रिङरोड शृंखला– ५सडक विभागले आठ लेनको रिङरोड डिजाइनमा गल्ती भएको स्वीकार गरेको छ।
विभागका उप–महानिर्देशक सञ्जयकुमार श्रेष्ठले बिहीबार एक सार्वजनिक मञ्चमा चिनियाँ निर्माण कम्पनीका प्रतिनिधि सामुन्ने ‘बन्दै गरेको ठाउँमा गल्ती सच्याउने’ र ‘बाँकी नयाँ डिजाइनमा बनाउने’ प्रतिबद्धता व्यक्त गरे।
‘कोटेश्वर–कलंकी खण्डमा केही गल्ती देखिएका छन्। हामी प्राविधिक जाँच गराउने छौं। न्यूनतम क्षति हुने गरी गल्ती सच्याइनेछ। कसैले शंका नगरे हुन्छ,’ रिङरोड परियोजना निर्देशकसमेत रहेका श्रेष्ठले भने, ‘बाँकी खण्डको डिजाइन बनेको छैन, त्यसमा गल्ती दोहोरिने छैन।’
दुईतर्फी सडकबीच ‘मिडियन’ नहुनु गल्ती भएको श्रेष्ठले स्वीकारे।
‘मिडियन’ भनेको विपरित दिशाबाट आउने गाडीलाई बाटो छुट्टयाउने बार वा खाली ठाउँ हो। यसले दुर्घटना घटाउँछ। फराकिलो सडकमा पैदलयात्रुलाई बाटो काट्न सजिलो हुन्छ।
‘अब बन्ने रिङरोडमा तीनदेखि पाँच मिटर मिडियन राख्न चिनियाँ पक्षसँग कुरा भइसकेको छ,’ उनले भने, ‘बन्दै गरेको खण्डमा पनि कस्तो खालको मिडियन राख्न सकिन्छ भनी छलफल गर्ने छौं।’
‘जब मैले मिडियन छैन भन्ने थाहा पाएँ, डिजाइनर टिमलाई तुरुन्तै छलफलमा डाकेँ। साँच्चिकै छैन रहेछ। त्यति बेला सच्याउन ढिला भइसकेको थियो। मैले त्यसको जिम्मेवारी लिनुपर्छ। रिङरोडमा गुड्ने ठूल्ठूला मालवाहक गाडीलाई लेन साँघुरो हुन्छ भनेर मिडियन हटाइएको रहेछ,’ उनले भने।
[caption id="attachment_130791" align="alignnone" width="826"]
सडक विभागका उप–महानिर्देशक सञ्जयकुमार श्रेष्ठ।[/caption]
चिनियाँ सहयोगको यो सडकबारे अहिलेसम्म सार्वजनिक छलफल भएको थिएन। सरकारले डिजाइनसमेत सार्वजनिक गरेको छैन। निर्माणस्थलमा नक्सा पनि राखिएको छैन। कोटेश्वर–कलंकी खण्डले स्वरुप लिन थालेपछि कमी–कमजोरी खुलासा भएको हो।
यहाँ पैदलयात्रुलाई बाटो काट्न जेब्रा–क्रस छैन। अहिल्यै समस्या सुरु भइसक्यो। आठै लेनमा गाडी गुड्न थालेपछि बाटो काट्नै सकिन्न। फुटपाथ तीन जना नअट्ने साँघुरो छ। साइकल लेन छैन।
उप–महानिर्देशक श्रेष्ठले आवश्यक ठाउँमा छिट्टै जेब्रा–क्रस बनाउने बाचा गरे। फुटपाथ र साइकल लेनलाई दुवैतर्फ तीन मिटर छुट्टयाइएको बताए।
‘ठाउँ अभावमा साँघुरो भयो। सम्भव भएसम्म फराकिलो बनाउने छौं,’ उनले भने, ‘अब बन्ने रिङरोडमा सुधार हुनेछ।’
उनका अनुसार कोटेश्वर–कलंकी खण्ड छ महिनामा पूरा हुनेछ। दोस्रो चरणमा कलंकी–महाराजगन्ज बनाउन चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनसँग समझदारी हस्ताक्षर भइसकेको उनले बताए।
यी पनि हेर्नुहोस्:
विभागले गल्ती माने पनि सुधार कहिले गर्ने प्रस्ट छैन।
विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले बुधबार
सेतोपाटीसँग कुराकानीमा ‘चिनियाँ कम्पनीले निर्माण सकेर ‘ह्यान्डओभर’ नगरेसम्म कुनै सुधार गर्न नसक्ने’ बताएका थिए।
श्रेष्ठको आसय यस्तै थियो।
विज्ञ समूहबाट जाँच गराएपछि मात्र सुधारका काम थाल्ने उनले बताए। त्यो भनेको कति समय हो यकिन छैन।
नेपाल इञ्जिनियर्स एसोसिएसनका लक्ष्मण केसीले दुई साताभित्र उपाय सिफारिस गर्न सक्ने बताएका छन्। श्रेष्ठले भने सम्भव नभएको जिकिर गरे।
पूर्व भौतिक योजना तथा निर्माण सचिव तुलसी सिटौला सुधारमा ढिला गर्न नहुने पक्षमा छन्।
रिङरोड डिजाइन पास गरेका उनले भने, ‘सबै काम सकेपछि मिलाउँला भनेर कुर्न पर्दैन। जनताको सुरक्षाको सवाल छ। चिनियाँ कम्पनीले काम गर्दागर्दै गल्ती सच्याउन म नेपाल सरकारलाई सुझाव दिन्छु।’
[caption id="attachment_130803" align="alignnone" width="826"]
पूर्व भौतिक योजना तथा निर्माण सचिव तुलसी सिटौला।[/caption]
गल्ती सच्याउन उनले केही उपाय सुझाए।
दुईतर्फी बाटो छुट्टयाउन बीचमा एकदेखि डेढ फुटे खाली ठाउँ निकाल्न सकिन्छ। त्यस्तो खाली ठाउँमा कंक्रिटको सानो बार लगाएर फूल रोपी बगैंचा बनाउन सकिन्छ। यस्तो बगैंचाले सडकको बीचमा मिडियनको काम गर्नुका साथै सडक सौन्दर्य बढाउने उनको भनाइ छ।
प्लास्टिकको ड्रममा पानी भरेर पनि मिडियनका रूपमा प्रयोग गर्न सकिन्छ। यही प्रयोजनका लागि बजारमा प्लास्टिकका ड्रम पाइन्छन्। ती प्लास्टिका ड्रममा स–साना बिरुवा र फूल रोपेर सिंगार्न मिल्छ। यसले सडक क्षेत्र सुख्खा हुन दिँदैन। यसको लम्बाइ पाँच फुटजति हुन्छ भने उचाइ तीन फुटसम्म राख्न मिल्छ। चौडाइ भने एकदेखि डेढ फुटको हुन्छ।
एकदेखि डेढ फुट उचाइको मसिनो ‘डिभाइडर’ राखेर पनि दुईतर्फी बाटो छुट्टयाउन सकिने उनले बताए।
‘भक्तपुर सडक खुल्नेबित्तिकै धेरै जनधन क्षति भयो। सडक खुलेपछि मात्र गल्ती सच्याउँला भनेर बस्यो भने यहाँ पनि त्यही स्थिति आउनसक्छ,’ सिटौलाले भने, ‘रिङरोडमा भक्तपुरको जस्तो दुर्घटना दोहोरिन दिनु हुन्न।’
विभागका पदाधिकारीले सुरुमा रिङरोड डिजाइनको बचाउ गरेका थिए।
दुईतर्फी सडकबीच सेतो धर्सो कोरेर लेन छुट्टयाइने श्रेष्ठको भनाइ थियो। उनका अनुसार यही धर्सो नै मिडियन हो। सवारी चालकले धर्सो नमिचे दुर्घटना नहुने उनले बताए। ‘लेजर–गन प्रयोग गरेर चालकलाई कारबाही गर्नुपर्छ,’ उनले भने।
उनलाई यसैमा सहभागीहरूले खिपे।
यहाँ समस्या सवारी नियम पालनाकै हो। गाडीहरू ओभरटेक गर्न विपरित लेनमा घुस्छन्। बीच बाटोमै ‘यु–टर्न’ लिन्छन्। जेब्रा–क्रसको नजिक पुगेपछि झन् गति बढाउँछन्। माइतीघर–तीनकुनेमा पहिले सेतो धर्सोले मात्र लेन छुट्टयाउँथ्यो। ठूल्ठूला दुर्घटना भए। मसिनो बार लगाइयो।
‘हामीकहाँ ट्राफिक लाइट त छैन, लेजर–गन कहाँबाट खोज्ने?’ साइकल अभियन्ता रत्नराम श्रेष्ठले भने।
[caption id="attachment_130801" align="alignnone" width="826"]
रत्नराम श्रेष्ठ।[/caption]
[caption id="attachment_130800" align="alignnone" width="826"]
शैलेन्द्र डंगोल।[/caption]
जेब्रा–क्रसमै गाडी हुइँक्याउने प्रवृत्ति रोक्न स्पिड–ब्रेकर बनाउने सुझाव आयो। श्रेष्ठको जवाफ थियो, ‘जथाभाबी स्पिड–ब्रेकर राख्नु राम्रो होइन। गाडी हुत्तिँदा चालक र यात्रुको ढाड खुस्किने डर हुन्छ।’
उनलाई यसमा शैलेन्द्र डंगोलले समाते।
‘तपाईं मानवकेन्द्रित भएर कुरा गर्नुस्,’ डंगोलले भने, ‘गाडीमा बस्ने मान्छेको ढाड खुस्किने कुरा गर्नुहुन्छ। स्पिड–ब्रेकर नहुँदा पैदलयात्रु मर्न सक्छन् भन्ने किन ख्याल राख्नुहुन्न?’
‘तपाईंहरू गाडीमा बसेर योजना नबनाउनुस्, बाटोमा हिँड्नेबारे पनि सोच्नुस्। टुँडिखेल वरिपरि अहिलेसम्म गाडीको स्पिड नियन्त्रण गर्न सक्नुभएको छैन। रिङरोडमा लेजर–गन हानेर नियन्त्रण गर्ने कहिले हो?’ उनले प्रश्न गरे।
रिङरोड डिजाइनमा गल्ती कसरी भयो भन्ने पनि छलफलमा उठ्यो।
श्रेष्ठको भनाइ थियो, ‘विगतमा मेरा सिनियरहरूले सम्झौता गर्दा ‘एक्सपोजर’ को कमीले गल्ती भएको हुनसक्छ। हामीकहाँ सहरी सडकको मापदण्ड छैन। यसले पनि कमजोरी भयो होला।’
यति भन्दाभन्दै ‘विगतको निर्णय आजको आँखाले हेरेर सही–गलत निधो गर्न नसकिने’ उनले बताए।
बनेपा–बर्दिबास राजमार्गको उदाहरण दिँदै उनले भने, ‘त्यो कुन परिस्थितिमा कति समय लगाएर बनेको थियो। अहिले आएर साँघुरो भयो भन्न मिल्दैन। रिङरोडमा पनि हिजो मेरा सिनियरहरूले जुन परिस्थितिमा निर्णय गर्नुभयो, त्यसलाई आज आएर गल्ती गर्नुभयो भन्ने पक्षमा म छैन।’
उनले ‘एक्सपोजरको कमी’ भने पनि व्यवहारमा त्यस्तो देखिन्न।
सडक विभागको मापदण्डअनुसार कुनै पनि सडक चार चरणमा सुरक्षा जाँच गर्नुपर्छ– सम्भाव्यता अध्ययन, डिजाइन, निर्माण क्रममा र सञ्चालन हुनुअघि।
हामी यहाँ निर्माणको चरणमा छौं। अघिल्ला दुई चरणमा सुरक्षा जाँच भइदिएको भए यति गल्ती हुने थिएन। भए पनि उहिल्यै थाहा भइसक्थ्यो।
आफ्नै मापदण्डअनुसार विभागले तेस्रो चरणको जाँच गराउनसक्ने इञ्जिनियर्स एसोसिएसनका केसीले बताए।
[caption id="attachment_130796" align="alignnone" width="826"]
इञ्जिनियर्स एसोसिएसनका लक्ष्मण केसी।[/caption]
कार्यक्रममा उठेको अर्को विषय गाडीको स्पिड हो।
आठ लेनको रिङरोड ५० किलोमिटर प्रतिघन्टा स्पिडमा गाडी कुदाउने गरी बनाइएको छ। सहरी सडकमा यो बढी भएको सहभागीले बताए।
सहरी विकास अभियन्ता भूषण तुलाधरका अनुसार अधिकांश युरोपेली सहरमा ३० किलोमिटर प्रतिघन्टा कायम छ।
स्पिड जति कम भयो गाडीको ठक्करबाट ज्यान जाने सम्भावना उति घट्ने अध्ययनले देखाएको छ। ५० किमी प्रतिघन्टामा कुदेको गाडीले ठक्कर दिँदा ज्यान जाने सम्भावना ६० प्रतिशत हुन्छ। स्पिड ३० मा झरे १० प्रतिशतभन्दा कम हुन्छ। जबकि, ७० स्पिडको गाडीले ठक्कर दिँदा मान्छे मर्ने लगभग निश्चित हुन्छ।
अर्को अध्ययनअनुसार बढी स्पिडको गाडी ब्रेक हान्दा रोकिन समय लाग्छ। जस्तो– ३० को स्पिड छ भने ब्रेक हानेको ५ मिटर पर रोकिन्छ। ४० को स्पिडमा १८ मिटरसम्म गाडी गुड्छ। रिङरोडमा जस्तो ५० को स्पिडमा हाँक्दा २५ मिटरअगाडि रोकिन्न। यसले दुर्घटना जोखिम बढ्छ।
‘सडक सुरक्षाको कुरा गर्दा पैदलयात्रुको सुरक्षा सबभन्दा ठूलो हो,’ तुलाधरले भने।
सुरक्षामा गति सँगसँगै सडक स्तरको पनि हात हुन्छ। नेपालमा राष्ट्रिय सडक सुरक्षा मापदण्ड छ, तर सहरी सडकको मापदण्ड छैन। यसको मस्यौदा भने तयार छ। थप छलफल गरेर यथासक्य पारित गर्न सहभागीले माग गरे।
‘राष्ट्रिय मापदण्ड मान्दा पनि आठ लेनको रिङरोडमा पाँच मिटर मिडियन अनिवार्य छ। दुईतर्फी लेनको बीचमा १.८ देखि २.४ मिटर खाली ठाउँ राख्नुपर्ने अन्तर्राष्ट्रिय नियम छ,’ तुलाधरले भने।
कार्यक्रममा लेनमाथि पनि छलफल भयो।
आठ लेन सडकबीचको चार लेनलाई पाँच लेन बनाउन सकिने तुलाधरले सुझाए। एउटा लेनको चौडाइ ३.५ मिटर छ। यसलाई २.८ देखि ३.१ सम्म बनाए अर्को लेन निकाल्न सकिन्छ। बनेको संरचना बिगार्नुपर्दैन। सडक चिह्न मात्र समायोजन गरे पुग्छ। नयाँ निस्कने बीचको लेन मिडियनका रूपमा प्रयोग गर्न सकिने उनले बताए।
[caption id="attachment_130807" align="alignnone" width="826"]
भूषण तुलाधर।[/caption]
लेन समायोजन गर्दा साँघुरो हुँदैन। तुलाधरका अनुसार धेरै विकसित सहरमा २.८ देखि ३ मिटरको लेन छ।
सर्भिस लेन पनि समायोजन गर्न उनले सुझाए। दुवैतर्फ दुई–दुई लेनको सर्भिस लेन छ। एउटा सर्भिस लेनको चौडाइ २.८ मिटर छ। अलिकति घटाए साइकल लेन निकाल्न सकिन्छ। फुटपाथ पनि फराकिलो हुन्छ।
सार्वजनिक यातायातलाई छुट्टै लेन नदिएकोमा सहभागीले आलोचना गरे।
‘राजधानीको बढ्दो ट्राफिक समस्या हल गर्ने उपाय सार्वजनिक यातायातलाई छुट्टै लेन हो। बसहरू जाममा नपरे धेरै निजी गाडी वा मोटरसाइकल, स्कुटर प्रयोगकर्ता सार्वजनिक यातायातमा आकर्षित हुन्छन्,’ उनले भने।
विभागका उप–महानिर्देशक श्रेष्ठले सार्वजनिक बसलाई छुट्टै लेन दिन सकिने बताए।
‘सर्भिस लेनको एउटा खण्ड सार्वजनिक यातायातलाई दिन सकिन्छ,’ उनले भने, ‘यसबारे छलफल गर्ने छौं।’
विभागको गल्ती स्विकारोक्ति र आफ्नो बचाउबीच सहभागीको चासो एउटै थियो– रिङरोड सुरक्षित होस्, पैदलयात्रु र गाडी दुवैलाई।
‘साँच्चै ज्यानकै जोखिम छ,’ सहभागी लक्ष्मण उप्रेतीले सरकारी प्रतिनिधिलाई भने, ‘हाम्रो ज्यान जोगाइदिन जतिसक्दो छिटो केही गरिदिनुस्।’
‘रिबन बाँधेर हुन्छ कि डोरी बाँधेर हुन्छ, कृपया दुईतर्फी बाटो छुट्टयाइदिनुस्। मान्छेलाई बाटो काट्दा ज्यान जाने खतरा छ, जेब्रा–क्रसिङ बनाइदिनुस्। रिङरोड निस्कँदा मुटु काम्ने अवस्था छ, खेलवाड नगरिदिनुस्,’ उनले भने।
[caption id="attachment_130799" align="alignnone" width="826"]
लक्ष्मण उप्रेती।[/caption]
[caption id="attachment_130789" align="alignnone" width="826"]
रिङरोड छलफलका सहभागी।[/caption]
[caption id="attachment_130790" align="alignnone" width="826"]
रिङरोड छलफल कार्यक्रम।[/caption]