डाँडामा भोजपुरी आवाज त्यसैगरी गुनगुन गरिरहेको थियो, जसरी पर बजेको रेडियोमा पनि चिनियाँ भाषा बेग्लै सुनिन्छ।
सदरमुकाम चौताराको पुरानो बजार क्षेत्रमा शुक्रबार धमाधम घर बनिरहेका थिए। भुइँचालोले यस सहरमै सबैभन्दा प्रभाव पारेको यही क्षेत्र हो, जहाँ भर्खर पुनर्निर्माणले गति लिएको छ।
हरेकजस्तो निर्माणस्थलमा एकातिर गिट्टी, बालुवा र सिमेन्टको घोल बनाउने त अर्कोतिर गारो उभ्याउने काम भइरहेको छ।
जताततै काममा एकोहोरो लागेका मान्छेमध्ये अधिकांशको अनुहार यो भूभागका मान्छेभन्दा बेग्लै थियो।
‘कहाँबाट आएको?’ मैले भोजपुरीमै सोधेँ।
तामाङहरूको उच्च भूमिमा मधेसी आवाज सुनेर म जसरी छक्क परेँ, कुनै पहाडेले भोजपुरीमा सोधेको देखेर उनीहरूउसैगरी वाल्ल परे। यो धेरैबेर भने चलेन। अपनत्व बढेपछि खुल्न थालिहाले।
‘मोतीहारीबाट’
मोतीहारी अर्थात् सिमावर्ती भारतीय सहर रक्सौलबाट झन्डै एक घन्टा दक्षिणको मोटर बाटो। पूर्वी चम्पारणकै सदरमुकाम।
म फेरि छक्क परेँ।
‘मोतीहारी वरपरबाटै आएका यो चौतारामै हामी पाँच हजारभन्दा बढी कामदार छौं,’ उनीहरूले थपे, ‘अलि परतिर त उडिसादेखि आएका मजदुर पनि कमाइ गरिरहेका छन्।’
नेपाल र भारततिरका भोजपुरी भाषीको चौतारामा अत्यधिक संख्या रहेको जानकारीसमेत उनीहरूले दिए। मजदुरीका लागि त्यति परदेखि यहाँसम्मको यात्रा तय गर्न उनीहरूलाई के ले प्रोत्साहित गर्यो?
‘यता ज्याला बढी छ,’ उनीहरूले भने, ‘मोतीहारीमा दिनको दुई सय पचास भारु (चार सय नेपाली रुपैयाँ) मिल्छ। यहाँ खानेबस्ने बन्दोबस्तसहित दिनको हजार रुपैयाँ पाइरहेका छौं।’
उनीहरूका अनुसार ज्यामी काम गर्नेले यतिबेला सिन्धुपाल्चोकमा आठ सयदेखि हजार रुपैयाँसम्म पाइरहेका छन्। मिस्त्रीहरूले चौध सय रुपैयाँभन्दा माथि।
‘यति पैसा त मोतीहारीमा कल्पना पनि गर्न सक्दैनौं,’ उनीहरूले भने, ‘हाम्रो उतातिरबाट कमाउन आउनेको संख्या दिनदिनै बढिरहेको छ।’
मधेसमा आजभोलि गर्मी बढ्दै छ। समुद्री सतहबाट १६ सय मिटर माथिको यो भूभागमा अझै बिहान–बेलुकी चिसै हुन्छ।
‘गाउँ पुगेर यहाँको हाल बताउँदा अरु पनि आउन तम्सिन्छन्,’ उनीहरूले भने, ‘काम गर्ने मान्छेलाई पैसा सबैभन्दा महत्वपूर्ण हुन्छ।’
तर, भाषा संस्कृतिदेखि बोली–व्यवहार?
धन्य, यी भोजपुरी बोल्ने विहारीसम्म हामीजस्ताको संवाद चल्छ। झन् उतिपरदेखि आएका उडिया बोल्नेहरू कसरी काम चलाउँदा हुन्?
‘बोल्ने काम उनीहरू नै गर्छन्,’ तल भिरालोबाटै जग उठाइरहेका घर मालिकले मास्तिर हेर्दै भने, ‘हामीलाई त काम भए पुग्यो।’
भुइँचालो आएको तीन वर्षपछि सिन्धुपाल्चोकमा पुनर्निर्माणको लहर छ। जताततै घर बन्दै छन्।
[caption id="attachment_150631" align="alignnone" width="3600"]
सिन्धुपाल्चोकमा बन्दै गरेको घर र पृष्ठभूमिमा गाउँको दृश्य।[/caption]
यो सबको मुख्य कारण हो–अचानक यस ठाउँमा ओइरिएका यिनै नौला अनुहार।
बितेको छ महिनायता सिन्धुपाल्चोकमा बाहिरी जिल्ला र भारतबाट कमाउन आउनेको संख्या अचानक बढेको ती घरमालिकले बताए।
‘भुइँचालो आएको अढाइ वर्षसम्म हामीले घर उभ्याउन नपाउनुको एउटै कारण थियो,’ उनले भने, ‘यहाँ मजदुर र मिस्त्री ठ्याम्मै थिएनन्।’
जिल्लामा त्यतिन्जेल चलिरहेको दैनिक दक्ष मिस्त्रीको नौ सय रुपैयाँ र ज्यामीको छ सय पचास रुपैयाँ ज्याला खुकुलो पारेपछि मान्छेको ओइरो लागेको उनले बताए।
अचानक फेरिएको यहाँको दृश्य सरकारी आँकडाले पनि पुष्टि गर्छ।
‘चौतारामा मात्र ३८ सय घर भूकम्पले भत्काएको थियो। यतिबेला ३५ सयवटा घर धमाधम बन्दै छन्,’ भवन डिभिजन जिल्ला आयोजना कार्यान्वयन इकाइका निमित्त प्रमुख टंक गौतम भन्छन्, ‘गत कात्तिकसम्म पनि जिल्लाभरका केवल १५ प्रतिशतले दोश्रो किस्ता बुझेका थिए।
अहिले ७५ प्रतिशत पुग्यो। यसबाटै निर्माणको चाप अनुमान लगाउन सकिन्छ।’
यो भनेको जिल्लाकै जम्मा ८३ हजार छ सय लाभग्राहीमध्ये ६१ हजार पाँच सय घर बनाउनेले दोश्रो किस्ता दाबी गरिसकेको अवस्था हो।
पुनर्निर्माण प्राधिकरणको प्रावधान अनुसार सम्झौता हुनेबित्तिकै पीडित (लाभग्राही)लाई पचास हजार रुपैयाँ दिइन्छ। त्यसपछि घरको जग हाल्नेबित्तिकै दोश्रो किस्ता (डेढ लाख) र छानो हालेपछि तेश्रो किस्ता (एक लाख) दिइन्छ।
पुनर्निर्माण प्राधिकरणका जिल्लास्थित प्रमुख रुद्र मल्लका अनुसार भत्किएकामध्ये झन्डै ८० प्रतिशत घर यतिबेला बनिरहेका छन्। कुल लाभग्राहीमध्ये १६ प्रतिशतले त तेश्रो किस्ताका लागि निवेदनसमेत बुझाइसकेका उनले जानकारी दिए।
प्राधिकरणकै कार्यालय ढिलो स्थापना भएको र स्थापनापछि पनि गुनासो सम्बोधनमा धेरै समय लागेको उनले सुनाए। पछिल्लो समय भने तीन सयभन्दा बढी प्राविधिक परिचालन भएकाले पुनर्निर्माणले तीब्रता पाएको उनको ठहर छ।
भवन डिभिजनका गौतमले बताएअनुसार जिल्लामा घर बनाउने सीप जानेका जम्माजम्मी नौ हजार पाँच सयजना छन्। जबकी, यतिबेला घर बनाउन झन्डै डेढ लाख जनशक्ति परिचालित भइरहेको अनुमान उनी लगाउँछन्।
‘कामदार सम्बन्धमा यकिन तथ्यांक त राखेका छैनौं,’ गौतमले भने, ‘तर, उनीहरूमध्ये अधिकांश बाहिरी जिल्ला र भारतबाटै आएको चाहिँ पक्का हो।’
परिणामतः घर बनाइरहेका ठाउँमा जसरी मोतिहारीका कामदार भेटिए, बाटाहरूमा त्यसैगरी मधेसी अनुहार जताततै देखिन्छन्। पहिले फाट्टफुट्ट सैलुन र खिच्रिमिच्रि पसलमा देखिनेभन्दा कता कता धेरै।
पुरानो बजारबाट तल ओर्लिएपछि मुख्य सडकमै अर्को समूह भेटियो। खाना खान हुल बाँधेर हिँडिरहेका। अर्कै ठाउँबाट आएकाको अनुहार भावदेखि शरीरको चालसम्मै बेग्लै हुन्छ।
यसरी पछिल्लो समय जाँदाभन्दा यतिबेला चौताराको दृश्य फेरिएको छ। अचानक चौताराले बहुसाँस्कृतिक झलक दिन थालेको महशुस हुन्छ।
यो फेरिएको दृश्य चौताराको मात्रै होइन। बाहिरी कामदारको प्रवेशले सिन्धुपाल्चोक जिल्ला नै यतिबेला अर्कै बनेको छ।
हामी चौताराबाट सोझै मेलम्चीतर्फ ओर्लने बाटो लाग्यौं। यो त्यही बाटो थियो जहाँबाट हिँडेरै डेढ वर्षअघि म गोरखा पुगेको थिएँ। दुई साता लगाएर भूकम्प प्रभावित क्षेत्र हुँदै लगभग केन्द्रविन्दुसम्म।
त्यतिबेला यो सिंगो भेग तहसनहस देखिन्थ्यो। अहिले बाटोमा पर्ने ती जस्ताका शिविरहरू धेरै घटेछन्। गाउँघरले फेरि रुप पाउन थालेको देखियो। घरका छानाबाहेक हरिया डाँडामा जताततै टल्कने टिनको आतंक थामिदै रहेछ।
चौताराबाट सात किलोमिटर पश्चिम गएपछि आइपुग्ने पिपलडाँडा त्योबेला शरणार्थी केन्द्रजस्तो थियो। अहिले अर्कै देखियो।
‘अब यो गाउँमा २५ प्रतिशत घर मात्र बन्न बाँकी होलान्,’ घुम्तीमै रहेको घरका अघिल्तिर भेटिएका मेखबहादुर बानियाँले भने, ‘जग हाल्ने काम त लगभग सबैको भइसकेको छ।’
गाउँलेमाझमा अलि टाठो स्वर भएका प्रहरीका पेन्सनदार बानियाँका अनुसार पनि जनशक्ति नभएकाले नै यतातिर समयमा घर बन्न नसकेका हुन्।
‘यी गाउँघरमा काम गर्ने उमेरका गाउँले ठ्याम्मै छैनन् बाबु,’ बानियाँले भने, ‘लडेको घर कसले उभ्याउने?’
यस्तो अवस्थामा बाहिरबाट ओइरिएका कामदार ‘देवदूत’ भएको उनले सुनाए।
‘अहिले सुर्खेत, जाजरकोट, रोल्पा हुँदै खर्लप्प मधेस अनि ह्वाँ हिन्दूस्तानदेखि मान्छे आएका छन्,’ उनले माथिसम्म औंलो तेर्स्याउँदै भने, ‘यो पाखोमा मात्रै अहिले बाहिरबाट आएका चार सयभन्दा बढी मजदुर काम गरिरहेका होलान्।’
मजदुर आएर मात्र नभइ सरकारी निकायले पनि सजिलो पारिदिएकाले गाउँमा काम सुरु भएको अनुभव उनले सुनाए। काम गर्ने मान्छे भित्रिनु र सरकारी अनुदानको तारतम्य एकैपटक मिलेकाले धमाधम काम अघि बढेको उनी बताउँछन्।
‘यी एकजना आएपछि गाउँ जानेबित्तिकै थप मान्छे ल्याउँदा रहेछन्,’ उनले भने, ‘लगभग एक महिनामै यो टोलकै डेढदेखि दुई सय घरको डिपिसी (जग हाल्ने काम) भइसक्यो।’
[caption id="attachment_150632" align="alignnone" width="2975"]
दाङबाट सिन्धुपाल्चोकको पिपल डाँडामा मजदुरी गरिरहेका टीकाराम चौधरी।[/caption]
यतिधेरै मजदुर ओइरिँदा पनि भनेजस्तो जनशक्ति अझै नपुगेको बानियाँ बताउँछन्। उनका अनुसार डिपिसी गर्न मान्छे नपाएर एकदिन उता एकदिन यता पालैपालो गरिरहेका छन्।
बानियाँले यति भन्न नपाउँदै छेउमा उभिएका कुमार बस्नेत पनि आफ्ना भनाइ राख्न तम्सिए।
‘पाप बोल्नुहुँदैन,’ उनले थपे, ‘यी बाहिरबाट आएकाहरू पैसा बढी लिए पनि काम राम्रो गर्छन्।’
बिहान आठ बजेदेखि काममा एकोहोरो खटिने यी मजदुर बेलुकी छ बजेपछिसम्म पनि काममै खट्ने उनले सुनाए।
बस्नेतका अनुसार अधिकांश कामदार ठेकेदारले ओसारेर ल्याएका हुन्। त्यस्ता ठेकेदार आफैं पनि मिस्त्री वा मजदुरीकै काम सँगसँगै गर्छन्।
ठेकेदारले ल्याएको मान्छेबाट एक महिनासम्म दिनको पचास रुपैयाँ पाउने गरेको बस्नेतले सुनाए। त्यसको निम्ति गाउँबाट हिँड्ने बेला कामदारको घरमा केही खर्च पनि यी ठेकेदारले बुझाउने रहेछन्।
पिपल डाँडास्थित बस्नेतको घर दाङको बिजौरीबाट आएका टीकाराम चौधरीले बनाइरहेका थिए।
टीकाराम गत माघमा यता आएका रहेछन्।
‘ठेकेदारले जाउँ भनेपछि आएँ,’ उनले भने, ‘गाउँ छाड्ने हामी बाह्र जना थियौं।’
उनले यसअघि दाङ कहिल्यै छाडेका थिएनन्।
‘ठेकेदारको कुरो सुनेपछि यसो घुमौं र ठाउँ पनि हेरौं भनेर आइयो,’ उनले भने, ‘भूकम्प गएको ठाउँ भनेर उतातिर असाध्यै चर्चा थियो।’
त्यत्रो चर्चा चलेको ठाउँ कस्तो रहेछ र के भएको रहेछ भनेर हेर्ने जिज्ञासाले टीकारामलाई तानेको रहेछ।
‘दिनको पचास रुपैयाँ काटेर लिने ठेकेदारले दुई महिनासम्म हामीसँगै काम गरेको थियो,’ उनले सुनाए, ‘अहिले अन्तै गइसक्यो।’
खाने बस्ने सुविधासहित दिनमा हजार रुपैयाँ कमाइरहेका टीकारामको अहिले सबै पैसा आफ्नै हुन्छ।
कुरा गर्दागर्दै भुइँ खनिरहेका टीकारामले एउटा कुच्चिएको डाडु भेट्टाए।
‘यो ठाउँमा भुइँचालोले घर ढलेको रहेछ,’ उनले भने, ‘ढलेर थुप्रिएकै ठाउँको माथिबाट अब अर्को घर बनाउन लागेको हो।’
उनका अनुसार घरमा भएका मान्छे बेलैमा बाहिर भागेकाले कसैको जिउज्यान क्षति भएनछ।
टीकाराम घरमा आमाबुबा, श्रीमती, दुई छोरा छाडेर आएका हुन्। ठूलो छोरा आठ वर्षको छ। तीनमा पढ्दैछ। अर्को छोरा सात महिनाको छ।
घरको याद आउँदैन?
‘किन नआउने?’ उनले थपे, ‘धेरै आउँछ।’
तर, बस्दैगर्दा यता पनि आफ्नै ठाउँजस्तो भइसकेको उनले सुनाए।
टीकारामले भेट्टाएको डाडु हेर्न केटाकेटीहरू खुर्रर दौडिँदै आए। एउटा बच्चो झन्डै खाल्डोमा लड्लाजस्तो भयो।
‘ए माइला पर जा,’ उनले हकारे, ‘लड्लास्।’
चार महिना नबित्दै गाउँका केटाकेटी को माइला र को कान्छा पनि चिन्ने भइसकेकोमा टिप्पणी गर्दा उनी एकछिन हाँसे।
‘हामी नेपाली सबै उस्तै त रहेछ,’ टीकारामले भने, ‘बस्दै गएपछि घुलमिल भएर आफ्नै गाउँघरजस्तो लाग्दो रहेछ।’
अब दुई–चारवटा अरू घर बनाएर टीकारामको दाङ जाने योजना छ। यतिन्जेल उनले पिपल डाँडा र वरपरका गैह्रीगाउँ अनि तलतिरको साउनेपानीसम्म गरेर दस वटाभन्दा बढी घर बनाउन श्रम गरिसकेका छन्।
‘गाउँमा दस कठ्ठा जग्गा छ,’ उनले भने, ‘अब धान रोप्ने सिजनसम्म खेती लगाउन उतै पुग्छु।’
नवआगन्तुकको चहलपहल सिन्धुपाल्चोकमा मात्र छैन। त्यसैदिन हामी पुगेको काभ्रेमा पनि भारत र मधेसतिरबाट आएका मजदुर प्रशस्तै भेटिए। काभ्रेको बल्थली गाउँमा भोजपुरीभाषीहरूको कतिसम्म पकड भएछ भने यसरी कमाउन आएकामध्येकै मिलेर मिष्ठान्न भण्डारसमेत खोलेका छन्।
अरुले एउटा चिया पसलसमेत नखोलेको यो गाउँमा मधेसकै झल्को दिनेगरी भव्य मधेसीशैलीको होटल छ। समोसा, चाट, लंगलत्ती इत्यादी सजाएर प्रस्तुत गरिएको। वरपरका मधेसी कामदार आएर खाइरहेका होटलमा स्थानीय पनि रमाइरहेका थिए।
‘यहाँ एउटा पनि खाने ठाउँ थिएन,’ दुई वर्षअघि पर्सा जिल्लाको जगरनाथपुरदेखि मजदुरी गर्न आएका अब्दुल मियाँले भने, ‘हाम्रो स्वादको पसल चलाउने कुरामा सहमति भएपछि होटलै खोलेका हौं।’
उनले अब त्यही घरमा अर्को तल्ला थपेर लजसमेत सञ्चालन गर्ने योजना बनाएका छन्।
हामीसँग बल्थली घुम्ने क्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रमुख कार्यकारी युवराज भुसाल पनि थिए। निर्माण हुँदै गरेको गाउँ हेरिसकेपछि पर्साका मुस्लिमबन्धुले खोलेकै मिष्ठान्न भण्डारमा भुसाललगायत अधिकृत र पत्रकारबीच अन्तर्क्रिया चल्यो।
त्यसैक्रममा पुनर्निर्माण प्राधिकरणका काभ्रेस्थित प्रमुख ध्रुव गैडाले जिल्लाभर ६६ हजार पीडितसँग सम्झौता गरेकामा आठ हजार घर तयार भइसकेको र २८ हजार बन्दै गरेको जानकारी दिए।
‘बाँकी ३० हजार कता गए?’ पत्रकारभन्दा पहिले सिइओ भूषालले नै सोधिदिए।
‘अरु जिल्लाजस्तै हामीकहाँ पनि काम गर्ने मान्छे कम भएकाले निर्माण राम्ररी अघि बढ्न नसकेको हो,’ जवाफ आयो।
‘मधेस र विहारबाट आएका कामदारले यतिबेला धेरैतिर काम अघि बढाउन सघाइरहेका छन्,’ सिइओ भूषालले हामीतर्फ फर्कँदै भने,
‘सिन्धुपाल्चोकको बघुवाजस्ता विकट गाउँमा पनि मैले विहारबाट आएकाहरू भेटेको थिएँ।’
उनले नुवाकोटको दुर्गम गाउँमा पनि उस्तै दृश्य देखिएको बताए।
नेपालमा यतिबेला श्रम गर्ने मान्छेको अभाव छ। यसकारण विभिन्न ठाउँका मान्छे यी क्षतिग्रस्त पहाडी बस्तीमा तानिइरहेको भुषालले बताए।
अहिले पनि दैनिक झन्डै १५ सय नेपाली खाडी र मलेसिया गइरहेका छन्। यस्तोमा उनीहरूलाई नै स्वदेशको पुनर्निर्माणमा किन खटाउन नसकिएको?
सिइओ भुषालले पुननिर्माणमा दीर्घकालीन रोजगारी अवसर नभएकाले यस्तो स्थिति भएको जवाफ दिए।
‘एक त हाम्रा गाउँठाउँका मान्छेलाई जहाज चढेर विदेश जाने क्रेज छ,’ भुषालले भने, ‘त्यसमाथि यो तत्कालको मात्र रोजगारी भइदियो।’
नभए महिनाको २० हजार मात्र कमाउन विदेश उडिरहेका नेपालीले अहिले स्वदेशमै त्योभन्दा राम्रो कमाइ गर्ने अवसर भएको उनले सुनाए।
भुषालका अनुसार दक्ष जनशक्ति अभाव पनि अर्को कारण हो। विहार र मधेसमा भने घर निर्माण सीप जानेकाहरू पर्याप्त भएको नको भनाइ छ।
‘हामीले स्वदेशकै तन्नेरीहरूलाई यो सीप सिकाउन ५४ हजार जनालाई तालिम व्यवस्था गरेर खुला आव्हान गरेका थियौं,’ उनले भने, ‘त्यसमा २७ हजार जना मात्र आए।’
तालिममा दैनिक साढे नौ सय रुपैयाँ भत्ता दिइन्छ। अहिले पनि नेपालीहरूले तालिम लिन तत्परता देखाए फेरि व्यवस्था गर्न आफू तयार रहेको भुषाल बताउँछन्। यसनिम्ति आधारभूत डकर्मी काम जानेको हुनुपर्छ। उनीहरूलाई विशेष गरेर भूकम्प प्रतिरोधी भवन निर्माण तालिम दिइने उनले प्रष्ट पारे।
भूषालका अनुसार दक्ष कामदार संकट यतिबेला देशव्यापी छ।
‘राजधानीमा समेत विजुली र प्लम्बिङ काम गर्न विहार, उत्तर प्रदेश र उडिसादेखि मान्छे आइरहेका छन्,’ उनी भन्छन्, ‘यस्तो बेला यी गाउँमा समेत उतैबाट मान्छे ओइरिएका हुन्।’
घरेलु तथा साना उद्योगको सीपविकास तथ्यांक अनुसार पनि नेपालमा वार्षिक हजार–बाह्र सय जना मात्र दक्ष जनशक्ति उत्पादन भइरहेको भुषालले सुनाए। यति बेलाको आवश्यकता हेर्ने हो भने वर्षको एक लाख जनशक्ति उत्पादन हुनुपर्ने उनी बताउँछन्।
‘एक त हामीसँग दक्ष जनशक्ति छैन,’ उनी भन्छन्, ‘त्यसमाथि भएका तन्नेरी पनि वैदेशिक रोजगारीमा आकर्षित हुँदा बाहिरबाट काम गर्ने मान्छे ल्याउनुको विकल्प देखिँदैन।’