सत्यमोहन जोशीको आत्मकथा- २
मैले चार राजा देखेँ। त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र। यी चार राजासँगका मेरा अनुभव बेग्लाबेग्लै रहे।
मलाई सबैभन्दा मनपरेका राजा त्रिभुवन हुन्। उनीसँग मेरो सर्वाधिक निकटता रह्यो। अरुसँग चाहिँ औपचारिक भेटघाट मात्र भए।
सबैभन्दा श्रद्धा पनि त्रिभुवनकै लाग्छ। त्योबेला राजाले गद्दी नै छाडेर सपरिवार देशबाहिर जानु चानचुने कुरा थिएन। अहिले मान्छेले आफ्नो हिसाबले कुरा गर्लान्। त्यतिबेला त्रिभुवनले चालेको कदम साहसिक थियो।
म राजनीतिमा खासै चासो राख्ने मान्छे होइन। त्रिभुवनसँग नजिकिनु विशुद्ध सामाजिक कारण थियो।
मुलुकमा शान्ति सुव्यवस्था खल्बलिएको त्यो बेला टोल–टोलमा समिति गठन गरेर जनतालाई सुरक्षा र सेवा दिने काम भएको थियो। राजा त्रिभुवनलाई पाटनमा आयोजित कार्यक्रममा दुईपटक मैले नै निम्त्याएको थिएँ। त्योबेला अलि काण्डै भयो।
२००७ सालको दिल्ली सम्झौतालगत्तै नेपालमा नयाँ राजनीतिक परिवेश सुरु भयो। राणा र नेपाली कांग्रेसको संयुक्त सरकार बन्यो। त्यतिबेलै 'गोर्खा दल' भन्ने नयाँ संगठन उदय भयो। त्यसले तत्कालीन गृहमन्त्री बिपी कोइरालामाथि आक्रमण गर्यो। दलका नेता भरतशम्शेरले गृहमन्त्रीमाथि आक्रमण गरेपछि सबैतिर असुरक्षा भाव सुरु भयो। त्यो दलका मान्छेले दिउँसै नाङ्गो खुकुरी लिएर हिँड्न थालेपछि जनतामा त्रास बढेको थियो।
यस्तो अवस्थामा हामी जनताले अब आफ्नो सुरक्षा निम्ति आफैं तत्पर हुनुपर्छ भनेर यस्ता समिति बनाएका थियौं। काठमाडौंमा बेग्लै समिति थियो। त्यसैगरी पाटनमा ‘रक्षा मण्डल’ गठन भयो। त्यो समितिको अध्यक्ष मै भएँ। त्यसको उद्घाटन राजा त्रिभुवनबाट भएको थियो।
अध्यक्षको हैसियतले मैले निकै काम गरेँ। आशाराम शाक्य सचिव थिए। वास्तवमा भन्ने हो भने त्यतिबेला ‘रक्षा मण्डल’ को सक्रियतासँगै खुकुरी दल भनिने गोर्खा दलको आतंक नियन्त्रित भयो।
आतंक थामिएपछि पनि ‘रक्षा मण्डल’ भंग गरेनौं। बरु आपतकालमा बनाइएको संस्था जीवितै राखेर अब यसैमार्फत् सामाजिक काम गरौं भनेर ‘रक्षा मण्डल’ लाई निरन्तरता दियौं।
त्योबेला चिनी र कपडाजस्ता उपभोग्य वस्तु कोटामा आउँथे। त्यस्ता वस्तुको वितरण जिम्मा हामीले नै लिएका थियौं।
सामाजिक काम अघि बढाएका बेला पनि राजा त्रिभुवनको हामीप्रति सद्भाव कायमै थियो। ‘रक्षा मण्डल’ को भूमिका बदलिएपछि पाँच–छपटक भेट भयो। त्रिभुवनसँगका ती भेट पछिल्ला राजासँगको जस्तो औपचारिक नभएर आत्मीय थिए।
एउटा घटना अहिले पनि सम्झना छ।
त्यो बेला हाम्रा मित्र तुलसी मेहरलाई एउटा समस्या आइपर्यो।
तुलसी मेहर समाज सुधारक थिए। विशेष गरेर महिला सशक्तीकरण र गान्धीवादी चर्खा प्रचारकका रुपमा उनी चिनिन्छन्। चन्द्रशम्शेरले देश निकाला गरेपछि उनी भारतमा महात्मा गान्धीको सानिध्यमा पुगे। पछि कुरा मिल्यो र नेपाल फर्किए। आएपछि चर्खा प्रयोगमार्फत् असहाय महिलालाई रोजगारी र कपडा आपूर्तिमा योगदान दिए।
तिनै तुलसी मेहर उतिबेला चिठ्ठा पनि खेलाउँथे। उनले त्यो बेला पचास हजार रुपैयाँको चिठ्ठा राखेर खेलाउन खोजेका थिए। पच्चीस हजारको पनि बिक्री गर्न सकेनन्। त्यतिखेरको पच्चीस हजार धेरै रकम हो। उनका बाँकी सबै चिठ्ठा थन्किए। किन्ने मान्छे नभएपछि तुलसी मेहर चिठ्ठा खोल्न नसकेर हैरान भएका थिए। पछि हार खाएर सस्तोमा बेच्न खोजे। त्यो पनि बिकेन।
म आफैंले राजा त्रिभुवनलाई भनेँ, 'सरकार यी तुलसी मेहर यहीँ पाटनका मान्छे हुन्। समाज सुधारक र स्वदेशी कपडा तयार पार्न यिनको योगदान छ। पछिल्लो समय चिठ्ठा खेलाउन खोज्दा दुई-तीन वर्षदेखि बिक्री नभएर अलपत्र परेका छन्। यिनका माल पनि सबै गोदाममै थन्किए। यस्तो अवस्थामा सरकारबाट केही सहयोग भइदिए उद्धार हुने थियो।'

मैले यति भनेपछि राजा त्रिभुवनले मुसुक्क हाँसेर भने, 'मैले के गर्दा ठीक हुन्छ?'
‘सरकारले त्यो बचेको चिठ्ठा लिइबक्सिए हुन्थ्यो,’ मैले भनेँ।
नभन्दै राजाले सबै किनिदिए।
चिठ्ठा पनि खुल्यो।
त्यसले तुलसी मेहरलाई अगाडि बढ्न निकै मद्दत गर्यो। उनका राम्रा दिन सुरु भए। लगत्तै तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु नेपाल भ्रमणमा आउँदा तुलसी मेहरको काम हेर्न पुगे। यसले उनको समाज सुधारक चर्खा अभियान अझ माथि उचालिदियो।
त्यसपछि तुलसी मेहरले मनहरामा आश्रम पनि खोले।
राजा त्रिभुवनसँग मेरो आत्मीय सम्बन्ध मात्र नभई उनले मेरा कुरा सुन्ने गरेको उदाहरण हो, तुलसी मेहर प्रकरण। राजनीतिक कुरा त उनीसँग कहिल्यै भएन।
[caption id="attachment_119859" align="alignnone" width="940"]

तस्बिर: नारायण महर्जन/सेतोपाटी[/caption]
उपचार क्रममा विदेश लगेका बेला त्रिभुवनको निधन भयो। त्यसपछि राजा भए, महेन्द्र।
महेन्द्रसँग पनि राजनीतिकभन्दा बढी मेरा कृति र नेवारी भाषा-संस्कृतिका विषयलाई लिएर धेरै भेट भयो। म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सहप्राज्ञ नियुक्त हुँदा केदारमान ब्यथित कुलपति थिए। ब्यथितजीले नै नेवारी विषयवस्तु लिएर राजासँग भेट्ने प्रतिनिधिमण्डलमा मलाई समावेश गराए। त्यसअघिको अनौपचारिक भेटघाटमा राजा महेन्द्रले मेरो किताब पढेको जानकारी दिँदै धन्यवाद दिएका थिए।
एकपटक राजा महेन्द्रसँगै सम्बन्धित किताबमा पनि काम गरेको थिएँ।
२०२८ सालतिरको कुरा हो।
दरबारबाट प्रस्ताव आयो- नेपाल र इरानबारे एउटा ग्रन्थ तयार गर्नुपर्यो।
इरानका तत्कालीन राजा रेजा शाह पहलवी र राजा महेन्द्रको भेटघाट हुँदै थियो। इरानमा राजतन्त्रको २५ सय वर्ष पुगेको अवसरलाई भव्य तरिकाले मनाउने कार्यक्रम हुन लागेको थियो। त्यसमा सरिक हुन राजा महेन्द्र जाँदै थिए। शाह पहलवीलाई उपहारका रुपमा एउटा साहित्यिक कृति प्रदान गर्ने हिसाबको किताब तयार गर्नुपर्ने थियो।
शाह पहलवी कस्ता राजा भने, त्यतिबेलै आफूलाई शहंशाह (राजाहरुका पनि राजा) घोषणा गरेका। त्यसैगरी आर्यामेहार अर्थात् आर्यनहरुको दीपकका रुपमा पनि आफूलाई चिनाउँथे। विश्वमा उनको निकै जगजगी थियो।
शाह पहलवीलाई उपहार दिने किताब तयार गर्न नेपालमा धेरैलाई प्रस्ताव राखिएछ। कसैले आँट गर्न सकेनछन्। एक त इरान कोही गएकै थिएनन्। त्यहाँको धर्म-संस्कृतिबारे न कसैलाई जानकारी थियो न कसैलाई वास्ता।
इरान हाम्रा लागि अनकन्टार ठाउँजस्तो थियो। त्यस्तो ठाउँबारे के लेख्ने? कसरी लेख्ने?
कसैले आँट गर्न नसकेपछि ‘जोशीलाई बोलाऊ’ भनिएछ। मलाई बोलाइयो।
मैले सुन्नासाथ अस्वीकार गरेँ। केही नसुनेको, नजानेको देशबारे के लेख्ने? कसरी किताब तयार पार्ने? त्यत्तिकैमा परराष्ट्र मन्त्रालयबाट फोन आयो।
‘लौ फोन पनि आइहाल्यो, अब तपाईं पनि सँगै जाने हो,’ कुलपति ब्यथितजीले यसो भनेपछि नाइँ भन्ने कुरा आएन।
मलाई परराष्ट्र लिएरै गए। ब्यथितजी शानका मानिस थिए, शानसितै बसे। ‘उ ... उहाँलाई लिएर आएको छु’ भनेर परराष्ट्र मन्त्री कीर्तिनिधि विष्टतिर मलाई देखाए।
विष्टले मतिर हेर्दै भने, ‘ओहो, जोशीजी। ल ठीक भयो।’
विष्टजी नेपाली राजनीतिमा अर्का शक्तिशाली व्यक्तित्व हुन्। विशेष गरेर भारतीय मिलिट्री मिसनलाई नेपालबाट फिर्ता पठाउन उनको ठूलो योगदान छ। हुन त त्यतिबेला राजाको सह नपाएका भए उनी एक्लैलाई मात्र गाह्रो हुन्थ्यो। तै एकदमै बलियो मुटु भएका मान्छे थिए, विष्टजी।
उनकै पहलमा खुलेको आर्ट काउन्सिलमा म अहिले पनि अध्यक्ष छु। विष्टजीसँगका अरु पनि केही सम्झना छन्, जुन पछि भनौंला।
जे होस्, त्यतिबेला परराष्ट्र मन्त्रालयमा ब्यथितजीले मलाई विष्टजीका सामुन्ने निकै अप्ठ्यारोमा पारिदिए।
मैले ‘हुन्छ’ भनेकै छैन। त्यहाँ कुरो यसरी बढिसक्यो, मानौं म लेख्न तयार भइसकेको छु।
‘यो मलाई थाहै नभएको कुरामा कसरी लेख्ने?’ मैले सोधेँ, ‘त्यसमाथि सिंगो किताब पो लेख्नु छ।’
म त यसो लोकगीत टिपटाप पारेर साहित्यमा प्रवेश गरेको मान्छे। यस्ता कुरा त म गर्नै सक्दिनँ- यही भनेँ।
‘सरकारले लिएर जाने कुरा हो,’ उताबाट पनि जिद्दी आयो, ‘तपाईंले जसरी जुन तरिकाले भए पनि पूरा गरिदिनुपर्यो।’
माथिल्लो तहको कुरा भएकाले नाइँ भन्न हुन्न भनियो। त्यो किताब 'डिलक्स क्वालिटी' को हुनेसम्मका आश्वासन मलाई आए।
‘जेसुकै भए पनि मलाई यो विषय नै आउँदैन,’ म के गरौं कसो गरौं धर्मरकै बीच फेरि अडिएँ, ‘कसरी किताब लेख्ने?’
‘अब तपाईं धेरै कुरा नगर्नुस्,’ आदेशै जस्तो गरेर विष्टजीले सुनाए, ‘तपाईंले नै लेख्नुपर्छ।’

त्यति बेला भरत नामका परराष्ट्र सचिव थिए। ती सचिवले एउटा किताब मलाई दिने र त्यो मैले एकपटक हेर्ने आदेश पनि परराष्ट्रमन्त्रीबाट आयो।
त्यो किताब त्यति बेलै विश्वप्रसिद्ध भइसकेको ‘मिसन फर माइ कन्ट्री’ थियो। शहंशाह रेजा पहलवी आफैंले लेखेको। किताबमा उनले धर्म, परिवार, समाज, तत्कालीन विश्व परिवेश र उनका मान्यताबारे उल्लेख गरेका थिए।
त्यो गह्रुंगो किताब बोकेर म आएँ। पढेपछि गहकिलो लाग्यो। त्यसबाटै मैले अब कसरी अघि बढ्ने भनेर थोरै आइडिया पनि पाएँ।
सोच्दै गएपछि मेरो दिमागमा एउटा कुरा खेल्यो। उता इरानीहरुको राष्ट्रिय फूल गुलाफ थियो। यता हाम्रो लालीगुराँस।
अब यही गुलाफ र लालीगुराँसलाई जोडेर लेख्न सकियो भने यी दुवै समाज चिनाउने र हामीबीच सामीप्य देखाउने एउटा ग्रन्थ तयार पार्न सकिन्छ भन्ने लाग्यो।
मैले भेटेसम्म इरानका इतिहास र अन्य जानकारी संकलन गरेँ। त्यसलाई नेपालसँग मिलाउँदै अघि बढाएँ। मूल प्रतीकका रुपमा भने उही दुईवटा फूल उभ्याइएको थियो।
जसरी उता राजतन्त्रको २५ सय वर्षको उत्सव मनाइँदै थियो, हामीकहाँ पनि लिच्छविकालदेखिको राजतन्त्र इतिहास छँदै थियो। त्यही इतिहास तान्दै ल्याएर किताबमा दुवै सम्राटका व्यक्तित्व वर्णन गरिदिएँ।
लेख्न त सुरु गरेँ। तर, पुस्तक अंग्रेजीमा चाहिएको थियो।
त्यो बेला अंग्रेजीमा राम्रो पकड बनाएका एक जना सचिव थिए, दमनराज तुलाधर। उनले परराष्ट्रमा काम गरिसकेका थिए।
उनी को हुन् भनेर अहिलेका पुस्तालाई चिनाउनुपर्दा फत्तेमानले गाएको ‘मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्नै सकिनँ’ गीत उनकै भाइ तीर्थराजले लेखेका हुन्। उनी सञ्चार मन्त्रालयका सचिवदेखि राजदूतसम्म भएका थिए। दाजुभाइ नै सचिव।
त्यो किताबको जिम्मा दिने बेलामै ‘जोशीलाई नेपालीमा लेख्न लगाउने र त्यसको अनुवाद दमनराजलाई गर्न लगाउने’ भनेर तोकिएको थियो।
दमनराज जाउलाखेलतिर बस्थे। उनी बिहानै मकहाँ आएर लेखेको कुरा लैजाँदै अनुवाद गर्न थाले।
इरानमा शहंशाह रेजा पहलवीले शासनसत्ता सम्हाल्नुअघि त्यस मुलुकको आर्थिक अवस्था निकै तल झरेको रहेछ। रेजा सत्तामा आउनेबित्तिकै ह्वात्तै माथि उठाएका रहेछन्। फ्रान्स, इटाली र जर्मनीमा लगानी गर्ने हैसियत बनाइसकेको थियो इरानले।
त्यति गरे पनि उनले ‘म राज्याभिषेक गर्दिनँ’ भनेका थिए। त्यो बेला इरानको मुस्लिम समाजमा दाइजो समस्या सबैभन्दा विकराल थियो। त्यसैले रेजाले भनेका थिए, 'सम्राट भएर त बस्छु तर राज्याभिषेक त्यो बेला मात्र हुनेछ, जुनबेला इरानका प्रत्येक नागरिकका छोरीको बिहे कुनै पनि पिताको निम्ति गह्रुँगो हुँदैन।'
यो गर्न नसके आफूले राज्याभिषेकै नगर्ने उनको अडान थियो। यही अडानका कारण उनी चर्चित थिए।
त्यति बेला नेपालमा पनि राजा महेन्द्रले लेखेको एउटा पंक्ति चर्चित थियो–
‘गर्छिन् पुकार आमा
सन्तान थरिथरिका।’
यो कवितामा राजा महेन्द्रको जुन किसिमको भाव थियो, त्यसले उनी पनि गरिबीमा पिल्सिएका आफ्ना जनताप्रति चिन्तित छन् भन्ने झल्किन्थ्यो। वास्तवमा कवि हृदयका राजा महेन्द्रमा एक किसिमको ‘मार्क्सवाद’ भनेजस्तै भेदभावरहित समाजको चाहना थियो।
यी सबै सन्दर्भ जोडेर दुवै सम्राटका तुलनात्मक वर्णन गरिएको त्यो किताब रातारात छापियो। तयार भइसकेपछि छालाले मोहरेर गाता हालियो। परराष्ट्रमन्त्री विष्टजीले भनेजस्तै त्यो किताब डिलक्स हिसाबमै तयार भयो।
अब यो राजा महेन्द्रका हातबाट शहंशाह रेजा पहलवीसम्म पुग्नु थियो।
(राजाहरुसँगको बाँकी अनुभव अर्को भागमा)