हिमाली भेगमा आर्थिक अवसरका अगाडि पहिचान ओझेलमा परिरहेको एक उदाहरण बनेका छन्, नौ वर्षीय जीवन राउत।
ट्याम्पुमा चढेर राजधानी भित्रै यात्रा गरिरहँदा आइतबार जीवन भिक्षु वस्त्रमा भेटिएका थिए। उनको अनुहार वा गतिविधि भने कतैबाट पनि बौद्धमार्गी समुदायका जस्ता देखिँदैन थियो। उनलाई काखैमा राखेर यात्रा गरिरहेका बाबु त सामान्य पोशाकमा भएकाले झनै बेग्लै देखिन्थे।
‘हामी जाजरकोटका क्षेत्री हौं,’ जिज्ञासा राखेपछि जीवनका बाबु राइबहादुर राउतले भने, ‘एक वर्षदेखि लामा शिक्षा पढाउन छोराछोरीलाई काठमाडौंको गुम्बामा राखेको छु।’
राइबहादुर जाजरकोटका सामान्य कृषक हुन्। थोरै खेत छ। गाईभैंसी पालेका छन्। जीविकोपार्जन निम्ति माथि डोल्पा उक्लिरहनुपर्छ। छोराछोरी भेट्नै भनेर यतिबेला आफू राजधानी आएको उनले सुनाए। ट्याम्पुमा भेटिएका बाबुछोरा जाउलाखेलको चिडियाखाना घुम्न जाँदै थिए।
जाजरकोटका यी क्षेत्रीले गुम्बामा सन्तान पढाउन खोज्नुको एउटै कारण हो, लामा भाषा।
‘मेरो गाउँ बारकोटबाट भारी बोकेर एक दिनको बाटो हिँडेपछि डोल्पा पुगिन्छ,’ उनले थपे, ‘जाजरकोटको अति दुर्गम हामी गाउँले कमाउन उतै डोल्पा पुग्छौं।’
जाजरकोटको बारकोटमा एउटै घर बौद्धमार्गी छैन। गाउँमा कसैको मातृभाषा तिब्बती छैन। सबै नेपाली बोल्छन्। ‘माथि उक्लेर कमाउन लामा भाषा नजान्नेलाई मुश्किल छ,’ राइबहादुरले भने, ‘त्यसैले हाम्रो गाउँका नौवटा परिवारले छोराछोरीलाई यसरी गुम्बाको स्कुलमा राखेका छौं।’
आफूहरूले भाषा नजानेकै कारण दुःख पाएकाले सन्तानलाई सुख होस् भनेर गुम्बा ल्याएको उनले स्पष्ट पारे।
यी सीमावर्ती जाजरकोटेका निम्ति अवसर भनेकै उत्तरतिर हो। चाहे भारी बोकेर डोल्पा, तिब्बत वा अर्कोतिरको मुस्ताङ नै किन लाग्नु नपरोस्। ‘त्योभन्दा पनि ठूलो कमाइ हुने त डोल्पाको यार्सागुम्बा संकलनमा हो,’ राइबहादुरले भने, ‘बितेको १५ वर्षदेखि म नबिराइ यार्सागुम्बा संकलन गर्न गइरहेको छु।’
जेठमा सिजन सुरु भएपछि डोल्पातिर यार्सागुम्बा संकलन गर्नेको लेकमा लस्कर नै लाग्ने राइबहादुरले बताए।
‘घरबाट खसी, कुखुरा बोकेर मास्तिर लाग्दा उति साह्रो भाषा नजान्दा पनि राम्रो कमाइ हुन्छ,’ उनले थपे, ‘भाषा जान्ने हो भने अझ धेरै कमाउने सम्भावना देखेकोले छोराछोरीलाई गुम्बामा पढाउन राखेको हुँ।’
राइबहादुरका चार छोराछोरीमध्ये जेठी गाउँमै छिन्। माहिली छोरी र साहिँला छोरा जीवन काठमाडौं गुम्बामा पढ्दैछन्। कान्छो छोरा काखैमा रहेको उनले बताए।
गाउँकै स्कुलमा उनका माहिली छोरी तीन र छोरा जीवन एक कक्षामा पढ्थे। ‘डोल्पाका साथीले पोहोर साल छोराछोरीलाई लामा भाषा पढाउने स्कुलमा भर्ना गर्ने सल्लाह दिए,’ उनले भने, ‘त्यसपछि यहाँ ल्याएर राखेको हुँ।’
उनका छोराछोरी फर्पिङस्थित आनी गुम्बामा पढ्दैछन्।
गुम्बामा छोराछोरीलाई छाडेपछि उनीहरूलाई पढाउनेदेखि राख्ने, खुवाउने, लगाउने सम्मका काम निःशुल्क गरिएको उनले जानकारी दिए। राइबहादुरका अनुसार उनका छरछिमेक कतिपयले यसैगरी छोराछोरीलाई लामा पढाउन भारतसम्म पनि पठाएका छन्।
‘मैले चाहिँ धेरै टाढा पठाउने आँट गर्न सकिनँ,’ उनले भने, ‘त्यसैले काठमाडौं रोजेँ।’
डोल्पाबाटै ल्याइएका गुम्बा स्कुलका प्रधानाध्यापकले त्यहाँ २० कक्षासम्म पढाइ हुने राइबहादुरलाई बताएका छन्। त्यति पढाइ पूरा गरे केटाकेटीहरू भविष्यमा ठूला लामा बन्छन्। अधिकांश समय देशविदेश घुमिरहने मान्छे बन्छन् भनेर पनि सुनाइएको छ।
‘मैले भने दस कक्षासम्म मात्र पढाउने विचार गरेको छु,’ उनले भने, ‘त्यति भएपछि लामा भाषा बोल्न जान्ने हुन्छ र दुःख पाउँदैन।’ काठमाडौंको गुम्बा आएपछि एक वर्षमै केटाकेटी पनि गाउँको स्कुलभन्दा धेरै जान्ने र पढाइमा मन लगाउने भएका राइबहादुरले सुनाए। गुम्बाको स्कुलमा आफ्ना केटाकेटी लगायत झन्डै तीन सय जना विद्यार्थी भएको उनले जानकारी दिए।
‘गाउँमा त स्कुलै जाँदैन थिए,’ उनले भने, ‘घरबाट लखेटेर पठाए पनि आँखा छलेर अन्तै पुग्थे।’ गाउँमा आठ कक्षासम्म पढाइ हुने स्कुल भए पनि त्यसले केटाकेटीको ध्यान पढाइमा लगाउन नसकिरहेको उनले सुनाए।
‘यहाँ त पढेको देख्छु,’ उनले थपे, ‘उस्ताउस्तै भिक्षु पोशाकमा सबै रमाइरहेको पनि देख्छु।’
बुवासँग कुरा गरुन्जेल भिक्षु पोशाकमा टोलाइरहेका जीवन आफ्नै धुनमा थिए।
‘गाउँको स्कुल रमाइलो कि गुम्बा?’
प्रश्न सोध्नेबित्तिकै जीवनले जवाफ दिए, ‘गुम्बा’।
‘किन?’ भनेर सोध्दा चाहिँ उनले केही जवाफ दिएनन्।
आफूले अलि–अलि लामा भाषा बोल्न थाले पनि नेपाली र अंग्रेजी विषयमा मात्र पास भएको उनले बताए।
त्यतिबेलै उनको भिक्षु पोशाक भित्र कुनामा खेलौना पेस्तोल देखियो।
‘यो पेस्तोल किन लिएको?’
उनले एकछिन अप्ठ्यारो माने।
‘यो गोली चल्ने होइन,’ भने, ‘खेल्दाखेरि साथीहरूलाई तर्साउन।’
उनले संकोच मान्दै पेस्तोल छोपिनेगरी भिक्षु पोशाक टम्म कसे। अनुहारमा 'पराक्रमी' मुस्कान छरिएको थियो।
जाउलाखेल आइपुग्यो। बाबुछोरा विदा भए।
डोल्पा क्षेत्रबाटै आएका मानवशास्त्र अध्येता टासी तेवा डोल्पोका अनुसार धर्मप्रतिको आस्थाबाहेक आर्थिक सुरक्षा हिसाबले पनि त्यस भेगमा केटाकेटी गुम्बामा राखेर पढाउने प्रचलन गैरबौद्धमार्गीमा बढ्दै गएको छ।
यस विषयमा गम्भीर अध्ययन नगरिए पनि सामान्य जानकारीका हिसाबले थाहा पाएका कुरा बताउन उनी राजी भए। ‘एक त गुम्बामा राखेर पढाउँदा खर्च लाग्दैन,’ राजनीतिक मानवशास्त्रमा विद्यावारिधी तयारी गरिरहेका टासी भन्छन्, ‘त्यसबाहेक त्यो भेगमा यसरी पढ्नेको ‘सोसल क्यापिटल’ (सामाजिक पूँजी) पनि वृद्धि हुन्छ।’
लामा पढेर उक्त समाजमा मिसिन खोज्नेलाई बौद्ध समुदायले अपनत्व दिने हुनाले पनि वरपरका गैरबौद्धहरू आकर्षित भएको उनले स्पष्ट पारे।