नवराज अधिकारीसँग के छैन?
आँखाको ज्योति खोसिए पनि उनी आफैंले कमाएको सम्पत्ति छ। गाउँमा नाम छ। र, गाउँलेको विश्वास छ।
सबैले पत्याएका नवराजलाई राज्यले भने पत्याएन। पत्याएका भए सारा गाउँलेले पाइरहेको बैंक ऋण उनले नपाउने थिएनन्। उनलाई सरकारी स्वामित्वको कृषि विकास बैंकले त्यत्तिकै फर्काइदियो। राष्ट्रिय वाणिज्य बैंकले एक वर्षदेखि अल्झाएर राख्यो।
यी दुवै सरकारी बैंकले उनलाई ऋण दिन नमान्नुको कारण एउटै थियो, उनी ‘नेत्रहीन’ हुन्।
‘त्यत्रो पौरखी र सफल कृषकलाई जति धाउँदा पनि बैंकले ऋण दिन मानेन,’ गजुरीस्थित राष्ट्रिय अपांग कल्याण संघका अध्यक्ष गुणराज खतिवडा भन्छन्, ‘त्यसपछि मैले नै लिएर गजुरीको राष्ट्रिय वाणिज्य बैंक धाउन थालेको एक वर्ष भइसक्यो।’
नवराज गोरखा जिल्लाका हुन्। भौगोलिक अवस्थितिका कारण उनलाई प्रशासनिक कामकाज निम्ति धादिङको गजुरी पायक पर्छ। सक्षम र इलमी भए पनि उनलाई आँखा नदेखेकै कारण बैंकले नपत्याएको गुणराज दाबी गर्छन्।
‘जतिपटक बैंक जाँदा पनि ‘उहाँजस्तो मान्छेले ऋण लिएर फिर्ता गर्न सक्नुहोला’ भनेर सोध्छन्,’ गुणराज भन्छन्, ‘एकपटक गाउँ गएर उहाँले तयार पारेको गोठ र त्यसमा उहाँले दिनरात गर्ने मेहनत मात्रै हेरिदिनुस् भन्दा पनि गइदिँदैनन्।’
नवराजले भकारो सोहोर्ने, घाँस काट्ने, कुँडो पकाएर खुवाउनेदेखि दूध दुहुने कामसम्म आफैले गरेर छोराछोरी पढाउँदै आएको गुणराजले बताएका थिए। वर्षैपिच्छे लाखौंको तरकारी बेच्ने, गोठमा टन्नै गाईभैंसी र बाख्रा पाल्ने नवराजको क्षमता हेर्न नजिकैका बैंकर उत्सुक नभए पनि हामी काठमाडौंदेखि पुग्यौं।
राजमार्गको बेनीघाटमा त्रिशूली नदी तर्नेबित्तिकै प्रायःले उनका बारे बताउन सक्दा रहेछन्। हामी त्यहाँबाट झन्डै आठ किलोमिटर कच्ची सडक यात्रा गरेर उनको गाउँ गण्डकी गाउँपालिका–७ पुग्यौं। उनलाई गाउँलेले ‘नेत्रहीन’ होइन, ‘सफल कृषक’ भनेर चिन्दा रहेछन्।
‘अधिकारी साइँलो’ भनिने नवराजबारे सोध्नेबित्तिकै गाउँलेहरूले उनको घर जाने बाटो देखाइदिए।
हामी एउटा फराकिलो फाँटमा पुग्यौं। झन्डै दस रोपनी क्षेत्रफलको त्यो फाँटमा जताततै बारी सप्रिएको थियो। पर गाईबस्तु बाँधिएको गोठ थियो। बारीका अलगअलग गरामा बेग्लाबेग्लै तरकारी रोपिएका थिए। पस्नेबित्तिकै दुवै हात अघि बढाएर हिँड्दै गरेका ४९ वर्षीय नवराज भेटिए।
‘भुइँचालोले सबै ध्वस्त नपारिदिएको भए मलाई ऋणको खाँचो थिएन,’ उनले भने, ‘आफ्नै पौरखले कमाएरै धानिरहेको थिएँ।’
नवराज जन्मजात आँखा नदेख्ने होइनन्। उनी ३० वर्षअघिसम्म कारखाना मजदुर थिए। बालाजुस्थित गोल्छा कम्पनीमा मजदुरी गर्दागर्दै २०४३ सालमा टाइफाइड भयो। उनले विस्तारै आँखाको ज्योति गुमाउँदै गए।
‘अलि अलि गरेर देख्न छाडेको हुँ,’ नवराज भन्छन्, ‘दस वर्षयता ठप्पै देख्न छाडेँ।’
[caption id="attachment_127158" align="alignnone" width="2957"]
नवराज अधिकारी गोरखा, घ्यालचोकस्थित घरको गोठमा वस्तुभाउ स्याहार्दै। तस्बिर: गिरीश गिरी/सेतोपाटी[/caption]
गाउँघरमा अपांगता भएका सन्तानलाई कतिपयले अंशबन्डा पनि नदिने गरेको नवराज सुनाउँछन्।
‘मलाई भने अन्याय गरेनन्,’ उनले भने, ‘एकाघरबाट आठ वर्षअघि छुट्टिँदा चारै दाजुभाइलाई हिसाब मिलाएरै अंश दिए।’
त्यसपछि उनले जानेको र गर्नसक्ने कामै यही पुख्र्यौली खेती किसानी थियो। त्यही सम्पत्तिमा दिनरात खटिएर नवराजले प्रगति गरिरहेका छन्। १७ वर्षअघि बिहे गरेका नवराजका दुई छोराछोरी छन्। छोरा दस र छोरी नौ कक्षामा पढ्छन्। अंशबन्डापछि पनि श्रीमतीको सहयोगले उनलाई गोठ र खेतको काम गर्न समस्या भएन।
दूधबाट दैनिक सात सय रुपैयाँसम्म कमाइ गर्ने नवराजले आफ्नै बारीमा फलेको रामतोरिया बेचेर यही वर्ष मात्र तीन लाख रुपैयाँ कमाइसकेका छन्। भर्खर २० क्विन्टल गोलभेँडा बेचेका उनको बारीमा अर्को २० क्विन्टल बाँकी छ। अन्य तरकारी पनि जताततै सप्रिएका छन्। मिलेको जमिनमा व्यवस्थित किसिमबाट जताततै ट्यांकी बनाएर सिँचाइ गरेकाले राम्रो उत्पादन भएको उनी सुनाउँछन्। बाख्रापालनबाट पनि वार्षिक डेढ लाखसम्म आम्दानी हुने गरेको छ।
‘यसैमा अलिकता पैसा थपेर भत्किएका गोठ उभ्याउन र थप्न पाए अझ बढी कमाइ हुन्थ्यो,’ उनले ऋण लिन खोज्नुको कारण बताए, ‘बैंकले पत्याइदिएको भए कुनै पनि साङ्ग ऋणीभन्दा राम्रोसँग तिरिदिन्थेँ।’
बैंकमा धितो राख्न पनि यहाँको फाँटबाहेक पर कृष्णभीरको पारि फराकिलो खेत पनि रहेको उनले जानकारी दिए।
भुइँचालोपछि भएभरका संरचना ढलेको र त्यसलाई फेरि उभ्याउन आफूले केही गाईभैंसी बेच्नुपरेको अवस्थामा बैंकबाट आडभरोस मिल्छ कि भन्दै उनी ऋणको खोजीमा लागेका रहेछन्।
यतिबेला उनको गोठमा दुईवटा गाई र एउटा भैंसी छ। त्यसबाट उत्पादन हुने दैनिक १५ देखि २० लिटर दूध उनले सहकारीमार्फत् बेच्दै आएका छन्।
‘यो क्षमता बढाएर कम्तिमा दैनिक ३० लिटर पुर्याउने सोच राखेको छु,’ उनी भन्छन्, ‘त्यस निम्ति गाईभैंसी थप्ने र गोठ विस्तार गर्नेबाहेक पराल काट्ने मेसिन लगायत उपकरण पनि किन्ने इच्छा छ।’
यसैको निम्ति उनले बैंकबाट ऋणको आश गरेका रहेछन्।
‘नत्र आजसम्म मैले एक रुपैयाँ पनि ऋण लिनुपरेको छैन,’ उनले थपे, ‘यत्रो गर्दै आएको मान्छेलाई बैंकले नपत्याउला भन्ने त सोचेकै थिइनँ।’
सरकारले पाँच प्रतिशत व्याज अनुदानमा कृषि ऋण दिने भनेर घोषणा गरेपछि उनले प्रक्रिया थालेका थिए। सुरुमा गोरखा जिल्लाकै कृषि विकास बैंक पुगे। बैंकले ‘अहिले हामीसँग यो शीर्षकको पैसा सकियो’ भनेर फर्काइदियो।
त्यसपछि वाणिज्य बैंकले यसमा राम्रो लगानी गरिरहेको जानकारी पाएपछि उनी धादिङबेसी कार्यालय पुगे। त्यहाँबाट गजुरी पायक पर्ने भन्दै उतै पठाइयो।
‘गजुरीको वाणिज्य बैंकमा पोहोर फागुन १७ गतेदेखि धाइरहेको छु,’ उनले भने, ‘मेरो काम भइरहेको छैन।’
नवराजलाई जुन कार्यालय जाँदा पनि त्यहाँका कर्मचारीले सुरुमै ‘तपाईं कहाँ गर्न सक्नुहुन्छ र?’ भनेर सोध्दा रहेछन्।
‘घरेलुमा दर्ता गर्न जाँदा कर्मचारीले हाँस्दै त्यसो भनेका थिए,’ नवराज सुनाउँछन्, ‘म चाहिँ जसलाई पनि एकपटक गोठमा आएर मैले काम गरेको हेर्न चुनौती दिने गरेको छु।’
नवराजको गोठमा एकछिनसम्म बस्दा उनको पौरख देखेर नरमाउने सायदै कोही हुन सक्लान्। काम गर्नसक्नेलाई शारीरिक अवस्थाले खासै असर गर्दैन भन्ने उदाहरण हुन्, उनी। हामीले उनको गोठमा बसुन्जेल यस्तै अनुभव गर्यौं।
नवराजलाई ऋण पत्याउनुपर्ने बैंकले कहिले यी अनुभव लेला?
‘अलिक मिलाएर लेखिदिनुस् है,’ हिँड्ने बेला उनले अनुरोध गरे, ‘दिन्छु भनिरहेको बैंकले मजस्तो मानिसलाई फेरि अप्ठेरोमा पारिदेला।’