पहेँलो फूल फुल्ने, बाह्रैमास हरियो देखिने।
बारबर्दिया नगरपालिका, बानियाभारका दुर्गाबहादुर थारु करिब १२ वर्षअघि पहिलोपटक यो वनस्पति देख्दा फुरुंग भएका थिए। घरनजिकै जंगलका रैथाने वनस्पतिसँगै हुर्केका ५८ वर्षीय थारुलाई उतिबेला त्यो बिरुवाले नौलो अनुभूति दिएको थियो। अहिले उनी त्यही वनस्पति कसरी निमिट्यान्न पार्ने भन्ने चिन्तामा छन्।
‘यो त साँच्चिकैको मिचाहा रहेछ,’ उनले भने, ‘हेर्दाहेर्दै जंगल ढाक्यो, ठूलो रुखका नयाँ बिरुवा त उम्रिनै छाडे।’
दुर्गाबहादुरले झनेझैं यो मिचाहा झार नेपालको रैथाने वनस्पतिका लागि ठूलो दुश्मन कहलिएको छ। त्यसैले त एक वर्षयता नेपाल र बेलायतका वनस्पतिशास्त्रीको संयुक्त टोली यसको नियन्त्रण तथा व्यवस्थापनमा जुटिरहेको छ।
‘समयमै नियन्त्रण नगर्ने हो भने भोलि यसले नेपालको वनजंगल विकासमा निकै नकारात्मक असर पार्नेवाला छ,’ अनुसन्धानमा संलग्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वरिष्ठ वैज्ञानिक डा. रवीन्द्रप्रसाद ढकाल भन्छन्, ‘हामीले स्थानीय जनतालाई सहभागी गराएर कसरी नियन्त्रण र व्यवस्थापन गर्ने भन्ने अध्ययन गरिरहेका छौं।’
उनका अनुसार टोलीले बर्दियाका साथै नवलपरासी र मकवानपुरका पाँच/पाँचवटा सामुदायिक वनमा यस्तो अध्ययन गरिरहेको छ।
[caption id="attachment_127346" align="alignnone" width="826"]
खस्रारी जलाएर तयार भएको बायोचार।[/caption]
के हो मिचाहा झारवनस्पतिशास्त्रीका अनुसार ‘ल्यान्टना क्यामरा’ नामक यो मिचाहा झारको उद्गमस्थल मध्य तथा दक्षिण अमेरिका हो। नेपालमा यो वनस्पति कहिले भित्रियो भन्ने आधिकारिक जानकारी नभए पनि एसिया महादेशमा यसको आगमन करिब दुई सय वर्षअघि भएको अनुसन्धानकर्ताको भनाइ छ। नेपालमा यसलाई ठाउँअनुसार किर्नेकाँडा, वनफाँडा, सुत्केरीकाँडा भनिन्छ। बर्दियाको थारु समुदायमा खस्रारी नामले चिनिन्छ।
यसको सबैभन्दा नकारात्मक प्रभाव भनेको स्थानीय/रैथाने वनस्पतिलाई उम्रिन वा फैलिन नदिनु हो। यसको भुक्तभोगी बानियाभारकै छिन्तालिया सामुदायिक वन हो।
वन उपभोक्ता समितिका सदस्य तेजबहादुर थारुका अनुसार गत वर्ष ६ हेक्टर क्षेत्रमा बिरुवा लगाइएकोमा तीमध्ये मुश्किलले २० प्रतिशत मात्र हुर्किए, बाँकी बिरुवा खाल्डोबाट माथि उठ्न सकेनन्। रोपेका बिरुवासमेत मरेको अवस्थामा आफैं बिरुवा हुर्किनु निकै कठिन भएको उनले बताए।
नेपालमा यो झारले वन विकासमा कति अवरोध गरेको छ भन्नेबारे विस्तृत अध्ययन भएको छैन। हिमाली तथा उच्च पहाडी क्षेत्रबाहेकका वनमा यो निकै तीव्र गतिमा झाँगिइरहेको अध्ययनमा संलग्न त्रिभुवन विश्वविद्यालयका वनस्पतिशास्त्री डा. भरतबाबु श्रेष्ठ बताउँछन्।
‘विश्वमा अत्यन्त हानिकारक प्रजातिका रूपमा लिइने यसको नियन्त्रणको प्रभावकारी उपाय हालसम्म विकास हुन सकेको छैन,’ उनी भन्छन्, ‘यो झारलाई दाउरा, हरियो मल, बायोचार बनाउनको लागि प्रयोग गरिएमा केही हदसम्म नियन्त्रण गर्न सकिन्छ।’
[caption id="attachment_127347" align="alignnone" width="826"]
बायोचार प्रयोग गर्ने सिक्दै स्थानीय।[/caption]
बायोचार बनाउन सुझाववनस्पतिशास्त्रीले लामो अनुसन्धानपछि यसको नियन्त्रण र व्यवस्थापनका लागि सबैभन्दा उत्तम उपायका रूपमा बायोचार (जैविक अंगार) बनाउन सुझाव दिएका छन्।
खस्रारी (मिचाहा झार) काटेर निश्चित प्रक्रिया अपनाई अक्सिजनरहित अवस्थामा जलाएर बनाइने अंगार नै बायोचार हो। यसको प्रयोगले माटोको भौतिक, रासायनिक, जैविक र पर्यावरणीय सुधार गरी उत्पादन वृद्धि गर्ने भएकाले स्थानीयलाई आकर्षित गर्न सकिने अनुसन्धानकर्ताको विश्वास छ।
‘एकातिर वनजंगलमा झाँगिएको मिचाहा झार कम हुने, अर्कातिर आफ्नो खेतबारी पनि सप्रिने भएकाले हामीले स्थानीयलाई बायोचार बनाउन प्रेरित गरेका छौं,’ बेलायतस्थित रोयल बोटानिक गार्डेन एडिन्बराका अनुसन्धानकर्ता डा. भाष्कर अधिकारी भन्छन्, ‘नेपाल सरकारले नै यसलाई महत्व दिई स्थानीय जनतालाई प्रोत्साहन गर्ने हो भने मिचाहा झार नियन्त्रणमा टेवा पुग्नसक्छ।’
मिचाहा झारको नकारात्मक प्रभावबाट आजितस्थानीय यो विधि थाहा पाएपछि उत्साही देखिन्छन्। उनीहरू वनस्पतिशास्त्रीसँग बायोचार बनाउने विधि सिकिरहेका छन्। पहिलो चरणमा गाउँका २५ जनाले यस्तो विधि सिकेका छन्।
[caption id="attachment_127348" align="alignnone" width="826"]
मिचाहा झार व्यवस्थापन तथा नियन्त्रणमा भइरहेको अनुसन्धानबारे जानकारी गराउँदै।[/caption]
बानियाभारकी सुन्दरानी थारु बायोचारको प्रयोग र प्रतिफलको उत्सुकतापूर्ण प्रतिक्षा गरिरहेकी छन्। ‘बनाउन त सिकिसकियो, अब खेतबारीमा हालेपछि यसले कति उत्पादन दिन्छ पछि नै थाहा होला,’ उनले भनिन्, ‘राम्रो भयो भने त जंगलबो खस्रारी एउटै रहँदैन।’
वनस्पतिशास्त्रीहरू भने बायोचार प्रयोगबाट तरकारी तथा अन्नबाली उत्पादनमा निकै वृद्धि भएको नेपालमै गरिएका विभिन्न परीक्षणले पुष्टि भएको बताउँछन्।
एक प्रतिवेदनअनुसार काभ्रेपलान्चोकमा गरिएको ९ वटा परीक्षणमा गोलभेडामा बायोचार नलगाउँदाभन्दा लगाउँदा प्रतिहेक्टर ११ दशमलव ५ टन उत्पादन वृद्धि भएको थियो। बन्दीपुरमा बन्दाखेतीमा गरिएको परीक्षणमा पनि प्रतिहेक्टर १६ दशमलव २ टन उत्पादन वृद्धि भएको थियो।
‘गहुँ, उखु, मकैका साथै अन्य तरकारी बालीमा गरिएको अनुसन्धानले बायोचारको प्रयोग प्रभावकारी देखिएको छ,’ उनी भन्छन्, ‘स्थानीयलाई मिचाहा झारबाट बायोचार बनाउन प्रोत्साहन गरियो भने योभन्दा राम्रो उपाय अरू हुनसक्दैन।’
[caption id="attachment_127349" align="alignnone" width="826"]
बर्दियाको जंगलमा रहेको मिचाहा झार (खस्रारी)।[/caption]