन। त्यसपछि संक्रमणमै मुलुक गुज्रिएको थियो। प्रधानमन्त्री कोइरालालाई विद्यार्थीहरूको कुरा मनपरेछ। उनले तुरुन्तै शिक्षामन्त्री परशुनारायण चौधरीलाई निर्देशन दिइहाले। पुरातत्व तथा संस्कृति विभाग शिक्षाअन्तर्गत थियो।
म र मन्त्री दुवैलाई प्रधानमन्त्रीसँग भेट्न डाकियो। मैले सम्पूर्ण जिम्मेवारी पाएँ।
यो पनि पढ्नुहोस्:
भर्खरै गठन भएको विभागमा म पनि के काम गर्ने र कसो गर्ने अलमलमै थिएँ। प्रधानमन्त्रीको निर्देशन आउनेबित्तिकै कस्सिएँ।
नेपाल दर्शन त भनियो, तर के दर्शन गराउने भनेर म अकमकै थिएँ।
त्यो बेला वीर पुस्तकालय घन्टाघरमुनि थियो। त्यहाँ के–के कुरा रहेछ भनेर खोजी गरेँ। त्रिपुरेश्वरमा घरेलु इलम प्रचारक अड्डा थियो। त्यहाँ हस्तकला सामग्री हुन्थे।
यी निकायबाट विभिन्न सामग्री उपलब्ध हुनसक्थे। मलाई भने बम्बईमा देखाउन एउटा गज्जबको ‘मास्टरपिस’ चाहिएको थियो। त्यो के हुनसक्ला?
त्यो बेला ल्हासामा हालीमुहाली जमाएका नेपालीहरू ‘बत्तीस कोठी महाजन’ भनेर चिनिन्थे। जम्मै व्यापार उनीहरूकै हातमा थियो। त्यहाँबाट पैसा कमाएर ल्याएपछि, अझ विशेषगरी सुन लिएर आएपछि उनीहरू आफ्नो पुरुषार्थ देखाउन खोज्थे। त्यस्तो पुरुषार्थ भनेकै ‘सम्यक’ थियो।
सम्यक भनेको दुई किसिमबाट हुन्छ। एउटा गुठीले सालिन्दा आयस्ताबाट गर्ने सम्यक। अर्को यिनै तिब्बतबाट पैसा कमाएर ल्याउने साहु महाजनले निजी तवरबाट गर्ने फुर्माइस।
यो पनि पढ्नुहोस्:
यसरी सम्यक गर्न दिपंकर बुद्धको सुनको मोलम्बा लगाएको भयंकर मूर्ति बनाउनुपर्ने चलन थियो। स्वयम्भूमुनिको भुइँखेल भन्ने मैदानमा त्यो सम्यक गर्दा राजालाई निम्ता गर्नु अनिवार्य थियो। उपत्यकाभित्रका सम्पूर्ण देवी–देवतालाई निमन्त्रणा गरिने त्यस अवसरमा राजालाई पनि देवताकै प्रतिरूप मानेर निम्त्याइन्थ्यो। आ–आफ्ना विहारबाट सबै मूर्ति त्यहाँ लगेर दिपंकर बुद्धसँगै भेला गरिन्थ्यो। यसरी पूजा गरिसकेपछि भोज हुन्थ्यो।
यसरी नियमित रूपमा गरिनुपर्ने एउटा सम्यक पूजा त्यो कालखण्डमा सम्पन्न हुनसकेको थिएन।
२००७ सालतिरको कुरा हो। त्यतिबेला सम्यक पूजा गर्ने भनेर बत्तीस कोठीकै एक जना महाजन सम्यकरत्न तुलाधरले सबै तयारी सम्पन्न गरिसकेको अवस्था थियो। त्यतिबेलै राजा त्रिभुवन सपरिवार शरणार्थी भएर दिल्लीतिर गए। त्यस्तो अवस्थामा यता राणाजीहरूले त्रिभुवनका माइला नाति ज्ञानेन्द्रलाई गद्दीमा राखेर राजा घोषणा गरिदिएका थिए।
त्यतिबेला चारवर्षे ज्ञानेन्द्रलाई नै मानेर सम्यक गर्न राणाजीहरूले दबाब दिए। त्यो साहु खलकले भने मरेकाटे मानेन। बरु गर्दै गर्दैनौं भनेर रोकिदिए।
अनेक उथलपुथल भएर त्यो सम्यक हुनै पाएको थिएन। राजा फर्केपछि सम्यक सम्पन्न गरियो। जबकि महाजन सम्यकरत्नको त्यतिन्जेल निधन भइसकेको थियो। जसले यत्रो खर्च लगाएर आयोजना गरेका थिए, उनैले सम्पन्न भएको हेर्न पाएनन्।
यो पनि हेर्नुहोस्:
यसरी सम्यक निम्ति भनेर तयार पारिएका यस्तो कथायुक्त दिपंकर बुद्धको सुन लगाएर बनाइएको भयंकर मूर्ति थियो। झन्डै सात आठ फिट अग्लो।
तिनै सम्यकरत्नका जेठा छोरा भक्तवीरसिंह तुलाधर थिए।
मैले त्यो सम्यक देउतालाई बम्बई लगेर देखाउन पाए गजब हुन्थ्यो भन्ने सोचेँ।
भक्तवीरजीलाई भेट्न गएँ। बम्बईमा हुने प्रदर्शनीको महत्व उल्लेख गर्दै सारा कुरा सुनाएँ।
यो एउटा गहनाले भरिएको जाज्वल्यमान मूर्ति त्यहाँ लैजान पाएदेखि प्रदर्शनीको चहकमहक नै अर्को हुने जानकारी गराएँ।
‘अहँ हुँदैन,’ उनले भने, ‘यो त हामी दिँदै दिँदैनौं।’
पूजा गरिरहेको यत्रो ठूलो देउता बिग्रियो वा हरायो भने के गर्ने भन्ने उनीहरूको चिन्ता थियो।
मैले त्यस मूर्तिको सम्पूर्ण जिम्मा आफूले लिने बताएँ। विभागको तर्फबाट लेखेरै दिन पनि तयार रहेको सुनाएँ। खासगरी बम्बईका विद्यार्थीले नै मलाई यसो भन्नसक्ने आँट भरिदिएका थिए। उनीहरू म्युजियममै सुतेर भए पनि लगेका सम्पूर्ण सामग्री सुरक्षित राखिदिन तयार थिए।
त्यति भनेपछि उनले सकारात्मक संकेत देखाए।
र, यो पनि:
लैजाने कुरा त मिल्ने भयो, तर त्यो विशाल मूर्ति फुकाल्न र कस्न पनि तालिमै आवश्यक पथ्र्यो। मैले सारा सीप सिकेँ। त्यसपछि बल्ल मूर्ति लैजाने तारतम्य जुर्यो।
त्यस विशाल मूर्तिले हाम्रो धर्म, संस्कृति र परम्परादेखि तिब्बतसँगको व्यापारका आयाम बयान गथ्र्यो।
त्यसपछि म वीर पुस्तकालयतिर छिरेँ।
हामीकहाँ तालपत्रमा लेखिएको वाल्मिकी रामायण रहेछ। दसौं शताब्दीभन्दा पहिले ताडको पातमा लेखिएको रामायण। त्यसैगरी विष्णु धर्मोत्तर भन्ने ग्रन्थ थियो। दस अवतारको चित्र बनाइएको आवरणसहितको त्यो ग्रन्थ थियो। ती सबै पेन्टिङ दसौं, एघारौं शताब्दीताका बनाइएका थिए। त्यसैगरी शिव धर्मोत्तर थियो। यस्ता थुप्रै महत्वपूर्ण धार्मिक कृति थिए।
वीर पुस्तकालयकै ठूल्ठूला ढ्वाङमा मल्लकालमै बनाइएका समरका चित्र पनि थिए। देखाउनलायक जे–जति कृति त्यहाँ थिए, सबै संकलन गरेँ। लगत कसेँ।
घरेलुबाट पनि देखाउने आकर्षक सामान जम्मा गरेँ।
सामान त जम्मा भयो, लैजाने कसरी?
शिक्षा मन्त्रालयमा दीर्घराज कोइराला सचिव थिए। उनले विमानै चार्टर गर्ने बन्दोबस्त मिलाइदिए।
काठमाडौं आउने भनेकै उही हिन्दुस्तानको डकोटा जहाज थियो। मालवाहकजस्तो।
सारा मालसामान लाद्न लगाएपछि त्यो विमान यहाँबाट बेलुकी तीन चार बजेतिर उडेको थियो। महाराष्ट्रकै नागपुरमा ओराल्दा रात परिसकेको थियो। नागपुरबाट उत्तिखेरै बम्बइ पुगेँ।
बम्बईमा नेपाली विद्यार्थीहरू तैनाथ थिए। सबका सब हातेमालो गर्न तम्सिहाले। मेरो बसोबासको प्रबन्ध पनि उनीहरूले नै मिलाइसकेका थिए।
प्रिन्स अफ वेल्स म्युजियमका प्रमुख मोतिचन्द थिए। उनमा ऐतिहासिक वस्तुको महत्व बुझ्ने अचम्मको क्षमता थियो। क्युरेटरै थिए। मैले लगेका सामानहरू देखेपछि उनी चकित परे।
‘यस्ता कुरा कहिल्यै देखेका थिएनौं,’ उनले भने, ‘तपाईंहरूले यी सबै कसरी सुरक्षित राख्न सक्नुभयो?’
हिन्दु धर्मका त्यत्रा महत्वपूर्ण ग्रन्थदेखि प्रज्ञापारमितासहितका महायानी बौद्धका महत्वपूर्ण कृतिले उनलाई आश्चर्यमा पारेको थियो।
महायानी ग्रन्थ हराएकामा उनीहरू चिन्तित रहेछन्।
उत्तरी भारतले बाह्रौं सताब्दीदेखि मुसलमानहरूको आक्रमण बेहोरेको थियो। आठौंदेखि बाह्रौं सताब्दीसम्मका पाल साम्राज्यदेखि एघारौं–बाह्रौं सताब्दीका सेन साम्राज्यसम्मले मुसलमानको त्यो आक्रमण भोगेको थियो।
अहिलेको विहारमा पाँचौ शताब्दीदेखि सुरु भएको बौद्धमार्गीहरूको महत्वपूर्ण नालन्दा विश्वविद्यालय नै बाह्रौ शताब्दीताका ध्वस्त पारियो। उता बनारसको विश्वनाथसमेत आक्रमणमा परे। सबको भागाभाग चलेको थियो। हिन्दुस्तानीहरूले सबैथोक त्यसैमा समाप्त हुन पुग्यो भन्ठानेका रहेछन्। भरे त यता नेपालबाट पो निस्किरहेको!
त्यतिबेला भागेर हिमालयतिर शरण लिनपुगेका विद्वानले यी महत्वपूर्ण कृति नेपाल पुर्याएका थिए। जसको अन्दाज पनि हिन्दुस्तानीहरूलाई थिएन।
‘यो हाम्रो साझा सम्पत्ति हो,’ मैले भनेँ, ‘तपाईंहरूकहाँबाटै उतिबेला ल्याइएका यी सबैथोक हामीले बचाएर राखेका छौं।’
मेरो कुरा सुनेर उनीहरू प्रभावित भए।
यसले नेपाल र भारत बीच परम्परादेखि चल्दै आएको साँस्कृतिक बन्धन पनि देखाएको थियो। हामी त्यति पहिलेदेखि कसरी सँगै बस्दै आएका छौं, हाम्रा संस्कृति कसरी मिलिजुली विकास भएका छन् भन्ने सबै यथार्थ त्यो प्रदर्शनीले छर्लङ्ग पारिदिएको थियो।
हाम्रै वीर पुस्तकालयमा कस्ता महत्वपूर्ण कुरा संग्रहित छन् भन्ने हामी नेपालीलाई समेत राम्ररी थाहा थिएन। त्यहीँ बम्बईमा पुगेपछि अझ छर्लङ्ग भयो।
यी सन्दर्भ उल्लेख गरिरहँदा मलाई ब्रायन हड्सनको सम्झना हुन्छ।
नेपालमा पहिलोपटक विदेशी कूटनीतिक नियोगको स्थापना दुई सय वर्षअघि ब्रिटिस इन्डियाले गरेको थियो। लैनचौरमा रेजिडेन्सी खुलेलगत्तै ब्रायन हड्सन आएका थिए। सुरुमा त उनी सेक्रेटरी थिए। पछि राजदूत भए।
आफ्नो कार्यकालभरि हड्सनको मुख्य कामै नेपालमा भएका महत्वपूर्ण कृति जम्मा पार्नु थियो। त्यतिबेला यहीँ पाटनका अमृतानन्द बाँडाले हड्सनलाई मद्दत गरेका थिए। सन् १८४४ ताका नेपालबाट कार्यकाल सकेर फर्कने बेला हड्सनले तीन सय ८१ बोरा त्यस्ता बहुमूल्य सम्पदा बोकेर लगेका थिए। त्यसमा विशेष गरेर जातक र अवदानका कथा थिए। त्यसरी लगिएका कृतिलाई पाँच भाग गरेर हड्सनले वितरण गरे। एउटा भाग बंगालको ‘ओरिएन्टल लाइब्रेरी’ ले पाएको थियो। अर्को एउटा भाग बेलायतमा भएको ‘इन्डिया अफिस’ मा संकलित हुन पुगेको थियो।
बेलायतको इन्डिया अफिसमै पुगेका थिए, जर्मन मूलका अनुसन्धाता डा. एडवार्ड कोन्ज।
कोन्जले त्यहीँ हड्सनले नेपालबाट ओसारेका अष्टसाहस्रिका प्रज्ञापारमिता (आठ हजार श्लोक भएको प्रज्ञापारमिता) भेटे। यसको प्रतिपादन नागार्जुनले इशाको पहिलो वा दोश्रो शताब्दीतिर हिन्दुस्तानमा गरेका थिए। नागार्जुन ब्राह्मण भए पनि बौद्धधर्म अपनाएका थिए। उनले नै यस धर्ममा सवाल जवाफ गर्ने परम्परा (डायलेक्टिकल प्रोसेस) चलाएका हुन्।
उनीपछि थप दुई जना गरेर जम्मा तीन जना नागार्जुन थिए। तीमध्ये एक त यहाँ आएर ध्यान गरेको भनाइ नै छ। त्यसरी ध्यान गरेको आधारमा उनको नाममा उपत्यकाको पश्चिम उत्तर कुनामा एउटा डाँडोकै नाम नागार्जुन राखिएको छ। यहाँ आएर बौद्ध धर्म प्रचार गर्ने नागार्जुन दसौं, एघारौं शताब्दी ताकाका हुन्। उनी सायद बौद्धधर्मको ‘नाम संगीती प्रचारक’ थिए।
उता इसाको पहिलो शताब्दीमा प्रज्ञापारमिता लेख्ने प्रथम नागार्जुनको त्यही कृति उत्तरभारतमा मुसलमान आक्रमणबाट बचेर कहिले र कुन समय नेपाल आइपुगेको रहेछ। यो संस्कृतमा लेखिएको थियो। नागार्जुनले पालीमा लेखेको चाहिँ उता श्रीलंकातिर पुगेको छ। यसरी त्यो लामो कालखण्डसम्म नेपालमै सुरक्षित रहेपछि फेरि ब्रायन हड्सनले उता लगिदिए।
नत्र बौद्धधर्मको नौवटै ग्रन्थ भारतले गुमाएको कुरा भारतीयहरूले नै बताइसकेका थिए।
यसरी बेलायतस्थित ‘इन्डिया अफिस’ मा एडवार्ड कोन्जले नागार्जुनको त्यो कृति देखेपछि उनको लागि त्यो ठूलै उपलब्धि साबित भयो।
भारतमा हरायो भनेर चर्चा चलिरहेको त्यो महत्वपूर्ण कृति नेपालबाट पो फर्काएर बेलायत आइपुगेको थियो। त्यसै अष्टसाहस्रिका प्रज्ञापारमितालाई कोन्जले अंग्रेजीमा अनुवाद गरे। कोन्जको त्यो महत्वपूर्ण पुस्तक मेरो संकलनमा पनि छ। यसरी त्यो हराएको भनिएको सम्पत्ति विश्वव्यापी हुनपुग्यो।
यो बौद्धधर्ममा आधारित विश्वकै माध्यमिक दर्शन हो। ज्यादै महत्वपूर्ण कृति।
हड्सनले त्यतिबेला नेपालबाट लगेको अर्को महत्वपूर्ण कृति बंगालको ‘ओरिएन्टल लाइब्रेरी’मा अर्का विद्वान डा. राजेन्द्रलाल मित्रले फेला पारेका थिए। त्यसै पुस्तकका आधारमा मित्रले ‘संस्कृत लिटरेचर अफ नेपाल’ नामको किताबै लेखेका थिए। नेपालमा सुरक्षित रहन पुगेको संस्कृत साहित्यबारे त्यो पुस्तक आधारित छ। त्यो किताब रविन्द्रनाथ टैगोरको अत्यन्तै प्रिय किताब रहेको तथ्यलाई आलोक रे नामका एक विद्वान लेखकले पुस्तकमा उल्लेखै गरेका छन्। आलोकले त्यस पुस्तकमा उल्लिखित जातक कथाहरूको प्रभाव कसरी टैगोरका कृतिमा देखिएका छन् भन्नेबारे पनि टैगोरका कृति र मित्रको पुस्तकका अध्यायलाई पृष्ठसंख्यासहित राखेर लेखेका थिए।
उता हड्सनले नै लगेको नौग्रन्थलाई विहारमा पिएल वैद्यले सम्पादन गरे। विहार सरकार मात्र होइन, केन्द्र सरकारको समेत लगानीमा वैद्यद्वारा सम्पादिन त्यो कृति प्रकाशित गरियो। हिन्दुस्तानले कुनै कालखण्डमा गुमाएको र नेपालबाट फिर्ता पाएको त्यति महत्वपूर्ण ग्रन्थ थियो त्यो, जसलाई उताको राज्यले त्यत्रो महत्व दियो।
त्यो नौग्रन्थमा एउटा त ललित बिस्तर भन्ने बुद्धकै जीवनीमा आधारित ग्रन्थ थियो। गुह्य समाज भन्ने अलिक तान्त्रिक विधिहरूको ग्रन्थ, सधर्म पुण्डरिका सुत्र भन्ने कमलको फूललाई लिएर एउटा सम्प्रदाय कसरी बनेको थियो भन्ने ग्रन्थ। यसरी नै नौवटा विभिन्न ग्रन्थ थिए।
यस्ता महत्वपूर्ण कृति उतिबेलाका मुसलमान आक्रमणकारीहरूबाट जोगिएर हामीकहाँ संकलित हुन पुगेको थियो।
बेलायतमा भने कोन्जले दिएको त्यो योगदानपछि संसारका उल्लेख्य विद्वानहरूले मिलेर उनको सम्मानमा कृति नै तयार पारेका छन्। अंग्रेजी अनुवादको पुस्तकमार्फत् बौद्धधर्म र महायानीलाई उठाउने कामै कोन्जले गरिदिए।
हामीकहाँबाटै गएका त्यस्ता महत्वपूर्ण सम्पदाहरूमै आधारित भएर विश्वमा अनेक कृति तयार पार्ने काम भए पनि हामीकहाँ यस्ता कुराको कहिल्यै मतलबै राखिएन।
यसरी विश्वलाई नै प्रभावित पार्ने चिज हामीकहाँ रहेछ। अनि ब्रायन हड्सन्ले उतिबेला पोका पारेर लगेपछि पनि बचेखुचेका कृति वीर पुस्तकालयमा संग्रहित रहेछन्, जसलाई मैले बम्बईमा लगेर प्रदर्शन गर्न पाएको थिएँ।
दुई साताको प्रदर्शनसहित त्यतिबेला जम्माजम्मी २६ दिन मेरो बम्बई बसाइ भएको थियो। त्यो प्रदर्शनी त्यस रूपमा सफल भएपछि सबैभन्दा बढी त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी खुसी भएका थिए।
नेपाल–भारत सम्वन्धमा हामीले अरू केही गर्न नसके पनि एउटा कालखण्डमा त्यति महत्वपूर्ण सम्पत्ति जोगाएर राखिदिएका थियौं।
नेपाल र भारतको बीचमा एउटा साँस्कृतिक वृत्त छ। यो परम्परादेखि चल्दै आएको हो। हाम्रा उत्तरतिरका हिमाली श्रृंखलाले यो सिंगो भेगको सभ्यता सूचित गर्छ। यो एउटा बलियो साँस्कृतिक वृत्त हो।
भारतीय प्रधानमन्त्रीको यसै साता हुने भ्रमणले पनि यही साँस्कृतिक वृत्तलाई इंगित गरिरहेको म देखिरहेको छु। हिमालको फेदमा उतादेखि बद्रीनाथ, केदारनाथ हुँदै यता मुक्तिनाथ र यहाँ पशुपतिनाथसम्म।
त्यसैगरी हाम्रो नेपाली समाजमा पनि उहिल्यैदेखि काशीबास जाने परम्परा चल्दै आएको हो। दुवैतिरका मानिसका लागि यो सदैव खुला रहँदै आएको भूमि हो।
यो साँस्कृतिक वृत्तमा तपोभूमिहरू छन्। ऋषिमुनिले ध्यान गरेका ठाउँ छन्। ठूल्ठूला शास्त्र, पुराण, ग्रन्थ, कथा यिनै तपोभूमिमा बसेर लेखिएका छन्।
यो सबै हाम्रा साझा साँस्कृतिक सम्पदा हुन्। यो बेल्टकै ठूलो महत्व छ। यिनै कारणले हामी नजिक छौं।
बम्बईमा यसरी प्रदर्शन सकेर फर्किने बेला नेपाली विद्यार्थीहरूका साथ म रेलबाट पटना आउँदै थिएँ। त्यसैबेला रेलले हामीलाई झन्डै अन्त लगिदिएको थियो।
त्यतिबेला पटना र काठमाडौंबीच हवाई सम्पर्क थियो। त्यसैले पटना जंक्सन स्टेसनको छेवैमा रहेको विमानस्थल हामीलाई पुग्नु थियो।
रेलले त पटना सिटी पो लैजान थाल्यो।
उता पुर्याइयौं भने प्रदर्शनीमा लगिएका त्यति धेरै सामान फेरि विमानस्थल कसरी ल्याउने भन्ने छटपटी हामी सबैमा थियो। फेरि हामीलाई त पटना जंक्सन लैजाने भनेरै टिकट काटेर ल्याइएको थियो।
यस्तो अवस्थामा बम्बई विश्वविद्यालयका तन्नेरी विद्यार्थीले चल्दै गरेको रेलको जञ्जिर तानिदिएका थिए।
म आत्तिए। विद्यार्थीहरूले सम्पूर्ण परिस्थिति आफूहरूले सम्हाल्ने भनेकाले म चुपै लागेर बसिरहेँ।
रेल रोकिएको मात्र के थियो, उताबाट सिट्टी बजाउँदै र हल्ला गर्दै गार्डहरू आइपुगे।
यता विद्यार्थी पनि झगडा गर्न तयार भएर बसेका थिए। उनीहरूले सबैभन्दा पहिले मतिर देखाउँदै नेपालको विभागबाट आएको डाइरेक्टर भन्दै अत्यन्त महत्वका साथ मेरो वर्णन गरे। बम्बईमा गरेको हाम्रो प्रदर्शनीको महत्वबारे पनि बताए।
‘हाम्रो डाइरेक्टर साहेबको यो तिमीहरूलाई अर्डर छ,’ उनीहरुले धम्क्याए, ‘तुरुन्त रेल लैजाओ।’
विद्यार्थीहरूले ‘नत्र हामी केस गर्छौं’ समेत भने।
त्यहाँ एकछिनसम्मै विवाद भयो। मलाई बनवारीलाल मित्तलले एक शब्द पनि नबोल्नू भनेकाले म चुपै बसेको थिएँ। एक त त्यसै पनि मलाई हिन्दी बोल्न आउँदैन थियो।
एकछिनसम्मै विद्यार्थीहरूले हायलकायल पारिदिएपछि गार्डहरू फर्किए।
एकैछिनमा रेल हल्लियो। गुड्न पनि थाल्यो। तर, उल्टो दिशामा।
नभन्दै पटना सिटीतिर बढिसकेको त्यो रेल बीच बाटोबाटै फेरि आएकै ठाउँतिर फर्कियो। अघि बाटो छुट्टिएको स्थानमा पुगेर रेलले हामीलाई अब भने अर्कोतर्फ लग्यो र पटना जंक्सनमा ओह्रालिदियो।
जीवनको अन्तिम क्षणसम्म पनि बनवारीलाल मित्तलले मलाई जहिल्यै भेट्दा ‘पटना’ भनेर सुनाइ रहन्थे। त्यो उच्चारणलगत्तै हामी दुवै मुसुक्क हाँस्थ्यौं। त्यो एउटै शब्द हामी दुवै भाइलाई एउटा कालखण्ड सम्झना गरेर रमाउन पर्याप्त थियो।