(नोटः हामीले आजबाट संस्कृतिविद् सत्यमोहन जोशीको आत्मकथा शृंखला सुरु गरेका छौं।)नेपाली कांग्रेसले जितेर भर्खर सरकार बनाएको थियो। एकदिन अनौठो खबर आइपुग्यो- ‘पुरातत्व तथा संस्कृति विभागको डाइरेक्टरमा सत्यमोहन जोशी नियुक्त’।
त्यतिबेला यो नयाँ अड्डा खुलेको थियो। कतिसम्म नयाँ भने, त्यो २०१६ सालभन्दा पहिले संस्कृति भन्ने शब्द नै प्रचलनमा थिएन। निकै पछिसम्म धेरै मानिसले संस्कृतिको अर्थ बुझ्दैन थिए।
मलाई चाहिँ सबैभन्दा ठूलो जिज्ञासा, यो मजस्तै दुरुस्त नाम मिल्ने अर्को सत्यमोहन जोशी को रहेछ भन्ने थियो।
म यता खरदार थिएँ। सञ्चय कोष काटेर महिनाको बयालीस रुपैयाँ दाम थाप्ने एउटा ‘नन् गजेटेड’ कर्मचारी। त्यो ‘गजेटेड अफिसर’ अर्थात् विभागकै डाइरेक्टरको ओहोदाबारे चिताउन पनि सक्दिन थिएँ।
यस्तो बेला मान्छे ‘ए सत्यमोहन तिमी डाइरेक्टर भयौ’ भन्दै सुनाउन आए।
‘चुप चुप, नचाहिने कुरा नगर,’ म त्यसरी हल्ला गर्न आउनेलाई भन्थेँ, ‘बरु, त्यो अर्को को मान्छेको नाम सत्यमोहन जोशी रहेछ!’
उता सायद सरकार सत्यमोहन जोशीलाई कुरिरहेको थियो। यता म पनि सत्यमोहन जोशीलाई नै पर्खिरहेको थिएँ।
कुर्दा–कुर्दा केही दिन बिते, कुनै सत्यमोहन जोशी त्यो नामको ‘क्लेम’ गर्न आएन।
‘अब त जानै पर्यो बाबा’ भनेर म बडो अप्ठेरोसँग निस्केँ।
त्यतिबेला वसन्तपुरमा जनसंख्या तथा केन्द्रीय तथ्यांक विभाग थियो। त्यहाँ कांग्रेसका भर्खरका ठिटो परशुनारायण चौधरी शिक्षामन्त्री थिए। उनकै मातहत यो नयाँ पुरातत्व तथा संस्कृति विभाग थियो।
त्यस दिन मेरो मन्त्री चौधरीसँग भेट भएन। उनी कतै बैठकमा गएका थिए। त्यसपछि गृहमन्त्री सूर्यप्रसाद उपाध्यायकहाँ पुगेँ। सूर्यप्रसाद त्यो चुनावमा हारेका थिए। हारेकै भए पनि उनलाई गृहमन्त्री बनाइएको थियो। हाम्रो चिनजान त थिएन। तै, मैले चिट पठाउनेबित्तिकै बोलाए।
‘किन आउनु भयो?’ उनले सोधे।
मैले आफूसँग मिल्दो नामको मान्छे डाइरेक्टर नियुक्तिको खबर आएकाले अप्ठेरो परेको भनेर बताएँ। उनी हाँसे। हाँस्दाहाँस्दै प्रश्न गरे, ‘त्यो हाम्रो लोकसंस्कृति भन्ने ग्रन्थ लेख्ने मान्छे को हो?’
मैले विनम्र भएर भनेँ, ‘त्यो त मैले नै लेखेको हुँ।’
‘ओहो! त्यसो भए तपाईंलाई नै दिएको डाइरेक्टर पद हो यो,’ गृहमन्त्रीले भने।
म एकछिन रनभुल्ल परेँ। यो कस्तो दायित्व हो? त्यहाँ गएर मैले के गर्ने? यस्ता प्रश्नले मलाई भित्रभित्रै पिरोल्यो।
जुन पुस्तकको चर्चा गृहमन्त्रीले गरिरहेका थिए, त्यसमा त मैले के नै पो गरेको थिएँ? त्यो मेरो आफ्नो थिएन। गाउँघरका मान्छेको थियो। उनीहरूका गीतलाई अलिकति साहित्यिक रूपले मिलाउने काम मात्र मैले गरेको थिएँ। अनि त्यही कामको प्रशंसा गर्दै मलाई पहिलोपटक मदन पुरस्कार पनि दिइएको थियो।
फेरि कुन गाउँघरको को मान्छे भन्नुहोला! त्यो पनि कसरी बताउने? लोकगीतको मालिक भनेको त कसले कसरी गायो, कुनबेला गायो, कताबाट आएको भन्ने हुन्छ। जे होस् त्यो कृति चाहिँ गाउँघरकै थियो। यसरी मलाई गाउँघरले एकपछि अर्को गुन लगाइरहेको थियो।
अब हुँदाहुँदा त्यही पुस्तकका कारण यत्रो डाइरेक्टरको ओहोदा पो पाइरहेको थिएँ। त्यो त ठीक छ। तर, अब मैले विभाग कसरी चलाउने? न पढेको मान्छे, न गरेको मान्छे।
‘तपाईंलाइ नियुक्त गरिसकिएको छ,’ म अलमलिएको देखेपछि गृहमन्त्रीले थपे, ‘अब जानुस् जसरी चलाए पनि हुन्छ।’
म निस्केँ।
डाइरेक्टरका रूपमा मेरो काम सुरु भयो।
म काम गर्दै गएँ। मेरा जिम्मेवारी पनि बढ्दै गए।
एक वर्ष नपुग्दै मलाई मासिक पत्रिका ‘विकास र निर्माण’ निकाल्ने गरी योजनातर्फको काम दिइएको थियो। मैले त्यस पत्रिकाको सम्पादन गर्ने भएकाले सिंहदरबारमै मेरो काम हुन्थ्यो।
त्योताका सिंहदरबारमा ‘झन्डाको बैठक’ भन्ने ठाउँमा प्रधानमन्त्रीको कार्यालय थियो। सबैभन्दा माथिल्लो तल्लामा। अनि त्यसै तल्लामा योजना आयोगदेखि लिएर सबै सम्बन्धित कार्यालय पनि थिए।
यस्तैमा पुस १ गतेभन्दा केही अघि मात्र सिंहदरबारमा म तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाको नजिकै परेको थिएँ।
माथिल्लो तल्लामा रहेका हाम्रा कार्यालयसम्म पुग्न त्योबेला प्रधानमन्त्री र मन्त्रीहरुका निम्ति लिफ्ट नै राखिएको थियो। त्यो दिन ख्वै के भएर हो लिफ्ट चलेन। प्रधानमन्त्री बिपी कोइराला आइपुगे। प्रधानमन्त्रीसँगै उनका मानिसदेखि त्यहाँ कुरेर बसेकाहरुसम्म सबै वरिपरि झुम्मिने त भए नै।
त्यसैबीच लिफ्ट नचलेको संकेत पाएपछि प्रधानमन्त्री फटाफट सिँढी चढ्ने ठाउँतिर लागे।
संयोगले त्यतिबेलै म पनि सिँढीबाटै माथि उक्लँदै थिएँ।
उता प्रधानमन्त्री कोइराला र यता म सँगसगै सिँढी चढिरहेका थियौं। त्यतिबेला प्रधानमन्त्रीको मुखबाट मुख्य सचिवको यस्तरी तारिफ भइरहेको थियो, म चकित खाएँ।
त्योबेला मुख्य सचिव चन्द्रबहादुर थापा थिए। ‘यस्तो क्षमताको मानिस मैले देखेको छैन’ भनेर बिपीको मुखबाट सुन्दा म अवाक् भएँ।
यत्रो वर्षपछि म आज फेरि त्यो क्षण पहिलोपटक सम्झिरहेको छु। मलाई त्यसै बेला लागेको थियो, अब केही न केही गडबड होला। त्यत्रो प्रधानमन्त्रीले मान्छे चिन्न नसकेको देखेर म चकित थिएँ।
थापाजी प्रजातन्त्रका परम शत्रु थिए। उतिबेलै राणासँग असाध्यै नजिकका मानिस। यो सबलाई थाहा भएको कुरा थियो। प्रजातन्त्र आएपछि त्यही मानिस सचिव भए। पहिला संसदीय मामिलाको सचिव थिए। हुँदा हुँदा मुख्य सचिवै बनाइए।
बिपी त्योबेला थापाजीकै प्रशंसा गर्दै उक्लिरहेका थिए। मैले केही बोल्ने कुरा भएन। तर, अनिष्टको संकेत देखेजस्तो मलाई भइसकेको थियो।
आखिरमा पुस १ गते आइपुग्यो।
राजा महेन्द्रले 'कू' गरे। त्यत्रो बहुमत पाएर जितेको नेपाली कांग्रेसका प्रधानमन्त्रीलाई समातेर लगेर थुनिदिए। र, मेरो मनमा खेलेका कुरा उनै मुख्यसचिव चन्द्रबहादुर थापाको चर्तिकलाले साबित पनि गरिदियो।
पुस १ गतेको दिन तरुण दलको कार्यक्रमबाटै प्रधानमन्त्रीलाई पक्राउ गरेर थुन्नेबित्तिकै यता सिंहदरबार पनि पूर्ण रुपमा बन्धक बनाइयो। त्यसका मुख्य हर्ताकर्ता तिनै चन्द्रबहादुर थापा थिए।
मालपोत हेर्ने एक जना मन्त्री सिंहदरबारमै फेला पार्न नसकेको अवस्थामा उनको खोजी गर्न भनेर त्यहाँभित्र भएका सबैलाई त्यसरी बन्दी बनाइएको थियो। हराएका मन्त्रीलाई खोजेर फेला नपारेसम्म कसैलाई सिंहदरबारबाट बाहिर जान नदिनू भनेर कडाइ गरिएको थियो। त्यहाँ आएकासम्म सबैलाई थुन्नुको पछाडि ‘दरबारको आदेश’ भनेर सुनाइँदै थियो। त्यसलाई कार्यान्वयन गर्न दौडादौड तलमाथि गर्दै ‘एक जनालाई पनि नछाड्नू’ भन्दै आदेश दिने काम उनै मुख्यसचिवले गरिरहेका थिए। सारा हालीमुहाली उनैको थियो।
त्यो दिन उनको फूर्ति नै हेरिनसक्नु थियो। मलाई चाहिँ केही दिनअघि मात्र त्यहीँ सिंहदरबारमा प्रधानमन्त्री बिपीले गरेको यिनको प्रशंसा सम्झना भइरहेको थियो। कस्तो विचित्र!
अब यसरी बन्दी बनाइएपछि कतिन्जेल थुनिनुपर्ने हो भन्ने कसैलाई भेउ पत्तो थिएन। सिंहदरबारमा भएका थोरथोरै खानेकुरा पनि सबै सकिएको थियो। तै त्यसै रात अन्तिममा कसैले आएर ती मन्त्री त भागिसकेको जानकारी दिए। ढलबाट खेतैखेत भागेको कुरो आएपछि त्यसलाई पक्कापक्की गर्न लगाए। पुष्टि भयो।
यसरी त्यो पुसको चिसोमा हामी राति ९ बजेतिर बल्ल मुक्त गरिएका थियौं।
मुख्यसचिव चन्द्रबहादुर थापाजीको वर्णन यतिले पनि सकिँदैन।
'कू' लगत्तै अर्का मन्त्री नारदमुनी थुलुङ वीरगन्जमा पक्राउ परे। उनलाई समातेपछि काठमाडौं ल्याउनु थियो। तर, मन्त्री भइसकेको मान्छेलाई हिरासतमै राखेर सारा बाटो पैदल हिँडाएर ल्याउन खोजियो। त्यतिबेला वीरगन्जदेखि हिँडेर काठमाडौं लैजानुको साटो बरु आफ्नै पैसाले हवाइजहाजको पैसा तिर्छु भनेर थुलुङले अनुरोध गरेका थिए।
‘हुँदैन,’ तिनै मुख्यसचिवले आदेश दिएका थिए, ‘खुरुक्क हिँडाएरै ल्याउ।’
यसरी कांग्रेस सत्तामा आएलगत्तै सचिवदेखि मुख्यसचिवसम्म बनाइएका र स्वयं प्रधानमन्त्रीको मुखबाट त्यसरी मुक्तकण्ठ प्रशंसा पाएका मानिसको चरित्र केही समयमै खुलासा भएको थियो।
२०१७ सालको ब्यूह रचनामा सबैभन्दा ठूलो चर्तिकला त अझ तुलसी गिरी र विश्वबन्धु थापाले देखाएका थिए।
बिपीको मन्त्रीमण्डलमा गिरी परराष्ट्र मन्त्री र थापा पार्टीका चिफ ह्विप (प्रमुख सचेतक) थिए। सुरुमा त छारो हाल्न राजा महेन्द्रले दुवैलाई थुनेजस्तो गरे। केही दिनमै जेलबाट निकालेर सारा शासनसत्ता उनीहरुकै हातमा दिए।
त्यसपछि गिरी र थापाले सारा कर्मचारीतन्त्रमा तरबार चलाएर एक से एक देशभक्तको सफाया गरे। हिमालयशम्शेरदेखि भीमबहादुर पाँडेसम्म, शेषराज दलीदेखि द्वारिकादास श्रेष्ठसम्मका प्रशासनका सम्पूर्ण क्रिमहरु हटाइयो। त्यतिबेला झन्डै डेढ दुई सय मानिस निकालिए। त्यही लहरमा मेरो डाइरेक्टरको जागिर पनि गएको थियो।
जीवनलाल सत्यालले त ‘मैले केही बिराएको भए म रानीपोखरीमा हाम्फालेर मर्छु’ भन्दै राजालाई चिठ्ठी पनि लेखेका रहेछन्। उनले मसँगका अन्तरंग कुराकानीमा उतिबेलै भनेका थिए। उनी जिपिओका डाइरेक्टर जेनरल थिए। केही नबिराउँदा पनि खोसुवामा पर्नुबाट ठूलो आघात परेको उनको भनाइ थियो।
पछि उनै जीवनलाल बडाहाकिम बनाइए।
मलाई महेन्द्रले लेखेको कविता असाध्यै राम्रो लाग्थ्यो।
‘गर्छिन पुकार आमारोइ कराइ जोडलेसक्दिन हेर्न भन्छिन्सन्तान थरीथरीका’यसमा मुलुक र जनताप्रतिको अगाध माया देखिन्थ्यो। त्यस्तो मानिसले २०१७ सालमा 'कू' गरेर अधिनायकवादी बाटो समाते। त्यो बाटो नै नेपालको राजतन्त्रका निम्ति विनाशको सुरुआत भइदियो।
त्यसको मुख्य कारण थियो, उनले विश्वास गरेका मानिस।
२०१७ सालमा 'कू' गरेपछि महेन्द्रले जस्ता मानिस आफ्ना नजिक राखे, तिनीहरुले नै स्वाहा गरिदिए। तानाशाहीको परिकल्पना त गरे। तर, चलाउन सकेनन्।
यस्तो गर्दा कस्तो परिणाम आउँछ भन्ने कुरा विचारै नगरेर सबै काम भए।
२०१७ पुस १ गते जुन 'कू' गरियो त्यो गलत थियो। जनताले निर्वाचित गरेर पठाएको सरकारलाई एक वर्ष पनि चलाउन नदिएर यस्तो कदम चाल्नुअघि भविष्यमा कस्तो असर पर्छ भनेर सोच्नुपर्ने थियो।
विश्वबन्धु थापा र तुलसी गिरीले उता कांग्रेसमाथि विश्वासघात गरेका थिए। यता त्यस्ता मानिसको भरोसामा राजा महेन्द्र परे। उनीहरु शक्तिमा आउनेबित्तिकै त्यतिबेला प्रशासनयन्त्रका सबैलाई हटाए। ‘म्यासाकारै’ गरे।
महेन्द्रको 'कू' पछि हामीलाई पनि प्रभाव पार्ला भन्ने लागेको थिएन। राजनीतिसँग खासै सरोकार नराखेर आफ्नो काम गर्ने मानिसलाई कसले पो चलाउला भन्ने थियो।
त्यस्तो भएन।
शासनसत्ता पल्टाएको दुई महिना नबित्दै फागुन २० गते गृह मन्त्रालयबाट एउटा पूर्जी आएको जानकारी मैले पाएँ। त्यो पूर्जी कता बुझाइएको थियो त्यो त अहिले याद भएन। त्यसमा मलाई पुरातत्व तथा संस्कृति विभागको डाइरेक्टरबाट हटाइएको जानकारी चाहिँ घरैमा पाएको थिएँ।
मैले जानकारी पाएको भोलिपल्टै नवनियुक्त गृहमन्त्री विश्वबन्धु थापालाई भेट्न गएँ। भेटघाटमा आफ्नो सम्पूर्ण कुरा राखेँ। ‘म माथि यस्तो नहुनुपर्ने’ भनेर सुनाएँ।
मेरो कुरा सुनिसकेपछि गृहमन्त्री थापाले ‘हुने कुरा भइसक्यो। अब के गर्ने? राजालाई निवेदन गरे हुन्छ’ भनेर सुनाए।
मैले राजालाई किन निवेदन दिने? निवेदन दिने कुरै थिएन। र, दिइनँ।
पछि उतिबेला खोसिएका धेरै मानिस फेरि फिर्ता गरिए पनि मलाई पुन: नियुक्त गरिएन। मैले कसैसँग सोधीखोजी पनि गरिनँ।
विश्वबन्धुले मेरो ठाउँमा उनैको भतिजा रमेशजंग थापालाई नियुक्त गरिदिएका थिए। रमेशजंग पछि रक्षा सचिवदेखि लिएर निर्वाचन आयुक्तसम्म पनि भएका थिए।
मानिस अहिले सबै बिग्रेको भन्छन्। मैले देख्दा त बिग्रेको त्यसै बेलादेखि हो। जतिसुकै इमानदारीपूर्वक काम गरे पनि, कतै कुनै लागलपेट नभएको मानिसलाई अचानक बर्खास्त गरिदिने र आफ्ना मानिसलाई भर्ति गर्ने काम उतिबेलैदेखि भएको हो।
आफ्नै पार्टीका तर्फबाट नियुक्ति दिएका मानिसलाई त त्यतिबेला निकालेका मन्त्रीहरुले म कुनै पार्टीमा नलागेको मानिसलाई झन् किन फिर्ता बोलाउँथे?
त्यतिबेलै लगत्तै मैले लेखेको अर्को पुस्तक ‘नेपाली राष्ट्रिय मुद्रा’ ले फेरि मदन पुरस्कार पाएको थियो।
त्यसैबेला एउटा भेटघाटमा राजा महेन्द्रले मलाई त्यस पुस्तकका निम्ति धन्यवाद दिएका थिए।
त्यतिबेलै चीनको पेकिङ रेडियोमा हिन्दुस्तानको भाषा पढाउने, बंगाली पढाउने मानिसहरु मागिरहेकै क्रममा नेपाली पनि पढाउने मानिसको खोजी भइरहेको रहेछ। उता चीन र हिन्दुस्तानको लडाइँ भएकाले उनीहरुको सम्बन्ध राम्रो थिएन।
नेपालबाट मागेकोमा पनि चूडानाथ भट्टराई, मोहनहिमांशु थापा र मेरो बीच प्रतिस्पर्धा भइरहेको थियो। दुई जना पढेलेखेका विद्वानको बीचमा स्नातक पनि नगरेको म परेको थिएँ। अब मेरो त जागिर खोसिएको मानिस कतै जाने ठाउँ पनि थिएन। जे पर्ला पर्ला भनेर प्रतिस्पर्धा गरेको थिएँ। पछि त छान्ने बेला चिनियाँहरुलाई के परेछ, मेरै नाम पो छनौट गरेर पठाए।
यसरी चीनले बोलाएपछि म चार वर्ष आफूसँगै नेपाली भाषा लिएर उता गएको थिएँ। त्यस अवधिमा त्यहाँका चिनियाँलाई पेकिङ रेडियोमा नेपाली भाषाको कार्यक्रम चलाउन सक्नेगरी तयार पारेँ।
त्यसपछि नेपाल फर्किएपछि मैले प्रज्ञा प्रतिष्ठानमा सह-प्राज्ञका रुपमा प्रवेश गरेँ।
यहाँबाट मेरो प्राज्ञिक जीवन सुरु भयो।